साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टौवामा बसेका कौवा बाजे

टौवामा गजधम्म बसेर कौवा चुच्चे नाक विश्वभरी ठड्याउँदै हामीलाई पाठ घोकाउन अघि सरेका टौवामा बसेका कौवा बाजे हामी माझ नभए पनि म उनका सन्तानमा उनको अनुहार झलझली सम्झिरहेको छु ।

Nepal Telecom ad

हाम्रा बाजेहरूको आसन ग्रहण विना मञ्च नै हुन्छ । सायद मञ्चमा बस्दा घञ्चमञ्च हुन्छ भनेर होला त्यसरी बस्न पुगेका । हुन पनि बूढाबूढी भएपछि केटाकेटीको थिचोमिचो सहन गर्ने क्षमता हुँदैन र अलग्गै बस्न मन लाग्छ । अलग्गै बसेर आफ्नो ध्यान कर्ममा पनि शान्ति पाइने फल पनि प्राप्ति हुने भएकोले होला त्यसरी बस्न रुचाएको । कतिपय अग्ला मान्छेको कद् पनि अग्लै हुन्छ र आसन भनौँ वा व्यशासन पनि अग्लै ठाउँमा हुन्छ भने कतिपयको कद् पनि होचो र बस्ने ठाउँ पनि पिढीमा हुन्छ । यस्तै एक अत्यन्त अग्ला व्यक्ति थिए जो हाल स्वर्गमा बसेर नेपाली हास्यव्यङ्ग्य लेखन क्षेत्रका बारेमा घोत्लिरहेका होलान् !

जीवित रहँदा दिलोज्यान दिएर शरीर सुकुञ्जेल, सास रहुञ्जेलसम्म पनि नेपाली हास्यव्यङ्ग्य क्षेत्रको उन्नयनकालागि मरिमेट्यो । जसले हालको अवस्थामा नेपाल भन्ने इँटा आकारभित्रका हास्यव्यङ्ग्य लेखकहरूको प्रतिनिधित्व गरेर ‘टौवामा बस्ने कौवा बाजे’ को उपाधिले सुशोभित हुने अमरत्व प्राप्त गरेका छन् । तिनैको स्मृति अब हाम्रो बिस्मृतिभित्र पर्न थालेको छ । भनौँ ती बाजेको स्मृति दिवस मनाउन बाजे आफैँले स्वर्गबाट नेपालमा खबर पठाउनु पर्ने अवस्था सिर्जना भैरहेको मैले महशुस गरेको छु । नपत्याए ढुङ्गे अड्डाका पुरानाघरे बडालाई सोध्नोस् वा वरपरका नयाँ घरेलाई ।

नेपाली हास्यव्यङ्ग्य क्षेत्रको टौवामा बसेका कौवा बाजेका नामले सुपरिचित भूतको भिनाजु अर्थात् बासुदेव शर्मा लुइँटेल हास्यव्यङ्ग्य क्षेत्रका सबैभन्दा अग्ला व्यक्तित्व भएकाले उनी टौवाको (सबैभन्दा अग्लो ठाउँ जहाँबाट चारैतिरको रमाइलो दृश्य समेत छर्लङ हेर्न देख्न सकिन्छ) व्यशासनमा आसन जमाएर विना रासन बसेका थिए । आफ्नो शरीरमा कौवाले विष्ट्याएर बिटुलो बनाउँछ भनेर शालिकको मालिक बन्न नचाहने लुइँटेल बाले बरु आफ्नो शिरमाथि बसेर विष्ट्याउने कौवाकै सालिक बनाएर कौवामाथि नै कौवाले विष्ट्याओस् भनेर कौवाकै सालिक बनाएर कौवाकै बेइज्जत हुने काममा आफ्ना सन्तानलाई उक्स्याए ।

