अप्सरा सुनारगुलामी जन्जीर
राहदानीको गुलामी जन्जीर छिनाल्न हामीले के गर्नु पर्ला ? दासहरू उत्पादन गर्ने यही घिनलाग्दो प्रक्रियालाई हामीले ‘लोकतन्त्र’ मानेर कहिलेसम्म सलाम गरिरहनु पर्ने ?

अपराधीको जन्जीर, प्रेमको जन्जीर त हामी सबैले सुन्दै आएका शब्द अनि बुझ्दै आएको अनुभव हो । आज कुरा गरौँ गुलामको जन्जीरबारे । गुलाम दहर र मिमका बिच एघार फुट्टीलाई सङ्केत गर्ने तास हो । तासको नाम गुलाम हो तर कहिलेकाही खेलमा गुलाम चोर पनि खेल्न पाइन्छ । खेलमा तासका पत्ती थुत्दै जाँदा जोसँग अन्तिमसम्म गुलाम बाँकी रहन्छ उसले खेल हार्छ । मानवको वास्तविक जीवनमा गुलाम साथमा हुनेहरूको सधैं जीत हुन्छ । गुलाम तासको पत्ती मात्रै नभएर कमारो हो, दास हो, एैँचमा परेको मान्छे हो । जब कमारा दासहरू फलाम तामा जस्ता बलिया धातुबाट बनेका तारको साङ्लोमा जकडिन्छन् अनि बन्छ गुलामी जन्जीर । अनि गुलाम साथ हुनेहरूको विजय पक्का हुन्छ । गुलामलाई दास पनि भनिन्छ, हिजो दास प्रथाले उन्मुक्ति पाएर आज जन्मेका नव आधुनिक गुलाम प्रथा अर्थात गुलामको जन्जीरको जराभित्र पसेर चुरो कुरो बुझ्ने प्रयास गरौँ ।
नेपाल सरकारले वि.स. २०२० सालमा छुवाछूत मुक्त राष्ट्र, २०५७ सालमा कमैया प्रथा, २०६२ सालमा हलिया प्रथाको अन्त र २०७० सालमा कमैया मुक्त राष्ट्र घोषणा गर्यो । अब लाग्छ देशमा गुलामी गर्ने दासहरू सबैले मुक्ति पाइसके । हाम्रो सोचले भन्छ दास प्रथा त एकादेशको कथा जस्तै हो अहिले त कहाँ छ र ? दास प्रथा त उहिले हटिसक्यो नि । के वास्तवमै दास प्रथा हटेको हो त ? गुलामी जन्जीरको नाउँ निसाना नै मेटिएको हो त ? अनि फेरि किन लेखियो त वर्षौ पहिले हराइसकेका दासत्वका शब्दहरू ? स्वतन्त्रताका शब्द मात्रै देखिन्छन् जहाँतहीँ, किन व्यर्थको समय बर्बाद भो भो ? छाडीदिउँ गुलामी जन्जीरका कुरा बरु स्वतन्त्रताको कहानी लेखौँ !
के वास्तवमै दास प्रथा हटेकै हो त ? गुलामी जन्जीरको नामोनिसाना नै मेटिएको हो त ?
यो आधुनिक युग हो । यहाँ आधुनिक भवनहरू, आधुनिक सडकहरू, आधुनिक मान्छे अनि आधुनिक गुलामी भेटिन्छन् । आज गुलामी प्रथाले नयाँ रुप लिएको छ । पहिले जस्तो प्रत्यक्ष मानव किनवेच गरिंदैन न दास नै बनाएजस्तो देखिन्छ । तर गुलामी प्रथाको मुख्य केन्द्र बालबालिकालाई बनाइएको छ । सहरका उर्बर भूमिमा उमारिएका अग्ला भवनहरू, मनोरञ्जनका रङ्गमञ्चहरू, होटल रेस्टुरेन्टका भाडा पखाल्ने धाराहरू, सार्वजनिक बसका ढोकाहरू, कलकारखाना, ईट्टाभट्टाहरू जसले बालबालिकालाई सपना खोज्न नपाउदै संघर्षको नयाँ गुलामी जन्जीरले बाँधिराखेको छ । कलम समात्नु पर्ने औँलाहरू पट्पटी फुटिरहेछन् दासत्वको नयाँ बदलिदो रुपले ।
ठेकेदारहरू आफूलाई सुकिलामुकिला साहु महाजन मान्दै ती कलिला हत्केलामा गुलामी जन्जीर बाँध्न पाउँदा मख्ख छन् । नहुन पनि कसरी ! न तलब दिनुपर्ने, मात्र काम खान पाइने आहा ! ईट्टाभट्टा सञ्चालकहरूले बढी आम्दानी हुने भन्दै विभिन्न बाध्यतामा पारेर दिनरात काममा खटाइरहन्छन् । सयकडौं बालबालिकाले स्वतन्त्रतापूर्वक नभई बाध्यताले एक छाक टार्नका लागि उद्योगमा काम गर्दै आएका छन् । मान्छेलाई गरिबीले गुलामी बनाएसँगै त्यही गरिबीको फाइदा लुट्ने चोरहरूको बिगबिगी छ । ती बच्चाहरूको जिम्मेवारी कसले लिने ? किन बाध्य भएका छन् त ? कसले खोजी गर्ने ? के तिनीहरूलाई संरक्षणको आवश्यकता छैन ? के यो गुलामी जन्जीरको उदाहरण होइन ? यो साङ्लो कसले छिनाल्ने ? सरोकारवालाहरू कता लुकेका छन् कानमा तेल हालेर ?
