नन्दलाल आचार्यदुर्भागी प्रतिनिधि
रातोदिन खटेर गाउँले रिझायो । पार्टीले पत्याएर गाउँपालिका प्रमुखको टिकट पनि पायो । उम्मेद्वार पनि भयो ।

‘तैपनि उहाँ खुशी हुनुहुन्छ । यसलाई तपाईं के भनेर बुझ्नुहुन्छ ?’ उसले मलाई एक्कासी प्रश्न राख्यो ।
‘उहाँ महान् हुनुहुन्छ ।’ बिनाप्रसङ्ग जस्तो प्रश्न उस्तै उत्तर दिएँ मैले ।
‘यार कुरा बुझ् न । उहाँ रोगीदेखि भोगीसम्म हुनुहुन्छ । सौभाग्यशालीदेखि दुर्भाग्यशालीसम्मको भनेर पुकारिनुहुन्छ ।’ ऊ एकोहोरो फलाक्दो थियो । म मूकदर्शक बन्दो थिएँ ।
‘उहाँले गोली पचाउनुभयो । उहाँले जातको जालो च्यात्नुभयो । उहाँले सामन्तको अखडा भताभुङ्ग पार्नुभयो ।’ ऊ अलिक खुल्दै गयो । मबाट कुनै प्रतिक्रिया नपाएपछि मुहारमा निराशाको लहर ल्याउँदै थप्यो- ‘उहाँ स्थानीयदेखि राष्ट्रिय व्यक्तित्वले पत्याएको व्यक्ति हो । तेरैमेरै चिरपरिचित व्यक्ति हो ।’
अब भने उसले चर्चा गरिरहेको व्यक्तिलाई मैले ठम्याउन सकेँ । त्यो व्यक्ति जसले युद्धकालमा मधेसको प्रतिनिधित्व गरेको थियो । भुलले साथीले हानेको गोलीको छर्रा लागेर अझै अल्पअधमरो थियो । पार्टी बदल्यो भन्ने इखले पुरानै साथीहरूको उक्साहटमा युद्धकालीन मुद्दामा जेलनेल भोगेको थियो । अन्तर्जातीय विवाह गरेर सन्तानसम्म जन्मायो तर कालान्तरमा वैवाहिक जीवन असफल भयो । लोककल्याणको काममा हात हालेर भवनसडक बनायो । तिनै भोक्ताबाट ‘भ्रष्टाचार गर्र्यो’ भन्ने मुद्दा खेप्यो । रातोदिन खटेर गाउँले रिझायो । पार्टीले पत्याएर गाउँपालिका प्रमुखको टिकट पनि पायो । उम्मेद्वार पनि भयो । सबैले उसैले जित्छ भनेर लख काटे । तर, मतदाता नामावलीमा नामै नरहेको बहानामा बञ्चित भयो ।
‘हो, हो । आफन्तको भुल र स्वार्थको निशाना भनेर पनि उहाँ नै चिनिनुहुन्छ । अर्को शब्दमा कर्मखोटी भनेर कहलिनुहुन्छ ।’ मैले यत्ति भन्नासाथ ऊ मुखमा पानी हालेर घोत्लन थाल्यो ।
२०७९-०२-२९ आइतबार,
सिद्धार्थटोल, उदयपुर, हाल- सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest










































