साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गनगने उवाच

जे होस् नेपालमा गनगन फापेको छ र गनगनले नेपालमा चाँपेको पनि छ । यो फाप र चाँपको गनगन भनेको सत्ताका लागि फलिफाप हो । सत्ता नभए बाँच्न नसक्ने कुहिएका गनगनेहरू बाई बाई पालुवा पात हाई हाई ।

Nepal Telecom ad

नेपालमा गनगन पुराणहरू भएको वर्षौ भयो तर अहिलेसम्म समापन हुन सकेको छैन । पुराण वाचक नै गनगने भएपछि यो पुराणले युग बिताउने जस्तो छ । पुराण लगाउने पनि आफैँ वाचन गर्ने पनि आफैँ कर्ता हर्ता पनि आफैँ भएपछि बढी गनगन हुनु स्वभाविकै हो । गनगन सुन्नेको कान थेत्तरो भैसक्यो तर पनि त्यही गनगन सुन्नु परेको छ । मनमनमा लागेको कुरालाई छुरा झैँ बोलीले गनगन गरेपछि भरे भोलि हुने काम पनि फनफन घुमेर शिखर चढ्नुको साटो तलतल झर्छ । गनगन पनि फेरी एक किसिमको मात्र होर सत्र थरिका छन् । गनगन पनि आफैँ गर्ने बोक्सी पनि आफैँ धामी पनि आफैँ भएपछि गनगन झन बढेर अरुले सुन्न नसक्ने खालको हुँदो रहेछ ।

फनफन घुमेर गरेको गनगनले प्रत्येक व्यक्तिको मनमनमा झनझन गढेको हुन्छ । व्यक्तिवादमा अल्झेर स्वार्थमा पिल्सिएर गरेको गनगनको महत्वलाई गधाको रोड्याई भनेर कतिपयले बिल्ला भिराएका छन् । कतिपयले सत्ताको भोको, स्वार्थको पोको, भारी बोक्छ डोको, कुनापसी रोको, राजनीतिको बोको, पदमा पुग्ने धोको भनेर गनगनेलाई मनेमने पनि भनेका छन् ।

गनगन गर्ने पनि एउटा सीमा हुन्छ नि गाँठे मान्छेको । मान्छे नभनौँ भने बनावट मान्छे कै छ भनौँ भने व्यहोरा जङ्गलबाट उम्केर गाउँ पसेको जनावर जस्तो छ । यसताको गनगनले देशकै कान बहिरो भैसक्यो । देश बनाउने गनगन भन्दा पनि बढी स्वार्थ पुरा नभएको गनगनले शेष भएको देशको रोगसमेत बढेर सबै अस्पताल भरिभराउ भएको छ । नेताले गरेको गनगनमा देशको मन रोएको हुन्छ रे । नेताले गरेको गनगनले देश नै फनफनी घुमिरहेको हुन्छ । राजनीति गर्न नजान्ने भनौँ भने राज्यको बागडोर सम्हाली सकेका बाघहरू स्यालको रूप लिएर गनगन गर्छन । राजनीति गर्न जान्ने भनौँ भने सहमतीका कुरा भन्दा बढी विमतीका कुरा नै सुनिन्छ सबैतिर ।

मलाई चाहिँ यो गनगन गर्दा के लाग्छ भने गाईखाने भाषामा गन भनेको बन्दुक भएकोले गनगन भनेको बन्दुक बन्दुक भनेको हो कि जस्तो पनि लागेर आउँछ भन्या । मैले कुरा नबुझेको हो कि वा गनगन गर्नेले बोलन नजानेको हो मेले खुट्याउन सकेको छैन । आफ्नै स्वार्थकालागि गनगन गरेको हो भने हामी मतका भकारीसँग भन्नु पर्‍यो । मोही माग्ने तर ढुङ्ग्रो लुकाएर बस्ने गर्दा मोही ढोकामा हालेर लैजाने सुर अवश्य होइन होला । यो बिना कामको गनगनले भोलि कतै फेरी बन्दुक उठाएर अरुलार्य चिलिम च्वाट पार्ने दाउमा गनगने आफैँ चिलिम च्वाट भए भने बेसुरको गनगन सुन्नै पर्दैन देशले र हाइसञ्चो हुन्छ सबैलाई ।

