ठाकुरप्रसाद अधिकारीमन : सानो गन्थन
पैसा हात लाग्छ भने आमा र स्वास्नी पनि च्याँखे थाप्न बेच्न तयार हुन्छ मन । नैतिकता-अनैतिकता, धर्म-पाप, गुण-दुर्गुण छुटयाउन सक्ने विवेकसमेत गुमाएर मन राष्ट्रको अस्मिता दाउमा राख्न र बेच्न पनि तयार हुन्छ मन ।

कालिदासको ‘क’ बाट सुरु भएको साहित्य लेखन अहिले मेरो मन जुटेर पनि फुटेज फुने जस्तो भएको छ । वास्तवमा मनले आँखा छोपेर संसार हेर्न चाहेको हुन्छु म । तर कताकती मन कस्तो ऐँजेरुआतङक गर्न खोज्व्छ । म आफै कताकता पुलकित भई अलमललाइजेसनमा हुन पुग्छु । अचेल म मन नभएको मान्छे भएको छु । मन नभएको कुरा जान्दा पनि जान्दिन । मेरो मन राख्ने आजसम्म न ग्यारेज नै बन्न सकेको छ । न त भण्डार वा भकारी नै । कसैको व्यक्तित्व राख्नको निम्ति मन राख्ने धन्सार बनेको पो छ कि ? कसैको निम्ति त संसार नै धनसार पनि होला । मनको सर्टिफिकेट बोकेको मान्छे हुँ म । मैले नै किन मन राख्नु पर्यो कतै थन्काउन ? खसोखास अर्थमा मनको सत्य परिभाषा गरेर अन्त्य गर्न मलाई गाह्रो परेको छ । यसको इतिश्री गर्न खासै मैले मनको आध्यामिक र धार्मिक पक्षको वारेमा यहाँ प्रवचन गर्न खोजेको चाहिँ होइन । अर्थात् आकाश पातालको दृश्य वणर्न गरेर खोंचे थाप्न खोजेको पटक्कै छैन । असुद्ध हुन चाहेको पनि छैन ।
म आजकल मानिसको मन किन खिन्न र भिन्न देख्छु ? छ दशकदेखि यसरी जीवत हुँदै बाँच्दै आएको आफ्नो मनमा यसरी मनको बारेमा बहस गर्नुभन्दा अगाडि मनलाई जन्माउने ब्रम्हलाई सम्झन उपयुक्त हुन्छ कि ! मान्छेसँग मेरो मनको नाता मिलोस् वा नमिलेकै किन नहोस् । यसमा टाउको दुखाई छैन पटक्कै । एक पटक च्वासचुस्स बाहिर भित्रबाट सम्झनु पर्छ । जहाँ मन समतल छ, मन त्यहि किन टुटेको हुन्छ ? कहाँ फुटेको छ कहाँ उघ्रेको छ । कहाँ च्यातिएको छ ? जहाँ प्वाल परेको छ त्यहिँ सिलाउने हो । त्यहिँ टाल्ने हो । अन्यत्र टालेर केहि फाइदा पाइने छैन । मनमा गाँठो पारेर सिउने लुगा हो र यो ? न त फुटेका भाँडाकुडा टाले जस्तो टाल्न नै मिल्छ । न खनेको खाल्टो पुरे जस्तो पुर्न नै सकिन्छ ।
अरुले नयाँ घाम तापेर पनि चाखिसके । अरुले चन्द्रमामा घर बनाउने तर्खर गरिसके । हामी चाहि पुरानो परम्परा बचाउने खेलमा कता अरुको आकाश भत्काइरहेछौँ ।
मनको वारेमा अरुणा लामाको गीतले भने याद आउँछ-
पोहर साल खुसी फाट्दा जतन गरि मनले टालेँ
त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो….
