साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खामको खसखस

आखिरमा सानो चिर्कटोमा लेखेको रहेछ- “मित ज्वाईलाई दक्षिणा गोठमा एउटा बैला थोरे छ त्यो ब्याउने भयो भने त्यसबाट जन्मेको पाडो लानु होला ।”

Nepal Telecom ad

भूपि बाजेले उहिल्यै भनेका हुन्, अरु जेट युगमा पुगे पनि हामी नेपाली छाती मुनिको पेट युगमा अल्झिरहेका छौँ । ठिकै त हो अरु जेटविमान चढेर अझ त्यो भन्दा पनि त्वरित गतिको रकेटमा सवार भएर अन्तरिक्षमा रगरग चाहारिरहेको बेला हामी उदरको शूल शान्त गर्न गिठ्ठा, भ्याकुर, जलुको, निगुरो डौँठेका टुप्पा खोज्न घोर जंगलमा रगरग चाहरिरहेका छौँ ।

खैर जे होस् भूपी बाजेले जेटयुग र पेटयुगको कुरा गरेपनि आज मलाई भने आज अर्कै कुराको मेसो फुरेको छ । हुन त अहिले पनि हामी घाँटी मुनिको पेट युगमै अड्किबसेका छौँ । त्यसैले भोकले सताएका मनुवाहरू मामको कुरा गर्छन् । ख्यातिको खुनखुनमा बाँचेकाहरू नामको कुरा गर्छन् । सवारीवाहन चढेर निर्वाध गतिमा हुँइकिन नपाएकाहरू जामको कुरा गर्छन् । बेरोजगारीले पिल्सिएका नरनारीहरू कामको कुरा गर्छन् । ग्रामीण प्रेमरसले चुपिचल्ल भिजेका मनुवाहरू गामको कुरा गर्छन् । ठण्डीले कक्रिएकाहरू घामको कुरा गर्छन् । दिनबाट विरक्तिएका मनुवाहरू शामको कुरा गर्छन् । म चैँ आज दुई रुपैयाँमा पनि सजिलै किन्न सकिने कोरा कागजको खामको कुरा गर्छु ।

आज भन्दा चालीस पैँतालीस वर्ष अगाडि जतिखेर म उत्तर वाल्यावस्था छिचोलेर पूर्व किशोरावस्थामा उक्ँिलदैथेँ, त्यो समय हुलाक युगको समय थियो । गाउँगाउँमा हुलाक घर थिए । चिठी बोक्ने हल्कारा र हुलाकीहरू थिए । सो युगमा खामको कति ठूलो महत्व थियो होला ? तपाई आफैँ अन्दाजा लाउन सक्नुहुन्छ । खाममा चिठी प्याक गरेर आफन्त इष्टमित्र परदेशीलाई पठाइन्थ्यो । आजको जस्तो इमेल, इन्टरनेट, गुगल, भाइवर, म्यासेन्जर, इष्टाग्राम, ह्व्राट्सप, भिडियो कलका नवीनतम् प्रविधिहरू कल्पना बाहिरको कुरा थियो ।

परदेशीलाई पठाउने चिठी खाममा बन्द गर्नुपर्ने जरुरी हुन्थ्यो । खाम बाहिर प्रेषक प्रापकको नाम ठेगाना लेख्नैपथ्र्यो । टिकट टाँस्ने ठाउँमा टिकट, टाँचा लाउने ठाउँमा टाँचा मार्नै पथ्र्यो । त्यति नगर्दा चिठ्ठी गन्तव्यमा पुग्दैनथ्यो । सहरबजारको कुरा छोडौँ गाउँको कुरा गर्दा गाममा खाम पाइदैनथ्यो । कतिपय अवस्थामा जसले चिठी पठाएको हो, त्यै चिठीको खामलाई जतनसाथ उल्ट्याएर अर्को नयाँ खाम बनाई, नाम ठेगाना लेखी चिठी फिर्ता गरेको पनि देखेको छु । कतिले कर्दले कागजका पन्ना काटेर काभ्राको चोपले टाँसेर घरेलु खाम तयार गरी चिठी भेजेको पनि देखेको हुँ ।

