साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीज्यूको बयान

यो वयान नं. एक मात्र हो । यसपछिको बाँकी बयान भ्रष्टाचारीज्यूले अख्तियारज्यूसँग लिनुहुन्छ या अख्तियारज्यूले भ्रष्टाचारीज्यूसँग लिनुहुन्छ त्यो बुझ्न भने लखरठ्याक आतुर रहेको छ ।

Nepal Telecom ad

आज उहाँको अनुहारमा रहेको चमक थोरै घटेको प्रष्टै देखिन्छ । उहाँलाई विनामेसै अख्तियारले पूर्जी काटेर वयानका निम्ति बेफ्वाँकमै बोलायो । नगए पनि कुरो बर्बाद छ, जाउँ भने पनि मोरा पत्रकारले पक्कै पनि गौंडो ढुकेर बसेका होलान् । “फलानो हिजो अख्तियारमा हाजिर” भन्दै समाचार छापिहाल्छन् । साँच्चै आज उहाँको मुड बिहानैदेखि हुस्सु लागेको उपत्याका जस्तै बनेको छ । अल्छीलाग्दो पाराले उहाँले सफेद मयलपोश सर्लक्कै फुकाल्नु भयो र हल्का एवम् खैरो खालको भेष्ट भिर्नुभयो । उहाँ महलबाट चिप्स ठोकेको आँगनमा ओर्लिंदा नओर्लिदै ग्यारेजको पजेरोले एक फुङ्कार छोड्यो र दाहिनेतिरबाट फन्का मार्दै उहाँका सम्मुख आएर उभियो । उहाँ एकैछिन घोरिनु भयो अनि तुरुन्तै सोच्नु भयो- “अख्तियारमा बयान दिन जानु छ ।”

त्यसपछि ड्राइभरलाई हकार्दै भन्नुभयो- “पजेरो ग्यारेजमै थन्क्याऊ र बाहिरबाट ट्याक्सी लिएर आऊ ।” ड्राइभर ट्याक्सी डाक्न मूलढोकाबाट हतारहतार गर्दै बाहिर निस्कियो । उहाँ आँगनमा टहलिन थाल्नु भयो । उहाँकी पत्नी महोदया पनि तल झरिसक्नु भएको थियो । “होइन, हजुरको अनुहार यतिविघ्न किन सोहोरिएको भन्या ? यस्तो अँध्यारो मुख लिएर अख्तियारको ढोकाभित्र छिर्दा झन् के भन्लान् ! लौ अलि हँसिलो हुनुहोस् त । त्यो अख्तियार त के अख्तियार सख्तियारको बाबुको पनि क्यै दैया चल्दैन क्या ! त्यसमाथि एउटा जाबो पूर्जी काटेर बोलाएको न हो । मेरो भएभरको सम्पत्ति मेरी पत्नीले माइततिर र खै कुन्नि कताबाट ल्याएकी हुन्, म त आज पनि हरितन्नम्को हरितन्नम् नै छु भनिदिए त भै गो नि ! यस्तो ध्वाँसो दल्या जस्तो अनुहार लाउने हैन नि मैलै भन्द्या छु !”

एउटा रातो ट्याक्सी आँगनको पटाङ्गिनीमा छिरेर घ्याच्च रोकियो । उहाँ आफ्नो प्यारो पजेरोतिर पुलुक्क हेर्दै रातो ट्याक्सीमा सवार हुनुभयो । त्यो ट्याक्सी अख्तियारको बयानस्थल पुग्दा त्यहाँको वातावरण देखेपछि उहाँलाई एक तमाससँग रुन मन लाग्यो । कुनै बेला महमा झिँगा भन्किए झैँ आफ्नो चाकरीमा वरिपरि रिँगिरहनेहरू नै अहिले आफूप्रति कुम उचालेर खुच्चिङ गर्न त्यहाँ खडा थिए । कोही पनि उहाँप्रति सहानुभूतिशील छैनन् । ट्याक्सीबाट ओर्लिएर कोही कसैको अनुहार नहेरी उहाँँ सरासर अख्तियारको मूलढोकातिर लाग्नुभयो ।

तोकिएका अख्तियारवाला अधिकृतहरू वयानका निम्ति तातोतातो चिया पिउँदै यथास्थानमा हुनुहुन्थ्यो । “ऊः उहाँ आइपुग्नु भयो ।” हस्याङफस्याङ गर्दै भित्रिनु भएका भ्रष्टाचारीज्यूलाई अख्तियारज्यूले हार्दिक स्वागत गर्नुभयो- “नमस्कार छ है यहाँलाई । लौ बस्नुहोस् । हामी त यहाँलाई नै पर्खिरहेका थियौं ।”

