साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुलामी जन्जीर

राहदानीको गुलामी जन्जीर छिनाल्न हामीले के गर्नु पर्ला ? दासहरू उत्पादन गर्ने यही घिनलाग्दो प्रक्रियालाई हामीले ‘लोकतन्त्र’ मानेर कहिलेसम्म सलाम गरिरहनु पर्ने ?

Nepal Telecom ad

अपराधीको जन्जीर, प्रेमको जन्जीर त हामी सबैले सुन्दै आएका शब्द अनि बुझ्दै आएको अनुभव हो । आज कुरा गरौँ गुलामको जन्जीरबारे । गुलाम दहर र मिमका बिच एघार फुट्टीलाई सङ्केत गर्ने तास हो । तासको नाम गुलाम हो तर कहिलेकाही खेलमा गुलाम चोर पनि खेल्न पाइन्छ । खेलमा तासका पत्ती थुत्दै जाँदा जोसँग अन्तिमसम्म गुलाम बाँकी रहन्छ उसले खेल हार्छ । मानवको वास्तविक जीवनमा गुलाम साथमा हुनेहरूको सधैं जीत हुन्छ । गुलाम तासको पत्ती मात्रै नभएर कमारो हो, दास हो, एैँचमा परेको मान्छे हो । जब कमारा दासहरू फलाम तामा जस्ता बलिया धातुबाट बनेका तारको साङ्लोमा जकडिन्छन् अनि बन्छ गुलामी जन्जीर । अनि गुलाम साथ हुनेहरूको विजय पक्का हुन्छ । गुलामलाई दास पनि भनिन्छ, हिजो दास प्रथाले उन्मुक्ति पाएर आज जन्मेका नव आधुनिक गुलाम प्रथा अर्थात गुलामको जन्जीरको जराभित्र पसेर चुरो कुरो बुझ्ने प्रयास गरौँ ।

नेपाल सरकारले वि.स. २०२० सालमा छुवाछूत मुक्त राष्ट्र, २०५७ सालमा कमैया प्रथा, २०६२ सालमा हलिया प्रथाको अन्त र २०७० सालमा कमैया मुक्त राष्ट्र घोषणा गर्‍यो । अब लाग्छ देशमा गुलामी गर्ने दासहरू सबैले मुक्ति पाइसके । हाम्रो सोचले भन्छ दास प्रथा त एकादेशको कथा जस्तै हो अहिले त कहाँ छ र ? दास प्रथा त उहिले हटिसक्यो नि । के वास्तवमै दास प्रथा हटेको हो त ? गुलामी जन्जीरको नाउँ निसाना नै मेटिएको हो त ? अनि फेरि किन लेखियो त वर्षौ पहिले हराइसकेका दासत्वका शब्दहरू ? स्वतन्त्रताका शब्द मात्रै देखिन्छन् जहाँतहीँ, किन व्यर्थको समय बर्बाद भो भो ? छाडीदिउँ गुलामी जन्जीरका कुरा बरु स्वतन्त्रताको कहानी लेखौँ !

के वास्तवमै दास प्रथा हटेकै हो त ? गुलामी जन्जीरको नामोनिसाना नै मेटिएको हो त ?

यो आधुनिक युग हो । यहाँ आधुनिक भवनहरू, आधुनिक सडकहरू, आधुनिक मान्छे अनि आधुनिक गुलामी भेटिन्छन् । आज गुलामी प्रथाले नयाँ रुप लिएको छ । पहिले जस्तो प्रत्यक्ष मानव किनवेच गरिंदैन न दास नै बनाएजस्तो देखिन्छ । तर गुलामी प्रथाको मुख्य केन्द्र बालबालिकालाई बनाइएको छ । सहरका उर्बर भूमिमा उमारिएका अग्ला भवनहरू, मनोरञ्जनका रङ्गमञ्चहरू, होटल रेस्टुरेन्टका भाडा पखाल्ने धाराहरू, सार्वजनिक बसका ढोकाहरू, कलकारखाना, ईट्टाभट्टाहरू जसले बालबालिकालाई सपना खोज्न नपाउदै संघर्षको नयाँ गुलामी जन्जीरले बाँधिराखेको छ । कलम समात्नु पर्ने औँलाहरू पट्पटी फुटिरहेछन् दासत्वको नयाँ बदलिदो रुपले ।

ठेकेदारहरू आफूलाई सुकिलामुकिला साहु महाजन मान्दै ती कलिला हत्केलामा गुलामी जन्जीर बाँध्न पाउँदा मख्ख छन् । नहुन पनि कसरी ! न तलब दिनुपर्ने, मात्र काम खान पाइने आहा ! ईट्टाभट्टा सञ्चालकहरूले बढी आम्दानी हुने भन्दै विभिन्न बाध्यतामा पारेर दिनरात काममा खटाइरहन्छन् । सयकडौं बालबालिकाले स्वतन्त्रतापूर्वक नभई बाध्यताले एक छाक टार्नका लागि उद्योगमा काम गर्दै आएका छन् । मान्छेलाई गरिबीले गुलामी बनाएसँगै त्यही गरिबीको फाइदा लुट्ने चोरहरूको बिगबिगी छ । ती बच्चाहरूको जिम्मेवारी कसले लिने ? किन बाध्य भएका छन् त ? कसले खोजी गर्ने ? के तिनीहरूलाई संरक्षणको आवश्यकता छैन ? के यो गुलामी जन्जीरको उदाहरण होइन ? यो साङ्लो कसले छिनाल्ने ? सरोकारवालाहरू कता लुकेका छन् कानमा तेल हालेर ?

