साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुसनीय घुन मन्त्री

अर्काको ठाउँमा छिमेकी आएर मनपरी तवरले घुसनीय अनि पछि चुसनीय, लुछनीय गर्ने बडो गजवको तरिका छ । खुसुक्क कसैलाई थाहै नदिई घुस्ने र माटो लुट्ने पनि घुसनीय नै हुन् ।

Nepal Telecom ad

आउनुस् ! आउनुस् ! आज यहाँ हाम्रो देशलाई सुन बनाउने र आफू घुन बनेर सुनभित्र घुस्ने घुसनीय मन्त्रीज्यूको भाषण हुँदैछ । एउटा कानले सुनेर अर्को कानले उडाउन जति सक्दो चाँडो उपस्थित भैदिनु हुन व्यर्थका जनतासँग अनर्थको आग्रह गर्दछु । आजको फलामे अवसर गुमाउनु भयो भने भोलिका दिनमा ढुङ्गा, इँटा, लाठी, भाटाको अवसर पाउनु हुनेछैन । यस्तो मिठो चट्ट परेको अचार जस्तै स्वादिलो कार्यक्रममा घुसनीय घुन मन्त्रीको सुनसँगको सुननीय कुरा केही नभए पनि घुन बनेर जनतालाई लाएको गुनका बारेमा तितो, टर्रो, अमिलो, पिरो बिचार सुन्नु हुनेछ ।

आ हा ! घुसनीय घुन मन्त्री ज्युको क्या मिठो बाणी पहिले देश बनाउन माथि गएकाहरू बन्नु पर्दछ । बजेटलाई यता उता घचेट गर्न जान्नु पर्दछ । हामी जस्ता मन्त्री देश विकासमा घुस्यौँ भने घुन बनेर सुनभित्र पस्छौँ अनि शुरु हुन्छ विनासको मुल फुटाउने काम । यो देशमा विकासले केही हुँदैन । मलाई गाली ठोकेर काँधमा बोक्ने अनि सत्ताको पोखरीबाट बाहिर फाल्ने काम विकासकै गतिलो नमूना हो । तर यो कामले मेरो चित्त दुखेको छ । मलाई सत्ताको पोखरीभित्रै रमाउन दिएको भए विनासका फेहरिष्तहरू जन्मदै जान्थे र म अझ उत्साहित भएर बुद्धिको भाँडोमा बिर्को लाएर बस्थे ।

मेरा अवगालनीय जनादेशका दुर्जन जनहरू इमान्दारिता आजको मुर्खता हो भन्ने कुरा मैले बुझेको छु । त्यही कारणले म घुन भएर सुनभित्र घुसनीय भएको हुँ । मलाई घुशासन मन पर्छ त्यसैले म अरुलाई पनि आफ्नो कार्यक्षेत्रभित्र घुसाउन सक्छु । घुसाउने अधिकार मैले पाएको छु र अधिकारको दुरुपयोग बुझेरै गरेको छु । मैले अरुलाई पनि घुन बनाएर आफ्नो कार्यकक्षमा घुसाएका कारण मलाई अवगालनीय घुशेश्वर महादेवको विशिष्ट दर्जामा राखियो । जुन मेरालागि घुस्यैलो अवसर पनि हो । भनौँ मैले जीवनमा कहिल्यै नपाउने अवसर पाएको छु । किनकि आफैँले खाएर चुठेको थालमा म पुनः घुन भएर सुनभित्र घुस्न सकेको छु । म हर प्रकारले घुशासनमा योग्य भएकोले जहाँ पनि घुस्न सक्छु ।

