साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तालुमा आलु

खुइलेको टाउकोले गर्दा हैरान मात्र होइन महाहैरान भा’छ । अरुको तालुमा त आलु फल्ला तर मेरो तालुमा आलु होइन टुटुल्को मात्र फल्या छ । यी हेर्नोस् त भर्खरै मात्र ठोक्किएर फोको आएको ! जय आलु जय तालु ।

Nepal Telecom ad

तालुमा आलु फल्छ भन्छन् भन्ने सनेको थिए आफ्नो त तालुमा आलु होइन या’मानको टुटल्को उठेर हरिविजोगै भो नि । खइलेको तालु लिएर हिँड्दा साह्रै जोगिएर हिड्नुपर्ने, ठोकियो कि तिरिमिरिझ्याईं देखिने । एकजना मिल्ने साथीले बनाएको नयाँघर हेर्न आउन भन्दै निम्तोे गरेको गर्‍यै, लौ त भन्दै एकदिन साइत निकालेर हेर्न गएँ । हेर्दै जाँदा एक ठाउँमा झक्किएर पिलरको चोसोले तालुमा लाग्यो । मलाई रगतपच्छे बनाइहाल्यो । लौ बा ! अब त भएन भन्दै टाउकोमा दुवै हातले थिचेर साथीसँग बोल्दै नबोली औषधी पसलतिर कुदें । उपचारपछि साथीको घरको पिलरमा लागेको रगत सम्झें मनमनै । मैले भने- मेरो तालुको रगत नै नयाँ घरमा भोग चढाएँ ।

एकदिन बेस्सरी टाउको दुख्यो भनेर हस्पिटल गएको त नर्सले सताएर पछाडि बाँकी भएको कपाल तानेको तानै । अगाडि खल्बाट भएपछि के तान्नु ! मैले भने- तपाईले यसरी नै कपाल तान्नु भयो भने त परै तालुखइले हुन वेर छैन । मेरो कुरा सुक्ने वित्तिकै तिनै नर्सले भनिन्- मेडिकल लाइनको पहिलो प्राथमिक उपचार भनेकै यै हो त म के गरुँ भन्दै तिनी मेरो रुपरङ्ग देखेर जिल्ल परिन् ।

हाम्रो नातागोतामा मेरो जस्तो गरेर तालु खुइलेको कसैको छैन । न हाम्रा बाजेका खुइले न त बाउका । बाउका पनि उमेर पुगेर होला अलिअलि खुइलेको देख्या हो । खुइलिन ! मलाई मात्र किन पर्‍या होला भनेर वेलावेलामा सोच्छु । बच्चामा मलाई बढी माया गरेर टाउकामा तातो तेलले ठोक्या भएर पो हो कि । जाडो महिनामा चिसो लाग्ला भनेर तातोपानीले नुहाइ दिएर पो त्यसो भाको पो हो कि भन्ने अड्कल काटिरहन्छ म । घरको काम गर्दा थाप्लोमा नाम्लोको डाम परेर पो हो कि भन्छु । यसो त्यसो जसो गर्दा पनि यसको सही उत्तर आउँदैन । खुइलिनु थियो खुइल्यो सकियो काम तमाम भनेर मन बझाउँछु ।

वर्षको दुईचोटी कपाल काट्न हजामकहाँ जान्छु, भाउ नमिलेर जात्रा ! हजामलाई म के भन्छु भने मेरो अगाडिको भाग काट्नुपर्ने होइन क्यारे, पछाडि मात्रै त हो नि, म अभिनय सहित पछाडि टाउको फर्काएर देखाउँछु । आधा मोलमा काट्ने भे काट्छु क्यारे होइन भने त जान्छु भन्दै एक दुई पाइला अगाडि सरे सरे झैं अभिनय पनि गर्छु हजामसँग । तिनी आफ्नो रेट एकोहोरो लिँडेढिपी छोड्दैनन् म आफ्नो बाटो लाग्छु । यसैगरी धेरै ठाउँमा चाहर्दा चाहर्दा जुन हजामकहाँ मैले सोचे जस्तो भाउ मिल्छ त्यही ठाउँमा कपाल काट्यो घर गयो । खुइलेको टाउकोले गर्दा हैरान मात्र होइन महाहैरान भा’छ ।

