कृष्ण प्रधानदेवलोक संवाद
मुहूर्तमै ब्रह्माले आँखा चिम्ले अनि केही सोंच्न थाले । महेश्वर ठ्याम्मै स्त्रीविद्वेषी छैनन् । शक्तिरुपिणी स्वास्नीको शक्तिसित सामान्य क्षमता वृद्धि भए तिनी पटक्कै बेखुसी हुने छैनन् । आल्हादित नै हुनुपर्ने ।

देवलोकमा राजा इन्द्रले वर्ल्ड हिस्ट्री र पोलिटिकल साइन्स खर्लप्पै निलेपछि देवी-देवतामाझ ‘किन् एण्ड किस्’ नीति प्रयोग गरेर आफूलाई सर्वश्रेष्ठ राजा घोषणा गर्न थालेका छन् हिजोआज । स्वर्ग-मत्र्य-पातालमा इन्द्रविद्वेषी र छिद्रान्वेषीहरू झरीको च्याउजस्तै पलाएका गन्ध पाएर इन्द्रले येन-केन-प्रकारेण आफ्नो राजकाज चलाइरहेका छन् । देवी-देवताहरू एक भएर उनले ‘नो ह्वेयर’ पार्छन् कि भन्ने शङ्काले इन्द्र भित्र-भित्रै आतङ्क, डर र त्रासले थुरथुर भएका छन् । तर बाहिर उनले त्यस्तो केही देखाएका भने छैनन् । यता देवी-देवतामाझ फूट ल्याउऩ राजा इन्द्र अनगन्ती ट्याक्टिक्स तयार पार्छन् । एकजनाको कुरा अर्कालाई सुनाएर देवी-देवताको सर्कलमा असमञ्जस्यता पार्न पनि इन्द्र ज्यादै सिपालु छन् । शब्द-दूषण, परिवेश दूषणले मत्र्यलोक ग्रसित भए झैं इन्द्रको कूटनीतिले देवलोकमा द्वन्द्वदूषण सृष्टि भइसकेको छ । फेरि अहल्याको सतीत्व नाश गरेकाले पनि इन्द्रदोषको गुरुत्तर अपराधमा हाल इन्द्र पदच्यूत भएका छन् । यही पदच्यूती सँगसँगै स्वर्ग- मत्र्य-पातालमा वैदिक राजत्वको अवसान भएर पौराणिक जमानाका प्रमुख तीन नेता ब्रह्मा विष्णु र महेश्वरको अभ्युथान भएका छन् वर्तमानमा ।
नेता आउँछन्-जान्छन्- यो नै नियम हो । नयाँ तीन नेता लिएर पौराणिक जमानाका त्रिकोण मन्त्रीसभा यसैबीच गठन भइसकेको छ । खासै कुरा भन्नु हो भने, यो परस्पर द्वन्द्वको एउटा कारण थियो, दफ्तर विभाजन । सृष्टि-स्थिति-प्रलय यी तीनमध्ये कसले कुन विभाग हात पार्ने हो सो विषयमा नै यो मनोमालिन्य। ब्रह्म-विष्णु-महेशश्वर- यी तीनैजना महामहिम सृष्टिका अधिकर्ता हुने दाउमा थिए । कारण, पहिले सृष्टि त्यसपछि नै स्थिति अनि प्रलयको प्रश्न आउऩे हो । विष्णु र महेश्वरलाई झोलामा हालेर अन्त्यमा ब्रह्म नै सृष्टिका अधिकर्ता चयन भए । यसको निम्ति विष्णुकी श्रीमती लक्ष्मीलाई ‘अर्थ विभाग’ दिनुपऱ्यो । महेश्वरले जाया (श्रीमती) चण्डीको निम्ति ‘शक्ति विभाग’ छोडि़िदनुपऱ्यो । भन्नु उसो होइन, ‘अर्थ’ र ‘शक्ति’ दुवै महत्त्वपूर्ण विभाग हुन् । यसबाहेक अरु कुनै उपाय नै थिएन ़। ब्रह्मालाई राम्ररी नै थाहा छ, परिवार खुसी रहे अर्थात् स्त्री जातिले कुनै कुमन्त्र दिइन् भने पुरुषहरूका टाउको बिग्रिने प्रश्नै उठ्दैन । यस सूत्रबाट के आशा गर्न सकिन्छ भने, विष्णु र महेश्वर यसपछि कहिल्यै उनको पछि लाग्ने छैनन् । तरै पनि एउटा समस्या थाँतीमै रह्यो । खेलकुद विभाग कसको भागमा पर्ने हो त्यसबारे कुनै छलफल भएन । सबैले