खास कुरो यहाँ सुन नभएको भए म घुन बन्न सक्दैनथे । म जुन रूपले सुनमा घुसे त्यो रूपले अरु घुस्न सक्दैनथे र त्यो कला अरुमा थिएन, छैन पनि । म जस्तो झकास कला भाको व्यर्थको व्यशासन पाको मान्छेलाई देशको भान्से बनाएर राखेपछि त मैले घुन बनेर सुनभित्र पस्न पाउनु पदीय अधिकार हो । यो गणतान्त्रिक घुशासनमा घुन बनेर सुन चुस्न, व्यापारी पोस्न, मान्छे घुसाउन पाइएन भने देशको विकास नै हुँदैन । देशकै विनासकालागि मैले घुसनीय, घुशासनीय काममा सहजता ल्याउन आफैँ घुन बनेर सुनभित्र घुसेको हुँ । अझ भन्ने हो भने मलाई मेरा प्रतिपक्षीहरूले घुसार्दन पनि भने । मलाई घुसार्दन भन्दा काइदै काइदाको फाइदै भएको छ । कसरी भन्नु होला भने म जसरी घुसेको थिए र पछि जसरी घुसे त्यसरी ।

मेरा अवगालनीय जनद्रोही साथीहरू तपाईहरूलाई पनि घुस्न चुस्न मन छ भने आउनुस् म घुसाउँछु र चुसाउँछु पनि । घुस्ने, घुसाउने, चुस्ने, चुसाउने कलामा म व्यर्थको विज्ञ भएको नाताले बाहिरको जति सुकै मोटो गाताले पनि छेक्न सक्दैन । तर घुन बनेर सुनभित्र पस्न भन्ने दिन्न । किनकि सुनभित्र त मेरो नुन परेको छ । नुनको साटो सुन त मैले पाउनु पर्छ । त्यसैले सुनको साटो बरु तपाईहरूलाई म चुन दिउला । स्वच्छ, सफा, सेतो चुन पाउनु पनि ठूलो कुरा हो अहिलेको जमानामा । हाम्रै कारणले भएको यो फोहर मैला युक्त समयमा स्वच्छ सफा हुन पाउनु भनेको प्रतिकार गर्ने को आँखामा कालो पट्टी लाउनु । त्यसैले घुन बनेर आउनुस् चुनभित्र घुस्नुस् र जीवनभरी चुनभित्रै बसेर घुशासन चलाउनुस्, नाम कमाउनुस् ।

अर्को कुरा म के भन्न चाहन्छु भने म घुननीय घुनमन्त्री घुन बनेर सुनभित्र पसे तर तपाईहरू चुननीय चुन मन्त्री बन्न पाउनु हुन्न । किनकि तपाईहरू आफैँ स्वच्छ सफा हुनुहुन्छ । जहाँ पनि पसेर भित्रको खाएर बोक्रा मात्र बाँकी राख्ने म जस्तो घुसेश्वरले पाएको अपमानासनको ओहदा नखोज्नु होला । म त फोहरासन भै हाले भाग्य रहेछ । यस्तो भाग्य अरुले लिएर आउँदैनन् । घुन बन्न सकेकोमा म आफैँलाई बधाई दिन चाहन्छु ।

यो घुस्यौलो अवसरमा म अब घुशासन विषयमै पि.एच.डी गर्ने तयारी गर्नेछु । घुशासन विषयमा नेपालमा विज्ञ जन्मिएका छैनन् । त्यसैले म आफैँ जन्मिन चाहन्छु र विज्ञ भएर अन्भरिए भने भोलि देशलाई चाहिने थप घुशासनिक जनशक्तिको अभाव हुन दिने छैन । जस्तो सुकै प्रभाव र दवावमा पनि अभावलाई प्राथमिकतामा राखेर देशको भरी भकारीमा प्वाल पार्ने घुन बनेर सेवारत रहने छु । सेवाका नाममा यतिमात्र होइन मेरा अनन्त सहयोगी मन मुटुहरूका बिचमा म फूल बुट्टे झुलभित्र पसेर पनि हरेक हर्कत गर्न अघि सर्ने छु । आखिरी सेवा हि परमोधर्म भन्ने उखानले देश चलिरहेको समय भएकोले जे होस् जस्तो होस् आशा भरोसा मेवा दानीहरूमा पुरापुर भर छ । चाहे तिनीहरू ज्ञानी अज्ञानी जे सुकै हुन् । मेवा दानीहरूको निग्रहमा यदि बिग्रह आयो भने नो चिन्ता । किनकि म घुन हुँ जहाँ सुकैबाट पनि छिरेर मेवा दानीहरूको अप्रेसन गर्न जानेको छु ।

