साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर एक्सप्रेस

कुईईईयय गर्दै गाडी भृकुटीमण्डपको पुलनेर यस्सो रोक्ला जस्तो के गरेको थियो । सिट नपाउने सांसदहरू झैँ हेरिरहे चढ्न नपाउने यात्रुहरू । गाडी हुइँकिहाल्यो ।

Nepal Telecom ad

भक्तपुर भन्ने बित्तिकै तपाइँको दिमागमा जुः जुः धौ आउला । नेवार बस्ती, नेवारी खाजा या काठका सुन्दर मन्दिरहरू आउलान् । यी सबै कुरा भन्दा पर या तपाइँले अनुभव गर्न नपाएको एउटा अद्भुत आश्चर्य। भक्तपुर पुग्न प्रयोग गरिने भक्तपुरे गाडी पनि हुनसक्छ । गाडी नभनी भक्तपुर एक्सप्रेस भनेर इज्जत दिउँ क्यारे। हस्याङ फस्याङमा दौडिएको यमराजको भैँसी जस्तो देखिने तर सत्र ठाउँमा अठार चोटि एक-एक घण्टाका दरले बिसाएपछि। भक्तपुरबाट बिहान हिँडेको गाडी साँझमा काठमाडौं पुग्छ। काँकडभिट्टाबाट हिँडेको मान्छे बेलैमा काठमाडौं आउला तर भक्तपुरबाट भन्न सकिँदैन ।

सि जिन पिङ, रोटे पिङ या कुनै पनि पिङ या कुनै देशको राष्ट्रपति/राष्ट्रपत्नी नेपाल आएका छन् भने बुझिहाल्नु । आज हिँडेर घर जानु पर्छ । गाडी नपाउने पनि होइन तर यसरी भरिएको हुन्छ कि “जान्छु ल खै त हाँसेको“ भनेर हुइँकिरहन्छ रोकिँदैन कतै । यस्तै कुनै एक दिन कतै दक्षिणतिरको लालबुझक्कड आएको बेला । म पनि परेँ फसादमा । बागबजारको भक्तपुर बसपार्कमा कोकोहोलो मच्चिएको थियो, गाडी नपाएर । ट्याक्सीवालाहरू ङिच्च हाँसिरहेका थिए “दसैँ आयो“ मात्रै भनेका थिएनन् तर अनुहारको भाव त्यस्तै थियो । तुरुन्त कुलेलाम ठोकिहाले त्यहाँबाट । बसपार्क पुगेको, कुनै आन्दोलन या आमसभामा पुगे जस्तै लाग्यो मान्छे नै मान्छे । म झुक्किएँ, एकछिन् कतै आज नेपालको कुनै खेल त छैन ? कतै म दशरथ रङ्गशालामा त आइपुगिन ? होइन नि हौ, होइन रहेछ । बसपार्कै रहेछ बस नभाको मात्र रहेछ । बसमा कसैको बस् थिएन । कसैले मेरो हात तानेर “जाने हो“ भनेपछि पो झसङ्ग भएर थाह पाएँ । एउटा विप्लवको कार्यकर्ता झैँ पीडितले “यता कुरेर फाइदा छैन भाइ गेटमै जाउँ घेर्न“ भन्यो । हामी दौडियौँ गाडी पौने प्रतिशत भरिएर आयो । अमरसिंह थापा र बलभद्र कुँवर पनि शत्रुमाथि त्यसरी जाइलागेका थिएनन् कहिल्यै । जसरी हामी जाइलाग्यौँ गाडीमा । खुट्टो गाडीमा टेक्ने बेलामा एउटा प्रचण्ड जस्तो देखिने मान्छेले क्याच्च जुत्ता पछाडिबाट कुल्चिदियो । जुत्ता फुस्कियो । तेल्लाई केकाे रिस थियो कुन्नि जुत्तासँग । एउटा खुट्टामा जुत्ता एउटामा बुढि औँला निस्केको मोजा लगाएर म उसलाई हेरिरहन मात्र सकेँ। गाडी मलाई नियन्त्रणमा लिएर हिँड्यो आफ्नै गतिमा ।

“वारी खोला पारि खोला पिरती बोकी म कत्ति धाउँ
तिमी मेरी प्रेयसी परे तापनि भाडा चैँ दिएर जाऊ“ वाला सन्देशले ढोकामा स्वागत गर्‍यो।

