साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेले कसरत गर्न हुन्छ, किन ?

कुनै अभ्यास पुरा गर्न नसके पनि जीउले सकेको जति दैनिक हिँड्ने बानी बसालौँ, हाम्रा मांसपेसी, जोर्नी र आन्तरिक प्रणालीमा सकारात्मक असर परेर दीर्घ जीवनको आनन्द लिऔँ ।

Nepal Telecom ad

पाका मान्छे अशक्त र कमजोर हुन्छन, शारीरिक र दौडधुपको काम गर्न सक्तैनन्, घरमा बसिरहन सक्छन् भन्ने भनाई धेरैको सुनिन्छ । पिँढी कुरेर बस्ने वा ससाना केटाकेटी हेरेर बस्नु वा घमाइलोमा ढाड सेकाएर बस्नु नै प्रमुख काम हो पनि भन्छन् । यसो भनेर पाका मान्छेलाई वास्तवमा थप निस्कृय र आत्मग्लानी गराउनु हो । पाका मान्छे सबैलाई असाध्य रोगले गाँजेको पनि हुँदैन र नियमित दैनिक काम गर्न नसक्ने पनि हुँदैनन् । वयस्क जतिनै फूर्ति र शक्ति नभए पनि कामगर्ने क्षमता र ज्ञान बढिनै हुन्छ । घरायसी मात्र होइन, बाहिरफेरको काम परिपाठ पुर्‍याएर सम्पन्न गर्न सिपालु हुन्छन् । पारिवारिक माया वा रोगका कारणले पाका मान्छेलाई अति निस्कृयताको जीवन बिताउन बाध्य पार्नु उहाँहरूको दीर्घजीवनको हितमा छैन । स्वस्थ्य उत्तरार्धको जीवनका लागि उहाँहरूलाई माया गर्ने भनेको उहाँहरूका कुरा मान्नुमात्र होइन, उहाँहरूलाई सकृय बनाउने उपायको व्यवस्था गर्नु पनि हो ।

कामबाट अवकासप्राप्त भनिएका पाका मान्छे शारीरिक रुपले अप्ठ्यारो नभए अझै उस्तै काममा जोतिएकै पाइन्छन् । धेरैको ज्ञान सीपले अझै मान्यता पाएकै हुन्छ भने आर्थिक नियमितता र सामाजिक ईज्जतको लागि पाका मान्छे काम गरिरहेकै पाइन्छन् । कतिपय ‘अब कति हाड घोटनु हुन्छ’ भन्ने पारिवारिक दवावका कारण र शारीरिक अस्वस्थताका कारण बाहिरी कामबाट टाढा हुन्छन् । उहाँहरू घर वरपर तथा विशेष काममा मात्रै बाहिरफेर निक्लन थाल्नुहुन्छ । यसरी नियमित शरीरले पाउनुपर्ने कसरत नपुग्ने हुनसक्छ । हातगोडा र ढाड कम चलेर दुख्ने र आन्तरिक जैविक रस उत्पादनमा सकृयता नआई पाचन प्रणाली खलबलिने हुनसक्छ । एकोहोरो एकैप्रकारको वातावरणमा चौबिसै घण्टा रहँदा मनोविज्ञानमा असर भई मानसिक र स्नायुजन्य रोगहरू देखापर्न सक्छन् । त्यस्ता पाका मान्छेमा बिस्तारै पहिले कहिल्यै नदेखिएका र पत्तो नपाइएका रोगव्याधले सँक्रमण बढाउन सक्छ ।

पाका मान्छेले गर्नुपर्नेः
सामान्य व्यायाम र पौष्टिक आहार जीवनभरी चाहिन्छ । हरेक उमेरसमुहमा यी दुबै कुराहरू शारीरिक र मानसिक आवस्यक्ता अनुसार अति जरुरी पर्दछ । उमेरिँदै जाँदा के कस्ता शारीरिक अवस्था विकसित हुन्छन् भन्ने कुरामा केन्द्रीत रही अनुसन्धान धेरै भइसकेको छ । त्यस्तो अनुसन्धानको परिणामले देखाएको छ कि स्थिर र कम चलायमान पाका मान्छेमा समस्याको जालोले घेरेको पाइन्छ । पाका मान्छेको स्वास्थ्य स्तर उन्नत कायम राख्न नियमित सक्दो व्यायाम गर्नु र चलायमान हुनु अति महत्वपूणर् हुन्छ । यस लेखमा केही पाका मान्छे सुहाउँदा गर्नुपर्ने व्यायामका महत्वबारे चर्चा गर्ने कोशिस गरिएको छ ।

