
लेखनीका गुरु
सग्लो साहित्य फल्ने, सरस फल दिने रोपियो बोट सानु, सप्रेको बोट देखी ह्दय-ह्दयमा लेखियो नाम ‘भानु’, ‘मोती’-स्याहार पाई, अझ विकसित भै झाङ्गियो ‘सोमनाथ’, हाली चौतर्फ हाँगा रुखभरि तिजुको वृक्ष भो ‘लेखनाथ’ ।

१
अग्लो आदर्श छर्दै रसमय कविता पस्कियौ लेखनाथ !
तिम्रै सान्निध्य पाई सहज कहलियो मातृभाषा सनाथ
के हो तिम्रो तपस्या र ‘तरुण-तपसी’ बन्नु के हो बतायौ
ओजस्वी शब्द-वाणी सुललित कसरी बन्न सक्लान् सिकायौ ।
२
झर्दा अध्यात्म-धारा अनवरत यहाँ झर्छ पीयूष-धारा
भाषाको दीर्घसेवासित छ अमरता मिल्छ आनन्द सारा
आस्थाको, अस्मिताको अपहरण भए देश होला अनाथ
बर्सायौ काव्यकर्मी ! अटल अमरता ‘सत्य सन्देश’साथ
३
फैलायौ क्रान्तदर्शी कवि ! जनमनमा क्रान्तिको गीतलाई
चढ्लान् ठाडो उकालो सबल नवयुवा जोसिलो चेत पाई
तिम्रो आराधनामा चमकमय बनोस् चेतनाको मुहार
तिम्रै सत्प्रेरणाले प्रगतिपथ चुमून् देशका कणर्धार
४
लेखी आरम्भदेखि प्रकृति-पुरुषका पौरखी कृत्यलाई
जल्ले जीवन्त पार्यो जतनसित यहाँ स्वच्छ साहित्यलाई
‘गङ्गा-गौरी’ चिनाई रसमय रचना सुम्पिँदै भक्तिसाथ
स्रष्टा शीर्षस्थ हाम्रा कविकुलगरिमा छन् सधैँ ‘लेखनाथ’
५
सग्लो साहित्य फल्ने, सरस फल दिने रोपियो बोट सानु
सप्रेको बोट देखी ह्दय-ह्दयमा लेखियो नाम ‘भानु’
‘मोती’-स्याहार पाई, अझ विकसित भै झाङ्गियो ‘सोमनाथ’
हाली चौतर्फ हाँगा रुखभरि तिजुको वृक्ष भो ‘लेखनाथ’
६
गरी ‘लक्ष्मीपूजा’ सरल विधि ‘लालित्य’सहित
बगायौ भाषाको जल सलल नौला कृतिसित
तिमीले लेखेका कृतिसित रमाई हरघडी
उदायो आत्माको प्रकृति पनि हाँसी अझ बढी
७
बस्दा निर्मल वृक्षको सयलमा जो पाइयो शीतल
सोही शीतलता घुसी हृदयमा बढ्दैछ लेख्ने बल
तेजस्वी तिजु-वृक्षझैँ सरसिला हे लेखनीका गुरु !
तिम्रै शब्द टिपेर आदर गरी श्रद्धार्थ होमेँ चरु ।
०००
काठमाडौं