एकजना बाले त कालेबुङको कैँयाको पशलमा नोकरी गर्ने छोरालाई पुरानो अर्जीपत्रको खाली भाग बाहिर पारेर भातका सीताले टालेर सोही खाममा चिठ्ठी खसाएको पनि देखेको हुँ । अहिले छिनछिनमा म्यासेन्जरमा भिडियोकल गर्ने पुस्ताले मेरो कुरा नपत्याउलान् कि भन्ने डर छ मलाई । सो युगमा खाममा एकछत्र चिठीको रजाईँ चल्थ्यो । अर्थात् दापमा के बस्छ खुकुरी, खिसामा के बस्छ झुलो चकमक, थैलीमा के बस्छ रुपैयाँपैसा भने झैँ खाममा के बस्छ ? के हालिन्छ ? भनी सोद्धा सिधासिधी उत्तर आउँथ्यो- खाममा चिठी बस्छ । खाममा चिठी हालिन्छ ।

समयको गतिसँगै हाम्रा अनेकन विधि व्यवहारहरू फेरिए । पद्धति र प्रविधिहरू फेरिए । एकदिन मैले सानो नातिलाई सोधेँ, नानी खाममा के हालिन्छ ? उसले प्वाक्क जवाफ दियो- खाममा के हालिन्छ अर्थोक पैसा हालिन्छ नि पैसा । अब सानो नातिले खाममा चिठी हालिन्छ भन्ने कुरा बुझ्दैन ।

दशैँमा मामल गएर धेरै घर दक्षिणा थापेको नातिले कुनैकुनै घरमा त खामै पाएछ । काखे नानीले खाम भेटेपछि तीन हात उफ्रेर खुशियाली मनाएछ । बाबालाई पनि खाम मलाई पनि खाम । बाबै म अब सानो छैन । म पनि बाबा जत्रो भएँ, बाबा जत्रो । उसको चकरधँई देखेर मावली खलक छक परेछन् । खामको करामत कति ठूलो छ, सानादेखि ठूलासम्मलाई प्रशन्न गराउन सक्छ यसले ।

हुन पनि हो ससुराली गएको ज्वाईलाई दक्षिणापात गर्दा नगद नारायण खामबन्दी गरेरै अर्पण गरिन्थ्यो । यो एउटा गोपनीयताको कुरा पनि हो । अर्को आफ्नो इज्जत आवरु ढाक्ने काइदा पनि हो । खाममा हालेर दिएपछि थोरैतिन भए पनि कसैले नदेख्ने । धेरै दिए पनि खामले त्यसको गरिमा धान्ने । अर्थात् खाममा दाम हालेर टकारेपछि कसैले पनि थोरै दियो भनेर लख काट्तैन । खामबन्दी गरेर दिएको छ, धेरै दियो होला नै भनेर अनुमान गर्छन् ।

यता ज्वाई नारानले खाम पाएपछि खाम खोल्ने खसखस सुरु हुन्छ । गामको ज्वाई न हो गु नआए पनि दिशा गर्ने वाहनामा लोटा बोकेर खोल्सातिर प्रस्थान गर्छ अरे । झाडीमा लुकेर हतारहतार गोजीको खाम उर्धान थाल्छ । ससुरालीबाट मनचिन्त्य दाम पाएको रहेछ भने अरु भर्भराउँदो अनुहार बनाएर फर्किन्छ । खाममा सानो दाम राखेका रहेछन् भने चैँ अनुहार निचोरेको कागती जस्तो बनाएर पेट छाम्दै घर फर्किन्छ ।

“लौ न ज्वाईंको गाथमा आराम भएन जस्तो छ ।” सासूले चिन्ता पोख्छिन् । ऊ हाँ मा हाँ मिलाउँछ- “खै के भयो के ? पातलो पखाला गयो । पेट कटक्क काटिरहेको छ ।” सासू हतार हतार तातोपानी उमाल्छिन् । जडाबुटा घोट्छिन् । विचरा सासूलाई के थाहा ज्वार्इंलाई खाम भित्रको दामले विसन्चो तुल्याएको कुरा ।