खलासी करेन्ट चपाएर घरीघरी टाउको झट्कारिरहन्थ्यो । मानौँ उसले जनयुद्धको बेलामा खाएको एउटा गोली टाउकोमा अड्किएको छ । दुर्गेस थापाको बिच बिचमा “बहिस्कार“ भएको गीत बज्दै थियो । तर गीतमा “टुँट“ थिएन । गीतको भिडियोमा पल शाहको पनि अभिनय रहेको रहेछ ।

ओलीजीको मधेस धारणा झैँ बेला-बेलामा खलासी “दाइ पछाडि सर्नु न“ भनेर हतोत्साहित, र “मिलेर बस्नु न“ भनेर प्रोत्साहन गरिरहन्छ । ओलीजीकै मन्त्री परिषद् जस्तो ऊ खुसी थिएन खासै । शेरबहादुरको सरकार झैँ उ बेला-बेला बढेको महँगाइ सुनाइरहन्छ । दुई चारजना मान्छे देखेर उसले ढोका खोलेर ड्याम्म एकचोटी गाडीको छातीमा हान्यो । कुईईईयय गर्दै गाडी भृकुटीमण्डपको पुलनेर यस्सो रोक्ला जस्तो के गरेको थियो । सिट नपाउने सांसदहरू झैँ हेरिरहे चढ्न नपाउने यात्रुहरू । गाडी हुइँकिहाल्यो ।

ढोकामा उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो जस्ता केही मान्छेहरू । पशुपति घुम्न आएका केही भारतीयसँग आवतजावत गर्नै गाह्रो हुनेगरि ढोकै थुनेर बसेका थिए । मानौँ एक किसिमको नाकाबन्दी लगाएका हुन् तिनीहरूले ।

यही बेलामा कुनै क्रान्तिकारी (सरकारको भाषामा आतङ्ककारी) समूहले ढुस्स मुला बम छोडे । खपिनसक्नु भयो । काठमाडौंमा मास्कको महत्व यही बमले बुझाइदियो । यसो नाक छामे रगत चाहिँ आएको रहेनछ ।
हिसिला जस्ती देखिने एक महिला र उन्को श्रीमान् माथिको डन्डी समाएर मेरो छेउमै उभिएका थिए । गाडीमा ब्रेक लाग्दा घरीघरी मेरो नाक उसको काखीसम्म पुग्थ्यो । म अर्धचेत हुन्थेँ । असन्तुष्टिको क्या नमिठो गन्ध । उफफफ !!

माइतीघरमा रोक्न नपाउने नियमसँग आक्रोसित हुँदै थिए केही यात्रु सङ्घका कार्यकर्ता ।
एकै पटक गाडी बबरमहल अगाडि खलासीको “झर्ने छ भने भाडा हातमा बोकेर आउनु है“ सँगै रोकियो । दुई चार जना ठेल्दै निस्कन थाले । गच्छदार र गोकुल जस्ता देखिने दुईजनाको भाडामा डिसकस पर्‍यो । ७० रुपियाँको चाँजाेबाजो नमिले जस्तो सुनिन्थ्यो । घरीघरी अपशब्द बोले जस्तो पनि लाग्थ्यो झर्नेले । आले हो त्यो भन्दै थिए कोही । त्यही मौकामा जाँड धोकेर एउटा महरा झैँ जँड्याहा चढ्यो । ह्वास्सै गाडी पुरै गन्हायो । अगाडि उभिएकी एउटी महिलासँग टाँसिएर घरीघरी आफ्ना हात कताकता ठोक्काउन थाल्यो । महिला सिटमा केही महिला अधिकारकर्मी जस्ता देखिन्थे तर बोलेका भने थिएनन् । आँखै अगाडि महिला हिंसा भइरहँदा पनि चुप थिए सबै ।

रातो भालेनेर गाडी रोकियो । एक दुई जना जङ्गली जस्ता मान्छेहरू र केही बुढाहरू चढे जेनतेन ।
एउटा ज्ञानेन्द्र जस्तो देखिने अधबैँसे पुरुषलाई आफ्नो कुलतमा फसेको छोरोसँगै सिटबाट उठाइयो जबरजस्ती । उ फतफताउन थाल्यो । विरोध गर्न थाल्यो । दुईचार जनालाई हिर्काइहाल्यो । सबै जनाले यिनीहरूलाई गल्हत्याएर निकाल्न पर्छ गाडीबाट भने । उसलाई पछारियो भुइँमा, उसका केही सामानहरू पनि अब गाडीकै भए । गाडीको भन्दा पनि ती जङ्गली र बुढाहरूले कब्जा गरे । गाडी भण्डारी थरकी चालिकाले चलाइरहेकी थिइन् चुपचाप ।

