साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मापसे

मलाई हेर्न आउने जति जना पनि आउँछन् उनीहरूलाई म थलिएको वृतान्त सुनाउनुपर्दा मलाई वाक्कै र दिक्कै लागिसकेको थियो । एउटै कुरा कतिपल्ट कतिजनालाई सुनाइरहनु ?

Nepal Telecom ad

यसपाली निकै थलिएँ म । टाउकामा अचानक सोला हान्ने…च्वास्स च्वास्स । काँढ़ाले घोंचेजस्तो । रातभरि निस्लोट ज्वरो । बिहानीपख ज्वरो सामान्य कम्ति हुने अनि दिनभरि चैं छाती दुखेर हुरुक्क हुरुक्क पार्ने । फेरि रात पऱ्यो कि निस्लोट ज्वरो । पसिनाले शरीर निथुक्रै हुने ।

हत्तपत्त डाक्टर नदेखाउने मान्छे म । तर टाउकामा खपिनसक्नु सोला हानेकोले अनि दिनभरि छाती दुःखेर खपिनसक्नु पारेकोले डाक्टरकहाँ नगई धर पाइनँ । विचरा मेरा पतिदेव… उनी दिनभरि लखतरान खटेर आए पनि साँझमा स्कूटरमा हाली डाक्टरकहाँ पुऱ्याए । मैले भन्दा पनि डाक्टरलाई मेरा पतिदेवले वृतान्त सुनाएँ । मानौं उनलाई जति दुख्ने कुरो दुखेको छ । सामान्य औषधि दिएपछि सर्वाङ जाँच गराउने निर्देशन दिए ।

मेरा विभिन्न जाँच रिपोर्ट हेरेपछि कम्प्यूटरमा बसेर, मोबाइलमा धेर बात गरेर यस्तो भएको हो भने । उनको सबै कुरामा मैले सहमति जनाएँ पनि उनको एउटा कुरामा भने म पटक्कै सहमत भइनँ, हुन सकिनँ । उनले मलाई तपाईलाई डिप्रेसन भएको छ भन्ने बितिक्कै उनको कुरा भुइँमा खस्न नदिई एकै श्वासमा बोलेँ- भगवानबाहेक म कसैसित नडराउने मान्छे के को डिप्रेशन मलाई ?

मेरो कुरा सुनेर डाक्टर एक भन्नु न दुइ भन्नु भए । डाक्टरको निर्देश अनुसार पन्ध्र-बीस दिन जति ता ओछ्यानमै थन्किनु पर्‍यो । थन्किएँ पनि । साथीहरूसित कुनै सम्पर्क छैन । मोबाइल पनि धेर नसुन्ने, नबोल्ने डाक्टरको निर्देश हुँदा त्यसलाई पनि स्वीच् अफ् गरेर राखेँ । तर मन ता कहाँ मान्दोरहेछ र । घरि पनि घरि पनि मोबाइल कोट्याउन मन लाग्दोरहेछ । तरै पनि म थलिएको हल्ला कसैलाई गरिनँ । बेला बेला मोबाइल अन् गर्दा एक दुइजनाले ता अनलाइन भेट्टाई हाले । एकजना फेसबुके साथीले अनलाइन भेटिहाल्यो । पचास पल्ट कल र साठी पल्ट म्यासेज गरेका रहेछन् । कल आएपछि उठाउऩै पर्‍यो । बात भयो लामो… दिक्क लागेर केही थिएऩ । मेरो हालखबर सोधे । मैले उनलाई वृतान्त सुनाएँ । उनले मलाई विभिन्न सल्लाह दिए । मानौ उनले लण्डनबाट एमबीबीएस एम डी गरेर आएका छन् । डाक्टरभन्दा डरलाग्दो सुझाव । यो नखानु, त्यो नखानु । यो गर्नु त्यो नगर्नु । तर उनलको म्यासेजको जवाफ चाहिँ दिनु अरे ।

उनले भने, मोबाइल धेर नचलाउनु । अनलाइन धेर नबस्नु तर उनको म्यासेज हेर्नू र तुरुन्तै जवाफ दिने हुकुम उनको । यहाँ मान्छेको छाती र टाउको दुःखेर के गरुँ कसो गरुँ भइरहेको बेला उनको म्यासेजको जवाफ दिनु ? कसैलाई के को धन्दा घरज्वाइँलाई खानुकै धन्दा भनेजस्तो यो मोरोलाई मैले उनको म्यासेजको जवाफ दिनु अरे । रात विरात फोन गर्ने, फोन मात्रै कहाँ र… मोराले भिडियो कल पनि गर्ने । यिनको चालामाला देखेर मेरो पाली यिनको एउटै कल रिसिभ गरिनँ म्यासेजको रिप्लाई पनि दिइनँ । पहिले पहिले ता यिनले मेरो हरेक पोष्टमा खतरनाक कमेण्टस् गर्ने, मलाई माथि चढ़ाएर कहाँ पुर्‍याउने तर यिनलाई कुनै रेसपोन्स नगरेदेखि न ता यिनी मेरो पोष्टलाई लाइक गर्छन् न ता कमेण्टस् नै ।

