सञ्जय साह मित्रप्रस्ताव
“मलाई त तपाईं र मेरो संयोगले एउटा सुयोग्य नागरिक जन्माउन मन लाग्यो । मनमनै तपैँलाई अन्माउन मन लाग्यो ।”

“मेरो र तपाईंको कुरो कति धेरै मिल्छ है ?”
म कुर्सीमा बस्दै गर्दा मैडमले यसरी भन्दा सानो फलामको टुक्रालाई ठुलो चुम्बकले आफूलाई हुत्याए झैँ मेरो मुटुलाई तान्यो । मन तात्यो । “मैडम, श्रीमानसित हजुरको कत्तिको मेल हुन्छ ?” म आफ्नीलाई सम्झँदै फुत्त निकालें ।
“केको मेल ? सधैँ झेल हुन्छ । तगडा झगडाको खेल हुन्छ । मेरो सबै योजना फेल हुन्छ ।” अलिकति आँखा सन्काए झैँ गरी मैडमले मेरो आँखामा आँखा जुधाएर भन्नुभयो ।
अलिक फुर्काउनलाई कुरो तुर्काएँ- “तपाईँ यत्ति राम्री हुनुहुन्छ । विचार झन् महान तर पनि हानाहान ?” मैडमको अनुहारभरि आँखा छ्यापेँ ।
“म नरम श्रीमान् गरम । म मुस्कुराउँछु उहाँ ठुस्कुराउनु हुन्छ । अनि हुँदैन त महाभारत ?” आँखामा चमक र अनुहारमा मुस्कानसहित भन्नुभयो । मैले केही बोलिनँ, आफ्नो दिलको बात खोलिनँ ।
“के तपाईंको बिहे भएको छैन ? देख्दा अनुहार कलिलो छ मन झन् मलिलो छ ।” मैडमले पुनः प्रश्न गरेपछि बोलूँ कि नबोलूँ, मनको कुरो खोलूँ कि नखोलूँ भन्ने भयो ।
“अलिकति भएको छ । म अझ कुमार केटो जस्तै छु । म नरम छु श्रीमती गरम । उसको गल्तीमा मैले नै माफी माग्छु । उसको डरले म भाग्छु । प्रशंसामा कविता लेख्नुपर्छ, त्यसैमा रमिता देख्नुपर्छ ।” मनको धुरीको चुरी कुरो उप्काएँ ।
“तपैँको कथा अजब र बेहबार गज्जब पो छ त ।” मैडमको मूल्याङ्कन आयो ।
नोकरीको अन्तर्वार्ता दिन गएका धेरै जना थियौँ । पालो कुरिरहेकाले कुराकानी गरिरहेका थियौँ । हाम्रो गफमा चियाको चुस्की लिँदै अरुले नि टाइम पास गरिरहेका थिए । म चुपचाप थिएँ । मैडमले सहजभावमा भन्नुभयो- “मलाई त तपाईं र मेरो संयोगले एउटा सुयोग्य नागरिक जन्माउन मन लाग्यो । मनमनै तपैँलाई अन्माउन मन लाग्यो ।”
मैडमको प्रस्ताव सुनेर सबै गलल हाँसे । म चैँ के गरुँ ? सोच्दैछु ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































