युवराज मैनालीअलख बम् ! बम् !
यस्तो अघ्घोरी जोगी राजनीतिमा बढी देखिन्छ यसैले यो कुरा भोगेकाले त भोगे भोगे अरुमा पनि चेतना भया । जोगी चिन्नु पर्छ । चमत्कारको आशामा पछ्याउँदा आफू जोगी मात्र ह्वैन । यहाँ महाजोगी पनि बन्न पुगिन्छ ।

अलख बम् ! बम् !
साउने बर्षा सरि झरिरहेछ यो मन
नाचिरहेछ शब्द बर्षा
छम् ! छम् !! छम् ! छम् !!
बादल लागेको आकाशको अँधेरो, भरिँदो रहेछ पधेँरो, आकाश आकाशै भए सर्वव्यापक भएर रहेछ छरिँदो । यस्तै उस्तै भएर कागजमा पनि ओर्लिदो रहेछ यो मान्छेलाई पार्दै गोजेङ्ग्रो । न त एक्का न त दुक्का पुरै छक्का हानेर छक्क तुल्याउँदै पहिले त पक्क तुल्याए । त्यो नाथे कागजले अनि खोतल्न थाल्यो विना बाँधको मनले । यो कागज नाथे अखबार भएर आएपछि अक्कासै पनि हुँदो रहेछ त्यो पनि साउने भदौरे आकाश । बित्यास त पारेकै हो त्यो अखबारले नहेरे द्वन्द्व हेरेपछि प्रचण्ड, मात भातको लागेझैँ लाग्ने, भाते नै तुल्याउने । यसको बारेमा लछारपछार अहिलेलाई नगरूँ यति चैं सकार गर्दिहालूँ । दश रुपैयाँ नहुँदा भित्तातर्फ लामो गर्दन आँखा पुर्लुक्कै पार्नुपर्ने … त यो पनि रैछ नै, लागू पदार्थ नै यसले चलिरहेछ यसको ब्यापार, अनि बकिरहेछ संसार ।
मितिसिति अनि के के न गर्दने टाईको काई किन कोट्याउनु, आजको जमाना नै हो छोटोमा भट्याउनु मिठो त डाइबिटिजलाई कामै लाग्दैन । ठस्सो ठाँसको ह्वास्स वासले अहिलेसम्म एलर्जीसँग साइनो लाउनु पर्या छैन । खिले, बकुल्ले, फ्याकुल्ले, झ्यापुल्ले राजनीतिका सती जानु पर्ने छैन, यसैले एन्टी एलर्जिक रहन सामथ्र्य संज्ञाले को लाग्छ, यी सबका परतिर गएर आज त घरीघरी झ्याप्पै समात्यो समाचार अखबारकोले । चस्काले च्याप्प मनै च्यापेर थिचाथिच गर्यो अनि नयाँ बिल्कुल ताजा अनुभूति पलायो त्यो लाठे अखबारको मुठेजुङ्गे समाचारले । आहा ! नि अखबारमा पनि आकाश छाउँदा रहेछन् । काला बादल लागेर वर्षाउन भिजाउन सक्दा रहेछन्- थाहा पाइयो त्यसैबाट भिजिएर मुसो बनेको हेर्दा हेर्दैको आफ्नै स्वविचारको टपटपेले ।
भन्छन्, भङ्गेरे अक्षर आज त देखिरहेछु परेवे अक्षर टाईको मुन्तिरै छात्तीमै खोपिएकोले त्यसलाई मुख्य समाचार वा ‘मेन न्युज’ भनिन्छ क्यारे ! सर्रर पढियो पढियो त मुटुमै गडियो । हेक्का फुत्त बुट्टेदार पहिरनमा आइदियो अनि त ठेक्का ठोक्न थाले विचारमा अक्षरै अक्षर, शब्दै शब्द, वाक्यै वाक्य, लाग्यो यो समाचारका स्रष्टा पक्कै हुन् चाणक्य । समाचारमा पनि साहित्य देखें बादका बादल छाएको देखें अनि मन मादल ठटाउन थाल्यो … ।
कक्टेलमय यो नयाँ नेपालमा टिभीमा देख्या थेँ लोक गीतमा इन्टरनेशनल पहिरन, अब अखबारले पनि जमाएछ इन्द्रासन । साहित्य समाचार पनि लाग्यो मेरो आँखा चिम्लाईकै कारण नदेख्या मात्र रहेछु । फड्को मारेछ हरेक कुरामा यहाँ निक्कै निक्कै पक्कै । अब चन्द्र छुन रकेट चाहिँदैन, हाम्लाई मङ्गल पुग्न बडेमानको यान पर्दै पर्दैन मात्र भावको स्राव हेक्का राख्नु पर्छ निरन्तर अनि त जहाँ पनि सरर सरर सर्र ।
