संप्रस पाैडेलगणेश चतुर्थीका केही उटुङ्ग्याइँ
पहिले पहिले गाउँमा आजकै बिहान सामान खोज्दाखोज्दा हैरान हुन्थ्यो । गाउँमा हुँदा पिँढीको बेञ्च अन्तै पुग्थ्यो । काँक्रो चोर्थे । अर्काको घरको सामान हाम्रोमा ल्याइदिन्थे ।

भाद्र शुक्ल चतुर्थीलाई चौथी पनि भनिन्छ । यो चौथीको रात बिघ्नै उटुङ्ग्याइँ गरिन्थ्यो पहिले पहिले । यो एक दिन गरिने हाम्रो मौलिक उटुङ्ग्याइँ संस्कार हो । अहिलेको अप्रिल फुल भन्दा धेरै लोकप्रिय थियो याे । बिर्सिन थालिएको यो उटुङ्ग्याइँ संप्रस पौडेलले खुनीखोत्रो गरेर सम्झाउन खोज्नु भएको छ ।
– डिकेन्द्र ढकाल, काठमाडौँ
मेरो चौथी बारे खासै त्यस्तो अनुभव छैन । हाम्रो घरको छेवैमा डिएस्पी कार्यालय थियो । पछि एस्पी कार्यालय भयो । अहिले प्रदेश राजधानी भएपछि के कार्यालय भा’छ कुन्नि ! वीरेन्द्रनगर सुर्खेतको कुरो हो ।
गेटको छेवैमा पुलिस बसेर घन्टा घन्टामा कति बज्यो भन्नी जनाउ दिन पुलिस दाइले घन्टी बजाउँथे । राति पनि नसुत्नी पुलिस त ! अनि कसरी चोर्न जानु चौथीको रातमा ! टाढा जान डर लाग्नी, नजिकका बारीमा पुलिस अफिसको बत्तीले उज्यालो हुनी । स्यामा पुलिस भनेपछि त्यसै पिसाब आउनी । अँ बरु पिसाब भन्दा एउटा कुरा याद आयो । त्यो बेलाँ हाम्रो घरमा ट्वाइलेट अल्लि टाढै बारीको कुनामा थियो । राति ट्वाइलेट जान डर लाग्थ्यो । घरपछाडि पिढीबाटै धारो लगाउँथे । एकपटक मैले तुर्काउनी पालो पुलिसको पनि घन्टी ड्यांग ठोक्नी पालो परेछ ! म यसरी तर्सेँ कि पिसाबै रोकियो । आफूलाई पिसाबले च्याप्या छ तर थोपो चुहिन्न त ! मुटु ढुकढुक मात्रै भयो । बाहिर बसिराख्न पनि डर लाग्यो । भोलिपल्ट बिहान भने सललल पिसाब भयो ! ठुलो राहत भयो । त्यसपछि भने पुलिसले घन्टी बजाएपछि मात्र पिसाब फेर्न निस्किन्थेँ राति ।
-राजकुमार लामिछाने, हेटौँडा
चौथीको मुख्य कुरा भनेको गाउँमा काँक्रो, फर्सी, फलफूल चोर्ने ।गोठको ढोका फोर्ने र बस्तुभाउ फुकाई दिने । बाहिर रहेको खटियाहरू लुकाई दिने । घर अगाडि फोहोर गरेर उबद्रो मच्चाइदिने मुख्य कुरा यिनै उटपट्याङ हुन् । सानामा आफूले गरेका र सुनेका यस्तै हँस्यौली उरन्ठेउला प्रसङ्गहरूसँग कोट्याउने र भट्याउने हो भान्जा ।
एउटा अनुभव : एकताका गाउँघरमा क्यानमा दुध हालेर शहरका होटलमा लगेर बेच्ने प्रचलन व्याप्त थियो । हाम्रै गाउँका एकजना छिमेकीका प्रायः दुई तीनवटा भैसी र गाई सधैं दुहुना हुन्थे । चौथीको बेला बिहानीपख सबै पाडा बाच्छा फुकाई दिएको । बुढाले भोलिपल्ट दुध बेच्न पाएनन् । सो कुरा हामीले गरेको भन्ने केही दिनपछि थाहा पाएछन् झण्डै मारेका …।
– छवि अनित्य, हेटौँडा
उटिङ्या कतिसम्म हुन्थ्यो भने नि…
मामाघरको अजाले सुनाउनुहुन्थ्यो- पहिलेपहिले अचेलको जस्तो पङ्खाको चलन थिएन, एसीको कुरै छोडौँ । भदौको महिना गर्मी नै हुन्छ । पिंढीमा सुतेका मान्छेलाई जुरुक्क खाटसहितै उचालेर भैंसीको आहालको बीचमा लगेर राखिदिन्थे रे । केराको खम्बा ढोकामा बाहिरबाट आड लगाएर राखिदिन्थे, बिहान उठेर ढोका खोल्दा घरबेटीका जिउमा लड्न पुग्ने । एउटाले आफ्नै छिमेकीका घरका भर्याङ (बाहिरै हुन्थे) जुरुक्क उठाएर उल्टो पारेर राखिदिएछ । राती घरधनी उठेर भर्याङबाट सधैँजस्तै ओर्लन खोजेको एकैपटक तल बजारिएछ । खुट्टो भाँचिएर दुई महिना थला परेछन् । अचेल यस्ता उटिङ्या छैनन् ।
हामीले सानामा अम्बा, भोगटे खुब चोर्यौँ । चौथीमा चोरेको पाप लाग्दैन भन्थे । हामी मख्खै !
