जीवन ‘पीडित’ दाहालपारिश्रमिक
छोराले करैले बाबुतिर हात तेर्स्यायो । बुढाले कच्याककुचुक्क हुने गरि मुठीमा बोकी राखेको एक हजारको नोट छोराको हातमा राखिदिँदै भने- “तिमीहरूले देखाएको नाटकको पारिश्रमिक ।”

“बा आँखा खोल्नुस् त”- भन्ने डाक्टरको आवाज सुन्नासाथ बुढाले अस्पताल पुगेको पन्ध्र मिनेट मैं आँखा खोले । बुढाले आँखा खोलेको देखेर खुशी भएका डाक्टरले भने-धन्न हार्ट अट्याक नै चैं भएको रहेनछ । सामान्य ‘सक’ हो डराउनु पर्दैन ।”
बुढाले यसो मुण्टो घुमाएर हेरे । छोरा बुहारी अँध्यारो मुख लगाएर छेउमैं उभिइ रहेका रहेछ्न् । उनीहरूलाई देख्नासाथ आधा घण्टा अघिको दृश्य बुढाका नजरमा चलचित्र झैं आउन थाले-
पल्लो कोठामा सुतिरहेको मुटुरोगी ससुराले सुन्ने गरि ओेल्लो कोठामा बुहारी कराएकी थिई- “यस राँडो बुढाले भएभर्को सम्पत्ति आफैं कुम्ल्याएर कसै गरे पनि हामीलाई नदिने भो, अब म सधैं ससुराले ममाथि हातपात गर्छ/घिस्याउन आउँछ भनेर डङ्का पिट्छु र यसलाई म मर्नु न बाँच्नु बनाउँछु । अनि देख्छ यसले बाउको बिहे ।”
बुहारीको यस्तो तुच्छ वचन सुनेर ससुरा बुढाले- “ऐय्या आमा मरें” भन्दै ठूलै स्वरले कराएका थिए । त्यसैबेला आएको डङ्ग्रङ्गको आवाजले काठको तखताले पटाइ गरेको घर पुरै थर्किएको थियो ।
घरै थर्काउने गरिको आवाज आउनासाथ खुशीले अतालिदै बुहारीले छोरालाई भनेकी थिई- “ए बुढा यसपटक भनें मेरो जुक्तिले काम गर्यो कि क्या हो, बूढो त हार्टफेल (हार्ट अट्याक) भएर ढलेजस्तो छ । गयो कि गएन ? पल्लो कोठामा गएर हेर्नुहेर्नु ।”
“तेस्रोपटक भएकाले गयो होला यसपटक त”- भन्दै छोरो पनि दौडिएर बाबू सुतेको कोठामा हेर्न गएको थियो । नभन्दै बुढा दाहिने हातले छातीको देब्रे भाग थिचेर भुइँमा उत्तानो परेर लडिरहेका देखिएका थिए ।
बाबु मरेको खुसीमा दुबै लोग्ने स्वास्नी मजाले हाँसेका थिए केही बेर अनि दुबैले बुबा-बुबा गर्दै कोकोहोलो मच्चाउँदै छरछिमेकमा गुहार लगाएका थिए मद्दतका लागि ।
साह्रोगाह्रो परेको थाहा पाउनासाथ जम्मा भएका छरछिमेकी मध्ये कमलो मन भएका स्त्रीहरू रुँदै थिए, अलि दर्बिलो मन भएका चंै दुःखै काटे विचराले भन्दै थिए र सुझबुझ पुर्याउन सक्नेहरूले चैं अस्पताल-अस्पताल भन्दै बुढालाई झ्यानाकुटी पार्दै घरबाहिर निकाले र अस्पताल पुर्याएका थिए ।
आफ्ना छेउमा न्याउरो मुख लगाएर घोस्सिइ रहेको छोरालाई बुढाले भनें- “मेरो नाटक पनि देखिस् होइन त ?”
छोरो केही बोलेन अनि बुढाले नै थपे- “अंश पाउँछु भन्ने ठानेको होलास् तैंले पाउने जति तँलाई पटकपटक जेलबाट उकास्ता र अदालतले तोकेको जरिवाना तिर्दातिर्दै सकियो । तेरी आमाको भाग वृद्धाश्रमलाई लेखेर गै र अब मेरो पनि त्यही इच्छा छ । त्यै पनि अझै केही चैं तँलाई दिन बाँकी नै छ हात थाप त ।”
छोराले करैले बाबुतिर हात तेर्स्यायो । बुढाले कच्याककुचुक्क हुने गरि मुठीमा बोकी राखेको एक हजारको नोट छोराको हातमा राखिदिँदै भने- “तिमीहरूले देखाएको नाटकको पारिश्रमिक ।”
गौरादह-७, झापा
Subscribe
Login
0 Comments
Oldest






