प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरोकार राख्नेहरू खुइलेको टाउकोप्रति लक्ष्य गर्दै भाग्यमानीको उपमा दिन्छन्, धनवानको संज्ञा दिन्छन् । अझ अरुले त के के दिने हो मलाई थाहा छैन । मलाई जुन उपाधिको भारी बोकाइदिएका छन् त्यो सही हो या गलत हो मलाई थाहा छैन । एउटीले त मेरो चिल्लो तालु देख्ने बित्तिकै वबहे नै रद्ध गरिन् । त्यो पीडा यो छातीभित्र अझै ताजै छ ।

एकदिन घरकीलाई ब्लड प्रेसर हाइ भएर रिस उठेछ । उसको रिस पोख्ने ठाउँ कहीँ नपाएर मैसँग पोख्न थालिन् । यसो गरेन र उसो गरेन भन्दै मसँग झगडा गर्न थालिन् । उनले बढी कचकच गर्न थालेपछि मेरो पनि पारो चढ्यो । के भनिस् रे भन्दै नदेख्ने गरी चुल्ठो समाएँ । उनले पनि मेरो टाउकोमा भएको कपाल समाउन खोजिन् सकिनन् । कसरी सकुन् त बरा ! टाउकोमा कपालै छैन । दाह्री जुंगा समाउन खोजिन् भेटिनन् । मेरो त दाह्री र जुंगा नै एकदमै कम आउँछ । उनको केही केही सीप नलागेपछि रिसको झोंकमै पनि मेरो खुइलेको तालु सम्झिछन् र खित्का छोडेर हास्न पो थालिन् । उनले पछि भेद खोलिन् । यस्तो बेलामा चाहिँ खूव काम लाग्या देख्ता छाती गर्वले फुलेल हन्छ ।

झिङ्गाहरूको पनि स्कुले भुराभुरीहरूको जस्तै चिप्लेटी खेल्ने क्रीडास्थल भएछ- मेरो तालु । कही कतै ठाउँँ नपाएर होला तिनीहरूको युद्ध मैदान बनेको छ- मेरो तालु । पटक पटक तालुमा झिङ्गा चिप्लिएर आफूलाई भने सकसक र काउकुती लागेर हातले यसो धपायो कोही कोही चाहिँ भाग्ने, कोही मेरो हातमा लागेर ठाउँको ठाउँमै शहीद हुने । पाप धर्म तिनले जानेनन् । फेरि हुल बटुलेर चिल्लो तालुमाथि खनिएर जात्रा । तिनीहरूले हत्तु बनाएरपछि लौ खा त भन्दै ढाकाटोपीले टाउको छोप्नु सिवाय अर्को उपाय थिएन । त्यसपछि पत्तासाप ।

तालुको कुरै नगरौं । एकताका आँवुखैरेनीबाट काठमाडौं आउँदा मान गरेर अगाडि सिटमा राखेको क्षण म सम्झिरहन्छु । म हरहमेसा झोला बोकेर हिँडिरहन्छु सिंहदरवारमा पस्न खोज्दा मेरो मुडुलो तालु देखेपछि चेक नै नगरी उल्टो सैनिकले सलाम ठोकेर मान गरेको देख्ता ठूलै मान्छेमा दर्ता भएको क्षण, ड्राइभर र खलासीले मेरो कुरा सुनेर भाँडा नलिएको क्षण, वन्द हड्ताल हुदाँ आफ्नो गन्तव्यमा पुग्न भेटे जतिको मोटरसाइकललाई हात दिएर रोक्यो अनि सहमतिमा बसेर गयो । उहाँहरूको दृष्टिकोणमा तालु खुइलेको छ, ठूलै मान्छे होला भन्ने कारणले जहाँ पनि सजिलै भा‘छ । त्यसरी मान सम्मान पाएको देख्ता बाँकी कपाल पनि खौरेर सम्मै पारिदिउँ कि जस्तो मनमा लाग्थ्यो । के गर्नु मनले आँटेर मात्र हुँदैन रहेछ ।