“हैन, यहाँहरूले मलाई फेरि बोलाई पठाउनु भएछ । व्यर्थैमा यसरी किन पूर्जी काटेर बोलाउने दुःख गर्नु भा’होला कुन्नि !” भ्रष्टाचारीज्यूको बोलीमा केही शर्मिन्दापन थियो । जे होस् यसरी बडो हार्दिक वातावरणमा भ्रष्टाचारीज्यू र अख्तियारज्यूका बीच वयान-वार्ता प्रारम्भ भयो ।

“काठमाडौंको नाकैमा तीन चार करोड मोलिने त यहाँको झुप्रो मात्रै छ भन्ने थाहा पाइयो । त्यो झुप्रो बनाउन आवश्यक क्याँटको व्यवस्था चाहिँ कसरी मिलाउनु भयो भ्रष्टाचारीज्यू ?” अख्तियारज्यूले पहिलो औपचारिक सवाल तेस्र्याउनु भयो । सवाल सुनेर मनमनै गुन्दै भ्रष्टाचारीज्यू एक पटक ख्याक्क खोक्नु भयो । यतिखेरसम्म उहाँको फुस्रो अनुहारमा रङ्ग चढिसकेको थियो । बोलीमा देखिएको शर्मिन्दापन पनि हटिसकेको थियो । “हैन, यहाँहरूले के भन्नु भएको होला यस्तो ! त्यही जाबो झुप्रो बनाउने चक्करमा लाग्दालाग्दै म कुप्रो परिसकें । जहाँसम्म क्याँटको सवाल छ त्यसको जगेडाका निम्ति पनि मेरो निजी परिश्रम-पसिनाको थोपै परेको छैन । मेरी पत्नीको माइती खलक वैदेशिक व्यापारमा संलग्न छन् । यता नौजवान छोरो स्वदेशकै व्यापारमा धुत्त भएर लागेको आधा दर्जन वर्ष बितिसक्यो । वैदेशिक व्यापारको आमदानीको अलिकति हिस्सा पत्नीले तान्ने, स्वदेशी व्यापारको अलिकति अंश छोराले खंैचने गर्दा क्याँटमा भ्याटै लागे पनि टाट चाहिँ परिएन छ बा ! अनि जाबो एक दुईवटा झुप्रा बनाउन कुन आइतबार कुर्नु पर्दो रैछ त भन्या ?”

गजक्क पर्दै अख्तियारज्यूले दोस्रो सवाल पछार्नुभयो- “हजुरका त दुईवटा पजेरै छन् भनिन्थ्यो । कुन चाहिँमा सवारी भा’थ्यो कुन्नि ?” भ्रष्टाचारीज्यूले आफ्नो उपरखुट्टीको आशन बदल्दै भन्नुभयो- “हेर्नुस्, जोसँग वैदेशिक व्यापारमा साडीवाल छ, उसका निम्ति दुई चारवटा गाडी कुन ठूलो कुरा भो त भन्या ! तर म आज यहाँ आउँदा भने भाडाको ट्याक्सी चढेर आएको हुँ है हजुर । ‘भेडावाललाई राडी अनि साडीवाललाई गाडी’ यो पनि कुनै अनर्थको कुरा हो र ?” फेरि अर्को एउटा रेडिमेड प्रश्न तेर्सियो- “यहाँको लकर सकर कुनचाहिँ बैंकमा थियो कुन्नि ?” “सम्पत्ति आयोगको खोजिपाँसुलीले मेरी पत्नीलाई सजग बनाइसकेकै थियो । त्यसकारण स्वदेशी बैंकका लकर-सकरको चक्करमा परेर ठक्कर खाने दुर्बुद्धि चाहिँ अक्कलमा पलाएनछ अख्तियारज्यू ।” भ्रष्टाचारीज्यू एक पटक मुसुक्क हाँस्नु भयो ।

यसरी अख्तियारज्यू र भ्रष्टाचारीज्यूका बीच जमेको बयान-वार्ता रेडिमेड सवाल र रेडिमेड जवाफमै आदान प्रदान भइरहेको छ । पछिल्लो प्रश्नको सवाल-जवाफपछि बाँकी वयान स्थगित भएको जानकारी गराइयो । यो वयान नं. एक मात्र हो । यसपछिको बाँकी बयान भ्रष्टाचारीज्यूले अख्तियारज्यूसँग लिनुहुन्छ या अख्तियारज्यूले भ्रष्टाचारीज्यूसँग लिनुहुन्छ त्यो बुझ्न भने लखरठ्याक आतुर रहेको छ ।

कलङ्की, काठमाडौं
नोभेम्बर १६, २०१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x