के.पी. पाैडेलमान्छे
बुझ्थे भूत भविष्य मौजुद सबै, गर्थे उँचो साधना । नौला शिल्प विकासका कदमका, बन्थे ठुला योजना । सारा तत्त्व पदार्थ जीव भवका, ज्ञाता थिए मानिस । मान्छे बन्न भनेर स्वच्छ मतिले, गर्थे कडा कोसिस ।

(श्रृङ्खलाबद्ध कविताको ८७ भाग)
साँच्चै मानिस पूर्व कालतिरमा, लाग्थे खुबै कर्ममा ।
गर्थे चिन्तन खोज उच्च गतिले, डुब्थे नि सन्धानमा ।।
कैयौँ तथ्य र सत्य छन् भुवनमा, छन् तत्त्व ब्रह्माण्डमा ।
चढ्थे पूर्वज पुष्पयान सहजै, घुम्थे अरू विश्वमा ।।
भिन्नै रूप चरित्रका नरहरू, हुन्थे अरू पिण्डमा ।
गर्छन् तर्क वितर्क आज मनुवा, वेदान्तका आडमा ।।
उम्दा ध्यान विचार युक्ति सिपले, बाँच्थे यहाँ मानव ।
छर्थे ज्ञान विचारले मगजले, अज्ञान हट्थे सब ।।
लामो आयु धरेर यो अवनिमा, गर्थे ठुला उन्नति ।
राख्थे सत्य विचार उच्च तहको, उम्दा थियो सम्मति ।।
चल्थे मानिस सभ्य युक्ति विधिले, उत्सर्गका भावले ।
थप्थे आयु हजार वर्ष तकको, विज्ञानका सूत्रले ।।
हुन्थे धेर जडीबुटी जमिनमा, रोप्थे नि सञ्जीवन ।
गर्थे औषधिमा प्रयोग नरले, धर्थे पुनर्जीवन ।।
धर्तीका नभ पिण्डका नरहरू, संवाद सौदा गरी ।
घुम्थे विश्वहरू यहाँ भुवनका, सङ्घर्ष उम्दा गरी ।।
हावा माध्यम बन्दथ्यो खबरका, सञ्चारका क्षेत्रका ।
डुल्थे विश्व अदृश्य यान विधिले, मान्छे थिए युक्तिका ।।
गाली आसिक रामवाण सरिझैँ, पक्का थियो निश्चित ।
मान्छे जाल र पाप त्यो मगजमा, गर्दैनथे सञ्चित ।।
बुझ्थे भूत भविष्य मौजुद सबै, गर्थे उँचो साधना ।
नौला शिल्प विकासका कदमका, बन्थे ठुला योजना ।।
सारा तत्त्व पदार्थ जीव भवका, ज्ञाता थिए मानिस ।
मान्छे बन्न भनेर स्वच्छ मतिले, गर्थे कडा कोसिस ।।
०००
वि.न.पा.-४, बट्टार, नुवाकोट
मोबाइल नं. ९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest







































