भरत गुरागाइँ बर्बरिकपागल
होस्टलमा छन् बच्चाहरू बृद्धाश्रममा छन् आमा-बुबाहरू बस्तीको गरिब विद्वान कार्यक्रमको अतिथि हुँदैन वास्तविक ईश्वरको हत्या हुन्छ ढोंगीहरू पुजिन्छन यहाँ उफ ! किन हेर्दैन मान्छे किन बोल्दैन सत्य ?

खाँट्टी चोर नै सडकमा निस्किएर
‘चोर-चोर’ भन्दै आतङ्क मच्चाएको
रात भोग्दैछन् मान्छेहरू ।
चन्द्र शमसेर फेरि एकचोटी जन्मिएर
सती प्रथाको युगीन जरो
पक्लक्कै उखाले हुन्थ्यो,
नत्र किन आफूलाई बिर्सिएर हरपल सती जान्छन्
बौद्धिक निम्छराहरू ?
यहाँसम्म कि कमाराकमारीहरू
मालिकको खुशीका लागि
उन्मुक्तसँग दासताको गीत गाउँछन्
र पारितोषिकमा हड्डीको झोल खान्छन् अँध्यारो ओढेर ।
बच्चाहरू फिर्फिरे उडाउँदैनन्
ताराबाजी खेल्दैनन्
पब्जीमा रमाउँछन्
र भिडियो गेमको ट्याब्लेट खाएर
निद्रालाई बोलाउँछन् राति ।
आमाहरूको मुखबाट लोरी हराएको छ
हजुरआमाहरू सङ्गिनी खेल्दैनन्
घडीले नै समय भ्रष्टाचार गरेपछि
शुन्यतालाई अँगालो मारेर
सडकपेटीमा बास बस्न विवश छन्
जीवनका अनन्त यात्रीहरू,
लज्जाले भरिएको समय जन्मिएको छ
जहाँ कविताको ‘क’ नकोर्ने धनाढ्य
कवि गोष्ठीमा
वरिष्ठतम् आसनमा उग्राइरहेछ
र आफ्ना शिकारी आँखाले घोचिरहेछ
मान्छेका कुमारी अस्तित्वहरू
अनि महाकविहरूलाई लेख्न सिकाइरहेछ कविता ।
तपाईं देख्दै हुनुहुन्छ, हेर्नुस्
मन्त्रालयको गेटमा निकै ठूलो हण्डी छ
मौसमी हण्डी
तिलस्मी हण्डी
हण्डी भित्रबाट
कहिले घाम झुल्किए जस्तो देखिन्छ
कहिले कल्पबृक्ष उमृए जस्तो देखिन्छ
हण्डी भित्र कनिका छ
नेता कुटिल मुस्कान छर्दैछ
डनहरू छेउमा सतर्क मुद्रामा छन्
झोलेहरू हतार हतार
कनिका बुकाइरहेछन्
उता श्रमिकहरू
पसिनाको कर तिरिरहेछन् नेताहरूलाई ।
ईन्द्रीय नियन्त्रणको दीक्षा दिने साधूहरू
सम्भोग क्रियामा व्यस्त छन्
आगोलाई लास जिम्मा लगाएर
चिता नपखाली
फरार हुन्छन् मलामीहरू,
प्रमुख आतिथ्य बिक्रीमा छ
आसन ग्रहणको पीडाले
ब्याकुल छन् स्वघोषित समाजसेवीहरू ।
स्वाभिमानी स्रष्टालाई
पुरस्कार र सम्मानले सधैँ गिज्याउँछ
सिन्डिकेट बाहिर केही हुन्न
जे हुन्छ आलोपालो हुन्छ
कहिले उसले उसलाई खादा ओढाउँछ
कहिले उसले उसलाई माला भिराउँछ ।
सरकारी स्कुल जानुस्‘
घण्टी बज्दै गर्छ कोही बात छैन
गुटहरूको आफ्नै समीकरण छ
फुटहरूको रमाइलो ध्रुवीकरण छ
कोही मालिक जस्तो छ
कोही नोकर जस्तो छ
नीजि स्कुल जानुस्‘
‘क्वालिटी’ नामको मोहक लेबुल छ
व्यापारको आगोमा
होम्मिएका छन् अभिभावकहरू
बच्चाहरू ‘गोपिकृष्ण कहो’ गरेर
क्वालिटी बचाइरहेछन्
शिक्षकहरूलाई छाक टार्न धौधौ छ ।
कक्षा ३ मा पढ्ने दूधकटुवा बच्चो
स्कुल जाँदा पटक पटक
आफ्नी केटी साथीलाई
आई लभ यू भनेर हैरान पार्छ ।
७० नाघेका ससुरा
फेसबुक मै भए पनि
बुहारीलाई फ्रेण्ड बनाउँछन्
अनि आफ्नो बैंश सम्झिँदै
च्याटिङ्गमा साट्छन
अनिँदा रात र अधमरा सपनाहरू ।
उफ !
होस्टलमा छन् बच्चाहरू
बृद्धाश्रममा छन् आमा-बुबाहरू
बस्तीको गरिब विद्वान
कार्यक्रमको अतिथि हुँदैन
वास्तविक ईश्वरको हत्या हुन्छ
ढोंगीहरू पुजिन्छन यहाँ
उफ !
किन हेर्दैन मान्छे किन बोल्दैन सत्य ?
म अशान्त छु यतिबेला
संसार यति मजले चलेको बेला पनि
छिः किन कुर्लिनु ताई न तुई!
पख्नुस् !
म आज स्विकार गर्छु तपाईँहरू सामु
हो तपाईं ठिकै सोच्दै हुनुहुन्छ
तमाम असल मान्छेहरूको भिडभित्र
म तपाईँको बस्तीको उग्र पागल हुँ ।
००
झोराहाट-२ ग्रामथान, मोरङ
Subscribe
Login
0 Comments
Oldest







