ऊ एकरात हँ हँ गर्दै सुत्छ र भोलिपल्ट धाइफल तोडेर आफ्नै घर फर्किन्छ । यस्ता कन्जुस ससुरालीका घरमा बस्नु भन्दा त आफ्नै भँैसीको फाँचो पगार्दा फाइदा छ भन्ने कुरा उसले मजाले नै बुझेको छ ।

हुन त खाम पाएपछि खसखस नहुने मनुवा को होला र ? बुढादेखि बच्चासम्म, किशोरदेखि प्रौढसम्म, युवादेखि अधवैँशेसम्म सबैलाई हातमा खाम परेपछि कतिखेर खोलूँ भन्ने चिउचिउ चासो सुरु हुन्छ । कस्तो अप्ठ्यारो छ खामको कारोवार । दिँदा सबैलाई देखाएर बन्द खाम दिन मिल्ने तर पाउनेले मान्छेको सामु खोलेर देखाउन नमिल्ने । अरुका सामु हत्तपत्त खाम खोलिन्न । एकान्तरुपमा नै यसलाई खोलिन्छ । यसो हुँदा दिनेको पनि इज्जत बँच्ने लिनेको पनि इज्जत बँच्ने । सायद इज्जत ढाक्ने गतिलो साधन हो खाम । खामको चलनले खाम दिने वर्गलाई काफी सहुलियत प्रदान गरेको छ । थोरैतिन रुपैयाँले पनि गर्जो टर्ने । दुई पैसो दामलाई चार पैसोको खाममा जडकवन्दी गरेपछि देख्नेले हजारै हाल्यो होला भन्ने लख काटिदिन्छ । इज्जत ढाक्ने कति गतिलो टालो हुँदैछ खाम ।

खामको खसखस ठूलादेखि साना सबैलाई हुन्छ । अवोध केटाकेटीले हातमा खाम भेटेपछि त्यसलाई च्यात्न कुनै आइतवार कुर्दैन । तर, ज्ञान पसेको छिप्पट मनुवाले हातमा खाम परेपछि मनमा उधूम खसखस पलाए पनि त्यसलाई थिचेर मिचेर उपयुक्त अवसर सिर्जना गरेर खाम खोल्दछ । अर्थात् आफूलाई एकान्त निर्जन स्थलमा पुर्‍याएर मात्र खामको सिउनी उर्घाछ । दिशा, पिशाव गर्न जाँदा चर्पी स्थलमा या अन्य कुनै ऐकान्तिक जग्गामा खाम खोल्छ र खसखस मेटाउँछ । बच्चाको कुरा अर्कै छ, उसले कसैको इज्जत बचाइदिनु पनि छैन । कसैको प्रतिष्ठा र गरिमा धानिदिनु पनि छैन । उसले त हातमा खाम पाएकै वखतमा खोली बाँसुली गरिदिन्छ ।

मैले एकजना धनाढ्य घरको नाति उफ्रेको देखेको छु । दशैँको बेला थियो । ती धनीमानी बूढाका छोरीज्वाई एउटा चारपाँच बर्षको भुन्टे नानी डोर्‍याउँदै ससुराली आए । बूढाले साइतको टिका लाइदिएर छोरीज्वाईलाई खाम टकारे । सानो नातिलाई पनि खाममै दक्षिणा दिएछन् । केटाले खाम पाउने वित्तिकै त्यसलाई च्यातेर दुई रुपैयाँको नोट निकाल्यो र उफ्रिदै कराउन थाल्यो । मैले पनि दुई रुपैया पाएँ । दुई रुपैयाँ पाएँ । पाँच मिनेटसम्म दुई टके नोट देखाउँदै हल्ला गरिरह्यो ।