बिजुली बजार पुलपारि गाडी चढ्न हतार कमल थापाको अनुहार परेको मान्छेलाई । बेलायतबाट फर्केको रवीन्द्र झैँ हुलिया भएको व्यक्ति “खान पुगोस् दिन पुगोस्“ भन्दै । एउटा नगरपालिकाको सहयोगको अपिल लेखिएको कागज बोकेर पछ्याउँदै थियो । सिसाबाट देख्न सकिन्थ्यो ।

“६२/६३ले अगाडीको सप्पै मान्छे हाल्ने भयो, ल ४७ पनि गयो गुरु“ खलासी अतालियो । हुन त उसको गाडीमा केही मान्छे एउटा खुट्टामा उभिएर तपस्या गर्दै थिए । यस्तै तपस्या वनमा गएर गर्ने हो भने बमजनलाई उछिनिसक्थे । चालक तातिइन् ती दुवै गाडीलाई उछिन्न । मानौँ म काङ्ग्रेस, एमाले या माओवादी कुनै पार्टीको गाडीमा छु । र उनीहरू जसले सक्यो उसले बढी लुट्न चाहन्छन् । भण्डारी चालकले जसरी हुन्छ भरे मालिकलाई उचित नाफा बुझाएर खुसी पार्न पर्ने हुन्छ ।

बानेश्वरमा एउटा सिट खाली भयो । गगन थापा झैँ देखिने एक युवाले एक जना उभिरहेका बुढालाई नै सिट छोडिदिए । ठिकै गरे भलो गरे । राजनीतिमा यसो गरेको भए चैँ मलाई चित्त बुझ्दैनथ्यो । उनी अरूसँग भाडा मागेर पनि सधैँ गाडी चढ्न सकिन्छ भनेर बेला-बेला फलाकिरहन्थे ।

तीनकुनेमा अघि जुत्ता कुल्चने प्रचण्ड जस्तो मान्छे फेरि देखियो । कति बेला पछाडि झुण्डिएको रहेछ । गाडीबाट उसका केही आफन्त उसलाई देखाउँदै झरे । १७ जनाको जिम्मा तपाइँलाई आएको छ, खलासी हल्का झन्कियो । अहँ हुँदैन म ५ जनाको भन्दा धेरैको जिम्मा लिन सक्दिन भनिरह्यो । गरिब छु गाउँमा एक कट्ठा जग्गा र तीन तोला सुन मात्रै छ मसँग । अब त्यही दिए मात्रै त हो नि । उ निराश भयो । खलासीलाई माया लाग्यो छोड्दियो ।

कोटेश्वरमा पुगेपछि केही विवेकशील मान्छेहरू चढे । सिट नपाएकोमा थुकथुक थुकथुक गरिरहे । तर कहाँ उभिए/बसे कसैले देखेनन् ।

जडीबुटी पेट्रोल पम्पमा लालबाबुकै गाउँका जस्ता मान्छे साइकलमा तेल हाले झैँ देखिन्थे । गाडी कुदिहाल्यो । छेलियो ।

“म गाडीको स्टाफ हुँ, मसँग भाडा माग्छस्, भट्टीमा पोल्दिन्छु बढी बोलिस् भने“ भनेर आलम आलम जस्तो एउटा झर्‍यो । जडीबुटी पारि । बिंडारी थर भएको एउटा धेरै कुरा थाहा छ भन्दै उफ्रिरहेको थियो । केही नवजवान स्वतन्त्र, स्वतन्त्र भन्दै हल्ला गर्दै थिए । त्यतिकैमा रवि लामिछाने जस्तो हुलिया भएको एउटा व्यक्ति पनि प्रेसको कार्ड फ्याँकेर स्वतन्त्र, स्वतन्त्र, स्वतन्त्र भन्दै चिच्याउन थाल्यो ।

गाडी हुइँकियो र जडीबुटी पुल काटेर भक्तपुरको नाका प्रवेश गर्‍यो ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x