कमल भैरवेलीखोटो सिक्का
हाम्रो टाउकोमा चढेर हालीमुहाली गर्ने खोटो सिक्काले गर्दा मुलुकको यो हविगत भएको हो । त्यसैले म भन्छु- खोटा सिक्काय स्वाहा !

नचल्ने सिक्काको नाम हो खोटो सिक्का । कोत्रिएको थोत्रिएको सिक्काको के मूल्य ! फाल्न पनि नसकिने न त कुनै सामान किन्न प्रयोगमा आउने ! थोत्री तरुनीको गाला झै । आची पुछेर फालेको टाला झै ! लक्ष्मीले परित्याग गरेको सिक्का हो खोटो सिक्का । त्यो सिक्का केही समय राजाको खल्तीमा राज गथ्र्यो । राजाको खल्तीबाट एकाएक भिखारीको हातमा पर्यो । लुगलुग जाडोले कापेका भिखारीको हातबाट त्यो खोटो सिक्का नालीमा खस्यो । नाली सफा गर्नेले त्यो सिक्का पायो । त्यसपछि उक्त सिक्का भट्टीवालनीको हाथमा पर्यो । भट्टीवालनीले पैसा फिर्ता गर्ने क्रममा त्यो एक नामुद जँडियाको हातमा पर्यो । त्यसपछि त्यो सिक्का उसकी श्रीमतीले मन्दिरमा लगेर चढाइ । पुजारीको हातमा परे पनि सुर्ती किन्ने क्रममा त्यो सिक्का किराना पसलेकहाँ पुग्यो । किराना पसलेले फिर्ता पैसा दिने क्रममा एउटी सुन्दरी युवतीलाई दियो । उक्त सिक्का सुन्दरीको हातमा परेर केही बेर तातिएपछि केही क्षणमै आइसक्रिमवालाको हातमा पुगेछ र पुनः चिसिएछ । कहिले तात्तिने र कहिले चिसिने भएकोले उक्त सिक्का खोटो सिक्कामा परिणत भएछ । यसरी परिणत भएपछि उक्त सिक्काको भाग्य खोटो भएछ । अनि घरको न घाटको भएछ ।
खोटो सिक्काको नियति सबभन्दा बढी भोग्नेमा माथिल्ला टाउकेहरूका लिंडे पुच्छरहरू बढि पर्दछन् । जब ती पुच्छरहरूले टाउकेहरूका जिउमा बसेका माखा धपाउन असक्षम घोषित हुन्छन् । सिधै खोटो सिक्का जस्तै काम नलाग्ने हुन्छ्न् । अख्तियारको फन्दामा परी सिधै मामाघर जाकिन पुग्छन् । इज्जत प्रतिष्ठा माटोमा मिल्छ । आफन्त शुभचिन्तकहरू पराइ बन्छन् । सबैले थु थु भन्छन्, छि छि भन्छन् । हि हि गरेर हाँस्छन् । हो, ती पुच्छरेहरू मरे तुल्य भएर बाँच्छन् । यता न उताका हुन्छन् । हात लम्काउने आँखा झिम्काउने लबस्तरो बानीले पाउने सास्ती पाउँछन् । न समर्थन न विरोधको परिणती । खान पाएपछि अझ लप्लपाउने, खान नपाएपछि चलखेल गर्ने । वास्तविक खोटा सिक्कामा रुपान्तरित हुन्छन् ।
खोटो सिक्काको नियती झेल्नेमा बिचौलियाहरू पनि पर्छन् । यता सस्तोमा खरिद गर्यो उता महङ्गोमा बेचेर उपभोक्ताको ढाड सेक्यो । जब उपभोक्ता र उत्पादकको सिधै खरिद बिक्री सुरु हुन्छ नि बिचौलियाहरू ब्राण्डेड्बाट लोकल ट्वाँक लगाएर चित्त बुझाउने अवस्थामा पुग्छन् । उनीहरूले धन सम्पत्तिको आडमा पाएको मानमनितो भङ्ग हुन थाल्छ । त्यसरी भङ्ग भएपछि तिनको मन झसङ्ग हुन्छ । दुर्दशा सुरु हुन्छ । जीवनशैली अस्तव्यस्त हुन्छ । महङ्गो बोर्डिङ स्कूलमा पढ्दै गरेका छोराछोरीलाइ सरकारी स्कूलमा पढाउन वाध्य हुन्छन् । छैला सुकुटीबाट गुन्द्रुक मस्यौरामा पुग्छन् । अत्तरको बास्ना होइन बरु आफ्नै गन्हाउने मोजाबाट निस्कने दुर्गन्धको आनन्द लिन्छन् ।
वास्तवमा कुरा नचपाइकन भन्ने हो भने तपशीलका व्यक्तित्वहरू खोटो सिक्कासँग तुलनायोग्य हुन्छन् ।
१) कुरौटेहरू २) भरौटेहरू ३) दही चिउरेहरू ४) दुइ जिब्रेहरू ५) डेब्राहरू ६) घोसेहरू ७) लोसेहरू ८) भ्रष्टहरू ९) कामचोर हरू १०) राष्ट्रघातीहरू अनि आदि इत्यादिहरू ।
खोटो सिक्कालाइ जतनले मिल्काउनुपर्छ वा थन्काउनुपर्छ । खोटो सिक्का निसन्देह दुर्भाग्यको प्रतिक हो । यसले व्यक्तिलाई, समाजलाई अनि सिङ्गो राष्ट्रलाइ कङ्गाल बनाउने हैसियत राख्छ । हाम्रो टाउकोमा चढेर हालीमुहाली गर्ने खोटो सिक्काले गर्दा मुलुकको यो हविगत भएको हो । त्यसैले म भन्छु- खोटा सिक्काय स्वाहा !
०००
२०७९ पौष ६
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































