साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थ न बर्थ गोबिन्द गाई

हनुमानहरूको चहलपहल केन्द्रमा र तिनका शाखा सन्तानहरूको रजाइँ गाउँमा भएपछि हाम्रो राज्य रामराज्य नभएर अरु हुनै सक्दैन । जाबो दुई दशक अगाडिको राजा फर्काएर के पाउनु ? थुइक्क तिमीहरुको बुद्धि ।

Nepal Telecom ad

तपाईँलाई हाँसो लाग्न के गर्छ कुन्नि ! मलाई त घाँटी किलकिल्याउने गरी हाँसो लाग्यो । ल हेर्नुस् है त दस कक्षामा पढ्ने एउटा विद्यार्थीले वाक्यमा प्रयोग गरेको उखानको नमुना ः
अर्थ = गुरुले हामीलाई शब्द र अर्थ घोक्न भन्नुहुन्छ ।
न = मलाई एउटी केटीले आँखा नझिम्क्याई हेरी ।
बर्थ = मेरो भाइको बर्थ डे हिजो परेको थियो ।
गोबिन्द = गोपालको दाजु गोबिन्द पनि विदेश गएछ ।
गाई = गाई नेपालको अन्तर्राष्ट्रिय जनावर हो ।

मैले उखानको अर्थ बुझाउन नसकेर हो कि कसो हो अर्थ न बर्थ गोबिन्द गाईको साँच्चै अर्थ न बर्थको प्रयोग गरेछ उसले । मैले पूरै पूणर्ाङ्क दिएँ । तपाइँले जाँचेको भए नदिन पनि सक्नुहुन्थ्यो होला । वास्तवमा अर्थ न बर्थ गोबिन्द गाईको अर्थ नै मैले पनि बुझ्न नसकेकै हो क्या ! नत्र त बुझाउन पनि सक्थेँ, प्रयोग पनि सही गर्थे विद्यार्थीले । यसो सोँचेर ल्याउँदा अहिले कहाँ पो अर्थ न बर्थ गोबिन्द गाई छैन र ?

यो उखानको साँच्चिकै आधुनिक प्रयोगकर्ता ऊ मेरो विद्यार्थी नभएर गुरु ठानेँ मैले । उसैले सिकाइदियो मलाई यस्तो आधुनिक प्रयोग शैली । आफूभन्दा सानाबाट पनि सिक्न हुन्छ भनेर चाणक्यले नै भनेका थिए उहिल्यै । अहिलेका हाम्रा ठुलाबडाहरू पो हामी जस्ता सानाले भनेको ठ्याम्मै सुन्न खोज्दैनन् । उनीहरूभन्दा पनि ठुला र जान्ने मान्छे हाम्रो देशमै नभएपछि विदेशका झन् ठुलाले सिकाएको नसिकेर के गरून्? कुर्चीमा पुग्ने बित्तिकै खोपडीमा पनि बुद्धि सर्लक्कै भरिन्छ जस्तो गर्छन् बजियाहरू ! कुर्ची पाउनासाथ बुद्धि पनि झ्वाम्म भरिन आउने हो भने त मैले पनि एउटा ठुलै कुर्चीमा बुरुक्क उफ्रेर बसिहाल्ने थिएँ !! त्यसरी कुर्ची खुस्कनेबित्तिकै धुरुधुरु रुने थिइन म त ।

दुधे बालकले खेलाउँदै गरेको खेलौना भाते बालकले खोस्दा दुधे बालक रोए जस्तो कुर्ची खोसिँदा रुनुपर्छ भने किन मन्त्रीको कुर्चीमा चढ्न हतार गर्नु ! दक्षिण फर्केको टाउको, उत्तर फर्केका आँखा, पूर्व फर्केको मुख र पश्चिम फर्केको नाक भएको अर्थ न बर्थको सरकारमा अर्का अर्थ न बर्थका मन्त्री थप्नु परेपछि खेलौना मन्त्रीहरू आइरहन्छन् गइरहन्छन् । अरुले कठपुतली भनेको मलाई पटक्कै मन पर्दैन क्या ! काठको पनि पुतली हुन्छ र ? खेलौना भने पो हुन्छ । खेलौना सरकारले हामीलाई खेलौना ठानेको हो कि देशलाई नै खेलौना बनाउन खोजेको हो मलाई न अर्थ लागेको छ न बर्थ । खालि ‘जय गोबिन्द ! जय गोबिन्द !!’ भन्दै भजन गाई दक्षिणा बटुल्नेहरूलाई मात्र अर्थ लाग्ला जस्तो छ । आफूलाई त त्यसरी भजन गाउन पनि आउँदैन । यसो भन्दैमा नास्तिक नभन्नुहोला नि ! गेरुवा वस्त्र भिरेर मूर्ति बेच्ने गर्दिन क्या मैले ।

