साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणेश चतुर्थीका केही उटुङ्ग्याइँ 

पहिले पहिले गाउँमा आजकै बिहान सामान खोज्दाखोज्दा हैरान हुन्थ्यो । गाउँमा हुँदा पिँढीको बेञ्च अन्तै पुग्थ्यो । काँक्रो चोर्थे । अर्काको घरको सामान हाम्रोमा ल्याइदिन्थे ।

Nepal Telecom ad

भाद्र शुक्ल चतुर्थीलाई चौथी  पनि भनिन्छ । यो चौथीको रात बिघ्नै उटुङ्ग्याइँ गरिन्थ्यो पहिले पहिले । यो एक दिन गरिने हाम्रो मौलिक उटुङ्ग्याइँ संस्कार हो । अहिलेको अप्रिल फुल भन्दा धेरै लोकप्रिय थियो  याे । बिर्सिन थालिएको यो उटुङ्ग्याइँ संप्रस पौडेलले खुनीखोत्रो गरेर सम्झाउन खोज्नु भएको छ ।

– डिकेन्द्र ढकाल, काठमाडौँ
मेरो चौथी बारे खासै त्यस्तो अनुभव छैन । हाम्रो घरको छेवैमा डिएस्पी कार्यालय थियो । पछि एस्पी कार्यालय भयो । अहिले प्रदेश राजधानी भएपछि के कार्यालय भा’छ कुन्नि ! वीरेन्द्रनगर सुर्खेतको कुरो हो ।

गेटको छेवैमा पुलिस बसेर घन्टा घन्टामा कति बज्यो भन्नी जनाउ दिन पुलिस दाइले घन्टी बजाउँथे । राति पनि नसुत्नी पुलिस त ! अनि कसरी चोर्न जानु चौथीको रातमा ! टाढा जान डर लाग्नी, नजिकका बारीमा पुलिस अफिसको बत्तीले उज्यालो हुनी । स्यामा पुलिस भनेपछि त्यसै पिसाब आउनी । अँ बरु पिसाब भन्दा एउटा कुरा याद आयो । त्यो बेलाँ हाम्रो घरमा ट्वाइलेट अल्लि टाढै बारीको कुनामा थियो । राति ट्वाइलेट जान डर लाग्थ्यो । घरपछाडि पिढीबाटै धारो लगाउँथे । एकपटक मैले तुर्काउनी पालो पुलिसको पनि घन्टी ड्यांग ठोक्नी पालो परेछ ! म यसरी तर्सेँ कि पिसाबै रोकियो । आफूलाई पिसाबले च्याप्या छ तर थोपो चुहिन्न त ! मुटु ढुकढुक मात्रै भयो । बाहिर बसिराख्न पनि डर लाग्यो । भोलिपल्ट बिहान भने सललल पिसाब भयो ! ठुलो राहत भयो । त्यसपछि भने पुलिसले घन्टी बजाएपछि मात्र पिसाब फेर्न निस्किन्थेँ राति ।

-राजकुमार लामिछाने, हेटौँडा
चौथीको मुख्य कुरा भनेको गाउँमा काँक्रो, फर्सी, फलफूल चोर्ने ।गोठको ढोका फोर्ने र बस्तुभाउ फुकाई दिने । बाहिर रहेको खटियाहरू लुकाई दिने । घर अगाडि फोहोर गरेर उबद्रो मच्चाइदिने मुख्य कुरा यिनै उटपट्याङ हुन् । सानामा आफूले गरेका र सुनेका यस्तै हँस्यौली उरन्ठेउला प्रसङ्गहरूसँग कोट्याउने र भट्याउने हो भान्जा ।

एउटा अनुभव : एकताका गाउँघरमा क्यानमा दुध हालेर शहरका होटलमा लगेर बेच्ने प्रचलन व्याप्त थियो । हाम्रै गाउँका एकजना छिमेकीका प्रायः दुई तीनवटा भैसी र गाई सधैं दुहुना हुन्थे । चौथीको बेला बिहानीपख सबै पाडा बाच्छा फुकाई दिएको । बुढाले भोलिपल्ट दुध बेच्न पाएनन् । सो कुरा हामीले गरेको भन्ने केही दिनपछि थाहा पाएछन् झण्डै मारेका …।

– छवि अनित्य, हेटौँडा
उटिङ्या कतिसम्म हुन्थ्यो भने नि…
मामाघरको अजाले सुनाउनुहुन्थ्यो- पहिलेपहिले अचेलको जस्तो पङ्खाको चलन थिएन, एसीको कुरै छोडौँ । भदौको महिना गर्मी नै हुन्छ । पिंढीमा सुतेका मान्छेलाई जुरुक्क खाटसहितै उचालेर भैंसीको आहालको बीचमा लगेर राखिदिन्थे रे । केराको खम्बा ढोकामा बाहिरबाट आड लगाएर राखिदिन्थे, बिहान उठेर ढोका खोल्दा घरबेटीका जिउमा लड्न पुग्ने । एउटाले आफ्नै छिमेकीका घरका भर्याङ (बाहिरै हुन्थे) जुरुक्क उठाएर उल्टो पारेर राखिदिएछ । राती घरधनी उठेर भर्याङबाट सधैँजस्तै ओर्लन खोजेको एकैपटक तल बजारिएछ । खुट्टो भाँचिएर दुई महिना थला परेछन् । अचेल यस्ता उटिङ्या छैनन् ।

