केशव दुवाडीजडाउरी शब्द र बहुरुपी भाषा
‘भात पकाउने’ भन्यो चामल पकायो, ‘चिउरा कुट्ने’ भन्यो धान कुट्यो, ‘पिशाब फेर्ने भन्यो फालेर आयो । त्यसैगरी हामीकहाँ ‘खाने पानी संस्थान’ले ‘पिउने पानी’को काम गर्छ ।

भयङ्कर भाषाभिरूहरूले उठाउन पर्ने विषयलाई म जस्तो उरण्ठेउलो ठिटोले त्यै पनि मौफसलमा बसेर उठाउनु खोज्नु ‘गाँठी न गुठी जर्जरी उठी’ जस्तै होला । तर खुल्ला प्रजातन्त्रमा मनमा लागेको कुरा मन फुकाएर मजासँग भन्न पाइने भएकोले मौकामा चौका हान्न खोजेको ।
सैद्धान्तिक रुपमा जडाउरीलाई सबैले हेलाँ गरे पनि व्यवहारमा सहर्ष स्वीकार गरेको पाइन्छ । कुरै गर्ने हो भने हाम्रो खाल्डो जडाउरीमय छ । शिक्षा, प्रविधि, विकास जताततै जडाउरी ने जडाउरी छ । तपार्इंहरू पत्याउनुहोस् या नपत्याउनुहोस् मेरो विचारमा त तपाई हामीले ज्यान जोखिममा राखेर ल्याएको जनतन्त्र पनि जडाउरीकै जामाभित्र जकडिएको छ । हामीले ल्याएको बेलायती नमूनाको जडाउरी प्रजातन्त्र फेल खाएर त हो नि फेरि अर्को आन्दोलन गर्न परेको । यत्रतत्र सर्वत्र जडाउरीकरण भएपछि शब्द जडाउरी नहुने त कुरै भएन, अब शब्द जडाउरी भएपछि भाषा भासिएर बहुरुपी हुन केको आइतबार ?
‘भाषा भासिन जान्छ भाषहरूमा……..’ भन्ने यौटा कविताको टुक्रा कता कता याद आइरहेको छ । कविजीको नाम र कविताको पूरा पंक्ति चाहिँ बिर्सिएँ । प्रजातन्त्रमा बिर्सिनु एकदम सामान्य कुरा हो । संझीसाध्य भए पो । अब सबै कुरो संझन थाल्दा चुनावमा मतदाताहरूसँग गरिएका सबै कुरा पूरा गर्न पर्यो । ढुङ्गा टुसाउँदैन बालुवाबाट तेल आउँदैन कसरी पूरा गर्ने ती कुराहरू ? फेरि भनेका कुराहरू सबै गर्दा यसो दुईचार पुस्ता पाल्ने संपति पनि कमाउने पालो पाइन्न । अर्को चोटी चुनाबमा चिप्लिएर चूँ भैयो भने बर्बाद पर्दैन ? अर्को कुरा एक्काइसौँ शताब्दी कम्प्युटरको युग भएकोले सम्झने काम पनि त्यसैको हो । घरको मझेरीमा बसेर पश्चिमी षोडसी सुन्दरीहरूको आवरणहीन तिघ्रा देख्न सकिने आजको आधुनिक युगमा राष्ट्र भाषाको पहिचान खोज्नु मूर्खता हो भनेर ओठ लेप्र्याउनेहरू पनि डुङ्गुर छन् । तै पनि ‘बसी बियाँलो सके बालौँ दियालो’ गर्न खोजेको क्या !
