माधव पोखरेल गोज्याङ्ग्रेपोइटिङ्ग्रे र जोइटिङ्ग्रे
समानताको नारा लागि रहेको समयमा जोईले पोइलाई र पोइले जोईलाई घरेलु दासको व्यवहार गर्दा ब्रह्माजीको सूत्र नै असफल भएको झैँ लागेको छ ।

नेपाली समाजमा बस्ने मध्ये कसैकसैले जोइटिङ्ग्रे बनेर समाज हँसाएको कुरा पनि सुन्न पाइन्छ । तर कोही पोइटिङ्ग्रे भएर समाज हँसाएको सायदै सुनिएला । पोइटिङ्ग्रे नहुने हो भने समाजले गतिलिन सक्दैन र समाजलाई वास्तविक समाज बनाउन सकिन्न । भनौँ पोइटिङ्ग्रे बन्नु समाजमा गाउँघरमा मानवीय धर्म निभाउनु हो । आफ्नो इज्जत प्रतिष्ठालाई समाजमा उँचो राख्न धर्म निर्वाह गर्नु हो । इमान धर्ममा बस्नु हो । तर जोइटिङ्ग्रे भनेको समाजमा नामको बेइज्जत हुनुमात्र होइन व्यक्तित्वसमेत समाजले हेर्न नसक्नु हो । पचाउन नसक्नु हो । अर्थात् पोइटिङ्ग्रेले जे भन्यो त्यही मान्नु भनेपछि लुत्रुक्क पर्नु र जे भन्यो त्यही काम गर्नु हो ।
यसरी पोइटिङ्ग्रेले जे भन्यो त्यही मानेर काम गर्ने लुरुक्क पर्नेको संख्या पनि कम छैन होला समाजमा तथ्याङ्क नै निकाल्ने हो भने । दुबैको सङ्ख्या बराबरी होला भन्न सकिने आधार पनि मसँग छैन । अब यहाँ यो लेख्ने गोज्याङ्ग्रे चाहिँ के हो त ? भन्ने कुरा वा प्रश्न पनि आउँला । हो हामी जोइपोइ भएर बसेका छौँ । टिङ्ग्रे भने भएका छैनौँ । टिङ्ग्रे बन्नु भनेको मेरो विचारमा बेइज्जत हुनु हो (मसँग भएको शब्दकोषमा टिङ्ग्रेको अर्थ फेला पार्न सकिन) र पीडित भएर सजाय भोगेर बस्नु पनि हुन सक्छ कि भन्ने अनुमान लगाएको छु मैले । आगे यस शब्दका बारेमा जानकारहरूको अर्थ व्यर्थ हुनेछैन भन्ने विश्वास छ ।
घर चलाउने काममा जोइपोइको बराबर हात हुन्छ । सहमतिका आधारमा सबै काम कुरा र व्यवहारमा भिज्नु पर्छ । दुबैको दुइटै हात एक ठाउँमा मिलेन भने समाजमा भिलेन भएर बस्न सकिन्न । जोइपोइ समाजमा भिलेन हुन वा उदाहरणका रूपमा समाजमा चिनिन कि त महाभारतको युद्ध गर्नु पर्छ कि त दुबैले अपाच्य काममा ध्यान दिनु पर्छ । समाजमा अपाच्य काम गरेपछि दुबै जना सधैँ भिलेन अर्थात् समाजका चर्चित हिरो हुन्छन् । जाँड खाने मात्ने एकापसमा कुटाकुट गर्ने गरेमा छिट्टै भिलेन हुन सकिन्छ । यही नै समाजमा बसेर जेइपोइले गर्ने उत्कष्ट कार्य पनि हो । जसका कारण प्रहरीसमक्ष पनि समाजका अगाडि जिरो दर्जाका हिरो हुन सकिन्छ ।