जान्दछन्, व्यक्तिगत आयको दृष्टिकोणमा समग्र खेलाड़ीहरूले नै नेता-अभिनेता सबैलाई उछिनेर जानेछन् । फलस्वरुप ‘क’-को हाउगुजीबाट मुक्ति पाउन खेल विभागका देवताहरूलाई वर्षैभरि जुन मोटो भेटी दिइन्छ त्यसले खेल मन्त्रीका नाति-पनातिसम्मलाई आर्थिक शक्तिले आशीर्वाद वर्षाइरहेको हुन्छ । त्यसैकारण, नै खेल विभाग ब्रह्मा-विष्णु-महेश्वर यी तीनजनाले ‘एडिसनल पावर’ रुपमा पाउनलाई थुक निलिरहेछन् ।
०००
यता क्षमताच्यूत भएपछि नयाँ जमानाका इन्द्र अहिले घोर विरोधी दलनेताका रुपमा विराजमान छन् । यसै सन्दर्भमा के भन्न सकिन्छ भने, ब्रह्मा जमानाका प्रमुख समालोचक पनि उनी नै हुन् । तर के पो हुन्छ र ! इन्द्रलाई राम्ररी नै थाहा छ, मन्त्रित्व गुमाएर विरोधी दल नेता हुनु भनेको चिकन्-बिर्यानी छोड़ेर खिचड़ीमा आउनु भनेको हो । पेट भरिन्छ तर मन भरिँदैन । यस अवस्थामा तिनले के चाहेका थिए भने, आफ्नो घर भत्काएर अर्काको घरमा वास माग्नु । अर्थात् मन र झण्डी साटेर नयाँ जमानासित एडजष्ट हुनु । यसलाई कण्डिसनल भल्ट भनिन्छ । यसमा कूटनैतिक चरित्र भने नष्ट हुँदैन । तर वर्तमान जमानाका प्रधानमन्त्री हैसियतमा ब्रह्मले स्पष्टै के जनाएका छन् भने, तनमन्त्री अर्थात् तन्त्रमन्त्रका अधिकारी देवकूलले जसलाई एकपल्ट गद्दीबाट झारेको छ । तिनी परिवर्तित परिस्थितिमा जतिसुकै टेसिलो अनि बोक्रा रुपमा मात्रै पल्टुन्, तिनलाई साना-ठूला कुनै पनि विभागको जिम्मेवारी दिइने छैन ।
लु, बाहिरका शत्रुहरूलाई ता एउटा कारण देखाएर छेकावार लाउन सकिएला हो । तर घरभित्रैका प्रतिद्वन्द्वीलाई चाहिँ कसरी रोक्ने ? यही सुर्ताले ब्रह्मलाई गिजोल्न थाल्यो । खेल विभागप्रति तिनले तिनका दुर्वलताका कथा यसैबीच घनिष्ठ सम्बन्धितहरूलाई व्यक्त पनि गरिसकेका छन् । यद्यपि प्रतिक्रिया त्यति राम्रो भएन । शत्रु-मित्रु सबै नै भन्न थालेका छन्- खेलकूदजस्तो एउटा गतिमय विभाग बूढ़ाहरूले ओगट्नु राम्रो होइन । कुनै एकजना युवा देवताले यसको जिम्मेवारी लिएर आउनु उचित हो । यिनीहरूमध्ये धेरैले नै कार्तिकेको नाम प्रस्ताव गरेका छन् ।
विरोधी दल नेता ब्रह्म जमानाका प्रमुख यस्तो परिस्थितिको मौका चुकाउन चाहँदैनन् इन्द्र । तिनले युवा देवताहरूलाई ब्रह्मा विरुद्धमा उस्काउँदैछन् ।
०००
धुरन्धर इन्द्रको उस्काइले डरलाग्दो विस्फोट हुनसक्छ भन्ने लख काट़ेर हिजो प्रायः मध्यरातसम्म स्वर्गकै एउटा गोप्य स्थानमा बसेर ब्रह्मा-विष्णु-महेश्वरले गोप्य रुपमा सल्लाह गरिसकेका छन् । यस गोप्य़ सभामा के निणर्य लिइयो भने, अहिलेलाई खेल विभाग महेश्वरकै हातमा सुम्पिनेछ । यसको कारण, महेश्वरले कहिल्यै घूँड़ामुनिसम्म लुगा लाउँदैनन् । उनी नृत्य विशारद हुन् । अनि उफ्री-पाफ्री गर्नमा उनी खप्पीस छन् । शरीरमा प्राय खरानी धस्छन् । यसर्थ यस्ता देवता पाए खेलाड़ीहरू बेखुसी हुने कारणै छैन ।