फेरि अर्को कुरा यो घुसनीय प्रवृतिका बारेमा आजमात्र होइन जमानादेखि धेरैले विभिन्न खजाना खोजि रहेका छन् । अर्काको ठाउँमा छिमेकी आएर मनपरी तवरले घुसनीय अनि पछि चुसनीय, लुछनीय गर्ने बडो गजवको तरिका छ । खुसुक्क कसैलाई थाहै नदिई घुस्ने र माटो लुट्ने पनि घुसनीय नै हुन् । तर खै यी घुसनीयलाई ठेगान लाउन कुनै चुस्तनीय काम हुन सकेन । त्यो काम गर्नु हुन्न भन्नेमा गन्ने हो भने म पनि एक भन्ने हुँ । यो मेरो अधिकारभित्रको मित्रको कुरा भएकोले मित्रको कुरामा छुरा चलाउनु उचित हुन्न । त्यसैले कसैले बोली हाले पनि म मौनब्रतमा सहमत हुन्छु ।

घुन झैँ एउटा क्षिद्रबाट छिरेर प्वालबाट बाहिर निस्कने प्रवृतिले यो देशलाई नराम्रोसँग गाँजेको छ । देशलाई गुन्द्रुक साँधे झैँ साँधेर अचार मानेर खाने परम्परा बसेकोछ । छाडा बस्तुले सिकेको संस्कार न हो भदौमा आँखा फुटेको डिगोले सधैँ हरियो नै देख्छ भन्ने उखानलाई चरितार्थ पार्न घुननीय घुन मन्त्रीहरूको धुन नै सधैँ अग्रगामी मोर्चामा छ । भनौँ घुन बनेर भित्र पस्ने अनि साँढे बनेर डुक्रदै बाहिर निस्कने महान परिवर्तनका हिमायती बन्ने धुन सबैमा सबार छ । यी घुनहरूको हजार जिब्रा भएका अवशेष नागहरूले पनि बयान गर्न सक्दैनन् ।

धेरै कुरा के गरौँ यी घुसनीय घुन मन्त्रीका सधैँ चुसनीय कुरा मात्र हुन्छन् । ओल्टो, कोल्टो जता फर्के पनि घुसनीय र चुसनीय कुरामा अल्झिने सत्ताकालागि मत्ताहात्ती बन्ने हाम्रा गन्हानीय घुनमन्त्री सुनभित्र पसेर रजाइँ गर्न पल्केका छन् । भुसको आगो झैँ भित्रभित्रै सल्केर सुँगुर ढल्के झैँ ढल्केर रछ्यान चाहार्न पल्केका छन् । पाएको मान सम्मान बिर्सेर नपाएको पगरी भिर्न तम्सेका छन् । घुसनीय घुनमन्त्री चुनभित्र पसेर स्वच्छ सफा र टलक्क टल्कने शरीर लिएर घृणित बन्न चाहनु हुन्न । हाम्रा घुनमन्त्रीको यो सबैभन्दा ठूलो घुशेषता हो । त्याग तपस्या र बलिदानका खातिर घुन मन्त्री बनेका हुन् । अन्य मन्त्रीभन्दा निके माथिको पद नै घुनमन्त्री भएकोले जुनसुकै बेला पनि, जहाँ पनि पुग्न सक्ने र आएको, पुगेको, घुसेको कसैले थाहा नपाउने भएकोले गोप्यमन्त्रीको दर्जामा कर्जा लिएर घुनमन्त्री बन्न सफल भएकोले देशलाई शेष बनाउने योगदानमा अशेष लगानी छ ।

अब मन्त्री जस्तो पदमा पुगेका नेताको बयान धेरै के गरौँ । आफ्नो बयान आफैँ दिन खप्पिस भएकोले प्रतिपक्षी हुँदा ब्रिफकेश खोसेको बिर्सनु भएछ । म सम्झाउँने प्रयास गर्दैछु । अस्तु मन्त्री भनेका गोठाला विनाका बस्तु । जय साहित्य जय व्यङ्ग्य ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x