सुरज पराजुलीभक्तपुर एक्सप्रेस
कुईईईयय गर्दै गाडी भृकुटीमण्डपको पुलनेर यस्सो रोक्ला जस्तो के गरेको थियो । सिट नपाउने सांसदहरू झैँ हेरिरहे चढ्न नपाउने यात्रुहरू । गाडी हुइँकिहाल्यो ।

भक्तपुर भन्ने बित्तिकै तपाइँको दिमागमा जुः जुः धौ आउला । नेवार बस्ती, नेवारी खाजा या काठका सुन्दर मन्दिरहरू आउलान् । यी सबै कुरा भन्दा पर या तपाइँले अनुभव गर्न नपाएको एउटा अद्भुत आश्चर्य। भक्तपुर पुग्न प्रयोग गरिने भक्तपुरे गाडी पनि हुनसक्छ । गाडी नभनी भक्तपुर एक्सप्रेस भनेर इज्जत दिउँ क्यारे। हस्याङ फस्याङमा दौडिएको यमराजको भैँसी जस्तो देखिने तर सत्र ठाउँमा अठार चोटि एक-एक घण्टाका दरले बिसाएपछि। भक्तपुरबाट बिहान हिँडेको गाडी साँझमा काठमाडौं पुग्छ। काँकडभिट्टाबाट हिँडेको मान्छे बेलैमा काठमाडौं आउला तर भक्तपुरबाट भन्न सकिँदैन ।
सि जिन पिङ, रोटे पिङ या कुनै पनि पिङ या कुनै देशको राष्ट्रपति/राष्ट्रपत्नी नेपाल आएका छन् भने बुझिहाल्नु । आज हिँडेर घर जानु पर्छ । गाडी नपाउने पनि होइन तर यसरी भरिएको हुन्छ कि “जान्छु ल खै त हाँसेको“ भनेर हुइँकिरहन्छ रोकिँदैन कतै । यस्तै कुनै एक दिन कतै दक्षिणतिरको लालबुझक्कड आएको बेला । म पनि परेँ फसादमा । बागबजारको भक्तपुर बसपार्कमा कोकोहोलो मच्चिएको थियो, गाडी नपाएर । ट्याक्सीवालाहरू ङिच्च हाँसिरहेका थिए “दसैँ आयो“ मात्रै भनेका थिएनन् तर अनुहारको भाव त्यस्तै थियो । तुरुन्त कुलेलाम ठोकिहाले त्यहाँबाट । बसपार्क पुगेको, कुनै आन्दोलन या आमसभामा पुगे जस्तै लाग्यो मान्छे नै मान्छे । म झुक्किएँ, एकछिन् कतै आज नेपालको कुनै खेल त छैन ? कतै म दशरथ रङ्गशालामा त आइपुगिन ? होइन नि हौ, होइन रहेछ । बसपार्कै रहेछ बस नभाको मात्र रहेछ । बसमा कसैको बस् थिएन । कसैले मेरो हात तानेर “जाने हो“ भनेपछि पो झसङ्ग भएर थाह पाएँ । एउटा विप्लवको कार्यकर्ता झैँ पीडितले “यता कुरेर फाइदा छैन भाइ गेटमै जाउँ घेर्न“ भन्यो । हामी दौडियौँ गाडी पौने प्रतिशत भरिएर आयो । अमरसिंह थापा र बलभद्र कुँवर पनि शत्रुमाथि त्यसरी जाइलागेका थिएनन् कहिल्यै । जसरी हामी जाइलाग्यौँ गाडीमा । खुट्टो गाडीमा टेक्ने बेलामा एउटा प्रचण्ड जस्तो देखिने मान्छेले क्याच्च जुत्ता पछाडिबाट कुल्चिदियो । जुत्ता फुस्कियो । तेल्लाई केकाे रिस थियो कुन्नि जुत्तासँग । एउटा खुट्टामा जुत्ता एउटामा बुढि औँला निस्केको मोजा लगाएर म उसलाई हेरिरहन मात्र सकेँ। गाडी मलाई नियन्त्रणमा लिएर हिँड्यो आफ्नै गतिमा ।
“वारी खोला पारि खोला पिरती बोकी म कत्ति धाउँ
तिमी मेरी प्रेयसी परे तापनि भाडा चैँ दिएर जाऊ“ वाला सन्देशले ढोकामा स्वागत गर्यो।