शारीरिक जैविक प्रक्रिया फरक पर्दै जसै उमेरिँदै गइन्छ पाका मान्छेले हेक्का राख्नैपर्ने हुन्छ । उमेरको उत्तरार्धमा गएकाले अरु कुरामा भन्दा शारीरिक तन्दुरुस्ती कायम राख्नु नै पाका मान्छेको लागि ठूलो उपलब्धी हो । हरेक घरमा स्वस्थ्य पाका मान्छे रहनु उहाँहरूमात्र होइन परिवारका सबैको लागि आनन्द र सुखपूर्ण कुरा हो । त्यसैले पाका मान्छेले आफूसक्दो व्यायाम र चलखेल गरिरहनु नै दीर्घ, स्वस्थ्य र सुखमय पारिवारिक जीवनको सूत्र भएको चिकित्सक र अनुसन्धाताहरूको ठम्याई छ ।

व्यायामबाट आत्मनिर्भरताः
नियमित व्यायामको अभ्यास गरिरहेका पाका मान्छेलाई केही समयपछि अरुको भर नगरी जीउन सक्ने अवस्था आउँछ । हार्वाड मेडिकल स्कूलको अध्ययनले देखाएको छ कि व्यायामको कारणले शारीरिक अवस्थामा सुधार आएर अशक्त पाका मान्छे आफैँ काम गर्न सक्ने हुन्छन् । राम्रो भएपछि उहाँहरू सहारा बिना हिँडडुल गर्ने, नुहाईधुवाई गर्ने, खाना पकाउने, लुगा फेर्ने र दिशासौँच गर्न सक्नुहुन्छ । त्यसैले पाका मान्छे आत्मनिर्भर हुने ईच्छा राख्नुहुन्छ भने नियमित व्यायाम नै सर्वोत्तम उपाय हो ।

व्यायामबाट शरीर सन्तुलनः
शारीरिक कमजोरी र गोडाको अनुपयुक्त गतिले गर्दा वयस्कहरूमा भन्दा पाका मान्छेमा हिँड्दा असन्तुलित भएर लड्ने सम्भावना बढि हुन्छ । नसा सम्बन्धी समस्या भएकाहरूमा मनले अठोटेको सँगै हातगोडाले गति लिन नसक्दा पनि वर्लङ्ग लड्ने सम्भावना रहेको पाइन्छ । उमेरिनेहरूको अमेरिकी राष्ट्रिय परिषदको रिपोर्टअनुसार अमेरिकामा नै लडेर चोटपटक लागेका पाका मान्छे हरेक एघार सेकेण्डमा एकजना अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि भर्ना भएको देखिन्छ । त्यस्तै उपचारको क्रममा हरेक उन्नाईस सेकेण्डमा लडेर घाइते भएका एकजना पाका मान्छेको मृत्यु भएको आँकडा पनि सार्वजनिक भएको छ । पाका मान्छे हरेक पटक अचानक लड्ने र ढुनमुनिने कारणहरू फरकफरक तथा जटिल प्रक्रियाका हुन्छन । अनुसन्धानले देखाएको छ कि नियमित सरल व्यायामबाट पनि पाका मान्छेमा लडेर ज्यान जाने खतरालाई २३ प्रतिशत भन्दा बढि रोकथाम गर्न सकिन्छ ।

