नगिता लेप्चा राईतमासा
उनीहरू सहयोग गर्नु होइन आफ्नो मोबाइल निकालेर भिडियो गर्नमा व्यस्त हुन्छन् । अनि बाटामा हिँड़्नेहरू सहयोग गर्न होइन तमासा हेरेर रमाइलो मान्छन् । हामी तमासामै ज्यान गुमाइरहेका छौं ।

हाम्रो गाउँमा गुरागाइँ मामाले दुइवटा भाले जुझाउँथे । पल्टनबाट रिटायर्ड भएर आएपछि गाउँका केटाकेटीलाई बक्सिङ सिकाउँथे । तर हाम्रो गाउँबाट एकजना बक्सर ननिस्के पनि केटाकेटी धेरैको नाकको डाँड़ी खँजा भयो । गुरागाइँ मामाले कहिलेकाहीँ जादू देखाउँथे । कहिले दुइवटा भाले जुझाउँदा हामी केटाकेटी भाले जुझेको हेर्न पुग्थ्यौं । मामाको जादू, बक्सिङभन्दा पनि भाले जुझेको तमासा हेर्न नै गाउँका मानिसहरू धुरिन्थे । पछि पछि त अन्य गाउँका मानिसहरू पनि भाले जुझेको हेर्न आउँथे । भाले जुझ्दा हामीलाई मज्जा लाग्थ्यो ।
पछि पछि गुरागाइँ मामाले अन्य गाउँका भालेसित आफ्नो रातो भाले जुझाउऩ थाले । मामाको रातो भाले कहिले अरु भालेसित लड़ाइँ हारेर भागेन । भाले जुझाइ पोपुलर भएपछि मामाले एउटा नयाँ कुरा घोषणा गरे, जसको भालेले जित्छ उसले हजार रुपियाँ पाउऩे । यसलाई एक प्रकारको जुवा नै भन्दा हुन्छ । भाले जुझाउन थुप्रै आएकाले मामाले भाले जुझाइको एउटा टुर्नामेण्ट नै शुरु गरे । वाह… झण्डै पन्ध्र-बीस गाउँले भाले जुझाइ टुर्नामेण्टमा भाग लिन्थे । फाइनलको दिन हाम्रो गाउँ र भट्टराई गाउँमाझ भाले जुझाइ भयो । दुवै भाले एक से एक । कुनै भालेले हार्ने नामै लिएको छैन । रात परिसक्यो । अन्धेरो भएपछि भाले जुझाइ ड्र मै सकियो । पैसा बाँडि़यो । झमक्क साँझ परिसकेको थियो । घरभित्र पस्ने बितिकै पापाले छाताको बिँड़ ममाथि बर्साउँदै कराउने थाले- यति रातविरातमा घर पस्ने हो छोरी चेली भएर ? तमासा हेरेर आइस् होइन ? कसले भन्यो रात परिञ्जेल तमासा हेर्नु भनेर ?
मन बहलाउने दृश्य, रमाइलो घटना हेर्नुलाई तमासा भनिन्छ । जादूवालाले जादू देखाउँदा हामी केटाकेटीहरू जादू हेथ्र्यौ । जादू हेर्नु एक किसमको मज्जा लाग्ने, आनन्द आउने । समयको परिवर्तन साथै हिजोआज शहरतिर वा गाउँघरतिर जादू देखाइँदैन न कि भाले जुझाइ नै । तमासा हेर्ने कुनै कुरो छैन ।
तर यो तमासा हेर्ने हिजोआज अर्कै भएको छ । अस्तिको हप्ता मलसाप्री दिदीको घरमा आगो लाग्यो । हामी केटाकेटी छँदा कतै आगो लाग्यो कि गाउँ घरकाहरू कसैले बाल्टीको पानी, कसैले बाल्टीमा माटो, बलुवा लिएर गई आगोमा फ्याँक्थे । आगो त्यति मात्रामा नभए पनि अलि अलि नियन्त्रणमा आउँथ्यो । एकक्षण पछि फायर ब्रिगेड आएर पछि आगलागी पूणर् नियन्त्रणमा ल्याउँथ्यो ।