अब हेर्नुस् त बाजेको कस्तो जुक्ति ! जिउँदैमा टाउँकोमा कौवाले विष्ट्याउँछ भन्नेलाई मरेपछि पनि कत्रो डर । सायद यो कुरा बाजेले सपनामा देखेर विपनामा पनि यसो गरेका होलान कि ? जस्तो लागेर आउँछ मलाई ! फेरि कौवाकै नामबाट आफ्ना लिखिते सन्तान जन्माउनु पर्ने अनि त्यही कौवासँग शिरमा विष्ट्याउँछ भनेर डराउनु पनि पर्ने । फेरि बाजेले काग तिहारमा त्यो कौवालाई पूजा पनि नगर्ने अनि कौवा रिसाएर कुनै बेला टाउकोमा छेरिदिएको थियो होला । त्यसैले कौवाले मेरो बौवा नभनेर लौ बा भनेर टाउकोमा चन्दन लेपर्दियो होला । कौवालाई नै लिखिते सन्तान जन्माउन खेताला लाउने अनि त्यसैको खोइरो खन्ने तर मरिगए पूजा नगर्ने गर्दा मर्दा पनि कौवा खुशी हुँदैन । त्यही कारणले पनि टौवामा बसेका कौवा बाजेलाई मैले कौवाको चित्त बुझाउन सकेको छैन भरे वित्यास पार्न सक्छ भन्ने लागेर आफ्नो सालिक नबनाई कौवालाई खुशी पार्न उसकै सालिक बनाएर आफू त्यसको मालिक भएका होलान् ।

कौवालाई पारिश्रमिकको रूपमा पाकेको बेल दिने कौवा बाजेलाई कौवाले गर्भधारण गरेर जन्माएको सन्तानप्रति हामी सबैले माया गरेर हुर्काएका छौँ । तर फुक्र्याउन भने जानेका छैनौँ । हामीले फुक्र्याएर फुर्किने गाली गर्दा चुँइकिने, कुँइकिने पाराका नभएकोले इमान जमान र धर्म कर्म र मर्मले नेपाली हास्यव्यङ्ग्यको फैलावटमा टौवामा बसेका कौवा बाजे साँच्चै नै कौवा नै बनेर नलागेका भए नेपाली हास्यव्यङ्ग्यको घरको भरपर्दो अवस्था हुने थिएन । कौवा बाजेले जे गरे समयमै गरे र अवधि नपुगिकन बेसमय मै धेरै काम हाम्रा लागि थाँती राखेर स्वर्गमा घरजम गरे यही नै दुःखद् कुरा हो ।

कौवा बाजेको बयान हजार जिब्रा भएका भेषधारी नागले होइन करोडौ जिब्रा भएका शेष नागले पनि सक्दैनन् । अरले गर्न नसक्ने काम बाजे एकलोले गरेकै कारण पनि उनलाई सबैले टौवामा बस्नु पर्छ भनेर राखिएको हो । जो कोहीले हत्पत् टौवामा बस्ने अवसर पाउँदैनन् । कौवा बाजे नै भए पनि टौवामा बसेर दुःख बेसाउन अघि सर्ने हातका पाँच औला मध्ये बाजे नै जेठा हुन् । माइला, साइला, काइला, कान्छा अहिलेसम्म टौवामा बस्न जन्मिएकै छैनन् । जेठा कौवा बाजेको बिरासतलाई हामी अहिलेसम्म घिसारी रहेका छौँ ।

साँच्चै भन्ने हो भने कौवालाई माथ गर्ने कौवा बाजेले कौवाकै माध्यमबाट जे जति सन्तान जन्माए त्यसमा थप सन्तान कौवाकै गर्भको माध्यमबाट जन्माउन नसक्नु हाम्रो नामर्दपन हो । यो कुरामा हामीले बिचार गर्नु पर्ने हुन्छ । नेपाली हास्यव्यङ्ग्यका पुस्तक धेरै आए तर हामीले ती पुस्तकहरू कौवाको गर्भबाट नजन्माई बतासे गर्भको माध्यमबाट जन्माउनु हाम्रो लाचारी हो ।