बाजे बूढो लाजले पानीपानी भए । बूढो बाजे लोभी नै थिए क्यारे । खामको आवरणमा नाथे डुसे केटालाई जति दिए पनि हुन्छ भन्ने सोचे कि ? नत्र पाँच रुपैयाँको खाममा के दुई रुपैयाँ हालेर दिनु त ? कि खाममा नहाली खुल्ला रुपमै दिएका भए पनि केटोले हल्ला नगर्दो हो । बूढा शरमले गले जस्ता भए । तर, बूढा बाठा रहेछन्- ए ! नानीको चाचा यहाँ छुटी हालेछ नि भनेर हातमा पचासको नोट थमाइ दिए । हुन त केटाले पैसा थोरै भो भनेर हल्ला मच्चाएको थिएन । दुई टके खाममै पाएँ भनी खुशीले उफ्रेको थियो । यो घटना देखेपछि खामबन्दी दक्षिणपात गर्ने महोदयहरूलाई म के सुझाव गरुँ भने वयस्क पाका जनलाई खाम दिए पनि अदना बुुदुना नानीहरूलाई सिधै दाम दिँदा राम्रो हुन्छ । किनभने बच्चाका आँखाले सत्यलाई नाङ्गो रुपमा बुझ्दछ । जति नै आवरणमा ढाकेर या लिपापोती गरेर यथार्थलाई प्रस्तुत गरे पनि त्यो आवरणको घुम्टो बच्चाले तत्क्षण खोलिदिन्छ ।

खामकै कुरा गर्दा गाउँका एकजना कन्जुस बाजेको कथा याद आउँछ । बूढा धनी थिए । तर, असाध्यै लोभी थिए । उनको विषयमा सुनेको छु, पहिले खामको चलनचाँजो नआउँदाको वखतमा उनी विहा बटुलो, छेवर, पास्नी सघाउनीमा कमै सहभागी हुन्थे । निम्ता आए पनि निम्ता मान्न जान कन्जुसी गर्थे । कारण त्यस्ता निम्तामा खाएपछि गोडधुई, दक्षिणा, सघाउनी हाल्नु पथ्र्यो । बरु निम्तामै नगयो टण्टै खँलास् । जव गाउँघरतिर पनि दक्षिणापात खामबन्दी गरेर दिने चलन आयो । तव यिनी गोजीमा खाम हालेर बाक्लै विहे बटुलोतिर कुद्न थाले । बूढासित खाम दिने गजबको सूत्र थियो । टन्न विहे भोज खायो । वरवधुलाई टिका लाइदियो । एकएक थान खाम हातमा हाल्दियो लन्ठै साफ । खाम दिने बेलामा चैँ बूढा खिस्स हाँसेर दिन्थे । सायद उनले यो व्यङ्ग्य हाँसो गरेका होलान् । अधिकाँश उनले टकार्ने खाममा पैसा नहाली रित्तो खाम दिने गर्थे । विहेको त्यो हुलमुलमा टिका लाइदिनेको लर्को भित्र पसेर दिएपछि कसको के लाग्छ ? फेरि वरवधुले सो घडी पाएका खाम सुमुसुमु व्यागमा घुसार्छन् । तत्काल खोलेर गन्ने हेर्ने चलनै हुन्न । भोलिपर्सी कुन सयममा खाम खोलिइन्छ । सयाैँ हजारौँको खामको भीडमा खाली खाम पसिसकेपछि कसको खाम हो, थाहा पत्तो पनि मिल्दैन । मख्खिचुस मनुवालाई विहे भोज खान खामले कति ठूलो मद्दत गरेको छ । विना पैसै विहाभोज लुँड्याउन मिल्ने तर खाम चैँ दुई थान हुनुपर्ने ।

खामको अर्को खतरा के छ भने कहिलेकाहीँ यसले मान्छेलाई मज्जाले झुक्याउँछ । एकचोटिको कुरा हो, मेरो छिमेकी गाउँमा घटेको साँच्चैको घटना बताउँछु । यो आजको कुरा होइन । करिब पचास वर्ष अघिको गाउँको कुरा भन्दैछु । सो समयमा ज्वाई ससुराली जाँदा भरियालाई कोशेलीपातको भारीतारी बोकाएर जाने चलन थियो । सबैको त होइन ठूलाबडा आर्थिक घरानाका ज्वाईहरू भरिया सहित ससुराली जान्थे । अझ पोज देखाउनेहरू त जखमले खसी डोर्‍याएरै ससुराली टेक्थे ।