काठमाडौंमा पानीको अनिकाल परेको वेला खान त गाह्रो भएको वेला नुहाउने कुरा त तीन हात परको कुरा भैगो । केही गरी नुहाउन पर्‍यो भने पनि साबन, पानी लगायत सबका सब थोरै भए पुग्ने उपाय छ मसँग । काठमाडौका घरमुलीहरूले अबदेखि तालुखुइलेहरूलाई मात्र डेरामा राख्ने गर्नुस् अरुलाई बात । टन्टैसाफ । ठुटे कपाल भएका महिला दिदीबहिनीहरूलाई डेरामा राख्दा कम पानी भए पुग्यो । न त जाम होला भन्ने पीर, न त टेन्सन बोक्नुपर्ने पीर, न त जुम्रा पर्ला भन्ने पीर, न त चायाँ पर्ने पीर, क्या हाइसन्चो ।

केही महिना पहिले माओवादीको भातृ संगठन नेवाः राज्यले उपत्यका बन्द गर्‍यो । गोपीकृष्ण हलदेखि धादिङको खानीखोलासम्म हिँडेर पुगियो । फर्कदा खानीखोलाबाट आधा बाटो पार भएर हिँड्दै गर्दा प्रेसको गाडी भेटियो । यसो जम्लेहात अनुरोध गरेको त कलङ्की चोकसम्म पुर्‍याउने शर्तमा चढियो । शर्त बमोजिमको नगद तिरियो अनि हिँडियो । कलङ्की चोकबाट गोपीकृष्ण हल पुग्न छोटो छोटो बाटो हुँदै घर पुग्ने योजना बनाएँ । कलङ्की चोकबाट भित्री बाटो हुँदै टेकु निस्कें । त्यहाँबाट भित्री बाटो हुदै यङ्गाल पुगें । यङ्गालबाट भित्री चोक, भित्री चोकबाट अर्को चोक निस्कन पहिले पहिले बनेका होचा होेचा घरको मुनि मुनि हुँदै ओमबहाल निस्कें । खानीखोलादेखि त्यहाँ आइपुग्दा हपहप गर्मीले गर्दा जीउमा लुगा लपक्कै भिजेको थियो । निधारबाट खलखली पसिना बगिरहेको थियो । हिंडाइ ज्यादा भएर पो हो कि खुट्टा दुखेर हिंड्नै नसक्ने अवस्थामा पुगेको थिएँ । तर म बहुला सरकारको चेपुवामा परेको थिएँ ।

सडकमा मान्छेको भीडभाड र हाहा हुहु बाहेक केही सुनिदैन्थ्यो । एम्बुलेन्स र पे्रसको गाडी मात्र मोटरको नाममा कुदेका देखिन्थ्यो । यङ्गालबाट होचा घरको मुनिबाट अर्को चोक निस्कने बेलामा होचा घरको थाममा टाउको ठोक्किएर फुट्यो । धन्य ! त्यो दिन मैले टोपी लगाएको थिएँ र मात्र, थोरै चोट लाग्यो । नत्र त गाह्रै पर्ने । घरको थाममा ठोक्किएर तिरिमिरिझ्याईं देखें र टाउको समाएर थचक्क बस्न पुगेँ । धाउले टनटन दुखेको टाउको समाउँदै बसिरहेको मात्र के थिएँ त्यहिबेला टोले कुकुरले पहिले मलाई हेर्नु हेर्‍यो, उसले सोचेभन्दा फरक मान्छे पाएर पो हो कि अनि मात्र भुकेर मलाई लखेट्न थाल्यो । म अघिअघि कुकुर पछिपछि । एकछिन सम्झें मान्छे र कुकुर वीच दौड प्रतियोगिता भइरहेको अनुमान हुन्थ्यो । त्यहीबेला कुकुरका मालिकले कुकुरको नाम लिएर बोलाएपछि ऊ टक्क अडियो अनि मात्र मैले सुखद सास फेरेर आराम गर्न पाएँ । त्यहाँबाट सुस्त सुस्त बिस्तारै हिँड्दै चावहिलको गोपीकृष्ण हल छेउको घर पुगेँ । सोझो पायो भने कुकुरले त बाँकी राख्दैनन् भने मान्छेले के राख्ला ! झण्डैले बिताएन त्यो दिन कुकुरले ।