पहिचानकै कुरा गर्दा जन्त गा’को कुरा संझेँ । दाइको बिहेमा जन्त गएको बाटोमा जुत्ता फाटेर क्या झुर भो । माइलाबाउसँग साँटेर लाएको थिएँ, परिचयको क्रममा साथीले मलाई ‘दुलाहको भाइ’ भनेर भन्न मात्र भ्याएको थियो माइला बाउले जुरुक्क उठेर यसो भने ‘हो हजुर भाइ चाहिँ दुलाहको जुत्ता चाहिँ मेरो, उसको त हेर्नुस् न फाटेर मलाई भिरायो बजियाले ।’
मैले सन्दर्भ सम्झेको कुरा त यहाँहरूले बुझिहाल्नु भयो होला किन भने आजभोलिका मानिसहरू उल्का छिटो कुरा बुझ्छन् । टाउकोमा पिलिक्क आँखा पुर्याउने बित्तिकै सारा समाचार थाहा पाउन सक्छन् । त्यसैले यहाँहरूले पनि बुझिसक्नु भयो होला भाषा चाहि हाम्रो शब्द चाहिँ जडाउरी होइन त ?
खोजी गर्ने हो भने हामीले पाइला पाइलामा प्रयोग गर्ने वाक्य पनि ‘मेचीतिरको कुरा कोशीतिरको काम’ जस्तै छ । ‘भात पकाउने’ भन्यो चामल पकायो, ‘चिउरा कुट्ने’ भन्यो धान कुट्यो, ‘पिशाब फेर्ने भन्यो फालेर आयो । त्यसैगरी हामीकहाँ ‘खाने पानी संस्थान’ले ‘पिउने पानी’को काम गर्छ ।
बहुभाषी बन्नु आपत्तिजनक कुरा होइन तर हाम्रो भाषालाई अर्काको जडाउरीको जामा लगाइदिनु मान्छेको टाउको गिँडेर बोकाको टाउको जोड्नु जस्तै होइन र ? आफ्नो जडाउरी अर्कालाई भिराउन सके पो घिरौले नाक पार्नु, अर्काको जडाउरी भिरेर के नाक ठाडो पार्नु ? आफ्नो देशबाट नयाँ नयाँ आविष्कार गर्न सके पो आफ्नो शब्द अरुले करले भने पनि भिर्छ, हरेक कुरामा अर्काको मुख ताक्नु परेको छ । बल्लबल्ल ‘गरीखा’ भनेर प्रकृतिले कसैसँग पनि नभएको सगरमाथा दिएको थियो त्यै पनि आफूले पत्ता लगाउन नसकेर ‘एभरेस्ट’ भन्नु परेको छ । ‘नेपाली हिमालको अंग्रेजी नाउँ, नेपालीहरू भुत्रो खाऊ’ । त्यसो त वाध्यताले भिरेको जडाउरीलाई सामान्य नै मान्नु पर्दछ । ‘नहुने मामा भन्दा कानो मामा निको’ भने झै जसोतसो लाज त छोप्नै पर्यो । तर आफ्नो टोपी हुत्याएर अर्काको लँगौटी टाउकोमा पगरी गुथ्नु पाजीपन होइन र ?
यता विचरो गाउँले नून तेल गर्न बहादुर बन्न जान्छ र ‘छे महिना के बात’ आएर ‘लेकिन लेकिन’ को बात गर्छ । उता सहरिया सुपुत्र ‘सिकागो बुल्स ब्याण्ड’को गीत सुन्छ र ‘बुझ्नु न सुझ्नु त्यसै कुद्नु’ भनेझै ‘हेलो हाइ र किस’को बात गर्छ । त्यसो भएपछि नेपांग्रेजी शब्दहरू ‘अन्दाजीफिकेशन’ र ‘अडकलाइजेसन’ बन्न के बेर ? नेपाली भाषालाई यताबाट पनि झापड उताबाट पनि झापड ।
म जस्ता आलु उटपट्याङकारहरू यता पनि समस्या उता पनि समस्या देखाएर सम्बन्धित निकायको काम भन्दै समस्याको कुम्लो ढोकामा छाडी आफू चाहि झ्यालबाट टाप कस्छन् । उता प्रतिष्ठानका प्रतिस्ठितहरू प्रतिस्ठाकै लागि पौठेजोरी खेल्छन् । हाम्रो भाषा, हामी प्रयोगकर्ता, अब कसको मुख ताक्ने ? पुनर्निर्माण आफ्नै घरबाट थाल्दा कसो होला ?
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































