नरनाथ लुइँटेलभ्रष्टाचारीज्यूको बयान
यो वयान नं. एक मात्र हो । यसपछिको बाँकी बयान भ्रष्टाचारीज्यूले अख्तियारज्यूसँग लिनुहुन्छ या अख्तियारज्यूले भ्रष्टाचारीज्यूसँग लिनुहुन्छ त्यो बुझ्न भने लखरठ्याक आतुर रहेको छ ।

आज उहाँको अनुहारमा रहेको चमक थोरै घटेको प्रष्टै देखिन्छ । उहाँलाई विनामेसै अख्तियारले पूर्जी काटेर वयानका निम्ति बेफ्वाँकमै बोलायो । नगए पनि कुरो बर्बाद छ, जाउँ भने पनि मोरा पत्रकारले पक्कै पनि गौंडो ढुकेर बसेका होलान् । “फलानो हिजो अख्तियारमा हाजिर” भन्दै समाचार छापिहाल्छन् । साँच्चै आज उहाँको मुड बिहानैदेखि हुस्सु लागेको उपत्याका जस्तै बनेको छ । अल्छीलाग्दो पाराले उहाँले सफेद मयलपोश सर्लक्कै फुकाल्नु भयो र हल्का एवम् खैरो खालको भेष्ट भिर्नुभयो । उहाँ महलबाट चिप्स ठोकेको आँगनमा ओर्लिंदा नओर्लिदै ग्यारेजको पजेरोले एक फुङ्कार छोड्यो र दाहिनेतिरबाट फन्का मार्दै उहाँका सम्मुख आएर उभियो । उहाँ एकैछिन घोरिनु भयो अनि तुरुन्तै सोच्नु भयो- “अख्तियारमा बयान दिन जानु छ ।”
त्यसपछि ड्राइभरलाई हकार्दै भन्नुभयो- “पजेरो ग्यारेजमै थन्क्याऊ र बाहिरबाट ट्याक्सी लिएर आऊ ।” ड्राइभर ट्याक्सी डाक्न मूलढोकाबाट हतारहतार गर्दै बाहिर निस्कियो । उहाँ आँगनमा टहलिन थाल्नु भयो । उहाँकी पत्नी महोदया पनि तल झरिसक्नु भएको थियो । “होइन, हजुरको अनुहार यतिविघ्न किन सोहोरिएको भन्या ? यस्तो अँध्यारो मुख लिएर अख्तियारको ढोकाभित्र छिर्दा झन् के भन्लान् ! लौ अलि हँसिलो हुनुहोस् त । त्यो अख्तियार त के अख्तियार सख्तियारको बाबुको पनि क्यै दैया चल्दैन क्या ! त्यसमाथि एउटा जाबो पूर्जी काटेर बोलाएको न हो । मेरो भएभरको सम्पत्ति मेरी पत्नीले माइततिर र खै कुन्नि कताबाट ल्याएकी हुन्, म त आज पनि हरितन्नम्को हरितन्नम् नै छु भनिदिए त भै गो नि ! यस्तो ध्वाँसो दल्या जस्तो अनुहार लाउने हैन नि मैलै भन्द्या छु !”
एउटा रातो ट्याक्सी आँगनको पटाङ्गिनीमा छिरेर घ्याच्च रोकियो । उहाँ आफ्नो प्यारो पजेरोतिर पुलुक्क हेर्दै रातो ट्याक्सीमा सवार हुनुभयो । त्यो ट्याक्सी अख्तियारको बयानस्थल पुग्दा त्यहाँको वातावरण देखेपछि उहाँलाई एक तमाससँग रुन मन लाग्यो । कुनै बेला महमा झिँगा भन्किए झैँ आफ्नो चाकरीमा वरिपरि रिँगिरहनेहरू नै अहिले आफूप्रति कुम उचालेर खुच्चिङ गर्न त्यहाँ खडा थिए । कोही पनि उहाँप्रति सहानुभूतिशील छैनन् । ट्याक्सीबाट ओर्लिएर कोही कसैको अनुहार नहेरी उहाँँ सरासर अख्तियारको मूलढोकातिर लाग्नुभयो ।
तोकिएका अख्तियारवाला अधिकृतहरू वयानका निम्ति तातोतातो चिया पिउँदै यथास्थानमा हुनुहुन्थ्यो । “ऊः उहाँ आइपुग्नु भयो ।” हस्याङफस्याङ गर्दै भित्रिनु भएका भ्रष्टाचारीज्यूलाई अख्तियारज्यूले हार्दिक स्वागत गर्नुभयो- “नमस्कार छ है यहाँलाई । लौ बस्नुहोस् । हामी त यहाँलाई नै पर्खिरहेका थियौं ।”
