वासुदेव गुरागाईंचोखीनिती
काकीआमा खसेको आज तीन दिन हुँदैछ । जुठोमा माछा मासु खान हुन्न भनेका छन् पण्डित बाले । जानेबुझेसम्मको चोखीनिती त गर्नै पर्यो नि, परेन र ?’

के हो काजी ! चिउरासँग तीनपाने !! माछा र मासुको डङ्गुर नभईकन मदिराको मस्ती लिन सक्तिन भन्थ्यौ त ! आज त उसिनेको अन्डा र चिउरासँगै दन्काउन थालिएछ त ? खोई, मासुको थुप्रो ?
दाताराम दाहाल र आशाराम पाण्डेको मित्रता उनीहरू बामे सर्दैदेखिको हो । दुइ चार महिनाको अन्तर छ उनीहरूको जन्माइमा । जन्म भूगोल पनि नजिकनजिक । खेलबाड र पढाइलेखाइ सँगसँगै । त्यही भएर यी दुइ ज्यान फरक भएका एउटै मान्छेजस्ता छन् सबै व्यवहारमा । एक अर्काकोमा आउजाउमा कुनै रोकतोक छैन, जहाँ जतिखेर जस्तो अवस्थामा पनि । त्यसैले त आपसी मेलमिलाप अनुकरणीय छ यी दुवैको ।
आशाराम जसलाई जहाँ जतिखेर भेटे पनि मुखमा ल्वाङ नछुटाउन सल्लाह दिइरहन्छन् । ल्वाङले दाँतमा किरा लाग्न दिन्न भन्ने उनको तर्क रहन्छ । सधैँ ल्वाङकै मात्र कुरा गरिरहने भएकाले उनलाई साना ठुला सबैले ल्वाङ काजी भन्छन् । तर, कतिपयले चाहिँ शब्दको अर्थ जानेर हो वा नजानेर उनलाई ल्वाँगे काजी पनि भन्छन् । तर, जसले जे भने पनि खिस्स हाँसेर उडाइदिने बानी छ उनको ।
दातारामको जिज्ञासामा पनि उनले यसै गरे सुरुमा । चिउरा चपाइरहे । तीनपाने तन्काइरहे । अन्डा चाटिरहे । मुसुमुसु हाँसिरहे । र लगत्तै, यस किसिमको प्रतिक्रियाले दातारामको चित्त बुझेन भन्ने पनि बुझे उनले ।
एउटै आन्द्रा भएजस्तो बालककालदेखिको साथी । लुकाउनु पर्ने कुरो केही थिएन । त्यसैले दातारामसँग मुख खोल्दै उनले भने – ‘तिमीले ठिक भन्यौ । माछा मासु नभई मदिरा ननिल्ने सधैँको बानी हो मेरो । तर के गर्नू ! काकीआमा खसेको आज तीन दिन हुँदैछ । जुठोमा माछा मासु खान हुन्न भनेका छन् पण्डित बाले । जानेबुझेसम्मको चोखीनिती त गर्नै पर्यो नि, परेन र ?’
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