जे होस्, म थलिएको हल्ला एक दुईजनाले सुइँको पाइ हालेछन् । विस्तारै विस्तारै मलाई हेर्न आउनेहरूको धुइरो लाग्न थाल्यो । जो पनि आउँछन् पहिले उनीहरूको प्रश्न हुन्छ- म्यामलाई के भाको खासमा ? वृतान्त सुनायो । ठिकै छ वृतान्त सुनाउनु । तर मलाई हेर्न आउने जति सबै एकेकवटा रोगका विशेषज्ञ । सबै डाक्टर, सबै धामी । किसिम मान्छेको किसिम सल्लाह । म्यामलाई फ्याट्टी लिभर भएको होला । तपाईँ ड्रिङ्क गर्नुहुन्न होला म्याम…. बेलुका घरको ल्याएर झानी स्वाट्टै पार्नुहोस् न । तपाईको फ्याट्टी लिभर कहाँ जान्छ…जान्छ । हेर्नोस् त हाम्रो भुँड़ी जङ्गलको सिंहजस्तो छ । के को फ्याट्टी लिभर न स्याट्टी लिभर ।

वाह… जति मान्छे उति कुरा । कसैले नजानेका केही छैन । सबै डाक्टर, सबै वैद्य, सबै झाँक्री । एउटा आएर यो खानु, अर्का बाठ्ठो भएर त्यो नखानु भनी किसिम किसिमका सुझाव दिएको देख्दा अचम्म र उदेक लाग्न थालिसकेको छ । कसको कुरा सुन्नु ? कसको नसुन्नु ? सबै बिमारका एक्सपर्ट ।

गाउँका हरि मामा आएर सोधे- तिमीले कुन डाक्टर देखायौं । मैले भन्दा पनि मेरा पतिदेवले फलानु डाक्टर भनिदिँदा मेरा पतिदेवलाई नै काँचै खाउँलाजस्तो गरी कराए- आच्ची त्यो नाथेलाई देखाको ? त्यो डाक्टर खतम छ ।

उनकी श्रीमती अर्थात् माइज्यू बाठी भएर थपिन्- त्यसो नभन्नुहोस् जखमलेका बाबा । त्यो डाक्टर भयङ्कर राम्रो छ । भाञ्जीले उनलाई देखाएर एकदमै राम्रो गर्‍यौ । एकदम फस्टक्लास डाक्टर ।
लु परेन फसाद ! कसको कुरा ठिक, कसको बेठिक ?

एकजना आए र भने म्याम् बिहानै तातो पानी पिउनुहोस् । दस लिटर ।
अर्का, ग्रीन टी खानुहोस् । तपाईको ढोलजस्तो पेट स्याप्पै हुन्छ ।
अर्का बाठ्ठे- होइन होइन…ग्रीन टीले बिगार्छ… बरु म्यामले तातो पानीमा कागती निचोरेर…।
अर्को, होइन होइन म्याम…यस्तो गल्ती नगर्नोस् कागतीले एसिड हुन्छ ।
अर्को बाठ्ठे, होइन म्याम कागतीमा मह पनि हाल्नोस् । एसिड टेसिड डाँड़ा काट्छ ।
अर्को बाठ्ठे, होइन म्याम…यो मान्छेले केही जान्दैन । मह सह केही पर्दैन, कागती सागती पनि छोड़्नोस्… एउटा फूल आरसी, पिटर स्कट, मेन्सन हाउस, म्यागडोयेल, रोयल इम्पायर ल्याएर राख्नोस् अनि साँझ बिहान तातो पानीमा पन्ध्र बीस ड्रप हालेर स्वाट्टै पार्नोस् ता म्याम…तपाईको भुँड़ीभित्र थुप्रिएका जम्र्स ठहरै हुन्छ ।

मलाई हेर्न आउने जति जना पनि आउँछन् उनीहरूलाई म थलिएको वृतान्त सुनाउनुपर्दा मलाई वाक्कै र दिक्कै लागिसकेको थियो । एउटै कुरा कतिपल्ट कतिजनालाई सुनाइरहनु ? मेरो कोठमा पस्ने बितिक्कै म्यामलाई खासमा चाहिँ के भाको ? भन्ने प्रश्नले मलाई तर्साउनु थालिसकेको थियो । यसकारण मैले म थलिएका कारणहरू जति सबै एउटा प्लेकार्डमा लेखी आफ्नै छातीमा झुण्ड्याउन थालेकी छु यसरी-
यो कुनै ठूलो बिमार होइन । सामान्य । मलाई फ्याट्टी लिभर भएको छ भन्ने डाक्टरको भनाइ छ ।
चिप्लो चाप्लो औधी मन पराउने मान्छे म । यही चिप्लोचापलोले मेरो पेटलाई बोसोको भँड़ार बनाएको छ । यो कुरा जाँचमा निस्कियो ।

आरम्भमा उनले मेरो पेट निचोरनाचार, दलदाल वा उनलाई जे जे गर्नु मन लागेको छ त्यही गरे । एकजना रोगी भएकी नाताले मैले कुनै विरोध गरिनँ । डाक्टरले मलाई सोधे- क्या आप ड्रिङ्क करती हो ? मैले उनको हिन्दी बुझिनँ । उनले हातको इशाराले मदपान गर्छौं भने ।
मैले भने- तमसे (तमन्ना सेवन) बोला सर….
डाक्टर बोले- ये तमासे क्या होता है ?
मैले भनेँ- तमन्ना सेवन सर । गुटका सेवन ।
उनले भने- तमन्ना ?
मैले भने- थोड़ा थोड़ा ।
उनले भने- यिसको आप तुरुन्त बन्द कर दो । तमन्नाका अर्थ याद है ?
मैले तुरुन्तै जवाफ दिएँ- नहीँ है डाक्टर साहब ।
डाक्टर बोले- हँ…तमन्ना । यिसका अर्थ है तुम्हार मृत्यु निश्चित है ।
हाँसे उठेर मरिगएँ ।

डाक्टर साहबको मुखबाट ह्विस्कीको दङ्दङ्ती गन्ध आइरहेको थियो ।
मैले मनमनै भनेँ, यो मोरा पनि मापसे पो रहेछ ।

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x