बुद्धि भ्रष्ट हुँदा
तर कुर्सीमा त अर्कै पो विराजमान भै सकेछ्न् । उनको भाषा यस्तो थियो- तुम लोग अपना अपना डम्फु बजाओ नहि है तो गाँड कोराकोर करके मरो तुम्हारा चर्तिकला देखकर ये तो मैने ले लिया ।
अलि जिब्रो लट्याङ्ग्र्रो भएर केही हुन्न । चौँरीको छुर्पी चपाएपछि फट्याङ्ग्र्रो जस्तो फुत्त फुत्किएर फुर्ति लाउँदै फतौरेलाई फूल अर्पण गर्दै मन्त्र भन्न भ्याइहाले-
नमो ओलि नमो बोली नमः स्वणर्मयि कद
वसन्त विष्णु सहिताय मन्त्री कुर्सी नमोनमः
सर्पदंश हुँदै हुन्न गोलखाडी गए सबै
घण्टी बज्ला अलि अलि खाँदौ रुवा कर्ण भरी ।
यति सुनेर गजधुम्मे गणेशले शिव पार्वतीलाई फन्को मारेर कुमारसँग बाजी मारे जस्तै न ठहरियो । बोलीमा गोलीको पर्रा छुटी हाल्यो-
खण्डग्रास भवेत सूर्य भाग्नेले खै के के भुले
प्रधानमन्त्री निमितार्थ संभवामी युगे युगे ।
उता चिलाउनेको हलोसँगको मितेरी पनि कम मापाको छैन । चोरले चोरलाई नै चोर भनेर नेपालीको कानको कानेगुजी कोट्याउन सक्ने, घरबुना ढाका टोपी र सिस्नुको पाटको कोट के कम र ? फ्याट्ट मुख फोरि हाले-
नमो जुवा नम सैलो फाली ठेडी नमोनम
भागमा पर्नु नै पर्छ गृहमन्त्री ठूलो दम ।
अर्को कोठामा गुरुमन्त्र सुन्न तयार वटुक झैँ बसेका, हँसिया र घनले जनताको टाउको ठोसेका, वाटरम्यानकै पालाको निब दोब्रिएको कलम गोजीमा भिरेका, कोटेराको फुल चोरी खान पाइन्छ कि ? भनेर रुखको टोड्कामा छिरेका, बिना ढेउवाका महासयहरूले सामुहिक मन्त्र फलाकी हाले-
आशन्न कुर्सीको मोह कसोरी भुलुँ सज्जन
उता सुनिन्छ त्यै कुर्सी भएछ्न सब दुर्जन
कसी गाँंठो उठौँ जागौँ बसी हुन्न गणाधीश
कसि लबेदाको तुनो जागौँ हे ! परमाधीश
कसैको कुम र बुढी औँलाको तालमेल नमिल्ने, कसैको र्याल र जिब्रोको लय नमिल्ने, कसैको मुखभन्दा बढी घाँटी खसखसाउने, कसैको हिन्दी नेपाली भाषाको कक्टेल बोल्ने शैली सुनेर सुस्ताएका मनुवाहरू चकटिमै भुसुक्क निदाएछ्न् । त्यही मौका छोप्दै तन्नेरी ताण्डव शुरु भैहाल्यो-
उठ जाग लौरा हो, डोजर चलाउँदै है…
जनता बोलाउँदै पाइप खेलाउँदै
आला हापेर, छाता च्यापेर
रालो हल्लाउँदै
गाई डोर्याउँदै …..
जोशिला, ठोशिला, खुसिला खोसिला गीतको भाकाले गगन नै गुन्जायमान भएछ । उँघ्दै गरेका, इजार खुस्किएका, भाते निद्रामा परेका, सबै जर्याक जुरुक उठेछ्न् र तीनवटै गुणका मिलेर नाराको पारा मिलाएर स्याँ… स्याँ गर्दै कुर्सीमा विराजमान हुन अघि बढेछ्न । यताका जोशिलाहरू घण्टी बजाउँदै, लौरो ठटाउँदै, छतरी डमरु हल्लाउँदै अघिनै कुर्सी छेउ पुग्न भ्याएछ्न । तर कुर्सीमा त अर्कै पो विराजमान भै सकेछ्न् । उनको भाषा यस्तो थियो-
तुम लोग अपना अपना डम्फु बजाओ
नहि है तो गाँड कोराकोर करके मरो
तुम्हारा चर्तिकला देखकर ये तो मैने ले लिया ।
लु ! अब भन्नुहोस् त पाठकवृन्द यो दशाको वशमा हामी पर्यो भने त्रिशुली ताक्नु पर्दैन र ? जोश होइन, होस गरौँ है ल ? इति
०००
कपन, काठमाडौं