०००
कैलाशमा महेश्वरको सरकारी वासभवनमा स्वामीको अदभुत आचरण देखेर देवी चण्डीको निद्रा भङ्ग भयो । सुतेकै अवस्थामा हात-खुट्टा फ्याँकेकी देख्ता ता महेश्वरलाई मिर्गी भएको जस्तै लाग्यो । चण्डी सामान्य अत्तालिएर स्वामी सामु पुगेर बोलाउन थालिन् । सामान्य आँखा खोलेर महेश्वर बोले- तिमीले सर्वनाश पाऱ्यौ, मैले गोल हाल्नु आँटेको थिएँ । यस्तो कुरा सुनेर चण्डी वाल्लै परिन् । सोचिन्- हिजोको गोप्य सभामा गाँजाको परिमाण बढ़ी भएछ क्यारे ! तर पछि जब बुझिन्- ब्रह्मा-विष्णु-महेश्वरलाई खेल विभाग दिन राजी भएका छन् तब समस्त उद्वेग निमिट्यान्नै हुनाका साथ-साथै सामान्य आनन्दको अनुभव चण्डीलाई भयो ।
खेलमन्त्री हुने आश्वासन पाएपछिदेखि नै महेश्वरले अनेकन सपना देख्न थालेका थिए तर निद्रामा नै तिनले फुटबल खेल्छ्न् भन्ने कुरा सोचेकै थिएनन् । स्वास्नीको छेउमा सामान्य लाज लाग्यो । तर अब गर्ने चाहिँ के ? भनिन्छ नि, स्त्रीहरूका शङ्कालु मनले कहिल्यै पनि कुनै पनि आनन्द उपभोग गर्न सक्तिनन् । विशेष, कूटनैतिक कुनै विषय आयो भने ता झन् सर्वनाश । देवी भए पनि चण्डी… रुपियाँमा सोह्रै आना नारी हुन् । प्राथमिक उत्तेजना काटेर प्याच्चै बोलिन्- के यो राम्रो भयो र ?
– किन यसमा नराम्रो चाहिँ के भयो वा के नराम्रो देख्यौ (?)- हाई काढ़्दै बोले महेश्वर ।
चण्डीदेवी खाटमाथि ढल्किई खोलिएका केशराशी बाँध्दै बोलिन्- तिम्रो ता मन साह्रै सफा छ । केही कुरा गर्नुभन्दा पहिले तिमीले त्यसको छानबिन गर्दैनौ । ब्रह्मा-विष्णुको यो निणर्यमा कुनै चाल छैन भन्ने कुरामा के तिमी निश्चित छौ ? महेश्वर केही बोलेनन् ।
०००
यता सा‘ँझ पर्ने बितिकै ब्रह्मा सामान्य सुरापान गर्न बस्छन् । उद्देश्य मात्नु होइन, स्वास्थ्य रक्षाको निम्ति नै यो सुरापान । विष्णु र महेश्वरका समसामयिक तथा दौंतरी भएर पनि तिनी चाँडै बुढ्यौलिँदै गएकाले यसलाई रोकथाम गर्नु यो हुटहुटी । परमायु समातिराख्न तिनले नियमित सुरापान गर्छन् । अन््यान्य दिनमा झैं आज पनि त्यसको प्रस्तुति चल्दैथियो । सुनको गिलासमा सुरा खन्याइएको छ । ओँठसम्म पुऱ्याउऩे अपेक्षा । ओँठमा गिलास पुऱ्याउऩै आँटेको समयमा पहिले मृदु पछि मन्द गञ्जागोलले तिनको हात सामान्य कम्पन भयो- गिलास हल्लेर सुरा छचल्कियो, कपड़ामा पो सुरा समर्पित भयो । अग्निशर्मा भएर एउटा ‘सफ्ट स्ल्याड‘ कर्याप्पै टोकेर बोले ब्रह्म । तर उनले बोलेका कुरा उनीबाहेक अरु कसैले सुन्न सकेनन् । कारण, गञ्जागोलको शब्दमात्रा त्यसबेला सत्तरी डेसिबलभन्दा पनि थोर थियो ।
ब्रह्माको मुखमण्डल यसै पनि रातो । उत्तेजनाले त्यस मुहारमा अरु रगत चढ़ेर ब्रह्मा रातो न पिरो भइसकेका बेला बोले- उफ ! फेरि झिँझेटलाग्दो कर्कश स्वर ।
०००
-ब्रह्म तिम्रा भाइ-भतिजाबाद …
– मान्दैनौं! मान्दैनौं !