गोबिन्द गाईको अर्थ न बर्थको धक्कु लगाईसित खेलौना खेलाउने उमेरदेखि नै परिचित छु । पाठ्यक्रम बनाउनेदेखि पुस्तक छपाउनेसम्मका खेलौनाहरूको कठपुतली नचाइले गर्दा मेरो दस कक्षाको सिकारुले वाक्यमा प्रयोग गर्न जान्दैन । नजानेर के भो त ! उसैले उत्तीणर् गरिदिन्छ नयाँ नेपालको नयाँ एस ई ई । पुरानो नेपालको एस एल सी !! बोर्डिङ् पढाउन गएपछि उसैले पढाएको शिक्षा गुणस्तरीय हुन्छ; हाम्रो त चिल्लै । थुक्क मेरो डिग्रीको सर्टिफिकेट !!

त्यसैले तपाईँ जे भन्नोस् भन्नोस्, मैले यो उखानलाई उसैले सिकाएबमोजिमकै प्रयोग गर्छु । बरु मलाई एक नम्बर पनि चाहिन्न । फेलै घोषणा गर्नुहुन्छ भने पनि सही ! मेरो यो कामलाई घोर अपराध घोषणा गरेर जेलै लैजानुहुन्छ भने पनि सही ! जेल बस्न पनि रहर छ क्या मलाई । कामै नगरी साँझबिहान खान पाइन्छ रे दङ्ल्याई दङ्ल्याई ससुरालीमा जस्तो ! खानै पाइएन भने मोर्चा बनाएर नाराबाजी गर्न त कसले पो रोक्ला र ।

अर्थ ः
शब्द नै अनेकार्थी भएपछि अर्थको अर्थ के बुझाउने ? के बुझ्ने ?? एक थरिले भन्छन्, ‘अर्थमन्त्रीको राजीनामा मागेर के गर्नु ! एउटा टीके समिति बनाएर गहुँत छर्केपछि चोख्याएर फेरि उनैलाई मन्त्री बनाइन्छ ।’ अर्का थरि भन्छन्, ‘यस्ता राष्ट्रघाती अर्थमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ ।’ अर्थतन्त्रमा करका दर जथाभावी परिवर्तन गराएर देशलाई नै अर्थ न बर्थको बनाउन खोज्नु अर्थमन्त्रीको मुख्य दायित्व हो । चाहिएको कुरो रेकर्ड गरेर राख्न नसक्ने त्यस्ता सीसीटिभीले आत्महत्या गरेर मरे हुन्छ । जति वैज्ञानिक उपकरणको आविष्कार भयो उति ठग्न सजिलो भएपछि त्यस्ता उपकरण हुनुभन्दा नभएकै राम्रो !

अर्थको माने मतलव, तात्पर्य, अभिप्राय मात्र कहाँ हो र ! प्रयोजन पनि त हो । साँच्चै भन्ने हो भने मलाई नेताहरूले गणतन्त्र के अर्थले ल्याएका हुन् थाहा छैन । संघीयताका कट्टर विरोधीहरू र कट्टर समर्थकहरू किन सत्तामा बसेका हुन् त्यसको अर्थ पनि थाहा छैन । उत्तरपन्थी र दक्षिणपन्थीहरू किन गाँठो परेका हुन् त्यसको अर्थ त झनै थाहा छैन । बगैँचाका फूलहरूमा कस्ता रङ्गीचङ्गी पुतलीहरू हुन्छन् हो त्यस्तै झ्याईंपुतलीहरू मिलेर देशको रस चुस्न हो भन्ने मेरो खेलौना बुद्धिको ठम्याइ छ । तपाइँको जे होला । वास्तवमा आफै चल्न नसक्ने खेलौना सरकार निर्माण गर्ने हामी जस्ता सार्वभौमशाली जनता भन्नेहरू पनि चुनावमा पैसा पाएपछि मख्ख पर्छौँ रे !! नेताहरूलाई विदेशीले किन्ने, जनताहरूलाई नेताहरूका आसेपासेहरूले किन्ने ! किन्नका लागी के चाहिने ? त्यही ‘अर्थ’ बुझ्नु भो ?