सत्तामा बस्दा अर्कालाई सराप्ने र सत्ताबाट बाहिर हुँदा आफैँलाई सराप्ने गनगनेको नीति हो भने यो गनगनलाई संगीत भरेर गीत बनाउँदा सबैले सुन्छन् । तर सधैँको यो गनगन भने सुन्न सक्ने अवस्था नै रहेन । देशमा जनताले खान, लाउन र बस्न नपाएको गनगन भए त कुरा राम्रो होइन किनकि पहिले नेताले सुविधा भोगेर बाँकी रह्यो भने जनताको पालो आउने हो । तर राज्यले दिएको सुविधा भोग गर्न जनताले पाउनु पर्छ भन्ने कानून नै गल्ती ठान्छन् गनगनेहरू । पहिले आफूलाई त्यसपछि आफन्त, आसेपासे, हुक्के, चिलिमे, ढोके, द्वारे, भान्से, चुल्ठे, मुन्द्रे, झ्याप्ले, भित्तीको पालोपछि मात्र जनताका नाममा पालो आउला । तर आफन्त जनमा पुग्दा नपुग्दै पाँच वर्ष बित्छ । अनि जनतालाई ला बाबै काँचो केरा भनेर थुम्थुम्याउने बाहेक अरु केही होइन ।

भनौँ यो गनगन झनझन सन्किएर उकालो यात्रामा छ । ओरालो लाग्यो भने त बाछाले मृगलाई खेदेको जस्तो हुन्छ । उखानै छ नि ओरालो लागेको मृगलाई गाईको बाच्छाले पनि खेद्छ भन्ने । यो विश्वमा सबैभन्दा बढी गनगन गर्ने नेता कुन देशमा पाइन्छ भनेर जनसेवा आयोगले प्रश्न तेस्र्यायो भने म निर्धक्क भएर भन्नेछु नेपालमा पाइन्छ भनेर । यतिमात्र होइन नेपालमा उहिल्यै गठन भएको ढिलासुस्ती आयोगले पनि यो कुरालाई आयोगले आयोग जन्मनुभन्दा पहिले नै प्रमाणित गरिसकेको छ । यहाँ अप्रमाणित कुरा गर्नु हुँदैन । गनगन पनि छुरा सरी मुख भएको प्रमाणित कुरा हो । नेपाल साँच्चै भन्ने हो भने गनगनेहरूको देश हो भनेर प्रमाणित भैसकेको अवस्थामा मुख थुनेर राजनीति गर्न अघि सर्ने हरिलम्फूले पनि आफूलाई गनगनेकै लहरमा राखेर ससुरालीको मेजमानीको आश सास नफेरीकन गरेको हुन्छ ।

नारदजीले एकतारे बजाएर गरेको गनगनभन्दा पनि बढी गनगन नेताहरूले गर्न थालेपछि शिवजीले डमरु बजाएर गरेको गनगन फलदायी थियो भन्नेहरूले कृष्णजीले बजाएको बाँसुरीलाई भने गनगन भनेका छैनन् । जे होस् न होस् तर गनगने उवाच वेदमा छैन । न श्रीमद्भागवत मै छ न रामायण, महाभारत वा अन्य कुनै पुराणमै छ । जसले जे भनोस् ऊ बेलामा सबैभन्दा बढ िगनगन नारदजी नै थिए भन्ने कुराको मेसो हामीले पाएका छौँ । कि त स्वस्थानी ब्रतकथामा अगस्त्यमुनिसँग कुमारजीले नै बढी गनगन गरेका थिए । सायद यही कुराको पुनरावृतिकालागि नेपालमा बढी गनगन भैरहेको जस्तो लाग्छ । भनौँ नेपाली राजनीतिमा गनगन एउटा नयाँ अध्याय थपिएको छ ।