व्यायामबाट बलस्फूर्ति आर्जनः
सुन्दा त होइन कि जस्तो लाग्छ, व्यायाम गरेर शरीरमा बल थपिएला र ? त्यसै धुमधुमती बसिरहँदा सबैलाई दिक्क लाग्छ नि ! हो, नियमित भन्दा बढि मिहेनत गर्दा थकाई लाग्छ र पछि आराम गर्दा शक्ति सञ्चय भएर फेरि काम गर्न मनलाग्छ । बेकामे भएर बस्दा त्यस्तो हुँदैन, थकान र आलस्य अनुभूत हुन्छ । सकृय हुँदा शरीरका हरेक अङ्गहरू चलेकोले काम सम्पन्न भएपछि स्फूर्ति आउँछ । कुनै पनि प्रकारको शारीरिक व्यायामले स.शरीरभित्र इण्डोर्फिन हर्मोन भन्ने रसायन पैदा हुन थाल्दछ । आनन्द हुँदा, दुख लाग्दा वा मिहनती काम गर्दा हाम्रो दिमागमै रहेको सानो पिटुटरी ग्रन्थीलाई प्राकृतिक रुपमा सकृय बनाउँछ । यो रसायन स्नायुमार्फत शरीरको सबैतिर प्रशारित हुने चरित्रको हुन्छ । यसको प्रभावले गर्दा शरीरको दुखाई न्युनीकरण भई आनन्द अनुभूत हुन थाल्छ । इण्डोर्फिनका विभिन्न अवयवहरूले तनाव र चिन्ता हुँदा शरीरभित्र पैदा भएका नकारात्मक रसायनहरूसँग जुधेर ठेगान लगाएर तपाईँलाई आनन्दित तुल्याउन मद्दत गर्छन् । त्यसपछि तपाईँलाई मस्त स्वस्थ्य निन्द्रा लाग्छ र सम्पूणर्तामा शरीर पुनः जीवन्त भएको अनुभूति हुन्छ ।

व्यायामबाट रोगबिरुद्ध बचावटः
मुटुरोग, हाडको कमजोरी, जोर्नीको दुखाई, उन्माद र मधुमेह उमेरिँदै जाँदा देखिन सक्छ । यस्ता रोगहरू सबैलाई होइन, कसैकसैलाई ज्यान लिने कारण हुनसक्छ । तपाईँको सकृय जीवनशैली र नियमित व्यायामले गर्दा यस्ता ज्यानमारा रोगहरूबाट बचावट हुनसक्छ । यस्ता रोगहरू भइसकेको भए पनि तपाईँको नियमित र सचेत प्रयाशले तिनीहरूबाट हुने दुखदायी अनुभूति घटाउन र लक्षणहरू हटाउन सकिन्छ । त्यस्ता रोगहरूको असाध्य सिकार भई थला परेको भए पनि सकेको व्यायाम नै त्यस्तो एकमात्र सूत्र हो जसले तपाइँलाई दर्दनाक अवस्था आउन नदिन सघाउ पुर्‍याउँछ ।

व्यायामबाट दिमागी सकृयताः
पछिल्लो खेप भएको स्वास्थ्य विज्ञानको उल्लेखनीय उपलब्धिमा दिमाग र बाँकी शरीरको सम्बन्ध अभिन्न रहेको जानकारी पाउनु पनि हो । स्वस्थ्य शरीर भनेको स्वस्थ्य दिमागकै परिचायक हो । दिमाग स्वस्थ्य रहँदा नै हामीले आफ्नो पूरा शरीरको हेरबिचार राम्ररी गर्न सक्छौँ । पाका मान्छेले नियमित व्यायाम गरेपछि मस्तिष्क र स्नायु प्रणाली सुध्रिएको अमेरिकी अनुसन्धान प्रतिष्ठानको रिपोर्टले देखिएको छ । एल्जहाईमर अनुसन्धान र रोकथाम संस्थानले भर्खरजस्तो गरेको अध्ययनले बिस्मृति र एल्जहाईमर जस्ता रोगहरू नियमित व्यायामले पचास प्रतिशतसम्म घटेको वा हुन नदिएको जानकारी आएको छ ।

पाका मान्छेले गर्ने सर्वोत्तम व्यायामः
पाका मान्छेलाई व्यायाम अति आवस्यक भए पनि कताबाट र कसरी सुरु गर्ने भन्ने समस्या थाह नहुनसक्छ । राम्ररी सोचबिचार गरेर, चिकित्सकको सल्लाहमा गरिएन भने व्यायाम प्रत्युत्पादक पनि हुनसक्छ । पहिलेदेखि जानेका र गरेका व्यायाम पाको उमेरमा काम नलाग्ने हुनसक्छ । त्यसैले शरीरको अवस्था र गर्न सकिने अभ्यास बारेमा आफू पनि सचेत र सतर्क हुनैपर्छ । साथै उपयुक्त अनुभवी चिकित्सकलाई आफ्नो अद्यावधिक स्वास्थ्य स्थिति मूल्याङ्कन गराई कस्ता व्यायाम कति प्रतिदिन गर्ने भन्ने निरोपण गराउनु पर्छ । पाका मान्छेले शरीरले भ्याएसम्म तपशिलका व्यायाम गर्नु फाइदाजनक हुन्छ ।