नमस्ते भने पनि नमस्कार भने पनि हामी भेट् हुँदा सुरुमै बोलिने भनेकै न रहेछ । मैले त ‘न’ लाई निषेध नै गर्नुपर्छ भन्ने ठानेको थिएँ । खालि उल्टो उल्टो मात्र बनाउने यस्तो नजाति नलाई वणर्मालाबाटै हटाउन पाए हुन्थ्यो भन्ठानेको थिएँ । नकारात्मक बन्न उक्साउने यस्तो न नभएको भए नेपाली भाषा कति राम्रो हुँदो हो ! यस्तो विचार एकजना विद्वानसित राखेको त मेरो सातो खाइदिए,- “नेपाली भाषामा सबभन्दा बढी प्रयोग हुने अक्षर नै न हो । तँ नकचरालाई के थाहा ? अक्षरले हो र नकारात्मक बनाएको ? तेरो चिन्तन हो, विचार हो, सोँच हो बुझिस् मुर्ख ! सधै सबै कुरा सकार्नुपर्छ भन्ने कहाँ छ ? उसो भए मैले तँलाई ‘मेरो आची खा’ भन्छु, अनि तैले हस् भन्छस् त !” म परेँ अक्क न बक्क ।

बर्थ
‘हेप्पी बर्थ डे टु यु !’ विश्वको सबभन्दा बढी बज्ने गीत हो रे यो । नेपालमा पनि कम बज्दैन । के नेपाल विश्वको एउटा अंश हैन र ? अझ एमसीसी पास भएपछि त अमेरिकाकै अंश भन्न थालिसकेका छन् मान्छेहरूले । बड्डे नमनाएर कसले शुभ जन्मोत्सव मनाओस् ! केक नकाटेर कसले लड्डु बनाउन थालोस् ! बलेको बत्ती ननिभाएर कसले बत्ती बाल्ने लठारो गरोस् । आधुनिकता भित्रिएपछि देवकोटा बाजेले ‘हाइ हाइ अङ्ग्र्रेजी’ भनेर जति प्रशंसा गरे पनि खिल्ली उडाए पनि आखिर अङ्ग्र्रेजी हाइ हाइ नभएर लो लो हुने त कुरै भएन क्यारे । आउनुहोस् तपाइँ हामी सबै मिलेर छिटोभन्दा छिटो हाम्रो मौलिक संस्कृति मेटाऔँ । यसमा नै हामी सबैको कल्याण छ नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ भनेर घोषणा गर्दा चुप्प लाग्नुभएको हैन र तपाइँहरू त्रिसठ्ठी सालमा !!

गोबिन्द
गोबिन्द कृष्णको पर्यायवाची नाम । कृष्ण विष्णुका अवतार । मान्छेले हो जे पायो त्यही गर्न नहुने, भगवानले हुन्थ्यो । गोकुलमा गोपिनीहरूसित गाई चराउन जाँदा लव परेको थियो रे गोठाला कृष्णको ! अनि उनैको नाम थियो गोबिन्द । हुन त उनका हजार थरि नाम छन् । कहिले कुन नाम कहिले कुन नाम प्रयोग गर्दै सोह्र हजार एक सय आठओटी श्रीमती बनाएछन् । आजकल दुईओटी बिहे गरे जेल जानु पर्ने रे हाम्रा नेताहरूले बनाएको कानुनमा ! ओल्ड इज गोल्ड भन्ने उक्ति किन भुसुक्कै बिर्सेका हुन् कुन्नि ! कानुन त पहिलेकै राम्रो थियो । त्यसैले आजकल उठ्न थालेको ‘राजा ल्याउ देश बचाउ’ भन्ने हल्ला मलाई पनि ठिकै लाग्न थालेको छ क्या कस्सम ! दुईचारओटा पुच्छरेहरूलाई पछि लगाउँदैमा नेता बन्न खोजेर कहाँ हुन्छ ? गोबिन्दले झैँ सोह्र हजारलाई पछि लाग्ने बनाउन सके पो मान्नु । त्यसैले यी कलीयुगका राजालाई भन्दा द्वापर युगका राजालाई ल्याउन पहल गर्छ भने म त्यसकै पछाडि लाग्छु, धरोधर्म ! मलाई कसैले फकाउनै पर्दैन ।

