साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाएसार कि लाएसार मरेपछि लम्पसार

भ्रष्टाचार, अनधिकृत आम्दानी, लुटपाट, धुतधात, थुतथात, ठगठाग, तानतुन जसरी पनि भुँडी भर्नु नै मानव जुनी सार्थक, सक्षम र सबल पार्नु हो भन्ने प्रमाणित गरेर देखाइ दिएका छन् भनेपछि तपाई हामी किन पछि पर्ने ?

Nepal Telecom ad

पृथ्वीमा धनीमानी, स्वाभिमानी, ज्ञानी, दानी प्राणीको मात्र जन्म भएको हुँदैन । चराचर जगतमा चुइयाँ चरम चुइयाँ उदेक लाग्ने मख्खीचुसहरूको पनि जन्म भएको हुन्छ । जे जस्ता बानी व्यहोरा, आचरण, शिलस्वभाव भएका जन्मिए पनि तिनको अन्तिम अवतरण भनेकै मरण हो । भगवानले मरणलाई सबैको साझा थलो या सम्पत्ति बनाइदिएका छन् । नरुच्दा नरुच्दै, नचाहँदा नचाहँदै पनि मान्छेले मृत्यु वरण गरिराखेकै हुन्छन् । जन्मेपछि मरिन्छ भन्ने कुरामा मान्छे ढुक्क छ । हरेक कुराको अड्कलबाजी, अन्दाज, अनुमान, उद्देश्य पहिले नै गर्ने प्राणी भएकाले नै मानव जुनी अरू प्राणी भन्दा भिन्न, सबल, सक्षम, उत्कृष्ट र पृथक भएको छ ।

हुन त अरू अरू प्राणीले पनि आफूलाई सबल, सक्षम नै ठान्ला, मान्ला तर मलाई लाग्छ चलाख चतुर्‍याइँ, फतुर्‍याइँमा मान्छेलाई अरू प्राणीले भेट्टाउन उछिन्न सक्दैन । मान्छेलाई घमण्डी, पाजी, पैसा पिपासु, दौलत लम्पट भनेता पनि पृथ्वीमा मान्छे भन्दा अब्बल, उम्दा र उत्कृष्ट प्राणी प्रभुले सिर्जना गरेनन् । जुन चोसाबाट चियाए पनि जसरी बियाए पनि मान्छे अड्कल र अक्कल भएकै प्राणी हो । किनकि मान्छेले भविष्यको कुरा लगभग अगाडि नै थाहा पाउँछ । सन्तान जन्मिने, अन्मिने, देखि लिएर कुन रोगले कर्‍यापच्याप पार्‍यो भने कतिखेर जिब्रो टोक्छ कुन, के कस्तो बिगार गर्‍यो भने मुक्का ठोक्छ विशेषज्ञहरूले पहिले नै र्‍याङ्को ठ्याङ मिलाउन सक्छ । खुबी र खोपडीले हैकम जमाउन सफल भएकै कारण मान्छेले आफूले चाहेजस्तो, सोचेजस्तो, भनेजस्तो, भविष्य द्रष्टा, विगत, वर्तमान र भविष्यको लेखाजोखा गर्ने भएर नै ‘खाएसार, कि लाएसार, मरेपछि लम्पसार’ उखानै तयार पार्न सफल छ मानव ।

खानु र लाउनुलाई पहिलो प्राथमिकतामा राख्छ मान्छे । जसरी पनि खानै पर्ने, जुन तरहले पनि लाउनै पर्ने, मोज मस्ती आज होस् या अस्ति जारी छ । विलासिताका भाँडाकुँडाहरू लाखौँ, करोडौँ पर्ने बनाए, सिर्जना गरे मान्छेले । ऐस, आराम, हाँसी खुसीका लागि जति भन्यो त्यति धन दौलन खर्चन, छर्न र मनपरि गर्न किन्चित कन्ज्युस्याइँ गर्दैन मान्छे । आफ्नो हितमा छ भने अर्काकी अर्धाङ्गिनीलाई उछिट्याउँछ मान्छे । काँचा, पाकेका, थारा, बैला, लैना जम्मा गरेर स्त्री लम्पट हुन रुचाउँछ मान्छे । ज्यान लिनु दिनु स्वार्थ लम्पटमा रमाउनु अप्ठ्यारोमा घाँटी समाउनु नीच स्वभावका मान्छेको धर्म हो । धर्म कसैले पनि छोड्दैन ।