१. जलक्रीडाः
केही अघिदेखि नै जल व्यायाम सबै उमेरसमुहलाई सबैभन्दा प्रचलित र स्वस्थ्य शरीरका लागि उपयुक्त व्यायाम भनिन थालिएको छ । कम मिहनेतले गर्न सकिने जल व्यायाम हिजोआज पाका मान्छेमा देखापर्ने धेरै रोगको लागि राम्रो मानिन्छ । पानीमा व्यायाम गर्दा विशेषगरी जोर्नी दुख्ने, सुन्निने र बाथका बिरामीलाई फाइदा भएको देखिन्छ । पानीको उध्र्वचापले जीउमात्र हलुको हुने होइन, जोर्नी चलाउन, हिँडडुल गर्न पनि हावामा भन्दा मन्दगतिमा भई सहज हुन्छ । त्यसले जोर्नी चल्न कोसिस गर्ने तर बिस्तारै भएकाले दुखाई कम भई अङ्गको चलखेल भएर रोग कम हुँदैजान्छ । यसरी जमेको सफा पानीमा पौडन वा हिँड्न कोसिस गर्दा शरीरमा उर्जा उत्पन्न हुन्छ भने जोर्नी खुकुलो र शरीरको सन्तुलन मिलाउने अभ्यास हुनजान्छ ।

यस्तै अभ्यास पाका मान्छे सबैले चिन जापानतिर गरेको घरघरमा देखिन्छ । नेपालमा पनि आधुनिक स्नान कोठामा टबमा बसेर गर्नसकिन्छ । पानीमा चिप्लने डर हुन्छ, त्यसैले पानी टबमा भर्नुअघि रबडको खस्रो चकटीजस्तो सानो लम्पट ओच्छ्याउनु सुरक्षित हुन्छ । त्यसैमा बस्ने वा उभिने गरे टबमा पाका मान्छे लड्ने सम्भावना हुँदैन । पानीमा जीउ डुबाएर गरिने अभ्यासमा बेस्सरी पौडनु पर्छ भन्ने छैन । पानीभित्र बसीबसी छिटोछिटो जीउका भाग हल्लाउन कोसिस गरे पनि पुग्छ । हिँड्न सकिने ठाउँ भए कमबेसी चालमा हिँडने प्रयाश गर्नु पर्छ । पालैपालो खुट्टा उचाल्ने, उठबस गरेजस्तो गर्ने र गोडा हातपाखुरा बटारेर हल्लाउने गरे पाका मान्छेलाई प्रशस्त व्यायाम पुग्छ ।

२. कुर्ची योगः
जल व्यायाममा जस्तै बसेर गरिने थुप्रै अभ्यास मेरुदण्ड सिधा बनाई गर्न सकिन्छ । उठेर गर्न सके बेलाबेला उठेर पनि योगका विभिन्न अभ्यास गरी शरीरका अङ्ग चलायमान बनाउन सकिन्छ । मेच, कुर्ची वा बेञ्चमा बसेर योगका बसेर गरिने अभ्यास गर्नु सजिलो र पाका मान्छेलाई फाइदाजनक हुन्छ । यस्तो अभ्यास परम्परागत योगको कठिन तरिका र जटिल प्रक्रियाभन्दा कम गाहारो हुनेहुनाले पाका अशक्त हुन लागेकाले पनि गर्न सक्छन् र स्वस्थ्य रहन बल पुग्छ ।