एकजना ज्वाई कोशी पारिबाट टिको लाउन ससुराली आएछन् । भरियातरिया सहित ठाँटले आएका ज्वाई दशैँका दिनमा दुई चार दिनै मेजमान खाएर बसे । उनका ससुरा बृद्ध अवस्थातिर आरोहण गरिरहेका थिए । धेरै कुरामा होश चेत हराउँदै गएको थियो । ज्वाईंलाई टिको लाएर दिने खाम छोराले नै ठिक तयारी गरेर बुढालाई जिम्मा लाएको थियो । तर, बूढाले गोजीबाट खाम झिकेर दिने बेलामा ज्वाईंलाई दिनुपर्ने खाम भारी बोकी आउने भरियालाई दिएछन् । भरियाको खाम ज्वाईंलाई दिएछन् । राति टिकोटालो भयो । खानपिन भयो । सबैजना सुते । ज्वाईंलाई पनि खामको खसखस मेट्ने उपयुक्त अवसर मिलेन । फेरि ज्वाईं के कुरामा ढुक्क थिए भने गत सालहरूको रेट कदापि घट्ने होइन, बरु दुईचार सय बढेरै आउँछ । दक्षिणामा ससुराली खलकले कहिल्यै कन्जुस्याइँ गर्दैनन् भन्ने कुरामा उनी शतप्रतिशत विश्वस्त थिए ।

भोलिपल्ट प्राप्तकालीन नास्ता पछि एकान्तमा गएर खाम खोले, उनी छाँगाबाट खसेतुल्य बने । किनभने खाममा दुई सय पचासमात्र दाम थियो । पोहोर परारको दशैँमा तीनचार हजारको खाम भेटेका हुन् । यो पालि किन यति कम रकम उनी छक्क परे । उनलाई मनमा अर्को चिन्ता पनि उठ्यो । मलाई त दुई सय पचास दिए भने भरियालाई पक्कै झन थोरै दिए होलान् । उसले गाउँमा गएर फलानाको ससुरालीमा त यति थोरै दक्षिणा दिए भनेर फ्र्याइँफ्र्याई प्रचार गर्दो हो । बेइज्जतै हुने भयो । यसले ससुरालीको वदनामी गर्ने भयो भनी उनका मनमा अनेकाँै ज्वारभाटाहरू उम्लिए । तर, घरि न घरि भरिया केटाको अनुहार हेर्छन् । ऊ अलिक लठेव्रो लठेप्रो खालको छ । उसको मुहारमा अर्कै तेज छ, अर्कै चमक छ । अध्याँरो अनुहारको मान्छे भर्भराउँदो उज्यालो भएको छ ।

ससुरालीको मेजमानी गुजारेर उनीहरू घर फर्के । कोशी तरेर वारि आएपछि चौतारीको वरमा बिसाए । उसले भरियालाई विस्तारै सोध्यो- होइन केटा तँलाई ससुराबाट दक्षिणा कति मिल्यो हँ ? उसले गोजीमा हात हालेर देखाउँदै भन्यो -‘मलाई त पाँच ओटा हात्ती पो दिए त बाले !’ ऊ छक्क पर्‍यो । उसलाई पाँच हजारको खाम दिएछन् बुढाले । मनमनै विचार गर्‍यो । शुद्धि हराएका बूढाले मलाई दिने खाम यसलाई दिएछन् । यसलाई ठिक्क पारेको खाम चैं मलाई दिएछन् । उसलाई यति कुरा अनुमान गर्न गाह्रो भएन ।

उसले पाँच हजारको विटो देखाएपछि न माग्नु न खोस्नु भयो । उसलाई लठेव्रोले गाउँमा गएर ससुरालीको बद्ख्वाईँ गर्ला कि भन्ने जुन त्रास थियो, त्यो चैँ दूर भयो । तर, बुढाको बेहोशीको कारणले दक्षिणा अल्टर परेको कुरा बुझ्यो । मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ भन्ने गीत गुनगुनाउँदै भरियालाई अगाडि लाएर बाटो लाग्यो ।