खलासी करेन्ट चपाएर घरीघरी टाउको झट्कारिरहन्थ्यो । मानौँ उसले जनयुद्धको बेलामा खाएको एउटा गोली टाउकोमा अड्किएको छ । दुर्गेस थापाको बिच बिचमा “बहिस्कार“ भएको गीत बज्दै थियो । तर गीतमा “टुँट“ थिएन । गीतको भिडियोमा पल शाहको पनि अभिनय रहेको रहेछ ।
ओलीजीको मधेस धारणा झैँ बेला-बेलामा खलासी “दाइ पछाडि सर्नु न“ भनेर हतोत्साहित, र “मिलेर बस्नु न“ भनेर प्रोत्साहन गरिरहन्छ । ओलीजीकै मन्त्री परिषद् जस्तो ऊ खुसी थिएन खासै । शेरबहादुरको सरकार झैँ उ बेला-बेला बढेको महँगाइ सुनाइरहन्छ । दुई चारजना मान्छे देखेर उसले ढोका खोलेर ड्याम्म एकचोटी गाडीको छातीमा हान्यो । कुईईईयय गर्दै गाडी भृकुटीमण्डपको पुलनेर यस्सो रोक्ला जस्तो के गरेको थियो । सिट नपाउने सांसदहरू झैँ हेरिरहे चढ्न नपाउने यात्रुहरू । गाडी हुइँकिहाल्यो ।
ढोकामा उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो जस्ता केही मान्छेहरू । पशुपति घुम्न आएका केही भारतीयसँग आवतजावत गर्नै गाह्रो हुनेगरि ढोकै थुनेर बसेका थिए । मानौँ एक किसिमको नाकाबन्दी लगाएका हुन् तिनीहरूले ।
यही बेलामा कुनै क्रान्तिकारी (सरकारको भाषामा आतङ्ककारी) समूहले ढुस्स मुला बम छोडे । खपिनसक्नु भयो । काठमाडौंमा मास्कको महत्व यही बमले बुझाइदियो । यसो नाक छामे रगत चाहिँ आएको रहेनछ ।
हिसिला जस्ती देखिने एक महिला र उन्को श्रीमान् माथिको डन्डी समाएर मेरो छेउमै उभिएका थिए । गाडीमा ब्रेक लाग्दा घरीघरी मेरो नाक उसको काखीसम्म पुग्थ्यो । म अर्धचेत हुन्थेँ । असन्तुष्टिको क्या नमिठो गन्ध । उफफफ !!
माइतीघरमा रोक्न नपाउने नियमसँग आक्रोसित हुँदै थिए केही यात्रु सङ्घका कार्यकर्ता ।
एकै पटक गाडी बबरमहल अगाडि खलासीको “झर्ने छ भने भाडा हातमा बोकेर आउनु है“ सँगै रोकियो । दुई चार जना ठेल्दै निस्कन थाले । गच्छदार र गोकुल जस्ता देखिने दुईजनाको भाडामा डिसकस पर्यो । ७० रुपियाँको चाँजाेबाजो नमिले जस्तो सुनिन्थ्यो । घरीघरी अपशब्द बोले जस्तो पनि लाग्थ्यो झर्नेले । आले हो त्यो भन्दै थिए कोही । त्यही मौकामा जाँड धोकेर एउटा महरा झैँ जँड्याहा चढ्यो । ह्वास्सै गाडी पुरै गन्हायो । अगाडि उभिएकी एउटी महिलासँग टाँसिएर घरीघरी आफ्ना हात कताकता ठोक्काउन थाल्यो । महिला सिटमा केही महिला अधिकारकर्मी जस्ता देखिन्थे तर बोलेका भने थिएनन् । आँखै अगाडि महिला हिंसा भइरहँदा पनि चुप थिए सबै ।
रातो भालेनेर गाडी रोकियो । एक दुई जना जङ्गली जस्ता मान्छेहरू र केही बुढाहरू चढे जेनतेन ।
एउटा ज्ञानेन्द्र जस्तो देखिने अधबैँसे पुरुषलाई आफ्नो कुलतमा फसेको छोरोसँगै सिटबाट उठाइयो जबरजस्ती । उ फतफताउन थाल्यो । विरोध गर्न थाल्यो । दुईचार जनालाई हिर्काइहाल्यो । सबै जनाले यिनीहरूलाई गल्हत्याएर निकाल्न पर्छ गाडीबाट भने । उसलाई पछारियो भुइँमा, उसका केही सामानहरू पनि अब गाडीकै भए । गाडीको भन्दा पनि ती जङ्गली र बुढाहरूले कब्जा गरे । गाडी भण्डारी थरकी चालिकाले चलाइरहेकी थिइन् चुपचाप ।