कालो, गोरो, निलो, कैलो, ध्वाँसे जस्तो रङ्गको मन भए पनि सबैको लागि मेरो मन त एउटा सफा स्टेशन हो । जो पनि यसभित्र खुलेआम आवतजावत गर्न स्वाभाविक रुपमा गर्न सक्छ । रुप रंग बरू जस्तोसुकै किन नहोस् । मेरो मन कसैको लागि पावरहाउस पनि हो । जहाँ पनि अवतरण गर्न अन्तरकुन्तर जता पनि उड्न मिल्ने मन हवाइजहाज जस्तै हो । रकेट जस्तै हो जो एउटा ग्रहबाट अर्कोमा अवतरण गर्ने यान जस्तै हो मन । त्यसो भन्दैमा अँध्यारोमा विज्ञान हुँदैन भन्न खोजेको होइन । तपाईहरू यसले पनि मन बिग्रेको कुरा गर्यो भन्नु होला । यो भुसुना जस्तो फराकिलो मेरो मनबाट हस्तबहादुरको हात्ती जस्तो हुत्तिएर हजमोला खान पनि पछि पर्ने होइन । बरू मनबाट अनेक उकेरा लाउने उरन्ठेउला कुरा देख्छ । यो सबुत प्रमाण मेरो मनमा फल्न थालेको छ । यसको लागि सुरिलो र भरिलो स्थानमा मनको अस्तित्व खोज्दैछु । मेरो भुसुना मनको अगाडि कसैको हात्तीको पनि दाल गल्दैन । यसरी नै मनको ओजन बढाउनु छ ।
मन एउटा अडवाङ्गे भाँडो जस्तो न हो । अनि मन पहिला बन्यो कि भाडो त्यसको जवाफ दिने हुत्ती भने मसित छैन । पहिला पहिला मोटरमार्क चुरोट सुनेको थिएँ । हो, आज भोलि पाइलटको धुवाँमा पनि मन उड्छ । कतै यो आज भोलिको सूर्य चुरोटको धुवाँको धित मारेर आकाशमा मन हिँड्छ । तर मन हिँडेको पो कहाँ मात्र देखिन्छ र ? उसलाई अनि मन हिँड्ने बाटो पो कत्रो चाहिएला फेरि ! सानो मन छात्तिभित्र कतै तन्मय भएर उडान गरेको हुन्छ । कतै हरिण जस्तो दगुर्छ मन । कतै खरायो कुदे झैं कुद्छ । कतै रेल दौडे जस्तो छिकछिक गरे झैं । कतै राघेपाटे बाघजस्तो उफ्री उफ्री कुलेलम ठोके जस्तो मन कुद्छ । विचारको घोडा जस्तो दर्गुछ मन भित्रभित्रै । कतै बिना तार बज्छ मन ।
कहिले आँखै नभएको मनले हात्ती छामेजस्तै लाग्छ । कहिले हात्ती छामेर नाङ्लो जत्रो मन भने जस्तो पो लाग्छ । तर के गर्नु मनको अगाडि अगाडि मनले के के भन्यो फासफुस कहाँ गयो, कहा पुग्यो थाहा हँुदैन रहेछ । पहिलादेखि मैले मनको वारेमा धेरै चिचिभुँडि सोचेर बसेको थिएँ । लेख्न भने सकेको थिइनँ । मनको पर्दाभित्र सोचेर मात्र पुग्दैन रहेछ । हामी जस्ता नवयुवाले यस्तो कुरा सोच्ने हो र ! म जस्तो जाबा रत्नेको मन कत्रो छ भनेर ठोकुवा गर्न के सकुँला र ?
मनको आन्द्राभुँडीमा महानता, सुन्दरता, भव्यता, उदारता देखेर अनेक कुरा हुर्किन थालेका छन् । मैले सोचेका सबै कुरा मनका हुन् । मन निखारेर कसको कलमले प्रकाशन गर्न सकेको छ र ? मन भएका हिन्दूहरूले मानिस मरेपछि पनि पितृलाई सम्झेर सके जति कपडा, अन्न र फलफूल दक्षिणा दिने गरेका छन् । नसक्नेले पानी मात्र दान गर्छन् । यस्ता मनलाई के सानो भन्न मिल्छ र ? रक्तदान, कन्या दान, श्रमदान, भिक्षा दान र मतदान आदि दानलाई बन्दनीय कसले नभन्ला र ?