खामको खतराबाट मिल्ने एउटा देखिने लाभ के भने साँच्चै पाउनु पर्ने सुपात्रले त्यो पाँच हजार दाम भेट्यो । अब उसले छोरीलाई नाना, हाल्दो हो । चुल्होमा दाना जुटाउँदो हो । ज्वाई नारानको गोजीमा पसेको भए तासको खालमा खर्च हुँदो हो । भट्टीको मालमा सकिँदो हो । जे भयो राम्रै भयो, जे हुन्छ राम्रै हुन्छ, जे हुनेछ राम्राकै लागि हुनेछ …। यो सन्दर्भमा यो सूत्र कति कामयावी छ ह गी ।

नाथे आधिपन्ना कागजको खामले मान्छेलाई टेन्सन पनि दिन्छ । पेन्सन पनि दिन्छ । लठेप्रो भरियाको निम्ति अनयास मिलेको रकम पेन्सन वराबर भएन र ? खामको चलन नआएर खुल्लम खुल्ला दक्षिणा दिने परिपाटी हुँदो हो त भारी बोक्ने लाटाहरूको खुट्टो कहिले बाटामा पथ्र्यो होला र ? खैर जेहोस् खामको खतरालाई यसले पुष्टि गर्छ नै ।

मेरा एकजना मित्रले खामको विषयमा सुनाएको रोचक घटनाले खामको अर्को खतरा उजागर गर्दछ । एउटा ज्वाई दक्षिणाको लोभले ससुराली, मामा ससुराली, मित ससुराली धेरैतिर चक्कर मार्दो रहेछ । दशैँको वेला ससुराली जानु ठिकै कुरा हो । मामा ससुरालीसम्म धाउनु पनि तैविसेक ठिकै कुरा हो । मित ससुरालीसम्म गएर घ्याँक्ला तोड्नु चैँ अलिक हजम नहुने कुरा हो । तर, लाज पचाउनेको लागि के हुन्छ र ।

एक साल आयो । दुई साल आयो । तेस्रो साल आयो । चौथो साल आएपछि चैँ मामाससुरो पनि दिक्क भएछ । उसले लाज पचाउनेको लागि ओखती छैन भन्छन्, यही खाम मार्फत् ओखती गर्छु भन्ने सोच्यो ।

टिका लाइदिएर निकै मोटो खाम गोजीमा हालिदियो । मित ज्वाई मोटो खाम भेटेपछि खुशीले धपक्क बल्यो । यसपालि चैँ राम्रै दक्षिणा मिल्यो भनी गजक्क पर्‍यो । फर्किदा बाटामा खाम खोल्यो । खामभित्र ठूलै विटोलाई कागजले बरेको छ । एउटा फुकायो । अर्को पत्र देखिन्छ । त्यो पन्ना खोल्छ । फेरि अर्को पन्नाले बरेको छ । एकएक कागजका पत्र उधिन्दै जान्छ । आखिरमा सानो चिर्कटोमा लेखेको रहेछ- “मित ज्वाईलाई दक्षिणा गोठमा एउटा बैला थोरे छ त्यो ब्याउने भयो भने त्यसबाट जन्मेको पाडो लानु होला ।”

खामभित्रको चिर्कटोमा लेखिएको यस्तो दक्षिणा मिलेपछि त्यो मित ज्वाई आजीवन मित ससुराली टिका थाप्न गएन अरे । घटना साँच्चै को हो कि काल्पनिक हो, त्यो थाहा भएन । तर, आइनो साइनोको नाता जोड्दै दक्षिणा बटुल्न हिँड्ने नरनारीलाई यसले चोटिलो दीक्षा दिएको छ ।

आज शनिवारको दिन खामको खसखस मेट्न के कलम समाएको थिएँ, घामले अस्ताचलमा अनयास खुट्टा पसारी सकेछन् । शामका जुनकिरीहरू पुच्छरमा बात्ती बाल्न तम्तयार भैसकेछन् । साराैँ चरीका बथानहरू बाँस झ्याङ्गमा सांयङ्कालीन राग गाउन सुरु गरिसकेका छन् । सित्तैमा प्राप्त भएको जति नै मोटो खाम भए पनि आफ्नै पौरख र पसिनाको कामले उमारेको आनासुकी दाम प्यारो छ मेरो लागि । तपाईलाई चैँ काम प्यारो कि खाम प्यारो हँ ?

०००
२०७९/३/२६
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x