वास्तवमा भन्ने हो कौवा बाजेमात्र टौवामा बसेका छैनन् । पुस्तक गर्भधारण गरेर जनमाउने काममा कौवासमेत टौवामा नै बसेको अनुभूति भैरहेको छ मलाई यतिबेला । हाम्रो समाजमा कौवा विग्याई गर्ने जहाँ पायो त्यही गएर जे पायो त्यसैमा चुच्चो गाँडेर आफ्नै चुच्चो बिटुल्याउने फोहरी कर्कसे पक्षीका रूपमा पर्दछ । आँगनमा सुकाएको बिस्कुन खाने, छर्ने, बोटमा पाकेका फलफुल खाने बिटुल्याउने जस्ता उपद्रो गरेर हामीलाई दिक्क लाउने कौवालाई बाजेले सम्मान गरे । आफूसँगै टौवामा राखे कौवाले यसरी आफूलाई बाजेले साझे मानेर कालो मनको भए पनि सहयात्री ठानेर सम्मान गरेर कौवाकै शालिक बनाएर मान्छे हँसाउने काम गर्नु चाहिँ मलाई कालो पक्षीको टौवाकै यात्रा झैँँ लागेको छ ।

‘कालो भनि नगर हेला, कुनै बेला सेतो नि होला’ भन्ने गीतले भने झैँ कुनै बेला कालो कौवाले पनि सेतो काम गर्दो रहेछ भन्ने कुराको पुष्टि कौवाले गरेको छ । त्यही सेतो काम गरेकै कारण र अजम्बरी खाएकोले काल नआएसम्म कहिल्यै नमर्ने भएकोले होला कौवा सालिकको मालिक भएर बाजेसँगै टौवामा बस्न पुगेको होला । यो कुरा भन्न मलाई शरीरभरि कपडा लाएर पनि लाज लाग्दैन । सालिकको मालिक आफू बन्नु पर्ने ठाउँका बाजेले कौवा जस्तो तुच्छ पक्षीलाई बनाउनुको रहस्य हामीलाई केही सन्देश दिनु हो । त्यो हामीले बुझ्ने कुरा हो तर कौवाले बुझ्दैन । हाम्रो माझमा अहिले अनावश्यक हल्ला गरेर उड्ने कौवा कुनै समयमा सन्देश वाहक चराका रूपमा पनि ख्याती कमाएको थियो भन्ने उखानको बखान सुनेका छौँ । पुराना मान्छेमा गनिने बाजेले त्यही उखानलाई चरितार्थ पार्नका लागि पनि कौवालाई सन्देश वाहक ठानेर कौवाकै गर्भबाट आफ्ना सन्तान जन्माउँदा फलिफाप हुने योजनाको पहरो, लहरो बनाए होलान् ।

मैले बाजेको घर पनि देखिन घाट पनि देखिन । उनी बस्ने टौवा पनि देखेको छैन् । उनको सन्देश वाहक कौवा पनि काग काग गरेर कराएको सुनेको छैन । तर बाजेले पालेको कौवाले जन्माएको सन्तानका बारेमा भने थाहा पाएको छु । छास्सछुस्स कानमा परेको र केही आँखा अगाडि झल्किएको अनि पुस्तक पसलमा टल्किएकोले पढन पल्किएको थिएँ । टौवामा गजधम्म बसेर कौवा चुच्चे नाक विश्वभरी ठड्याउँदै हामीलाई पाठ घोकाउन अघि सरेका टौवामा बसेका कौवा बाजे हामी माझ नभए पनि म उनका सन्तानमा उनको अनुहार झलझली सम्झिरहेको छु । आँखाभरी उनकै तस्बिर नाँचिरहेको देख्छु । तस्बिरमा देखेको टौवामा बसेका कौवा बाजेलाई २५ औँ स्मृति दिवसका अवसरमा अत्यन्त सुगन्धित बेली, चमेली, जाही, जुही, पारिजात लगायतका सयौपत्री फूल चढाउँदै हार्दिक श्रद्धा सुमन । जय व्यङ्ग्य, जय साहित्य, जय बाजेसँगै टौवामा बसेको कौवा ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x