“हैन, यहाँहरूले मलाई फेरि बोलाई पठाउनु भएछ । व्यर्थैमा यसरी किन पूर्जी काटेर बोलाउने दुःख गर्नु भा’होला कुन्नि !” भ्रष्टाचारीज्यूको बोलीमा केही शर्मिन्दापन थियो । जे होस् यसरी बडो हार्दिक वातावरणमा भ्रष्टाचारीज्यू र अख्तियारज्यूका बीच वयान-वार्ता प्रारम्भ भयो ।
“काठमाडौंको नाकैमा तीन चार करोड मोलिने त यहाँको झुप्रो मात्रै छ भन्ने थाहा पाइयो । त्यो झुप्रो बनाउन आवश्यक क्याँटको व्यवस्था चाहिँ कसरी मिलाउनु भयो भ्रष्टाचारीज्यू ?” अख्तियारज्यूले पहिलो औपचारिक सवाल तेस्र्याउनु भयो । सवाल सुनेर मनमनै गुन्दै भ्रष्टाचारीज्यू एक पटक ख्याक्क खोक्नु भयो । यतिखेरसम्म उहाँको फुस्रो अनुहारमा रङ्ग चढिसकेको थियो । बोलीमा देखिएको शर्मिन्दापन पनि हटिसकेको थियो । “हैन, यहाँहरूले के भन्नु भएको होला यस्तो ! त्यही जाबो झुप्रो बनाउने चक्करमा लाग्दालाग्दै म कुप्रो परिसकें । जहाँसम्म क्याँटको सवाल छ त्यसको जगेडाका निम्ति पनि मेरो निजी परिश्रम-पसिनाको थोपै परेको छैन । मेरी पत्नीको माइती खलक वैदेशिक व्यापारमा संलग्न छन् । यता नौजवान छोरो स्वदेशकै व्यापारमा धुत्त भएर लागेको आधा दर्जन वर्ष बितिसक्यो । वैदेशिक व्यापारको आमदानीको अलिकति हिस्सा पत्नीले तान्ने, स्वदेशी व्यापारको अलिकति अंश छोराले खंैचने गर्दा क्याँटमा भ्याटै लागे पनि टाट चाहिँ परिएन छ बा ! अनि जाबो एक दुईवटा झुप्रा बनाउन कुन आइतबार कुर्नु पर्दो रैछ त भन्या ?”
गजक्क पर्दै अख्तियारज्यूले दोस्रो सवाल पछार्नुभयो- “हजुरका त दुईवटा पजेरै छन् भनिन्थ्यो । कुन चाहिँमा सवारी भा’थ्यो कुन्नि ?” भ्रष्टाचारीज्यूले आफ्नो उपरखुट्टीको आशन बदल्दै भन्नुभयो- “हेर्नुस्, जोसँग वैदेशिक व्यापारमा साडीवाल छ, उसका निम्ति दुई चारवटा गाडी कुन ठूलो कुरा भो त भन्या ! तर म आज यहाँ आउँदा भने भाडाको ट्याक्सी चढेर आएको हुँ है हजुर । ‘भेडावाललाई राडी अनि साडीवाललाई गाडी’ यो पनि कुनै अनर्थको कुरा हो र ?” फेरि अर्को एउटा रेडिमेड प्रश्न तेर्सियो- “यहाँको लकर सकर कुनचाहिँ बैंकमा थियो कुन्नि ?” “सम्पत्ति आयोगको खोजिपाँसुलीले मेरी पत्नीलाई सजग बनाइसकेकै थियो । त्यसकारण स्वदेशी बैंकका लकर-सकरको चक्करमा परेर ठक्कर खाने दुर्बुद्धि चाहिँ अक्कलमा पलाएनछ अख्तियारज्यू ।” भ्रष्टाचारीज्यू एक पटक मुसुक्क हाँस्नु भयो ।
यसरी अख्तियारज्यू र भ्रष्टाचारीज्यूका बीच जमेको बयान-वार्ता रेडिमेड सवाल र रेडिमेड जवाफमै आदान प्रदान भइरहेको छ । पछिल्लो प्रश्नको सवाल-जवाफपछि बाँकी वयान स्थगित भएको जानकारी गराइयो । यो वयान नं. एक मात्र हो । यसपछिको बाँकी बयान भ्रष्टाचारीज्यूले अख्तियारज्यूसँग लिनुहुन्छ या अख्तियारज्यूले भ्रष्टाचारीज्यूसँग लिनुहुन्छ त्यो बुझ्न भने लखरठ्याक आतुर रहेको छ ।
कलङ्की, काठमाडौं
नोभेम्बर १६, २०१०
Subscribe
Login
0 Comments
Oldest







