नियमित यस्तो अभ्यास गर्ने पाका मान्छेमा मस्तिष्कको क्षमतामा बृद्धि भएर कम निन्द्रा लाग्ने सम्भावना हराउँछ । कतिपयमा उन्माद हुने लक्षण घटछ र सधैंभरी मनस्थिति प्रफुल्ल भएको अनुभूति हुन्छ । केहि समयमा नै सामान्य सबैखालका निकाआनन्द हुनथालेको परिवर्तन देखा पर्न थाल्छ । कुर्चि व्यायाममा योगाभ्यास गर्न सकिने केही प्रक्रियाहरूः टाउको बिस्तारै मुन्टो सहित दाहिने बायाँ घुमाउने र गर्धन तन्काउने, हात उठाउँदै घरका गाई, बिराला, कुकुरले जीउ तन्काएझैँ तन्काउने, बसेको बराबर उचाईमा खुट्टा तन्काएर उठाउने, हात र कम्मर बसेकै आसनमा दायाँबायाँ घुमाउने ।

३. रबडको पेटी तान्नुः
तनावलाई कम गर्न रबर वा सामान्य ग्याँटिसको दुई छेउतिर समाती तन्काउँदै बिस्तारै छोड्ने अभ्यास गर्न सकिन्छ । यसले हातपाखुराको मांसपेसी र जोर्नी बलियो र लचकदार बनाउन मद्दत गर्छ । बजारमा यस्तो व्यायामका लागि विभिन्न थरीका रबड व्यान्ड पाइन्छन् । फारुतिनोनै गर्नेभए साईकल र मोटरसाईकलका पुराना भित्री ट्युबबाट पनि काम लिन सकिन्छ । बसिबसी वा उभिएर ढाड ठाडो पारेर हातको यसरी व्यायाम गरेमा सस्तोमा कम्मरमाथिको समग्र कसरत हुनजान्छ । यसले प्रमुख शरीरका भागहरू, बसाईको ठिक तरिका र सन्तुलन कायम गर्न मद्दत गर्छ ।

रबडका त्यस्ता पेटीबाट खुट्टा ठाडोपारी खुम्च्याउने र तन्काउने, दुई गोलीगाँठामा रबड बाँधेर खुट्टा दुईतिर फट्याउने र खुम्च्याउने गर्नु फाइदाजनक हुन्छ । दुबैहात ढाड पछाडि कुम र कम्मरतिर लगेर रबड समातेर दाहिनेबायाँ दुबैतिर तलमाथि हात तन्काउने गर्दा हात र ढाडको व्यायाम हुन्छ । अगाडि वा पछाडिबाट हात सोझोपारी जोड्ने र फट्याउँदै सकेको तान्ने गर्न सकिन्छ । पछिल्ला व्यायामले छाती र ढाडका मांसपेसी र करङ्गसमेत प्रयाप्त कसरत पाई घोच्ने वा वायु हिँडेकोजस्तो भई च्वासच्वास गर्ने समस्या न्युन हुँदैजान्छ ।

४. शरीरको तौल कायमः
शरीरका मांसपेसीहरू कमजोर हुनु, खुम्चिदै जानु र झोल्लिनु पाका मान्छेको लागि बहुतै नोक्सानदायी आपद नै हो । संसारका एकतिहाईभन्दा बढि पाका मान्छेका मांसपेसी सुकेर, कमजोर भएर क्षिण भएका रिपोर्टहरू आएका छन् । यसो भएमा पाका मान्छेका शरीरमा उत्पादन हुनुपर्ने जैविक रसायन हर्मोनहरू उत्पादन हुने प्रक्रियामा समेत असर गर्छ । त्यसैले नै पाका मान्छेमा प्रोटिन पचाउने, पाचन प्रणाली सुचारु हुने, रुचि अनियमित हुने आदि समस्याहरू मनग्य हुन्छन् । शरीरको वजनलाई उमेर तथा आफ्नो उचाईअनुसार कायम राख्न सबैले र विशेषगरी पाका मान्छेले अझ बढि ध्यान दिनै पर्छ । मांसपेसीहरू कमजोर र नष्ट हुन नदिन सरलसहज उपायहरू गरेर पाका मान्छेका स्वास्थ्य रक्षा गर्नु उमेरिदा गरिने प्रमुख काम नै हो ।

