सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वर्ल्डकप कि झोलकप ?

झोलकप प्रतियोगितामा कुनै नियम नै छैन अलिक हदभन्दा बढी झोलको सेवन भए घरकी श्रीमतीले रातो अनुहार रेडकार्ड झैं देखाउन सक्छिन् ।

Nepal Telecom ad

सबैभन्दा प्रतिस्पर्धात्मक खेलमा अचेल बाह्रमासे सम्बन्ध सुधार्न या बिगार्नको लागि झोलकप प्रतियोगिताले पहिलो स्थान ओगटेको पाइन्छ । झोल भन्या तरल हो, सरल हो कि हैन तपाईं आफैं चिन्नुस् । अभ्यस्तलाई सरल हुन सक्छ, नत्र यो झोलले तरलको भन्दा बढि महंगो मान्यता राख्न सक्दछ । झोल र कपको संयुक्त मिलनबिन्दु गराएर श्रीरमा तरलको सिन्धु चढाउने कार्य प्रतिस्पर्धात्मक कार्य नै झोलकप प्रतियोगिता हो ।

तपाईं झोल कपलाई वर्ल्डकप प्रतियोगिता भनेर नझुक्किनु होला । वर्ल्डकपभन्दा अलिक बढि स्तरीय गुणस्तरीय प्रतियोगिता लाग्न सक्छ तपाईंलाई । वर्ल्डकपमा गोल किपर जस्तै यहाँ झोलकिपर पनि हुने गर्दछन् । जसको काम कप, गिलास, मग, जग, घैंटो, ग्यालिन जे हुन्छ त्यहि समातेर पिउने र जिउने काम गर्नु हो । अझ झोल किपरको अर्को विशेषता भन्नु बाटामा हिँडेकालाई समातेर भट्टीपसलको रङ्गशालालाई दङ्गशाला बनाएर दर्शक बनाउनु र उनलाई झोलकप प्रतियोगिताको मुख्यआयोजक या प्रायोजक बनाउनु पनि हो । यी झोल किपरको सङ्गत साधुदेखि सन्तसम्म, धनीदेखि महन्तसम्म हुने गर्दछ । झोल किपरको सबै तहका मानिससँग मिल्न सक्नु महानता हो । मधुशालाको यौटा कुनोमा पसेर दुनो समात्दै गर्दछन् यी झोलकप प्रतियोगिताका महान् झोल किपर ।

झोलकप प्रतियोगितामा कप, गिलास, मग, जग, घैंटो, ग्यालिन जे हुन्छ त्यहि रित्याउने प्रतियोगिता मात्र नभै बिना पुरस्कारको खेल हो यो । कसले बढि खाने भन्नेमा प्रतिस्पर्धा होला नत्र यहाँ जितहारको प्रश्न नै रहँदैन । वल्र्ड चार चार वर्षमा खेलिइरहँदा झोलकप दैनिक चल्ने हुँदा यसको महत्व ‘बाहुनबा’ले दैनिक गायत्रि मन्त्र गाएको भन्दा पनि बढि महत्वको विषय हुनसक्छ । गाउँका प्याट्रिकले गिलासका गिलास लडाएर झोलकपमा ह्याट्रिक गर्न सक्दछन् । वर्ल्डकपमा पेलेको चर्चा बढि हुन सक्छ तर मधुशालाको तरलताले घटाएको सरलतालाई बाटोको छेउ कुनो गर्ने अनि मानिस ठेलेर हिँड्ने ठेलुवा ठेले पेलेभन्दा बढि चर्चित हुन सक्छ गाउँघरमा ।

तासको जोक्कर झैं सुकुटी, आलो मासु, कहिलेकाहिँ ताक नपरेको बेला र धाक लाउन नपा’को बेला लसुनसँग चप्प झोलकपमा राखेर खाइदिँदा तरलताको सरलता पनि झलक्क झल्किन्छ । जसरी यौटा वल्र्डकपले फाईभ स्टारदेखि बार तताउँछ यसले पनि फाईभ स्टारदेखि र गाउँका भट्टिपसलमा अड्डा जमाएर नाम कमाइरहेको छ झोेलकप प्रतियोगिताले । वर्ल्डकप प्रतियोगिता हुँदा कमैमात्र राष्ट्रले कमाउने गर्दछन् तर झोलकपले जति महँगो कर तिरेको कसले होला र ? त्यसैले यसलाई राष्ट्रले राष्ट्रिय गौरबको प्रतियोगिता भन्न अत्युक्ति नहोला । यस खेललाई न रेफ्रीको आवश्यकता पर्छ न विपक्षी खेलाडीको आवश्यकता नै । एक्लै खेल्न सकिने हुँदा यसको महत्व वेद पुराण र कुरानको भेदभन्दा सफेद छ । झोलकप प्रतियोगितामा कुनै नियम नै छैन अलिक हदभन्दा बढी झोलको सेवन भए घरकी श्रीमतीले रातो अनुहार रेडकार्ड झैं देखाउन सक्छिन् । यसको खेलमैदान जहाँ झोल मिल्छ त्यहि बन्छ । न यसको लागि चौडा जमिन चाहिन्छ न बडेमानको रंगशाला नै । फगत जगत् हल्लाउन सक्ने तरल पदार्थ भए यो पर्दाको छेल परेर, भट्टिको कुनामा जहाँ बसेर पनि एकजनाकै भए पनि प्रतियोगिता चलाउन सकिन्छ ।

न मैदान चाहिने न कोर्ट चाहिने अनौठो प्रतियोगिता हो झोलकप । यसका लागि मात्र तिनपानेदेखि बिजुलीपानीको बन्दोबस्त भए कोठा चोटा जहाँसुकै एक्लै या सामुहिक रसस्वादन गर्न पाईन्छ । वर्ल्डकपमा खेलाडीले यौटा कुनोबाट अर्को कुनोसम्म मैदानको लम्बाई दौडेर नाप्छन् तर यहाँ झोलकपको कमालले तपाईंलाई गज्जबको इन्जिनियर बनाउँछ । चट्ट दो चार कप झोल रन्काएपछि तपाईं इन्जिनियर बन्दै बाटोको छेउकुना चारहात खुट्टाले तपाईंले नाप्न थालेपछि तपाईं इन्जिनियर नभएर के हुनु भो त ?