त्यसै पेट भरिन्छ भने किन चाहिन्छ खेत, खेत सप्पै आलय । आलयमा सर्रर पुग्न मोटा मोटा लामा लामा पथका नयनाभिरामी दृश्यालय भए पुगिहालिन्छ । रोगी भए के ? जोगी भए के ? परिणाम वातावरण प्रदूषण कार्यालय यूरो, डलरले भरिए पुगी आलय बन्ने भई हालिन्छ सचिवालय याने कि इन्द्रको दरवार स्वर्गको शान यही मात्र रहोस् हेक्कामा दिव्य ज्ञान । जोगी हत्तेरीका यै जोगीको जोगले जुरेको पो हो यो सुयोग झण्डै खोलो तर्यो लौरो बिर्स्याेको राजनीतिले कुप्लुक्क निलेको ।
हो, समाचारको टाउकैले यो टाउकोबाट तारो चम्केको अहा ! क्या उपमा, क्या बान्की, साँच्चै नै म बनेँ सनकी “राजनीतिले जोगी बनायो” यै टाउको र त्यसमुनिका तपसिलले मलाई चैँ कवि बनायो शब्दको धोबी बनायो । शायद् तपाईंलाई चाहिँ रोगी बनाउला कि ? जोगी नै बनाउला तपसिलकै कुरा ??? । जोगी आफ्नो जोखना बढी भएर वा खस्कने भएर योगबाट जोग जुट्नेवाला जोगीको परिभाषामा अट्न सक्छ/पुग्छ मलाई त यस्तै लाग्छ । जोगी कोही हलुङ्गो भएर उड्छ, कोही गह्रुँङ्गो भएर थचारिन्छ । शून्यवादको उपज हो जोगी । गृहस्थको हुन नसकेर त्यागको पथरागी देखिन्छन् ती । गेरुवा, कमण्डलु, भिक्षापात्र, त्रिशूलधारक आदिबाट सुशोभित हलेदो भनेपछि कोट्याइरहनु नपर्ने खालका जोगी हुन् । धर्मघर अर्थात् सत्तल, चौबिसै घण्टा बल्ने खाल्टे मकलमा झोसिएका मुढा, तरुनो भए पनि दाह्रीजुङ्गा लट्टे कपालधारी भएर देखिने बूढा जोगीको धारण योग हो । कामको नाममा भाङ्धतुरो तान्न बाहेक घर घर डुली भिक्षाटनको सम्मानकर्ता यी आध्यात्मिक ढल्काइका पहिचान मान्नु पर्दछ । बैराग, भाग, एक राग बाहेक कसैसित नहुने अनुराग चिम्टासँग चिप्लिएर जोडिन पुग्नु पनि संयोग मान्न सकिए पनि जीवन मोहको योगसँग सम्बन्धित देखिन्छ । त्रिशूल रक्षापात्र भए पनि यो कतै कतै कुनातिर पर्न सक्छ तर सामु सधैँ धुनी अगाडि रहने चिम्टाले मेकअप किट्सरूपी खरानीको जोहोदेखि रक्षा कवचको रूपमा मल्टी मिडियाको काम गर्दछ । आदि जोगी शिव हुन् भने आधुनिक जोगी शक्तिभक्त हुन् ।
यस दृष्टिले सृष्टिमा जोगीका प्रकार धेरै धेरै भए पनि आकारमा दुई चुल्ठेमा बाटिदिए थोत्रो पन्छिइने सम्भावना धेरै रहँदो हो । अहिले चैँ जोगीलाई बाँड्दा यौटा आध्यात्मिक अर्को भौतिक जोगीकै बाँडफाँडमा फट्याउँदा चिन्न सजिलो पर्ला । किनकि माथि भनिएझैँ धारक जस्तोसुकै भए पनि गेरुभित्र भोगी रोगी मनोयोगी पनि हुनसक्दछ अनि गेरु सेरु केही छैन घर घरै बस्छ कर्ममा लिप्त रहन्छ तर त्यागी जोगी पनि फेला पार्न सकिन्छ । सङ्क्षेपमा भनुँ भने मेडिकल भाषामा मनोरोगीका सवलाक्षणिक सङ्गम स्वरूप हो जोगी ।
