नन्दलाल आचार्यप्रश्न
‘अपराध गर्ने हामी चैँ जिउँदा रहने । संसारमा पैदा भएको विष खाएर पर्यावरण सन्तुलन पारी हाम्रो सुरक्षा गर्ने चैँ मारिने । यो कस्तो फैसला हो ?’

‘मार्, मार् । त्यस साँढेलाई खुत्रुक्कै पार् । होसियारसाथ है ठाहिँला ।’ गोकुल्ले बुढाले टोलै थर्कने गरी कराए ।
‘आज बुढा किन सुरिएछन्’ भन्दै चारैतिरबाट मानिसहरू हाँपझाप गर्दै भेला भए ।
‘यस साँढेको पितृ बुझाउन यै ठाहिँलो काफी थियो । तिमरूले किन दुःख पाका ?’
गोकुल्लेको यस सवालको जवाफ दिँदै पर्वते काकाले भने; ‘बाजेले आज कट्टु नै बर्बाद हुने गरी किन छेर्न थाले भनेर हामी आका ।’
उपस्थित सबै गलल्ल हाँसे । गोकुल्ले मजाकको पात्र ठहरिए । ठाहिँलो भने होसियारीका साथ झ्यासझुस कोट्याइरहेको थियो ।
‘बाजेको साँढे झ्यासमा छ ?’ विकासले प्रश्न गर्यो ।
‘हो ।’ मुन्टो हल्लायो ठाहिँलाले ।
ठाहिँलोलाई समेत कार्टुन बनाए उपस्थित मान्छेहरूले ।
‘तिमरू जे भन । मेरो वुवाको मृत्युलाई म मृत्यु नै दिन्छु ।’ यस पाला ठाहिँलो झन् राँकियो ।
उत्तिखेरै झ्यासबाट गोमन सर्प अतालिँदै निस्कियो । हत्तपत्त ठाहिँलोले झट्टी प्रहार गर्यो । टाढाबाट भएकोले सर्पलाई लागेन । सर्प मलखाडीको झ्यासम्यासमा हरायो ।
विकासले ठाहिँलाको हातबाट लाठी खोस्यो र ठाहिँलालाई सर्प पसेतिरै हुत्याइदियो । ठाहिँलो क्रोधले आगो भयो । भन्यो; ‘त्यसले बाबुलाई मार्यो । मलाई पनि मारोस् भनेर हुत्याउँछन् विकासे ?’
‘हैन, निहत्था सर्पसँग तँ हतियार लिएर युद्ध गर्न गएकोले…..!’ विकास प्रष्ट्यो ।
‘मार्नु त पर्छ नै ।’ गोकुल्ले सुरिए ।
‘अपराध गर्ने हामी चैँ जिउँदा रहने । संसारमा पैदा भएको विष खाएर पर्यावरण सन्तुलन पारी हाम्रो सुरक्षा गर्ने चैँ मारिने । यो कस्तो फैसला हो ?’
२०७९-०४-१७ नागपूजा, सिद्धार्थटोल, उदयपुर
हाल- सिर्जनाकुटी, सिरहा
Subscribe
Login
0 Comments
Oldest









