मेरो त झनै प्रगतिवादी विचार छ क्या अझै त्यो भन्दा पनि । द्वापर युगका ती बिठ्याहा गोबिन्दलाई भन्दा अझै त्रेता युगका रामलाई नै ल्याएर राजा बनाउन सके अझ उपलब्धी हुन्थ्यो । हाम्रो देश पनि रामराज्य बन्थ्यो !! हुन पनि आजकल गाउँघरतिर रामका फौजहरू आएर गाउँको रक्षा गर्न थालेका छन् । एघार पद्म त नभनौ एघार हजार भन्दा त कैयौँ गुणा धेरै छन् उनका फौज । अब मान्छेले उनै रामका फौजलाई खेतीपाती सुम्पनुपर्ने अवस्था आइसकेको छ । सहरतिर भने जाम्बवानहरू, अङ्गदहरू र हनुमानहरू यताउती गरेका देखिन्छन् । हनुमानहरूको चहलपहल केन्द्रमा र तिनका शाखा सन्तानहरूको रजाइँ गाउँमा भएपछि हाम्रो राज्य रामराज्य नभएर अरु हुनै सक्दैन । जाबो दुई दशक अगाडिको राजा फर्काएर के पाउनु ? थुइक्क तिमीहरुको बुद्धि ।

गाई
गाईप्रति घोर अन्याय भएको छ । गाईलाई राष्ट्रिय जनावर पनि मान्ने अनि अपमान पनि गर्ने ! यसो गर्न बिलकुल पाइँदैन । जङ्गलमा बाघ लोप हुँदै छन् भने गाउँघरमा गाई लोप हुँदै छन् । यो संयोग मात्र हैन षड्यन्त्र हो भन्ने मेरो ठम्याइ छ । जे सुकै भए पनि गाई जस्तो सुधो र उपयोगी जनावरलाई ठट्टाको विषय बनाउनु सरासर अन्याय नै हो । हे गाईका न्यायाधीशहरू ! आओ न गाईलाई परेको यो अन्याय छिनोफानो गरिदेओ । धार्मिक दृष्टिले पनि माता मानेको गाईलाई कुन स्वाँठले खिसिट्युरीको विषय बनायो ? त्यसलाई तुरुन्त कारबाही हुनुपर्छ ।

हाँसोको पात्र बनाउन किन गाईलाई नै रोज्नु परेको त्यसलाई ? अरु जनावर पाएनछ कि ! दुध चोरेर खाने बिरालो वा धान खाने मुसो जसलाई बनाएको भए पनि त हुन्थ्यो । त्यसका बाबुको छोरो मरेर गाईजात्रा देखाउने चलन चलाएको रे ! बरु साँढे जात्रा गरेको भए हुन्थेन । गाईका के दुर्गुण थिए र गाईलाई कार्टुन बनाउनु पर्ने ? बरु बुझ्दै नबुझ्ने एकोहोरे भेँडोलाई हाँसोको पात्र बनाएको भए सुहाउँदो हो । नत्र जङ्गलको ढुकुटी नै रित्याउन पछि नपर्ने भ्रष्ट कर्मचारीभन्दा मोटो त्यो नाङ्लाकानेलाई बनाएको भए पनि हुन्थ्यो । देखाउने र चपाउने दुई थरि दाँत भएको भ्रष्टाचारी त हात्ती नै थियो क्यारे । सोझो जनावरप्रतिको यो अपमान सह्य हुनै सक्दैन । अब गाईजात्रा भन्ने पर्व नै खारेज गरिनु पर्छ गाईजात्रा नै कायम राख्ने हो भने गाईलाई राष्ट्रिय जनावरबाट हटाएर मान्छे मान्छे जस्तै लाग्ने बाँदरलाई राष्ट्रिय जनावर बनाउनु पर्छ नत्र गाईको जात्रा नै देखाउन पाइँदैन । यो भनाइ मेरो मात्र हैन धर्मनिरपेक्ष देशका सबै जनताको हो जसले गाईको दुध खान्छन, मुत खान्छन् अनि मासु पनि खान्छन् ।

००

२०७९ साउन २३ गते गाईजात्राभन्दा ५ दिनअघि
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x