-पक्षपात गरेर स्वर्गराज्य….
-टिक्दैन…टिक्दैन !
-बूढ़ा ब्रह्म गद्दी छोड़…
-गद्दी छोड ़! गद्दी छोड ़!!
यो इन्द्रकै खेला हो भन्ने कुरो बुझ्न ब्रह्मालाई कुनै अप्ठ्यारो परेन । अग्निशर्मा भएर के निणर्य लिए भने, अहिलेलाई मात्नकै निम्ति मात्र मदपान गरुँ । प्रसङ्ग त जानकारी गराइन््छ, रिसाएक खण्डमा ब्रह्माले सुरालाई सुरा नभनेर मद् भनी उच्चारण गर्छन् । सुरापानको प्रचलित रीति (सुस्तरी-सुस्तरी चुस्की लिनु) बिर्सेर बोतल नै ठाड़ो घाँटी लाएर स्वाट्टै पारे तिनले । आज केही न केही गर्छु भन्ने इच्छा भइरहेछ मलाई । सामान्य मजा लागेको अनुभव भइरहेछ । परमायु यथावत् राख्नलाई नै तिनले सुरापान गर्छन् ।
यतिबेलै कसैको पदघ्वनिले तिनलाई सचेत बनायो । भक्कुचूर माते पनि तिनी छक्क परे । महेश्वरकी श्रीमती चण्डीदेवीले कालीको रुप धारण गरी आइरहेकी देखे । ब्रह्मा केही बोल्न खोज्दै थिए तर काली पहिल्यै बोलिन्- यो के भइरहेछ ?
मनमनै सोंचे ब्रह्माले- काली पनि चान्समै डान्स गर्न खोज्दिरहिछन् । अरु बेला भएको भए तिनले मुखभरिको जवाफ दिन्थे । तर यो मत्थु अवस्थामा तिनी बड़ो नम्र स्वरमा बोले- तपाईंको प्रश्न मैले राम्ररी बुझिनँ भाउज्यू ।
सामान्य मुस्कुराएर काली बोलिन्- छ्या…छ्या…मलाई भाउज्यू नभन्नोस् भनेर तपाईलाई कतिचोटि भनिसकेँ । मेरा श्रीमानले अहिलेसम्म पनि तिनका ‘एभरग्रीन इमेज’ यथावत् राखेका छन्, उमेरमा तपाईंभन्दा निकै कान्छै होलान् ।
ब्रह्मा मुस्कुराउंदै बोले- जे होस्… तपाई भनेकी रणचण्डी । तपाईंको नाउँ काढ़ेर बोलाउनु उचित होला र ?
काली (हात नचाउँदै) बोलिन्- ती सबै कुरा छोड़्नोस्…तपार्इंको च्याम्बर बाहिर युवा देवताका जमालले धर्ना दिएका देख्दा अचम्म लागिरहेछ । अनि तपाई चाहिँ भित्र निर्धक्कै मदिरापान गरिरहनुभएको छ….वाह !
गम्भीर स्वरमा ब्रह्मा बोले- यो सब विचार थिएन मेरो तर इन्द्र जसरी मेरो पछि लागेका छन्… आज केही न केही गर्छु नै । त्यसैको रिहर्सल गरेको मात्र हुँ ।
काली गर्जिन्- त्यसको निम्ति तपाईंले केही गर्नै पर्दैन । मेरो खड़्ग नचाएर सबै शान्त पारेरै मात्र तपाईंको सिंहासनभित्र पसेकी हुँ । खै, अहिले बाहिर कुनै आवाज सुन्नुहुँदैछ ?