स्वभाव नीचो, उचो र छुचो जे जस्तो भए पनि मान्छे मान्छे नै हो । बाँचुञ्जेल पृथ्वीको हकभोग गर्ने अधिकार सबैमा सुरक्षित छ । बुद्धिमानी मानवले “यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्व घृतं पिवेत्” जप्न थालिसकेका छन् । जसरी जिउँछौ सुखैसँग जिउ, ऋण गरेर भए पनि घिउ नै पिउ घोषणा भइसकेको छ । के गरी कमायो, कसरी रमायो, सरकारले फिक्री गर्दैन । भ्रष्टाचार, अनधिकृत आम्दानी, लुटपाट, धुतधात, थुतथात, ठगठाग, तानतुन जसरी पनि भुँडी भर्नु नै मानव जुनी सार्थक, सक्षम र सबल पार्नु हो भन्ने प्रमाणित गरेर देखाइ दिएका छन् भनेपछि तपाई हामी किन पछि पर्ने ? आफ्नो भुँडीको हक हितका खातिर नै मान्छेले जनैमा, पोतेका झुत्तामा, चोलो, कोटका गोजीमा, पटुका, पाइन्ट या कम्बरमा सम्पति जोगाउन सिउरिएका धन दौलतका साँचो चावी आफ्नो प्राणान्तसँगै ती साधनको पनि उपयोगिता समाप्त भएको हुन्छ । आफूले हर्दम हरमा सिउरिएको तालाचावी आफू परलोकबासी भएपछि त्यसको अधिपति अर्कै हुने निश्चित, पक्का भएकै कारण पनि भन्ने गरिन्छ ‘खाएसार कि लाएसार, मरेपछि लम्पसार’ ।

शरीरमा उर्जा र जिन्दगीको पूर्जा घुमाउनलाई मान्छे या प्राणीले खानु, पिउनु अनिवार्य छ । सके कमाउ, रमाउ, घरगृहस्थी जमाउ । नसके आँ गरेर मुख बाउ । ‘अजिङ्गरको आहारा दैवले जुराउँछ’ भनेझै आँ गरिराखेपछि मुख पेट भरिन पनि सक्छ । तर आँ गर्न छोड्नु हुँदैन । मुखै बन्द छ भने खुराक केमा अड्काउने, कता छिराउने । पहिले जिन्दगीको पूर्वान्नकालमा बाबुआमाले कमाएको खाँदै रमाउँदै गर्‍यो । आङ ढाक्ने धजापताका गक्ष र लक्ष्य अनुसार पाइहालिन्छ । मान मनितोमा पहिरो र पखाला नचलोस् भनेर पनि वातानुकूलित वस्त्राभूषणबाट विमुख हुनु पर्दैन । अर्काले मान्न, पुर्खाको बिँडो धान्न बुद्धि र बर्गतले खामेसम्म कस्ले पो छाडेको छ र ?

खाना, नाना, छाना, आमाको लाम्टो चुस्ता चुस्तै मानव अधिकारको दायरामा परिहालिन्छ । यति भए पछि नयाँ पुस्ताले कमाउनु, धन दौलतको उरुङ्खात लगाउनु त मुख्र्याइ नै ठहर्छ नि । के का लागि जोड्नु धन सम्पति अख्तियारको आँखाको कसिङ्गर हुनलाई । बाँचुन्जेल मस्ताराम उग्रायो । ज्यान दरो, आवाज खरो, तागत र तरान, प्राण र पाखुरीले साथ दिँदा दिँदै बुद्धिमानी मान्छेले भष्मिभूतस्य देहस्य पुनरागमनम् कुत’ । देह मरेर गएपछि भस्म, खरानी हुन्छ, फेरि फर्किएर आउँदैन । त्यसैले त म भन्छु ‘खाएसार कि लाएसार, मरेपछि लम्पसार’ ।

०००
फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x