सञ्जय साह मित्रआफैँलाई बेचेको उत्सव
फेसबुकमा देखें- मेरो भोज खाएर चार जना बिरामी भएछन्, गम्भीर अवस्था अस्पताल भर्ना । कमेन्टमा लेखिएको छ- पुलिसले खोज्दैछ, सबै खर्च छेराउँछ । पोस्ट पढेर मेरो पेट पनि गड्याङगुडुङ गर्न थाल्यो ।

मध्य निशामा भिसा लागेको खबर आयो । निशाले दिशा नबदलेसम्म निद्राको सिद्रा सुक्यो । निदाएर खुसीमा ढुसी किन लाग्न दिने ? मनले दीपावलीको उत्सव मनाइरहेको थियो । रात घट्यो कि कट्यो । जतिले थाहा पाए भोजको निम्तो पाए । खानलाई सबै आए । कमाउनलाई विदेश पो जान थालेको ? कम्ती ठूलो उत्सव हो यो ?
घरबाट गुड्नु र देशबाट उड्नु दुई दिनअघि ऋण किनेर भोज गरें । पाहुना खुसीहरू पनि आए । आफ्नै घरमा एक दिनको पाहुना बन्नुको उत्सव चल्यो ।
महिनामा कत्तिको मोलमा बेचिएको छु थाहा छैन । तर विदेशमा पो बेचिएछु । मेरो मोल मेरो गाउँले लगाउन जानेन, समाजले मानेन, धरणीले ठानेन । गाउँले लत्यायो कुठाउँले पत्यायो ।
पुर्याउन भनी प्लेनको छेउसम्मै पुगे आफन्तरू । घरमा सधैँ गाली खाने म, मेरो घाँटीले भने खाँदामाथि खाँदाको सम्मान पायो । आँखामा गोहीको आँशु थियो कि पीरको प्रस्फुटन, दैवले जानून् तर मनमा भने आफूलाई राम्ररी बेचेर दाम पठाऊ भन्ने दाउको भाउ थियो ।
प्लेन मास्तिर उड्दै गर्दा मलाई धरतीले चुम्बकले झैँ तानेको लाग्यो तर मस्तिष्कले भने हुत्याइरहेको थियो त्यहाँ जहाँ मलाई किन्ने मालिकले पर्खिरहेका थिए ।
फेसबुकमा देखें- मेरो भोज खाएर चार जना बिरामी भएछन्, गम्भीर अवस्था अस्पताल भर्ना ।
कमेन्टमा लेखिएको छ- पुलिसले खोज्दैछ, सबै खर्च छेराउँछ ।
पोस्ट पढेर मेरो पेट पनि गड्याङगुडुङ गर्न थाल्यो ।
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