कम मूल्यमा पाइने केही खद्दरका बलिया कपडा र सामान्य ओच्छ्याउने धेरै नदबिने लम्पट भएमा पुग्छ । लम्पट धेरै नरम भए र किन्न सकिए अलि कडाखालको बजारमा पाइने रबरको म्याट्रेस उपयुक्त हुन्छ । त्यस्ता लम्पटमाथि बसेर बिस्तारै हातगोडा तन्काउने र उत्तानो सुतेर ढाड सोझ्याउने गर्नुपर्छ । घोप्टो परेर हातगोडा पालैपालो भूइँमाथि समानान्तर उठाउने गर्दा हातगोडको मात्र होइन पेट र ढाडको मांसपेसीको पनि व्यायाम हुन्छ । उत्तानो परेर सके हात र गोडा टेकेर नसके मुण्टोसम्म भूइँमा राखी पाइताला टेकेर कम्मर उचाल्ने गर्दा कम्मर र गोडाको राम्रो व्यायाम हुन्छ । बसेर वा सुतेर पाइतालामा कपडा अल्झाई हातले तानी गोडा उठाउने वा घुमाउने गर्दा पनि राम्रो व्यायाम हुन्छ । यहि अभ्यासले हात र पाखुराको व्यायाम पनि हुन्छ । कोल्टे परेर पनि कपडाले हातगोडालाई पालैपालो अल्झाई पौडिखेलेझैँ गर्न सकिन्छ । सकेमा उभ्भिएर हातखुट्टा पालैपालो तन्काउने र खुम्च्याउने गर्नाले पनि शरीरमा समग्र कसरत भई वजन कायम राख्न मद्दत पुग्छ ।

५.डमरु बजाई खेलः
डमरु बजाई खेल रमाइलोमात्र होइन शरीरमा उर्जा पैदा गर्न राम्रो मानिन्छ । नियमित यस खेलको प्रभावले मधुमेह, ढाडको दुखाई, हाडको कमजोरी र उन्माद (डिप्रेशन) आदिका लक्षण घटाउनेमात्र होइन तपाइँको वजनसमेत कायम राख्छ । यसको अभ्यासले भित्री जैविक प्रक्रिया नियमीत हुने र शरीरमा बढि भएर हैरान गर्ने ग्लुकोज नियन्त्रणसमेत गर्छ । होसियारीपूर्वक गरिएको यसको अभ्यासले मांसपेसी मजबुत बनाउनेमात्र होइन तिनीहरूमा प्राकृतिक लचकता आउन थाल्छ । शरीरमा उर्जा कायम राख्छ साथै अनुकुल सन्तुलित हिँडाई र हातको काम सहज हुन्छ ।

डमरु बजाई खेलको अभ्यास गर्दा शरीरको अवस्था अनुकुल भूइँमा बसेर, कुर्चीमा बसेर र उभिएर गर्न सकिन्छ । दुबै हातले दुईटा डमरुजस्ता फलामे वा रबडका डण्डीको दुई कुनामा बराबरका केही तौल राख्न सकिने खालको भए झन राम्रो हुन्छ । त्यसपछि ती हल्लाउँदा ढाड सोझो बनाई दुबै हात बराबर गतिमा घडिको उल्टोसुल्टो चालमा हल्लाउने कोसिस गर्नुपर्छ । ठाडो बसेर हल्लाउन सकिएपछि, अलिअलि निहुरेर, हात पछाडि पारेर र दुबै हातका कोखातिर झोल्ल्याई पनि गर्न सकिन्छ । उठबस गर्ने समस्या भए उठबस गरेर नगरौँ । बसिबसी टाउकोमाथि र अगाडि पछाडि डमरु पुर्‍याई हल्लाऔँ । यसरी छाती, ढाड र हातपाखुराको कसरत मनग्य हुन्छ र पाका मान्छेलाई मांसपेसीबाट हुने समस्या हल भएर शारीरिक उर्जा कायम राख्न मद्दत मिल्छ ।

६.नरम बेलुन र गद्दाको खेलः
अचेल बजारमा थिच्दा पनि नफुट्ने रबडका बलिया ठूलाठूला भकुण्डोहरू र लचकदार चारपाटे गद्दाहरू पाइन्छन् । त्यस्ताको प्रयोग कसरतका लागि पाका मान्छेले गर्दा शरीरको सन्तुलन, सतर्कता, एकाग्रता, जोर्नीमा लचकता र आन्तरिक शक्ति बढेको पाइएको छ । पहिलापहिला अभ्यास गर्दा लडेमा पनि चोटपटक नलाग्ने भएकाले पाका मान्छे यस्तोमा कसरत गर्न रमाइलो मान्छन् । भकुण्डोमा बसेर जीउ, ढाड, कम्मर मर्काउन र बेलाबेला गोडाले गति र दिशा दिन बलगर्दा पूरा कसरत हुन्छ ।