बिजुली बजार पुलपारि गाडी चढ्न हतार कमल थापाको अनुहार परेको मान्छेलाई । बेलायतबाट फर्केको रवीन्द्र झैँ हुलिया भएको व्यक्ति “खान पुगोस् दिन पुगोस्“ भन्दै । एउटा नगरपालिकाको सहयोगको अपिल लेखिएको कागज बोकेर पछ्याउँदै थियो । सिसाबाट देख्न सकिन्थ्यो ।
“६२/६३ले अगाडीको सप्पै मान्छे हाल्ने भयो, ल ४७ पनि गयो गुरु“ खलासी अतालियो । हुन त उसको गाडीमा केही मान्छे एउटा खुट्टामा उभिएर तपस्या गर्दै थिए । यस्तै तपस्या वनमा गएर गर्ने हो भने बमजनलाई उछिनिसक्थे । चालक तातिइन् ती दुवै गाडीलाई उछिन्न । मानौँ म काङ्ग्रेस, एमाले या माओवादी कुनै पार्टीको गाडीमा छु । र उनीहरू जसले सक्यो उसले बढी लुट्न चाहन्छन् । भण्डारी चालकले जसरी हुन्छ भरे मालिकलाई उचित नाफा बुझाएर खुसी पार्न पर्ने हुन्छ ।
बानेश्वरमा एउटा सिट खाली भयो । गगन थापा झैँ देखिने एक युवाले एक जना उभिरहेका बुढालाई नै सिट छोडिदिए । ठिकै गरे भलो गरे । राजनीतिमा यसो गरेको भए चैँ मलाई चित्त बुझ्दैनथ्यो । उनी अरूसँग भाडा मागेर पनि सधैँ गाडी चढ्न सकिन्छ भनेर बेला-बेला फलाकिरहन्थे ।
तीनकुनेमा अघि जुत्ता कुल्चने प्रचण्ड जस्तो मान्छे फेरि देखियो । कति बेला पछाडि झुण्डिएको रहेछ । गाडीबाट उसका केही आफन्त उसलाई देखाउँदै झरे । १७ जनाको जिम्मा तपाइँलाई आएको छ, खलासी हल्का झन्कियो । अहँ हुँदैन म ५ जनाको भन्दा धेरैको जिम्मा लिन सक्दिन भनिरह्यो । गरिब छु गाउँमा एक कट्ठा जग्गा र तीन तोला सुन मात्रै छ मसँग । अब त्यही दिए मात्रै त हो नि । उ निराश भयो । खलासीलाई माया लाग्यो छोड्दियो ।
कोटेश्वरमा पुगेपछि केही विवेकशील मान्छेहरू चढे । सिट नपाएकोमा थुकथुक थुकथुक गरिरहे । तर कहाँ उभिए/बसे कसैले देखेनन् ।
जडीबुटी पेट्रोल पम्पमा लालबाबुकै गाउँका जस्ता मान्छे साइकलमा तेल हाले झैँ देखिन्थे । गाडी कुदिहाल्यो । छेलियो ।
“म गाडीको स्टाफ हुँ, मसँग भाडा माग्छस्, भट्टीमा पोल्दिन्छु बढी बोलिस् भने“ भनेर आलम आलम जस्तो एउटा झर्यो । जडीबुटी पारि । बिंडारी थर भएको एउटा धेरै कुरा थाहा छ भन्दै उफ्रिरहेको थियो । केही नवजवान स्वतन्त्र, स्वतन्त्र भन्दै हल्ला गर्दै थिए । त्यतिकैमा रवि लामिछाने जस्तो हुलिया भएको एउटा व्यक्ति पनि प्रेसको कार्ड फ्याँकेर स्वतन्त्र, स्वतन्त्र, स्वतन्त्र भन्दै चिच्याउन थाल्यो ।
गाडी हुइँकियो र जडीबुटी पुल काटेर भक्तपुरको नाका प्रवेश गर्यो ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