बाहिर दृष्टि फिराउँदै- अहँ ! अहिले ता केही सुनिएको छैन…सुनसान छ । तपाईलाई पावर डिपार्टमेण्टको जिम्मेवारी दिएको राम्रै भएछ ।
फुर्किँदै बोलिन् काली- प्रशंसा गर्नुभएको ? यस्तो प्रशंसा सुन्दा ता खुसी लाग्छ । तर म यहाँ मेरो प्रशंसा सुन्न ठ्याम्मै आएको होइन । सुन्नुहोस् ब्रह्माजी, जब पावर मेरो हातमा छ भने खेल विभाग पनि म नै सम्हाल्छु । कारण…..
कुरा काट्दै आँखा ठूल्ठूला पारी ब्रह्मा झ्वाम्मै बोले- कारण ?
कालीले बुझाउने प्रयास गरिन्- खेलकूद पनि ता वास्तवमा शक्तिकै प्रदर्शन होइन र ?
गम्भीर स्वरमा ब्रह्म बोले- एक्जेटक्ली । तपार्इंलाई थाहा छ म्याडम… खेलविभाग भर्खरै महेश्वरलाई दिने निणर्य भएको छ । अब यो निणर्य परिवर्तन गर्नुको अर्थ नै तिनलाई अपमान गर्नु हो । अनि तिनी अपमानित भए ‘प्रलय’ मच्याउन सक्छन् । तिनको बारेमा तपार्इंले कुनै सुर्ता गर्नु पर्दैन । ठिकै छ । यसबारेमा तपाई स्वयमले तपार्इंका घरका मान्छेलाई सम्झाउनुहोस् । तपाईको अभिलाषा मेटाउन महेश्वर उनको पावर कट् गर्न चाहन्छन् भने मेरो कुनै आपत्ति रहने छैन । सम्भवतः विष्णुले पनि आपत्ति नगर्नु पर्ने । हामी यसलाई तपाईं दुई लोग्ने-स्वास्नीको आपसी मामिला ठान्नेछौं ं।
शान्त भाखामा काली बोलिन्- यसैले ता भन्दैछु, यस्ता तरल पदार्थ नपिउनुहोस् । यसमा सोंच्ने शक्ति ह्रास भएर जान्छ । तर तपाईंले यो बुझ्नुभएको छैन, प्रधानमन्त्रीको रुपमा तपार्इंको अनुमोदन र एनाउऩ्समेण्टबिना हामी लोग्ने-स्वास्नी आ-आफैमाझ बिभाग बाँड्यों भने विक्षुब्ध गोष्ठी चुपो लागि बस्लान् र ! यसबारेमा व्यापक गञ्जागोल नगर्लाऩ् ?
ब्रह्मा स्वीकारात्मक मुण्टो हल्लाउँदै बोले- हुँ…गर्न सक्छन् । यसमा ता शङ्का गर्ने कुनै ठाउँ नै छैन ।
कालीले दार्शनिक तर्क राखिन्- त्यसैले ता भन्दैछु जे गर्नुहुन्छ अफिसियली गर्नुहोस् । साँप पनि ठहरै लौरो पनि जस्ताको तस्तै । अहिले पनि देवकूल तपाईंको च्याम्बर बाहिर प्रतिक्षा गरिरहेछन् । तपाईं एकपल्ट बाहिर गएर मेरो नाम घोषणा गरिदिनुहोस् । लण्ठैसाफ ।
मुहूर्तमै ब्रह्माले आँखा चिम्ले अनि केही सोंच्न थाले । महेश्वर ठ्याम्मै स्त्रीविद्वेषी छैनन् । शक्तिरुपिणी स्वास्नीको शक्तिसित सामान्य क्षमता वृद्धि भए तिनी पटक्कै बेखुसी हुने छैनन् । आल्हादित नै हुनुपर्ने ।
अन्त्यमा कालीको उजूर मान्न ब्रह्मा बाध्य भए । कालीले प्रणाम गरिन्… ब्रह्मा तथास्तु भनिवरी घोषणा गर्न धर्फरिँदै बाहिर निस्के….।
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































