नन्दलाल आचार्यबुहारी
जवाफमा आँसु पुछ्दै भनिन्; ‘रमेश विदेश गएदेखि नै ऊ हरेक रात मलाई नै रमेश ठान् भन्न थाल्यो । नमान्दा नशाको ओखती खुवाएर मसँग गर्नु नगर्नु हर्कत गर्न थाल्यो ।’

सूर्योदयपूर्व ‘मरगेलिए । हम मरगेलिए । हमरा नमार् ।’ भन्दै परिचित बुढो मन्दिर गेटमै लम्पसार थियो । अरु दिन पनि विहान चार बजेको आसपास त्यो बुढो शिव मन्दिरमा आउँथ्यो । मूर्ति अघि बरबराउँदै पचास पटक उठबस गथ्र्यो । पसिना पुच्छै बाहिर निस्कँन्थ्यो । कसैले देख्ला कि भनी कुलेलम ठोक्थ्यो ।
छेउमा शिकार झम्टन्न लागेको बाघजस्तो स्वरुपमा तिनै महिला खडा थिए । हातमा चिर्पट बोकेका थिए । सलले मुहार छोपेका थिए ।
‘के भो ? किन यी धर्मभीरु बुढालाई मरणासन्न पारेको ?’ मैले महिलाहरूतिर फर्केर भनेँ ।
प्रहरीलाई खबर गर्न मोबाइल के निकालेको थिएँ एक महिलाले खोस्दै भनी; ‘अत्याचारको घरलाई जोगाउने पनि अत्याचारी हो । यत्तिखेर न्यायका कुरा गर्ने हो भने अर्को पनि लास थपिएला । खबरदार ।’
म निहत्था मान्छे डरले थरथरी भएँ । मोबाइल गु्मे पनि महिलाको आक्रोस ममाथि नपरोस् भन्ने सोच्न थालेँ । त्यत्तिखेरै दुई महिला अघि बढे । एक महिलाले भने पीडाले छटपटाइरहेको बुढाको मुखमा पर्ने गरी थुकिदिई । थुक्न सल हटाउँदा मैले उसको अनुहार देखिहालेँ । चिनेचिनेजस्तो लागे पनि चिन्न सकिनँ ।
पछि बुढाका मान्छेहरू आए र उठाएर लगे । म पनि रन्थनिँदै उठेँ । उठ्दा मेरै जिउबाट मोबाइल खुत्रुक्क खस्यो । एउटा पिर हट्यो । सोच्दै डेरा फर्केँ ।
भालिपल्ट पढाउन क्याम्पस गएँ । पढाएँ र लिजर पिरियडमा बाहिर फलैँचामा बसिरहेको थिएँ ।
‘सरी गुरु, माफ गर्नुहोला । अलिक अति गर्यौँ । हजुरको मन दुखाएकोमा माफी चाहन्छु । कृपया मेरो इज्जत बचाइदिनू ।’ सविताले एकै सासमा लामो कुरो भट्याइन् । म पुर्पुरोमा हात लगाएर झोक्रिन पुगेँ ।
‘यस समाजमा सहज बाटोबाट न्याय पाइन्न । त्यसैले दुष्ट सामु महाकाली बनेर तीनै जना खनिएका थियौँ । हजुर बीचमा आइहाल्नुभयो । नत्र त्यो अहिले खरानी भइसक्थ्यो ।’ उनले अगाडि स्पष्ट पारिन् ।
म झल्यास्स भएँ । एक्कासी मेरो. मुख खुलिहाल्यो; ‘आखिरमा तिम्रो ससुराले त्यस्तो के अत्याचार गरे ?’
जवाफमा आँसु पुछ्दै भनिन्; ‘रमेश विदेश गएदेखि नै ऊ हरेक रात मलाई नै रमेश ठान् भन्न थाल्यो । नमान्दा नशाको ओखती खुवाएर मसँग गर्नु नगर्नु हर्कत गर्न थाल्यो ।’
२०७९-०४-०७ सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest










