बालाजू शाखामा कार्यरत भएको बेलामा मलाई एकजना गार्डले कपाल पलाउने उपाय सिकाउन थाल्यो । मैले उसको सबै कुरा डिट्टो नविराईकन सुने । कुरा के रहेछ भने- गाईको गोवर, खाने तेल आधा लिटर, नून आधा किलो, तितेपाती, चिप्लेकीरा, अदुवा, लसुन, बेसार लगायतका सामग्रीलाई एक ठाउँमा जम्मा पार्ने, पिन्ने कुरा जति पिन्ने, अनि मात्र सवै चिज एकै ठाउँमा राखेर मज्जाले मुछ्ने । यो भयो बनाउने बिधि । तयारी सामग्री टाउको भरी दल्ने, नेपाली कागजले टाँस्ने । यसरी सके दिनका दिन, नसके हप्तामा एकचोटी मात्र लगाएको खण्डमा पक्का कपाल उम्रिन्छ भनेर सल्लाह दिए । एक त नेवारको छोरालाई गोबर छुन नै गाह्रो, त्यसमाथि टाउकोमा दल्ने भनेपछि मैले सोच्न पनि सकिन । अरुलाई एकचोटी सल्लाह मागुँ कि जस्तो लाग्याथ्यो टाउकोमा गोबर दल्ने भनेपछि मैले आँटै गर्न सकिन । मैले पछि सोचें- गार्डले भने बमोजिमको औषधी दल्दा कपाल उम्रने भए संसारका ठूलाठूला व्यक्तित्वहरूको तालु ढकमक्क कपालले भरिएको हुनुपर्ने, त्यसै खाली बनाएर के हिँड्थे होला जसो लाग्यो । अर्को मनले भन्यो- न त ख्याउनु पर्ने न त स्याहार सुसार नै गर्नुपर्ने यो नाथे काममा लाईराख्छ भनेर टारें । मैले त्यो गार्डको सल्लाहलाई हल्लामा मिसाउँदा पो वल्ल थाहा पाएँ, त्यो उसको उटपट्याङ उपाय पो रहेछ ।

जागीर खाँदाकै समयमा एकजना मिल्ने साथीले मेरो तालु खुइलेको देखेपछि सान्त्वना स्वरुप एउटा कागजको चिरकट्टोमा लेखिए अनुसारको औषधी खोजेर लाउनू, कपाल उम्रिन्छ भनेर एकदिन सल्लाह दिए । होला ता नि ! भनेर साथीले लेखिदिएको त्यही चिरकट्टो वोकेर औषधी पसलमा गएँ । पसलेले चिरकट्टो पढेर दिल खालेर हाँस्यो, अर्को पसलमा जान अनुरोध गर्‍यो । अर्को पसलमा गयो उसले पनि पहिलेको पसलेले गरे झैं व्यवहार गर्‍यो । यसरी काठमाडौंमा खोलिएका औषधी पसल जतिमा छापा मार्दा पनि साथीले भनेको औषधी पाउन सकिन । पसल चाहार्दा चाहार्दा वरु हत्तु भइयो औषधी पाउन सकेको होइन । वरु मैले वोकेको चिरकट्टो पढेर औषधी पसलेहरूलाई पो फाइदा भएछ । एकछिन भए पनि सित्तैमा हाँस्न पाए । पैसा तिर्नु पर्‍या भए बाउको विहे देख्थे होला ! मैले टाउकोमा कपाल उमारेर गुलाफको फूल झैं ढकमक्क पार्ने सपना कहिल्यै पूरा भएन । मैले बोकेको चिरकट्टो देखर अरुचाहि हाँस्ने, औषधी चाहिँ किन नपाएको होला भनि एकदिन धोत्लिँदा पो बल्ल आत्मज्ञान भयो- मलाई तिनै साथीले पनि हुस्सु वनाएका रहेछन् ।

तालु, चिण्डे, खल्बाट जे उपनाम दिए पनि साँचो कुरा तालुबाट कपाल खुइलिनु हो । कसै कसैलाई मसँग रिस उठ्या छ भने चिनाउने साझा माध्यम नै यही तालु हो । त्यसैले अरुलाई टाउकोमा कपाल नभएर पीर गर्छन् आफूलाई त क्या मज्जा भा‘छ । करै नगरौं ! बाह्र वर्षको उमेरदेखि शुरू भएको यो तालुको लडार्इं अहिले आएर सही सावित भएको छ । मेरो लागि तालु खइलिनु भनेको जिन्दगीमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाए जतिकै भएको छ । अरुको तालुमा त आलु फल्ला तर मेरो तालुमा आलु होइन टुटुल्को मात्र फल्या छ । यी हेर्नोस् त भर्खरै मात्र ठोक्किएर फोको आएको ! जय आलु जय तालु ।

सरस्वतीनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x