हातखुट्टा कमजोर भएका वा जोर्नीमा समस्या भएकाले चारपाटे गद्दामा हिँड्नु फाइदा हुन्छ । गद्दामा सोझो हिँड्ने, पछि हटी हिँड्ने र सर्प हिँडाई गरेमा शरीरको सन्तुलन मिलाउने अभ्यास हुन्छ । यसबाट कम्मरदेखि पाइतालासम्म राम्रो व्यायाम हुन्छ भने पूरै शरीर टाउकोलगायत गतिमा आएकाले पाका मान्छेमा सम्पूणर् अङ्ग चलायमान हुन्छ । यस अभ्यासले सतर्कतामा बृद्धि, एकाग्रता सघन, स्वासप्रस्वासमा गति, निणर्य क्षमतामा बृद्धि र आन्तरिक उर्जा उत्पादनमा सकारात्मक प्रभाव भएको पाइन्छ ।

७.घरबाहिर हिँडाईः
सबैभन्दा कम चिन्ता हुने र गर्नै सकिने व्यायाम भनेको लुरुलुरु हिँड्नु हो । पाका मान्छे मध्ये कसैकसैलाई लामो दूरीमा हिँडडुल गाहारो लाग्छ । हो, आआफ्नो शारीरिक अवस्था र शक्तिअनुसार हिँडाईको गति र दूरी पाका मान्छेले फरक पर्ने पनि हुन्छ । हिँडडुल जती गरे पनि पाका मान्छेले ठाडो भएर बरु लौरो वा डण्डीवाल छाता लिएर नियमित गर्नैपर्छ । कैयौँ पाका मान्छे बिहान हिँड्न रुचाउँछन् भने कोही साँझ सजिलो मान्छन् । समय र प्रतिदिनको हिँडाई लक्ष्य आफूले सकेको राख्ने हो, तपाई कसैलाई जित्न होइन आफूलाई स्वस्थ्य राख्न हिँड्नु पर्छ । तपाईँ आफैँ निणर्य गर्नुहोस् कतिखेर हिँड्न अनुकुल र मनपर्छ । कतिपय बेला न्यानो घाममा हिँड्न मज्जा होला, कहिले जुनेली साँझमा र कहिले मिरमिरे उज्यालोमा, रोजाई तपाईंंको ।

नियमित हिँड्नु होस्, दैनिक हिँडाई ६५ वर्ष नाघेको भए पनि सकिन्छ भने दस हजार पाइला नघाउने कोसिस गर्नुहोस् । शरीर ठिकै छ भने दैनिक घरायसी हलुका किनमेलमा सहभागी हुनुहोस् । आफू जस्तै उमेर र बिचार भएका साथीभाइ कहाँ जानुहोस् र लक्ष्यसहित नजिकको घुमाईमा साथलाग्नु होस् । जीउलाई कष्ट पुग्ने गरेर हिँड्ने होइन, बरु सबै अङ्गको संयोजनमा सबैले काम पाउनेगरी हिँड्नु होस् ।

हिँड्दा अलिअलि स्वास फुलेको, पसिना आएको र जीउ तातेको राम्रो हुन्छ । हो, रिङ्गटा नै छुटनेगरी चाहि नहिँड्नुहोस्, बरु सानो झोलामा छाता, पानी र हलुका खानेकुरा बोक्नु राम्रो हुन्छ । हिँडाईको क्रममा घाम भए वा पानी परे छाताको ओढो आनन्द दिन्छ । आराम गर्ने ठाउँमा बसेर सँगै हिँड्ने साथीसँग गफ गर्दै पानी र खानेकुरा खान मज्जा आउँछ । विश्वप्रसिद्ध ए प्लस वैज्ञानिक पत्रिकाको लेखअनुसार नियमित दस हजार पाइला बढि हिँड्ने अति पाका मान्छेहरूको असामयिक मृत्यु टरेको पाइयो । उहाँहरूको नियमित हिँडाईको अभ्यासले स्वास्थ्य सप्रिएर मृत्यु उमेर अनुमानितभन्दा ४६ प्रतिशतले परिवर्तन भएर पछि सरेको पाइयो । उहाँहरूको स्वस्थ्यकर हिँडाईले शरीरका मांसपेसी बलियोमात्र भएन, मुटु सम्बन्धी रोग, हृदयाघात, मधुमेह र आन्द्राको अबुर्द रोगजस्ता असाध्य रोगहरूसमेत न्युनीकरण भएर तुलनात्मक आनन्दको बाँकी जीवन रह्यो ।