कपिलवस्तुमा मात्र नेपालका ३ सय ८१ जना र छिमेकी देश भारतको विभिन्न ठाउँका ३ सय ९७ जना गरि ७ सय ७८ बालबालिका इट्टा उद्योगमा कार्यरत रहेको तथ्य भर्खरै सार्वजनिक भएको छ । अहिले कपिलवस्तु जिल्लाको बुद्धभूमी, महाराजगञ्ज र शिवराज नगरपालिकामा मात्रै ३ सय ८१ बालबालिकाहरूले उद्योगमा काम गरिरहेको पाइएको छ । जसमा बालिका १ सय ६० र बालक ३ सय २१ जना रहेका छन् । बुद्धभूमिकामा १ सय २७ जना, महाराजगन्जमा १ सय ८५ जना र शिवराज नगरपालिका ६९ जना बालबालिका रहेका छन् । अधिकांश बालबालिका ५ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १८ वर्ष उमेरसमूहका छन् । सबै भन्दा बढी ५ देखि ९ र १० उमेरका संलग्न रहेको तथ्यले जनाएको छ । ए, सुन्नुस् त ! त्यसो भए के साँच्चै तपाइँले र मैले सोचे जस्तै यो तथ्यले दास प्रथा समाप्त भएको बताइरहेको छ त ?

नेपालमा गुलामी जन्जीर अझै तोडिन सकेको छैन । त्यसको प्रत्यक्ष उदाहरण पश्चिम तराईका ५ जिल्ला कैलाली कंचनपुर, बाके, बर्दिया र दाङमा बिध्यमान कमैया र कमलरी प्रथा, सुदूर तथा मध्य पश्चिममा हलिया प्रथा पूर्वी तराईमा हरूवा र चरुवा प्रथा । मान्छेले मान्छेलाई मान्छे भएर बाच्न नदिने सिङ्गो मानव जीवन माथिको कलङ्क हो गुलामी प्रथा । जिउँदो लास बनाउँदै समाजका मालिक, पुँजिपति अझ सामन्तीहरूले मुठीमा कैद गराई, आवाजबिहिन बनाई हिजोका दास आजको श्रमजीवी बर्गको शिरमा लात मारिरहेकै छ । अनि गुलामीहरू जन्जीरले रक्ताम्य बनेका छन्, अझै मानव जीवन दास बनाएर फाइदा लुट्न ढुकी बसेकाहरू आधुनिक दासत्वको उत्सव मनाईरहेछन् ।

नेपाल, जहाँ एकातिर अग्ला गगन चुम्न आँटेका भवनमा रमाइरहेको एउटा वर्ग अनि अर्कोतर्फ झुपडीमा बस्ने गरिबी जहाँ रोग छ, भोक छ, शोक छ, अभाव छ । अनि फेरि त्यही रोग, भोक, शोकलाई गुलामी जन्जीरले अँठ्याएको छ, निचोरेको छ, उक्लन दिएको छैन सम्पन्नताका खुड्किलाहरू । आधुनिक दास प्रथाले मानिसको अस्तित्व किनबेच गरेको छ , इज्जत किनबेच गरेको छ, स्वाभिमान किनबेच गरेको छ । जनताको दास बनेर जनताको हकहितका लागि लाग्नुपर्ने सरकार जनतालाई दास बनाएर आफू मालिक बनेको छ । अनि कसरी भन्न सकिन्छ र दास प्रथा हट्यो भनेर ?

नेपालमा श्री ३ चन्द्र शमशेर जंगबहादुर राणाले आजभन्दा करिब ९५ वर्ष अगाडि दासप्रथा उन्मूलनको घोषणा गरे पनि राजनीतिक दलभित्रैवाट आधुनिक दासहरू सृजित भएका छन् । हरेक दिन १५ सय भन्दा बढी संख्यामा युवाहरू विदेश पठाउने देश नेपाल देशको अर्थतन्त्र थामेर राज्य सञ्चालन गर्नुपर्ने युवा जमातलाई खाडी मरुभूमिमा दासको रुपमा बेचिइरहेका छन् । दैनिक दर्जनौँ काठका बाकसमा फिर्ता आएका युवाहरूको सासबिहिन शरीर सायद यो पनि दासत्वले जन्माएको अमिलो अनुभव हो । खै कहिले जान्छ वैदेशिक नेपाली कामदारहरूको सुरक्षातर्फ हाम्रो ध्यान । नेपाली अर्को कुनै देशमा दास बन्ने अनि दुःख पाएर मर्न होइन तर पसिनाको मूल्य र रोजगारका लागि मात्र गएका हुन् ।

यदि यहीँ रोजगारीका सृजना हुने थियो भने राहदानीमा युवाहरू बेचिनु पर्ने थिएन । सरकार ! आखिर कहिलेसम्म नेपाली बालबालिकाहरू श्रमको दासत्वमा आफैलाइ समर्पित गरिरहनु पर्ने ? अनि कहिलेसम्म नेपाली युवाहरूलाई गुलामी जन्जीरमा बाँधिरहने ? राहदानीको गुलामी जन्जीर छिनाल्न हामीले के गर्नु पर्ला ? दासहरू उत्पादन गर्ने यही घिनलाग्दो प्रक्रियालाई हामीले ‘लोकतन्त्र’ मानेर कहिलेसम्म सलाम गरिरहनु पर्ने ?

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
0
Would love your thoughts, please comment.x
()
x