एकपटक गाउँमा भाइहरूले खुब रमाइलो चौथी खेले । घरधनीको एउटा सामान उठाएर कतै लुकाइदिए र छोटोछोटो कविता शैलीका ‘क्लु’हरू लेखेर राखिदिए । प्रत्येक टुक्राले घरधनीलाई अर्को क्लुसम्म पुर्याउँथ्यो तर सामान हुँदैनथ्यो । आठदसओटा क्लु पछ्याउँदै जाँदा सामान चाहिँ उनकै छिमेकीको घरमा भेटियो । घरबेटीले खुब रमाइलो मानेर महिनौँपछिसम्म पनि यो अनुभव गाउँलेलाई सुनाए ।
आजका केटाकेटी रचनात्मक छन् । संस्कृतिलाई सम्मान गर्दै रचनात्मक चौथी मनाइरहेका गाउँलेहरू भेटिउन् ।
-गोविन्द पौडेल, मनहरी
बदमासी पनि कति भने नि, अहिले भए फाँसीकै माग हुन्थ्यो होला । जाँतोमा दिसा गरेर पिँधेको अनुभवसम्म छ । ढोकामा सिस्नु झुण्ड्याएर राखेको अनि बिहान घरबेटीको निधारमा ठोक्किएको जस्ता चौथीका बदमासी कति हो कति ।
-अनिता न्यौपाने, हेटौँडा
ममी माइत जानू भएको भयो । घरमा हामी तीन दिदीबहिनी मात्रै थियौं । पहिला पहिला घरमा बाहिरबाट भर्याङ्ग राख्ने चलन थियो । चौथीको दिन बिहान उठेर दूध लिन पसल जानू पर्ने थियो त्यो मेरो भागमा थियो । म आँखा मिच्दै दूध लिन भर्याङ उत्रिएको थिएँ तर भर्याङ त चोरेर लगेछन् म त्यहाँबाट खसेँ र मेरो हात भाँचियो । मलाई ममीले अस्पताल लैजानु भयो । मान्छेले खोलानेरको भिरबाट भर्याङ ल्पाए ।
-संप्रस पौडेल, हेटौडा
चौथी खेल्ने अर्थात् चोर्ने चलन थियो । कतै कतै छिटफूट छँदैछ । बुढापाका पनि यस दिनमा चोरेकोमा ‘वात लाग्दैन’ भन्थे ।
चौथीमा रमाइलो मात्रै थिएन । असह्य बदमासी पनि गर्थे । यसैले चनाखो रहनका लागि बुढाबुढीहरू पिँढी, गोठ वा बार्दलीमा सुत्थे ।
केरा, भोगटे, काँक्रो, कागती चोर्नु र समूहमा खानु त मामुली कुरो । ठूलो जग्गामा लाइएको केरा खेति, भएभरका केरा रातभरीमा ढाडमैँ काटिदिएछन् ।
एउटाले अर्कोको गोठबाट राँगो फुकाएर भोलिपल्ट खोलापारी लगेर बेचेछ ।
“पहाड हुँदा दूधे दाना हुन लागेको धान रातभरीमा काटेर भ्याएछन् । गाई फुकाएर रातभरिमा बेँसी पुर्याएछन् । आँगनको फलैचा फुकालेर बारीका पाटामा पुर्याएछन् । कसैकसैले त दैलोमा दिसा गरिदिन्थे । बारीका फलफूल चोरेर खाने मात्रै होइन, रातभरि जाग्राम नबसे बोटै काटिदिन्थे ।” यो बाको कथा हो ।
पहिले पहिले गाउँमा आजकै बिहान सामान खोज्दाखोज्दा हैरान हुन्थ्यो । गाउँमा हुँदा पिँढीको बेञ्च अन्तै पुग्थ्यो । काँक्रो चोर्थे । अर्काको घरको सामान हाम्रोमा ल्याइदिन्थे । आमा चनाखो भएर सुत्नुहुन्थ्यो । केही छनक पाइहाले हकार्नुहुन्थ्यो । रातभरका बदमासीले कति सामान त धेरै दिनपछि भेटिन्थ्यो ।
हामीले एक दुई वर्ष गाउँलेका बारीबाट भोगटेचाहिँ चोर्यौँ । भोलिपल्ट कतै न कतैबाट कुरा पुग्थ्यो । कोही सराप्थे, कोही हाँसेर टारिदिन्थे ।
हिन्दुहरूले भाद्र शुक्ल चतुर्थीमा भगवान गणेशको जन्मदिन मनाउँछन् ।
– लक्ष्मण गाम्नागे
अनुभवै छैन । युवाहरूले चौथीमा के के बद्मासी गर्छन् रे भन्ने सुनिएको हो, संलग्न भइएन । आधा जुनी यसै खेर गयो कि क्या हो ।
०००
हेटौडा
Subscribe
Login
0 Comments
Oldest








