समाजमा भिलेन हुने अर्को उपाय भनेको दुई जोईको पोइ कुना पसी रोई पनि हो । यसो गर्दा पनि समाजमा सजिलैसँग चिनिन सकिन्छ । जसरी हुन्छ समाजमा चिनिनु पर्छ । चाहे दुई पोइको एउटै जोइ भएर होस् वा एउटा पोइको दर्जन जोई भएर होस् जे होस् समाजमा नाकमा कालो दलेर पनि चिनिनु पर्छ । हुन् त कालो काम गर्दा शरीरको कुनै पनि अङ्गमा कालो लाग्न सक्छ । तर नाकमा लागेको वा भनौँ अनुहारमा लागेको कालो समाजको आँखामा पर्छ भने शरीरका अन्य ठाउँको कालो लुकेर बस्न सक्छ । अब प्रकृतिक जोई पोइको जालोमा कालो देखिनु कसैको आँखामा पर्दैन । तर कृत्रिम पोइजोइको जालोमा कालो लाग्यो भने त्यसले शाखा सन्तान पिर्छ रे ।
हाम्रो समाजमा जोइपोइका कुरा काट्ने वा पोइजोईका सम्बन्धमा भाँजो हालेर चाँजो पाँचो मिलाउने कसरत पनि हुन्छन् । यी सबै जोइटिङ्ग्रे र पोइटिङ्ग्रे बिचको खासखुसे कुरा फासफुस भएर पनि जान सक्न्छन् ।
कुरामाथि छुरा चल्दा बढी दोहोलो काँढिने भनेको नै पोइटिङ्ग्रेको हो । जोइटिङ्ग्रेको दोहोलो काँढिदैन । किनभने नाकको कुरा हुँदोरहेछ । नाक जोगाउन नसक्ने पोइटिङ्ग्रे पनि समाजमा हुन्छन् । त्यो नाक जति लुकाउन खोजे पनि लुक्दैन र बाहिर देखिदो रहेछ । फेरि समाजले पनि त्यही नाकको बढी चियो चर्चो गर्दो रहेछ । हुन त जोइपोइ एक रथका दुई पाङ्ग्रा वा एक सिक्काका दुई पाटा भनिन्छ । तर त्यहाँ चित्रण फरक हुन्छ । दुईटा मुटु एउटै भनिन्छ तर धड्कन फरक हुन्छ । एउटै ओछ्यान भनिन्छ तर दुबैको ओछ्यानको घुराई फरक हुन्छ । जोईपोइ भने पनि लवाई खुवाई फरक हुन्छ । नाम पनि फरक हुन्छ । विशेषता पनि फरक हुन्छ भने स्वभाव पनि फरक हुन्छ ।
गाउँ घरमामात्र होइन शहर बजारतिर पनि कतिपय जोइपोइ बेहालमा छन् । पोइ विदेशतिर गाउँकी जोई शहर बजारतिर । घरमा छिचिमिरा लालाबाला झ्याउँकिरी झैँ झ्याइँझ्याइँ गर्दै बस्छन् । कुरा काट्न नजान्ने छिमेकीलाई रमिता देखाएर कुरा काट्न लाउँछन् । शहर बजार घुम्न गएकी जोई कति दिनपछि ग्यास्टिकको उपचार गरेर घर फर्कने हो थाहा छैन । शहर जाने निहुँले शरीरमा नभएको रोग पनि उत्पति गराउँछन् ।
यतिमात्र होइन अहिले सबैको हातमा अनुहार किताब छ । कस्तो मान्छेको अनुहार हेर्न वा के के हेर्न भोग्न मन छ सबै कुरा पाइने भएकोले छँदाखाँदाको पोइ जोइटिङ्ग्रे भयो भनेर अर्को फेर्न पनि च्वाइस गर्दा हुने । विदेशमा भएको पोइको काम छैन भन्नेलाई फेसबुकमा जतिवटा बनाए पनि इमान र व्यक्तित्व बिक्री गरेनन् भने त्यसलाई जीवन यापनको एक पाटोको रूपमा लिँदा फरक पर्दैन । भरसक जस्तोसुकै विवाह भएर जोडी बाँधिएपछि जोईपोइको जीवन यापन चखेवाको जोडी जस्तो भनेर समाजले जोडी होस् त यस्तो भनेर सबैतिर प्रशंसा गरिरहुन् । भनौँ श्रीमान श्रीमतीले समाजका विचमा जोइटिङ्ग्रे र पोइटिङ्ग्रेको पदवी दुबैले भिर्नु नपरोस् । तर समाजले हेर्ने आँखा फरक हुन्छ । कतिपय समाजले राम्रो काम गर्दा पनि आँखा तर्ने प्रवृति छ । यही कारणले समाजमा जोई र पोइको विचमा घाटो हुने गरी फाटो आउँछ ।