कपिलवस्तुमा मात्र नेपालका ३ सय ८१ जना र छिमेकी देश भारतको विभिन्न ठाउँका ३ सय ९७ जना गरि ७ सय ७८ बालबालिका इट्टा उद्योगमा कार्यरत रहेको तथ्य भर्खरै सार्वजनिक भएको छ । अहिले कपिलवस्तु जिल्लाको बुद्धभूमी, महाराजगञ्ज र शिवराज नगरपालिकामा मात्रै ३ सय ८१ बालबालिकाहरूले उद्योगमा काम गरिरहेको पाइएको छ । जसमा बालिका १ सय ६० र बालक ३ सय २१ जना रहेका छन् । बुद्धभूमिकामा १ सय २७ जना, महाराजगन्जमा १ सय ८५ जना र शिवराज नगरपालिका ६९ जना बालबालिका रहेका छन् । अधिकांश बालबालिका ५ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १८ वर्ष उमेरसमूहका छन् । सबै भन्दा बढी ५ देखि ९ र १० उमेरका संलग्न रहेको तथ्यले जनाएको छ । ए, सुन्नुस् त ! त्यसो भए के साँच्चै तपाइँले र मैले सोचे जस्तै यो तथ्यले दास प्रथा समाप्त भएको बताइरहेको छ त ?
नेपालमा गुलामी जन्जीर अझै तोडिन सकेको छैन । त्यसको प्रत्यक्ष उदाहरण पश्चिम तराईका ५ जिल्ला कैलाली कंचनपुर, बाके, बर्दिया र दाङमा बिध्यमान कमैया र कमलरी प्रथा, सुदूर तथा मध्य पश्चिममा हलिया प्रथा पूर्वी तराईमा हरूवा र चरुवा प्रथा । मान्छेले मान्छेलाई मान्छे भएर बाच्न नदिने सिङ्गो मानव जीवन माथिको कलङ्क हो गुलामी प्रथा । जिउँदो लास बनाउँदै समाजका मालिक, पुँजिपति अझ सामन्तीहरूले मुठीमा कैद गराई, आवाजबिहिन बनाई हिजोका दास आजको श्रमजीवी बर्गको शिरमा लात मारिरहेकै छ । अनि गुलामीहरू जन्जीरले रक्ताम्य बनेका छन्, अझै मानव जीवन दास बनाएर फाइदा लुट्न ढुकी बसेकाहरू आधुनिक दासत्वको उत्सव मनाईरहेछन् ।
नेपाल, जहाँ एकातिर अग्ला गगन चुम्न आँटेका भवनमा रमाइरहेको एउटा वर्ग अनि अर्कोतर्फ झुपडीमा बस्ने गरिबी जहाँ रोग छ, भोक छ, शोक छ, अभाव छ । अनि फेरि त्यही रोग, भोक, शोकलाई गुलामी जन्जीरले अँठ्याएको छ, निचोरेको छ, उक्लन दिएको छैन सम्पन्नताका खुड्किलाहरू । आधुनिक दास प्रथाले मानिसको अस्तित्व किनबेच गरेको छ , इज्जत किनबेच गरेको छ, स्वाभिमान किनबेच गरेको छ । जनताको दास बनेर जनताको हकहितका लागि लाग्नुपर्ने सरकार जनतालाई दास बनाएर आफू मालिक बनेको छ । अनि कसरी भन्न सकिन्छ र दास प्रथा हट्यो भनेर ?
नेपालमा श्री ३ चन्द्र शमशेर जंगबहादुर राणाले आजभन्दा करिब ९५ वर्ष अगाडि दासप्रथा उन्मूलनको घोषणा गरे पनि राजनीतिक दलभित्रैवाट आधुनिक दासहरू सृजित भएका छन् । हरेक दिन १५ सय भन्दा बढी संख्यामा युवाहरू विदेश पठाउने देश नेपाल देशको अर्थतन्त्र थामेर राज्य सञ्चालन गर्नुपर्ने युवा जमातलाई खाडी मरुभूमिमा दासको रुपमा बेचिइरहेका छन् । दैनिक दर्जनौँ काठका बाकसमा फिर्ता आएका युवाहरूको सासबिहिन शरीर सायद यो पनि दासत्वले जन्माएको अमिलो अनुभव हो । खै कहिले जान्छ वैदेशिक नेपाली कामदारहरूको सुरक्षातर्फ हाम्रो ध्यान । नेपाली अर्को कुनै देशमा दास बन्ने अनि दुःख पाएर मर्न होइन तर पसिनाको मूल्य र रोजगारका लागि मात्र गएका हुन् ।
यदि यहीँ रोजगारीका सृजना हुने थियो भने राहदानीमा युवाहरू बेचिनु पर्ने थिएन । सरकार ! आखिर कहिलेसम्म नेपाली बालबालिकाहरू श्रमको दासत्वमा आफैलाइ समर्पित गरिरहनु पर्ने ? अनि कहिलेसम्म नेपाली युवाहरूलाई गुलामी जन्जीरमा बाँधिरहने ? राहदानीको गुलामी जन्जीर छिनाल्न हामीले के गर्नु पर्ला ? दासहरू उत्पादन गर्ने यही घिनलाग्दो प्रक्रियालाई हामीले ‘लोकतन्त्र’ मानेर कहिलेसम्म सलाम गरिरहनु पर्ने ?
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