जोगी आफैँ विरक्तिएर बन्ने र बनाइएका जोगीमा धरै अन्तर हुन्छ । पुरुषका कारण नारी जोगिनी, नारीका कारण पुरुष जोगी । अनुपातमा भन्न खोजिएको ह्वैन अनुपात हेर्यो भने बात लाग्छ । सामाजिक, आर्थिक, भेद, विभेद आदि कारण हुन सक्छ जोगी बन्नु र बनाइनुमा । स्वयं भोले बाबा जोगी, आदिपुरुष हुन् उनी वैराग्यको खानी, देवताहरूले भोगी बनाउन सतीसँग विहे गरिदिए । सतीको खतीले झन् जोगी बनेर संसारैभरि हा हा गर्दै घुम्न पुग्ने यतिसम्म कि कटिवस्त्रको सम्म हेक्का भएन त्यसैको देखासिकीमा नाङ्गाबाबाहरूको चलन चल्यो ।
ऋषिपत्नीहरूको के कुरा गर्नु पछ्याउन पुगे विचरा होस् गुमेकाले श्राप खानु पर्यो र त्यो लिङ्गले संसारै ढाक्न पुग्यो । बडो कठिनले विष्णुजीले अँगालेरै साम्य गराउनुपर्यो । त्यो भन्नु नै राजनीतिक कुरा हो । नेताहरू पनि जोगी हुन् जेल, नेल खाएर निष्काम कर्मयोगी बन्छन्, तप हो यो तपबाट तातिएर मन्त्री, प्रधानमन्त्रीको कुर्सी तापले सकाम मद् चढ्छ अनि मात्र पो भोगी बनेका हुन् ती । भोगको रोग यति भयङ्कर छ कि आफ्नो कार्यकर्तालाई कुर्ता सरी पछार्न बाँकी राख्दैनन् ।
अखबारको समाचार यही हो । तर जोगीमै रह्यो भने अस्तित्व नै अपल हुने डर छ । यसको प्रमाण हाम्रै इतिहास छ नाम लिएर किन बदनाम गर्ने ? नाम लिएपछि दाँज्नपर्छ, दाँज्न भोगीको हाराहारीमा उभ्याउनुपर्छ । यो उभ्याउने कामले त्यागीको अवमूल्यन हुन पुग्छ । यस्तो काम म त कमसेकम गर्दिन । साक्षी हिजोको इतिहास छ, आजको डोर्याई डोर्याई यही छ । अचम्मको कुरा होइन यो ? दुई दिनको दुःखले जोगी भइयो जोगी भएको भोलिपल्ट भोकै… आहान त छँदैछ । आगोमा हात हाल्दा पोलिन्छ भन्ने थाहा पाउँदा पाउँदै आगोको पोलाई कस्तो हुन्छ भन्दै आगोलाई छुनेलाई हुस्सु भन्न सकिन्छ जोगी होइन । न्याउरीमारी पछुतोमा पर्ने मै पनि पछुवा हुँ । जोगीभित्र महात्मा हुन सक्छ तर विरलै बढी त घुस्घुसे आत्मा हुन्छ । यसैले त दूतका दूत हनुमान थुप्रै भए राम यौटा दुईटा देखा परे । आखिर जोगी जम्मैलाई महात्मा ठानेर पाउ समात्न जानु नै जाति खानु हो । आजका नम्बरी जोगी मान्छे खाने जोगी हो, जे पनि खानेलाई अघ्घोरी पनि भनिन्छ क्यारे मूर्दा खनेर खान्छ रे …! यस्तो अघ्घोरी जोगी राजनीतिमा बढी देखिन्छ यसैले यो कुरा भोगेकाले त भोगे भोगे अरुमा पनि चेतना भया । जोगी चिन्नु पर्छ । चमत्कारको आशामा पछ्याउँदा आफू जोगी मात्र ह्वैन । यहाँ महाजोगी पनि बन्न पुगिन्छ ।
बम् ! बम् !
अलख बम् ! बम् !!
साउने झरी सरि झरी रहेछ यो मन
साउने झरी सरि झरी रहेछ नेता झन्
महात्मा ह्वैन फगत जोगी जोग हेर्छन्
भोगका लागि दिल्लीतिर्थ मानेर दौडन्छन्
नाचिरहेछ अनुभवका बर्छा भाला
सके लगाऊ मुखमा बडेमाको ताला
नत्र चित्त दुखाउँदै फुलाउनु पर्ला गाला
साउनै हो बरु पछि लाग्दै चिच्याउनु होला
बोलबम ! बोलबम ह्वैन है झोल बम !!
००
काठमाडौंँ
Subscribe
Login
0 Comments
Oldest








