हो, म पनि एउटा मन भएकै जोइटिग्रे मान्छेकै पिण्ड हुँ । जहाँ प्वाल परेको छ त्यहि टाल्ने हो । जहाँ टाउको दुखाई छ नाइटोमा औषधि क्यापसुल छरेर हुन्न । हात भाँचिएको छ खुट्टा प्लास्टर गरेर हुँदैन । आजका डाक्टरहरू गर्न त त्यसो पनि गर्दैछन् । मुन्टो बाङ्गो छ पैताला सोझो गरेर हुँदैन । आँखा टेढो भएर दृश्य बाङ्गो देखिँदैन । मन जता पनि हुत्तिन्छ । मन जता पनि मिल्छ । ढिँडोसित पनि पिठोसित पनि मन मिल्छ । यसलाई निम्ठो पार्ने मन नै हो । मन चुल्याउने पनि मनको क्यापसुल हो । झुसी पार्नसम्म पारेर तमासा गर्ने पनि मन नै हो । मान्छेलाई घिर्सार्ने, पछार्ने काम मनबाट नै हुन्छ । यसलाई सम्याउने काम सनातनी मनले नै तनतनी पानी पिएर गरेको हुन्छ ।
म पनि मिठाईको मापनको लहरमा बसेको छु । तर फुर्सद हुँदैन बेमौसम हाँसेर । लेखन, अभिनय र शिल्पी क्षेत्रमा मनको मान गर्नु आजको आवश्यक्ता भइसकेको छ । मान्छेको लहरमा मनको उचाई मापन गर्न उखरमौलो मपार्इं पापन गर्न सकिदैन । मेरा मनले पनि अरुणा लामाका गीतका हरफहरूलाई गिज्याएको होइन ।
मेरो फुच्चे मन नङ्ग्रा उखेलेको बाघ जस्तो छ । केही गर्ने हुती यसमा छैन । मनमा अनेक कुरा नहुत्तिए त सायद मन पनि मौलाउदैन होला । मन कसको पो नमौलाउने छ र । मान्छेको मन परीक्षण गर्न मिल्ने विज्ञानले पनि पत्तो लाइसकेको छ । अरुको नमिल्ने पनि छैन होला त !
अरूणा लामाको गीतको हरफ सम्झनाले मन भनेको हिजोअस्ति जेतेमेते गरेर भनेको कथाको कुनो कोट्याए जस्तो होइन । आजका अड्वाङ्गे कविताका हरफ र ध्वनि जस्तो गीत जस्तो होइन । मलाई सम्झना छ एउटा हरिभक्त कटुवालको गीतको केही अंशले मनलाई उछिनेको छ ।
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु बिथोल्न नआऊ
गुलियोमा चिनी र शखरखण्ड अनि पेँडामा झुत्तिने मन । कहिलेकाहीँ मन झेली खेलमा पनि आउने गरको हुन्छ । एउटा मन भएका मान्छेले अर्को मन भएको मान्छे सिध्याएको मलाई थाहा छैन । किन मेरो मनमा यस्तो शब्दहरू बारम्बार टुप्लुक्क टुप्लुक्क आइरहेछन् कुन्नि !
आँखा प्वाल पारेर मन टालिने हैन । दुईटा टाउको जोडेर एउटा बुद्धि आउने कुरा पनि होइन । मनमा आगो बलेको बेला शहर बजार घुमेर शहरमा आगो लाग्दैन । तर पनि मनमा आगो लागेको बेला मनको आगो एक दमकल पानीले पनि कहाँ निभ्न सक्छ र ? बजारमा मन हराएर कोही घर पुगेको खबर पनि सुनेको छैन । बजारमै मन छोडेर कोही घर आएका पनि पनि सुनिएको छैन । मलाई त्यो जानकारी पनि छैन कसैले मन हराएको सूचना सञ्चारमाध्यमममा दिएर ब्यापक खोजि गरेको ।
मानिसको यावत जीवनमा सबैभन्दा महत्वको वस्तु भनेकै मन रहेछ । मनलाई कोक्याउने भनेको दुखेसो र पीडाका कुरा मात्रै हुन् । मनको मूलभूत विशेषता नै यहि हो । मनको अर्को विशेषता भनेको अरुको मन भँजाएर उसलाई सुलीमा चढाइएको मलाई थाहा छैन ।
मन सात समुन्द्रदेखि विश्व ब्रम्हाण्डसम्म भ्रमण गर्न सक्छ । त्यो पनि बिना टिकट । विना लाइसेन्स र बिना भिसा । मन यति शक्तिशाली छ कि गाडी चलाउन मात्र हैन, हवाइजहाज, पानी जहाज, रेल जे पनि निर्धक्क चलाउन, कुदाउन, उडाउन, उचाल्न, जोख्न, नाप्न, पछार्न पनि सक्छ जोख्न । मन नपुगेको ठाउ पनि छैन । जहा नपहुँचे रवि वहाँ पहँुचे कवि भने जस्तै हो । यसरी हेर्दा के मन सानो छ र ?