हो, हिँड्दा सकेसम्म समतल ठूलो बाटो रोज्नुहोस्, होचोअग्लो र उबडखाबड बाटो नहिँड्नु होस् । सकेसम्म बाहनहरू नहिँड्ने, चिनजानकै तर भिडभाड कम हुने ठाउँमा घुम्दा घच्चापच्चा र प्रदूषण हुँदैन । घरमा कता हिँडेको भनेर जानकारी दिनुहोस् र छभने मोबाईल फोन साथै राख्नुहोस् । ईच्छा लागे हिँड्दा आनन्दित हुन मनपरेका गीत भएको क्यासेट सामग्री सुन्दै हिँडेमा हिँडाईमा तत्परता थपिन सक्छ । प्राकृतिक छटाको सौकिन हुनुहुन्छ भने हलुका क्यामरा बोकी हिँड्नोस्, मनलागेका चराचुरुङ्गी, रुखपात फूल, मन्दीर आदिको चित्र उतार्न सक्नुहुन्छ । तपाईँको हिँडाई पाको उमेरमा पनि फलदायी, स्वस्थ्यकर र रमाइलो होस् तथा शारीरिक मानसिक दुबै हिसाबले अर्थपूणर् रहोस् ।

पाका मान्छेले नगरौँः
अहिले चलनचल्तीमा रहेका मनोरञ्जन र घुमफिर क्षेत्रहरू पाका मान्छे मैत्री धेरै छैनन् । धेरैजसो केटाकेटी र वयस्कहरू लक्षित गरी बनाइएका छन् । अरुले गरे भन्दै हल्लाको भरमा आफ्नो स्वास्थ्य अवस्था बिचार नगरी पाका मान्छे हौसिएर त्यस्ता ठाउँका प्रयोग गर्ने प्रयास नगरौँ । साहसले धेरै काम फत्ये हुन्छ तर शरीरले साथ दिने हुनुपर्छ ।

हामी पनि सक्छौँ भन्दै जीमखाना गएर गरुङ्गा तौल भएका चक्का उचाल्न रौसिने, हिँड्न पाइताला र खुट्टा दुख्नेले म्याराथुन दौडमा भाग लिन कस्सिने नगर्नु बेस हुन्छ । विभिन्न रोगव्याधले तङ्ग्रिएकाले दण्डबैठक, शीर्षासन र पहाडका उकाली र ठाडो ओराली उक्लनओर्लन तम्सिने नगर्दा नै ठिक होला । हो, बरु मन्द र सहने गतिको दैनिक हिँडाई बढाउँदै जानु राम्रो हुन्छ ।

अन्त्यमा,
कथा पुराणका पात्रहरू योगसाधनाको बलमा सैयौँ वर्ष बाँचेका भन्ने कथाले नियमित व्यायाम, उचित आहार बिहार तथा समयसापेक्ष शिक्षालाई नै इङ्गित गर्दछ । हामी बाँचेको युगमा प्राकृतिक आवोहवा र खानपान हराउँँदै गएकाले पनि शरीर स्वस्थ्य राख्न धेरै कुरामा ध्यान दिनुपर्छ । घरभित्र गरिने सँगसँगै बाहिर स्वस्थ्य वातावरणमा घुमफिर गर्नु अत्यन्त लाभदायक हुन्छ । कुनै अभ्यास पुरा गर्न नसके पनि जीउले सकेको जति दैनिक हिँड्ने बानी बसालौँ, हाम्रा मांसपेसी, जोर्नी र आन्तरिक प्रणालीमा सकारात्मक असर परेर दीर्घ जीवनको आनन्द लिऔँ ।

२०७९ साउन २५
ल.पु. चालिसेडाँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x