पोइटिङ्ग्रे शब्द प्रयोग गरिहँदा मलाई कताकता भित्रैदेखि नमिठो पनि लागेर आउँछ । किनकि पोइटिङ्ग्रे त मेरै घरमा पनि छिन् । उनले कतै यो लेख पढिन भने मलाई आपत पर्न सक्छ त्यसैले उनीको आँखा छलेर लुकाएर लेखेको हुँ । मानव अधिकारको हनन् भयो भनेर भोलि सडकमा दिउसै राँके जुलुस निकाले भने मैले नै घरबाट निस्कने अवस्था पनि आउन सक्छ । समाजले जोइटिङ्ग्रे शब्द प्रयोग गर्न हुँदा मैले पोइटिङ्ग्रे शब्द प्रयोग गर्न कुनै सोमबार पर्खन नपर्ने अनुमान लगाएर नै यहाँ पुरानो चलन चल्तीमा जेलिएको परम्पराको पोकोलाई खोल्ने जमर्को गरेको हुँ । परम्पराले र संस्कारले ठाडै मानव अधिकारको उल्लंघन गरेको भए पनि अहिलेको जमानामा पनि जोईपोइ दुबैले नजानिदो किसिमले हिंसाको शिलान्यास गरिरहेको आभास हुन्छ ।
समाजको संरचना जोईपोइ मिलेर नै बनेको हुन्छ । भन्न त जोईपोइ एक रथका दुई पाङ्ग्रा वा एउटा सिक्काको दुई पाटा भनेर पनि भनिन्छ । एउटै मन, मुटु गाँसिएको, परेवा वा चखेवाका जोडी भनेर पनि भनिन्छ । समाजले भन्ने त धेरै कुरा छन् । तर यहाँ जोईटिङ्ग्रे र पोइटिङ्ग्रेको कुरा आएको छ । जोई नभै पोइ बाँच्न गाह्रो हुन्छ भने पोइ नभै जोइ बाँच्न गाह्रो हुन्छ मात्र होइन भैरहेको पनि छ । यो ब्रह्माजीको समाजलाई अघि बढाउने सूत्रको एउटा अंश हो भन्दा कुनै फरक पर्दैन । ब्रह्माजी आफूले पनि पोइ भएर जोई पालेका थिए होलान् । तर जोई पालेर पनि जोईको समस्याका बारेमा कुनै समाधानको उपाय सुझाउन सकेको जस्तो लागेन । सायद ब्रह्माजी जोगी भएका कारणले होला जोईको सुख दुःखका बारेमा कुनै नयाँ सम्झौता वा सुझाव सल्लाह दिन सकेनन् ।
अहिलेको अवस्थामा जोईटिङ्ग्रे भनेको आफूले भनेको, बोलेको कुरा केही गर्न नसक्ने नेता जस्तै चरित्रका बेइमान हुन् । पोइटिङ्ग्रे भनेको आफ्नो अधिकारलाई आफैले कुल्चेर लुरुक्कता दर्शाउने आदिम कालिन अन्धभक्त नारी हुन् । यो एक्काइसौ शताब्दीको समय भनेको विज्ञान प्रविधिको समय हो । यो समयमा पोइटिङ्ग्रे भएर बस्नु भनेको खास दास हुनु हो । पोइका अन्यायपूणर् व्यवहार वा कामलाई अन्धभक्त भएर स्वीकार गरी जोतिनुलाई अहिलेको अवस्थामा पोइटिङ्ग्रे भन्ने गरिन्छ । अर्कोतर्फ जोईका अन्यायपूर्ण अव्यवहारिक काम कुरालाई शिरमा राखेर भात न पानी भएर जोतिनुलाई जोइटिङ्ग्रे भनिन्छ । समानताको नारा लागि रहेको समयमा जोईले पोइलाई र पोइले जोईलाई घरेलु दासको व्यवहार गर्दा ब्रह्माजीको सूत्र नै असफल भएको झैँ लागेको छ । जय व्यङ्ग्य, जय साहित्य ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