फेरि मनसँग सम्बन्धित अर्को गजबको कुरो मेरो मनमा आयो । मन बेला बेला फेरिँदो पनि रहेछ । मन एक प्रकारले पलपलमा फेरिएको फरिएकै हुँदो रहेछ । जसर विश्वराजनीतिमा छिनछिनमै परिर्वतन आउँछ । अमेरिकामा जन्मेर युरोपका देश विदेश नाच्दै घुमेर चिनको ग्रेटवाल हजाराँै पटक फन्को मारेर फर्किने सक्ने यो मन किन फेरिइरहन्छ ? आखिर मनको खेतमा जे पनि फल्दो रहेछ ।
मान्छे सानो होस् वा होचो होस् वा बामपुड्के होस्, लम्बोदर होस् गुमनामको होस् । मनको कुरा पनि अचारजस्तो पिरो, कागती जस्तो अमिलो, हर्रोजस्तो टर्रो स्वाद आइरहनु पनि यसको भिन्दै महत्व भएर हो । मनको अर्को नाम तन वा दिल हो । महाकवि देवकोटाले भनेका छन् मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन । यो कुरा सन्दा मेरो लत्रेको मन पनि उदेक भएर उठेको हुन्छ । आखिर के मन सानो हुन्छ आफैलाई प्रश्न गोब्रयाउन अनि तेस्र्याउन मन लाग्छ । मन न हो जति तन्काए पनि रबर जस्तै तन्किने, खोलाजस्तो लामो बग्ने, पहाडजस्तो अग्लो होचो हुने । हिमालजस्तो चुच्चो बुच्चो हुने । क्षितिजजस्तो गहिरो हुने । मनलाई मनाउन कुनै देवी देवताको पूजाआजा र भाकल पनि पर्दैन । धुप बत्ती अक्षेता पाती केहि चाहिँदैन । केवल पुकार मात्र गर्दिए पुग्छ । मन नभएको मान्छे खाली सिसी पुराना काजगजस्तै खोक्रो पनि हो बोक्रो पनि हो ।
मानिसको मानचित्रमा गहन भूमिका खेल्न सक्ने यो मन बाउँठिने र बाउँडिने पनि गर्दछ । मन जब बाउँठिन्छ, तब मनले सपना जपनामा पनि कुर्सी, पद, प्रतिष्ठा र पैसा मात्र देख्न थाल्छ । पैसा हात लाग्छ भने आमा र स्वास्नी पनि च्याँखे थाप्न बेच्न तयार हुन्छ मन । नैतिकता-अनैतिकता, धर्म-पाप, गुण-दुर्गुण छुटयाउन सक्ने विवेकसमेत गुमाएर मन राष्ट्रको अस्मिता दाउमा राख्न र बेच्न पनि तयार हुन्छ मन । त्यस्ता कपटी, स्वार्थी, विवेकशून्य, विधर्मी मनको यो दुष्टता देखेर म त हर्दम मेरै मनलाई पनि धिक्कारी रहन्छु । धिक्कार ! धिक्कार !!
०००
२०७९ आश्विन ११
हाल : सिड्नी, अस्टेलिया
Subscribe
Login
0 Comments
Oldest









