हिजोआज गाउँघरमा आगो लागे बाल्टीमा पानी र माटो होइन हातमा मोबाइल बोकी आगो लागेको फोटो भिडियो गर्नमै व्यस्त देखिन्छ । आगो लागेको हेर्न उभिएकाहरूले आगो लागेको तमासा हेर्छन् । यस्ताहरूलाई तमासे नै भन्नुपर्ला ।
बाटामा वाहन दुर्घटना हुँदा दुर्धटनामा पर्नेहरूलाई सहयोग गर्नु छोड़ी सबै आफ्नो मोबाइलमा भिडियो गर्नमै मस्त देखिन्छ । अबको समयमा घाइतेलाई सहयोग गर्न होइन मोबाइलमै भिडियो गरी अपलोड गरी लाइक र कमेण्टको आशामा तड़पिरहेका हुन्छन् ।
गोर्खाल्याण्ड आन्दोलनमा जुलुस लानेहरूमाथि पुलिसले फायर गर्यो । एकजना सानु भाइलाई गोली लाग्यो । ती भाइ गोली लागेर छटपटिनुसम्म छटपटाए । उनलाई त्यहाँ उभिने कसैले पनि समातेर अस्पताल पुर्याएका भए सायद उनी फर्किन्थे । तर सबै माथि बिल्डिङमाथि चढ़ेर भाइ छटपटिएको भिडियो गर्ने हुँदा भाइ फर्किनै सकेनन् ।
भर्खरै मात्र काठमाडौंमा एकजनाले दिउँसै भीड़मा आत्मदाह गरे । जिउभरि दन्दनी आगो लागेर छटपटिएको दृश्य नेपालका विभिन्न टिभीले लाइभ प्रसारण गऱे । त्यसबाहेक पनि आफ्नो मोबाइल भिडियो गर्नेहरू कम्ति थिएनन् । तर आत्मदाह गर्ने बितिकै कसैले पनि तिनलाई कम्बलले छोपिदिएका भए सायद उनको अवस्था गम्भीर हुने थिएन कि ! तर कसले कसको वास्ता गर्ने । अचेल मानिसको जीवन यहाँ तमासा भएको छ । मानवता मरिसकेको छ । यहाँ सबै तमासा हेर्ने तमासे भइसकेका छन् । हामी तमासामै ज्यान गुमाइरहेका छौं ।
अस्तिको हप्ता खोलामा एकजना डुब्यो । उनले हेल्प हेल्प कति भने । पहिले हाम्रो गाउँको खोलामा गुड्डु भाइ यसरी डुब्दा हाम्रा गाउँका काका, मामा, दादाहरूले डोरी फ्याँकेर, टायर फ्याँकेर उनको ज्यान बचाए । तर अस्तिको हप्ता भने खोलामा डोरी फ्याँक्ने, टायर फ्याँकेर उनलाई बचाउने कसैले कोशिस गरेनन् । किनभने उनीहरूको हातहातमा मोबाइल थियो… सबै गुड्डु भाइलाई पानीले बगाएको भिडियो गर्न मस्त देखिए भने अरुहरू चाहिँ मान्छे डुबेको तमासा हेरेर ल्या…ल्या,.. बिचारा भन्नेहरू भन्दा पनि ठिकै छ त्यसलाई यस्तो बर्खाको समयमा नदीमा जानु कसले भन्यो ? भन्नेहरू पनि देखिए यी तमासेहरूको मुखबाट ।
अब यो जीवन नै एउटा तमासा भएको छ । बाटामा कुनै दुर्घटना भए बाटामा हिँड़्नेहरूबाट कुनै पनि सहयोगको अपेक्षा नगरे भो । किनभने उनीहरू सहयोग गर्नु होइन आफ्नो मोबाइल निकालेर भिडियो गर्नमा व्यस्त हुन्छन् । अनि बाटामा हिँड़्नेहरू सहयोग गर्न होइन तमासा हेरेर रमाइलो मान्छन् ।
अब हामी कसैलाई पनि साह्रो गाह्रो पर्दा तमासे नबनौं…. बाटाघाटा वा गाउँघरतिर कसैलाई पनि अपठेरो परे उनको उद्धार कार्यमा लागौं । कारण जीव सेवा नै शिव सेवा हो ।
तमासेहरूलाई सदबुद्धि दिउन् ।
०००
सिलगढ़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