‘जसको जौँ खानु उसैको जुँगा मोल्नु’ भन्ने उखानलाई चरितार्थ पार्न प्रपञ्च सहित भैरहेको यो गनगनले के बुझिन्छ भने जसरी हुन्छ आफैँ डाडू पन्यूँ चलाउने भान्से र हात चाट्ने पनि आफैँ मात्र हुनु पर्‍यो भन्ने सन्देश जान्छ । नेपालका गनगनेहरूको गनगनको प्रमुख माग र चाहना पनि त्यही हो । कोही साँढे झैँ डुक्रिन्छन् त कोही बाख्रो झैँ म्या म्या गर्छन् । कोही बाख्राको पाठो झैँ मनेमने गर्छन् त कोही भैसी झैँ कराउँछन् । भनौ नेपालमा गनगन गर्नेहरूको भाषा फरक फरक प्रकारको छ । कोही गनगन गर्नुको साटो फनफन घुम्छन् र ढाँडेको जस्तो आँखा पारेर ङार्रङुर्र गर्छन् । कोही सिंह झैँ गर्जनछन् त कोही स्याल झैँ हुँइया छन् । म त यहाँ के देखिरहेको छु भने ‘प्रगतिकाले विनास बुद्धि’ का मालिकहरूको जमात जसले देशलाई नै एकोहोरो पार्ने प्रयास गरिरहेका छन् ।

यो जोकतान्त्रिक गणतन्त्रमा गनगने सत्ताको पत्तासाफ हुनु पर्नेमा पालुवा पलाएर झन चिल्ला पात आउँदो रहेछ । पालुवा पात पछि छिप्पिएर सुक्छ र झर्छ र फेरी पालवा पातले केही समय बोटमा राज गर्छ । त्यही संस्कार हुनु पर्ने हो तर नेपालमा भने सुकेको पातको बैंश झन चुलिएर आएको छ । पालुवा पात हेरेको हेर्‍यौँ हुन्छ । जहिले पनि सुकेको पातकै रजाईँ, जसको डाँठ कुहिएर झर्न लागे पनि गनगने सत्ता कायम रहेको छ । आउँदो चुनावमा कुहिएको पातको सत्ता होइन पालुवाको सत्ता ल्याउन अब गनगनेहरूलाई घरभित्र थेचार्नु पर्छ र कोठामा ताला लाएर राख्नु पर्छ ।

अब बढी कुरा के गराैँ । थोरै कुरा बोल्दा पनि धेर हुन्छ । धेर बोल्दा पनि थोर हुन्छ । बोल्दै नबोल्दा लाटो भइने डर । आखिरी गनगनेको सत्तामा भत्ता पत्तामा पाइने होइन । चोरमाथिको चण्डाल गनगनेहरूका अगाडि हामी मुसा मार्न पनि नसक्ने बिरालाको कुनै काम छैन । बरु उनीहरूले एउटा झिंगा कमिला पनि मारेका छैनन् । कसैले सत्रहजार दुस्मन मारे मान्छे होइन । कसैले इँटा भट्टामा पोले ती पनि दुस्मन हुन् मान्छे होइनन् । यति गर्दा पनि गनगन नसकिनु भनेको अब आफैँ सुइकिनु हो जस्तो लागेर आउँछ । जे होस् नेपालमा गनगन फापेको छ र गनगनले नेपालमा चाँपेको पनि छ । यो फाप र चाँपको गनगन भनेको सत्ताकालागि फलिफाप हो । सत्ता नभए बाँच्न नसक्ने कुहिएका गनगनेहरू बाई बाई पालुवा पात हाई हाई । जय व्यङ्ग्य, जय गनगने ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x