हामीले सानामा अम्बा, भोगटे खुब चोर्यौँ । चौथीमा चोरेको पाप लाग्दैन भन्थे । हामी मख्खै !
एकपटक गाउँमा भाइहरूले खुब रमाइलो चौथी खेले । घरधनीको एउटा सामान उठाएर कतै लुकाइदिए र छोटोछोटो कविता शैलीका ‘क्लु’हरू लेखेर राखिदिए । प्रत्येक टुक्राले घरधनीलाई अर्को क्लुसम्म पुर्याउँथ्यो तर सामान हुँदैनथ्यो । आठदसओटा क्लु पछ्याउँदै जाँदा सामान चाहिँ उनकै छिमेकीको घरमा भेटियो । घरबेटीले खुब रमाइलो मानेर महिनौँपछिसम्म पनि यो अनुभव गाउँलेलाई सुनाए ।
आजका केटाकेटी रचनात्मक छन् । संस्कृतिलाई सम्मान गर्दै रचनात्मक चौथी मनाइरहेका गाउँलेहरू भेटिउन् ।

-गोविन्द पौडेल, मनहरी
बदमासी पनि कति भने नि, अहिले भए फाँसीकै माग हुन्थ्यो होला । जाँतोमा दिसा गरेर पिँधेको अनुभवसम्म छ । ढोकामा सिस्नु झुण्ड्याएर राखेको अनि बिहान घरबेटीको निधारमा ठोक्किएको जस्ता चौथीका बदमासी कति हो कति ।

-अनिता न्यौपाने, हेटौँडा
ममी माइत जानू भएको भयो । घरमा हामी तीन दिदीबहिनी मात्रै थियौं । पहिला पहिला घरमा बाहिरबाट भर्‍याङ्ग राख्ने चलन थियो । चौथीको दिन बिहान उठेर दूध लिन पसल जानू पर्ने थियो त्यो मेरो भागमा थियो । म आँखा मिच्दै दूध लिन भर्याङ उत्रिएको थिएँ तर भर्याङ त चोरेर लगेछन् म त्यहाँबाट खसेँ र मेरो हात भाँचियो । मलाई ममीले अस्पताल लैजानु भयो । मान्छेले खोलानेरको भिरबाट भर्‍याङ ल्पाए ।

-संप्रस पौडेल, हेटौडा
चौथी खेल्ने अर्थात् चोर्ने चलन थियो । कतै कतै छिटफूट छँदैछ । बुढापाका पनि यस दिनमा चोरेकोमा ‘वात लाग्दैन’ भन्थे ।

चौथीमा रमाइलो मात्रै थिएन । असह्य बदमासी पनि गर्थे । यसैले चनाखो रहनका लागि बुढाबुढीहरू पिँढी, गोठ वा बार्दलीमा सुत्थे ।

केरा, भोगटे, काँक्रो, कागती चोर्नु र समूहमा खानु त मामुली कुरो । ठूलो जग्गामा लाइएको केरा खेति, भएभरका केरा रातभरीमा ढाडमैँ काटिदिएछन् ।

एउटाले अर्कोको गोठबाट राँगो फुकाएर भोलिपल्ट खोलापारी लगेर बेचेछ ।

“पहाड हुँदा दूधे दाना हुन लागेको धान रातभरीमा काटेर भ्याएछन् । गाई फुकाएर रातभरिमा बेँसी पुर्‍याएछन् । आँगनको फलैचा फुकालेर बारीका पाटामा पुर्‍याएछन् । कसैकसैले त दैलोमा दिसा गरिदिन्थे । बारीका फलफूल चोरेर खाने मात्रै होइन, रातभरि जाग्राम नबसे बोटै काटिदिन्थे ।” यो बाको कथा हो ।

पहिले पहिले गाउँमा आजकै बिहान सामान खोज्दाखोज्दा हैरान हुन्थ्यो । गाउँमा हुँदा पिँढीको बेञ्च अन्तै पुग्थ्यो । काँक्रो चोर्थे । अर्काको घरको सामान हाम्रोमा ल्याइदिन्थे । आमा चनाखो भएर सुत्नुहुन्थ्यो । केही छनक पाइहाले हकार्नुहुन्थ्यो । रातभरका बदमासीले कति सामान त धेरै दिनपछि भेटिन्थ्यो ।

हामीले एक दुई वर्ष गाउँलेका बारीबाट भोगटेचाहिँ चोर्‍यौँ । भोलिपल्ट कतै न कतैबाट कुरा पुग्थ्यो । कोही सराप्थे, कोही हाँसेर टारिदिन्थे ।
हिन्दुहरूले भाद्र शुक्ल चतुर्थीमा भगवान गणेशको जन्मदिन मनाउँछन् ।

– लक्ष्मण गाम्नागे
अनुभवै छैन । युवाहरूले चौथीमा के के बद्मासी गर्छन् रे भन्ने सुनिएको हो, संलग्न भइएन । आधा जुनी यसै खेर गयो कि क्या हो ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x