झोलकप प्रतियोगिताको लागि कुनै दर्शक र समयको परिबन्ध हुँदैन । लुकिलुकी खान चाहनेलाई किन दर्शकको खाँचो पर्ला र ? झोलकपको लागि मन र धन भए पुग्छ । धन नभए केहि छैन, उधारोमा पनि जिन्दगी चलाउन सकिन्छ । वर्ल्डकपमा खेल खेल्दा धेरै देशको सम्बन्ध बिग्रेकाे  देखिएकै छ तर झोलकप त सामाजिकीकरणको यौटा माध्यम पनि हो । कुनै कुरा सोझो मिलाउन नसके तिनपाने पसलमा गएर झोलकप गरे तपाईंको काम मज्जाले बन्छ । यसले त झन् सम्बन्ध सुधार्छ । झोलको मोल वर्ल्डकपको टिकट भन्दा पनि सस्तो हुन्छ । गोजी अनुसार पैसा अनुसार एैसा हुन सक्छ झोल कपको खेलमा ।

वर्ल्डकप पूर्व धेरै राष्ट्रले मैत्रिपूर्ण खेल खेल्दछन् तर झोलकप प्रतियोगिताको लागि सधैं मैत्रिपूर्ण खेल चलिरहेको हुन्छ । वर्ल्डकपको लागि पूर्वअभ्यास चाहिएला तर झोलकपको लागि कुनै पूर्व अभ्यास वा रिहर्सलको आवश्यकता पर्दैन । जसरी जिउन कसैले सिकाउँदैन, त्यसरी नै पिउन कसैले सिकाउनु पर्दैन तसर्थ झोलकप प्रतियोगितामा त्यतिसारो प्रशिक्षकको आवश्यकता पनि पर्दैन । गुरुभन्दा चेला बढि जान्ने भाको फेलापार्नु हुन्छ भने यो खेल झोलकप प्रतियोगिता नै हो । यसले मानिसलाई मैत्रिपूर्ण नै बनाउँछ । घुलमिलका लागि पनि झोलकप प्रतियोगिता हुनु जरुरी छ । बिग्रेका कुरा सपार्न र सप्रेका कुरा बिगार्न झोलकप अत्यावश्यक देखिन्छ ।

झोलकप प्रतियोगिताको इतिहास आदिम कालदेखि श्रृष्टिको अन्त्यसम्म रहेको छ र रहनेछ भनि भविष्यवाणि गर्न सकिन्छ । सागर नसुकेसम्म झोल कपका गागर सुक्ने छाँट देखिन्न पनि । वल्र्डकपका देउता एउटा पनि भेट्न र देख्न सकिन्न तर सुरदेव नै झोलकपका आदिम देउता भएको वेदका भेदले खोलेको पाईन्छ । वर्ल्डकपमा झैं विभिन्न शैलीमा खेल खेलिएझैं झोलकप प्रतियोगितामा पनि विभिन्न शैलीमा कैलीको भट्टिपसलमा थैली निकालेर झोल खेलाई खेलाई खानपिउन सकिन्छ । घ्याम्पे हान्ने कि ट्याङ्की हान्ने कुराको निर्भरता तपाईंसँग रहन सक्छ । छिटो छिटो खानुस् या ढिलो ढिलो खानुस् यो पनि तपाईंको कुरा हो । सटिक पास वर्ल्डकपमा भएझैं सटिक सुर्कोको एक तुर्को घरबारीको सुर्को बेचेर खाएका उदाहरण यहाँ प्रशस्त पाउन सकिन्छ । झोलकपले भुँडी पुराण लगाउनु भयो भने बूढीपुराण घरकी श्रीमतीले लगाउन सक्छिन् ।

झोलकपमा कहिलेकाहिँ सौजन्य पनि दिनसक्ने मान्यजन हुन्छन् । वर्ल्डकपको लागि स्पोन्सर चाहिएला तर झोलकपमा स्पोन्सर भए पनि चल्छ नभए पनि चल्छ । झोलकपमा एक कपकै लागि यहाँ स्पोन्सर चाहिन्न पनि तर धेरै कप रित्याउने मन भए तपाई स्पोन्सरको खोजीमा हिँड्न र भिड्न सक्नुहुन्छ । झोल कपले उचोनिचो भन्दैन । ठूलालाई सानो बनाउने र सानोलाई ठूलो बनाउने खेलमा झोलकपको अपरिहार्यता रहन्छ । झोल खाएपछि शत्रुमित्रु बन्न सक्छ अनि मित्रु शत्रु बन्न सक्छ । जसरी फुटबलको वर्ल्डकपको नियम छन् यसका कुनै पिउने नियम छैनन् । सदावहार खेल हो झोलकप प्रतियोगिता । सबैले बुझ्ने खेल हो यो । ल है साथी यति पढिन्जेल तपाईंलाई झोल र कपको खेल याद आएन हँ ? मलाई त झोलको यादले असाध्यै सताइरहेको छ । त्यसैले म त झोलकप प्रतियोगिता सञ्चालनको लागि हिँडे है । तपाई पनि आउने कि कैलीको पसलमा थैली लिएर ? जदौ

०००
बेँसीशहर नगरपालिका-७, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी