शेषराज भट्टराईबुढेसकालमा तीर्थाटन
वर्तमान विश्वमा यातायात र सञ्चारको सुविधाका कारण गोडा चारेक हप्तामा अर्थात् तीसोटा दिनमा पृथ्वी परिक्रमा गरेर पनि टनका टन तीर्थाटन हत्याउन सकिन्छ ।

बुढेसकाललाई थरथरे, प्रायश्चित र स्याँस्याँ फ्याँफ्याँ काल भने पनि हुन्छ । हड्डीको मासी निख्रिएर कमजोरीले सिङ्गो कद स्याँस्याँ फ्याँफ्याँ वा थरथराएर केही गर्न सकिँदैन भने बल, उमेर छँदा गरेका पाप कर्मको प्रायश्चित पनि तीर्थाटनबाटै चुक्ता गरिन्छ । जिउँदो ज्यान तिघ्रामा त थरथर थियो थियो जिब्रामा पनि हुन्छ । त्यही भएर बूढो ज्यान रुन्छ । तरान निख्रिएर परान फुस्किन मात्रै बाँकी छ भने त्यसलाई बुढेसकाल भनिन्छ । बुढेसकाल तन्नेरी काल भन्दा फरक हुन्छ । तन्नेरी कालमा सबै कुरामा राईँदाई गरिन्छ भने बुढेसकालमा नाइनाइ मात्रै भनिन्छ । तन्नेरी कालमा लवाइखुवाइ प्यारो हुन्छ भने बुढेसकालमा दबाई प्यारो हुन्छ । न थालका थाल दाल खान सकिन्छ न मकै मर्काउन न आँखा तर्काउन न कम्मर मर्काउन न जवाफ लाग्न न जवाफ फर्काउन । कस्तो फसाद भयो यो अवस्था ।
बिना भूकम्प शरीरमा सधैँ दुई तीन रेक्टर स्केलको परकम्पले शरीरका अवयवहरू थरथराइ रहेका हुन्छन् । आँखाले ठिक ठम्याउन सक्दैन भने कानले पनि सुन्न अल्छी मानिरहेको हुन्छ । जिब्रोले प्रष्ट शब्द ओकल्दैन भने नाम मात्रैको नाक पनि सबै निस्क्रिय हुँदा त्यो चाहिँ किन सक्रिय होस् । जे होस् यति खेरको सबै भन्दा शक्तिशाली भनेको माया हो । माया दायाँ बायाँ भएन भने मायाले संसार पिटिदिन सक्छ । मायाले नजिक टाढा छुट्याइ दिन सक्छ । बुढेसकालमा आफ्नो भन्दा आफन्तको पिरलोले पोल्छ । दाना भन्दा नाना प्यारो हुन्छ । वायुगोलाले नसताउने हो भने खाना पनि खानु नपरे हुन्थ्यो झै लाग्छ भने मलमोचन त सोचन कै विषय हुन्छ । नसकेर विस्तारा नै बिगारे पनि बूढाबूढी बाल बच्चाले दुनियाँको नजरबाट सफाइ पाउँछन् भनेपछि कष्ट गरेर किन रोकेर राख्नु पर्यो । के पाप गरेको छ र त्यसलाई नछोड्ने छोडदे भैगयो नि ज्यानलाई पनि हल्का न मच्चिन्छ तहल्का ।
जुनसुकै जातको पनि बुढेसकाल त्यस्तै हो । शरीरको त्वचा खेतको गरा झै अधर निधारमा गनी नसक्नु चाउरीका तरेलीले साम्राज्य कायम गरेको हुन्छ । स्वास प्रस्वासमा फोक्सोको एकाधिकार तोडेर अक्सिजन सिलिण्डरसँग अहिलेका बैंक एक अर्कामा गाँसिएझै मर्ज भएको हुन्छ । प्राकृतिक तरान निख्रिएपछि एक अर्कामा लगनगाँठो कस्दा मरिँदैन कि भन्ने पिरलो टरेर जान्छ तापनि एक दिन त मरेर जान्छ । गरुङ्गो सिसा जडित चस्माले कान, नाक र आँखामा अँगालो हालेको हुन्छ । जाडो र चिसोले नचिहाओस् भनेर पृथ्वीमा भएको सबैभन्दा बाक्लो न्यानो बस्त्रले बेरिन मन लाग्छ । बृद्ध महिला हो भने गाजलु आँखा देखाएर हेरिन मन लाग्छ । त्यस्तै नेता, महानेता, उपनेता परियो भने दुनियाँबाट टेरिन मन लाग्छ । त्यस्तै तरुनी तन्नेरीले धिक्कार्दा आफैँ अकालमा सेरिन मन लाग्छ । शरीरका प्वाल र पाउबाट चिसो पस्छ कि भन्दै ढाक्दा ढाक्दै सिङ्गो तन ठमठम हिँड्नलाई दुई खुट्टाले हाकाहाकी लौरोको मद्दत मागेको हुन्छ ।
यसरी विभिन्न समस्याले जेलिएर सरिसृप प्राणीझै घिस्रिरहेको अवस्थामा सुगर, प्रेसर, थाइराइड, रक्त अल्पता, अनिन्द्रा, बाथ, अनेक जाति प्रजाति, उपजातिका रोगको भारीले दारी र सारी पनि भारी लाग्छ, अनि ज्यानले ठसठस कनि रहेको बेलामा आफ्नै घरको आँगन तीर्थ बन्छ । यस स्थितिमा बुढो गोरु मरेदेखि भकारो खाली हुन्छ त जस्ले पनि भनिहाल्छ भने वरको सिन्को पर कसरी सार्ने ? सारो, गारो, अप्ठ्यारो, कसरी पार गर्ने ? घरले जाजा र बनले आइज आइज भनिरहँदा अटेरी गरेर शेष इच्छा आकांक्षाहरू धावाधावा पुरा गर्न तम्सिँदा अग्र इच्छा मध्ये बुढेसकाल नै भए पनि तीर्थाटन प्रमुख रोजाइमा पर्छ भने त्यसलाई चट्ट माया पनि कसरी मार्ने हो गाँठे एकबारको जुनीमा ।
मान्छे बुढो भए निहु खोज्छ पशु बुढो भए भिर खोज्छ भन्ने भनाइ नेपाली जनमानसमा व्याप्त छ । अप्ठ्यारो भिरालो भूभागले व्यष्ठित नेपाली माटोमा पशु चौपायाहरू बूढो भएपछि आँखा देख्दैनन् अनि आहारा टिप्दै जाँदा आँखाले सहारा दिँदैन अनि भिरबाट खुर्मुरिन्छ । त्यस्तै मान्छे बूढो भएपछि एक थोक भन्यो- अर्को कुरा सुन्छ अनि नभनेका कुरालाई लिएर उही ठूलो हुन्छ र कि तँ छैनस् कि म छैन भन्दै पाखुरा सुर्किन थाल्छ । त्यसैले प्रयुक्त उखान नेपाली समाजमा प्रचलित भएको हो । यस्तो उल्टो हुने भएपछि काम धन्दा चट्ट छोडेर ध्यान अर्के तिर मोडेर तीर्थाटन गर्न जानु भन्ने अनुमति परिवार र समाजले दिने हुनाले नचाहेर पनि स्याँस्याँ, फ्याँफ्याँ, थरथरे कालमा उमेरमा गरेको पापको प्रायश्चित गर्न तीर्थाटन बूढाबूढीको थाप्लामा अटोमेटिक बज्रिएको हो भनौ न ।
धर्मका आधारमा बुढाबुढी दुई प्रकारका हुन्छन्- १. आस्तिक, २. नास्तिक । आस्तिक बूढाबूढीहरू बिहान आँखा खुलेपछि राती ननिदाएसम्म विभिन्न निहुँ पारेर धर्मकर्म गर्न थालि हाल्छन् । गाँस टिप्दा होस् या घाँस टिप्दा पनि रामनामी जपीरहेका हुन्छन् । साइत, कुसाइत, जुराउने, हेर्ने यिनैले हो । हरेक कुरा आउँदा, जाँदा, हिँड्दा, भिँड्दा, गिँड्दा, ल्याउँदा, दिदा जसो गर्दा पनि जे गर्दा पनि मुहुर्त भनेपछि मुच्र्छा पर्छन् । सोमबारे औँसीमा विहान सबेरै उठेर नबोली नुहाउनु पर्छ भन्ने यस्तैले हो । एकादसी, भद्रा, मसान्त, मंगलबार, शनिबार, बार्ने यस्तै आस्तिक बूढाबूढी हुन् जुन सारा श्री सम्पत्ति सिनित्त सिध्याएर पनि तीर्थाटन तीर्थाटन भन्दा भन्दै तीर्थैमा आफ्नो चोला खोलामा बिसर्जन गर्न निको मान्छन् । त्यस्तै नास्तिक बुढाबुढी त्यस्ता पात्र हुन जुन धर्मलाई भन्दा कर्मलाई मान्छन् । कर्म नै सर्वोपरि ठान्छन् र कर्म अनुसार नै तिघ्रा बटार्छन् । हिंस्रक र अधर्मी बन्नु नै आफ्नो पराक्रम ठान्छन् । तीर्थ, व्रत, धर्मका नाममा यिनले धरो पनि खोट्याउँदैनन् । परलोकलाई मिथ्या ठान्छन् र यस्ता कुरा गर्नेलाई उसतै परे ढुङ्गाले हान्छन् । मान्छेले बेस्सरी रिसाएर चुर हुँदै पापी, अधर्मी, असती, भन्ने यस्तैलाई हो जो सत्कार, संस्कृतिलाई पनि नमस्कार होइन तिरस्कार गर्न रुचाउँछन् ।
खास गरी छोरा छोरी हुर्किए फुर्किए र पाखुरा सुर्किए पछि घरधन्दा तिनै सन्तानको काँधमा थोपरेर अर्थात् हेण्डओभर गरेर आफू चाहिँ धर्मका नाममा जता मन लाग्यो तेतै भौतारिनुलाई तीर्थाटन भनिन्छ । भन्न त चारधाम पाँच धाम गरेको पनि भन्छन् तर धामले आङमा घाम नलागे पछि शून्य उपलब्धि भन्दा समय कटाउने, आयु घटाउने हुनाले तीर्थाटन फुर्सद हुनेले उमेर छँदै सिनित्त सिध्याए पनि काममा अति नै जोतिनेहरूले उमेरको उत्तरार्ध कालमा तीर्थ व्रत गर्ने चलन धामको प्रादूर्भाव भएपछि नै प्रचलनमा आएको हो । वर्तमान विश्वमा यातायात र सञ्चारको सुविधाका कारण गोडा चारेक हप्तामा अर्थात् तीसोटा दिनमा पृथ्वी परिक्रमा गरेर पनि टनका टन तीर्थाटन हत्याउन सकिन्छ । तैपनि दिन उब्रिएर के गरौँ, कसो गरी समय कटाऔँ भनेर छन्द न बन्दको छटपटी टार्नलाई तीर्थाटन ज्यादै उत्तम मानिँदै आएको छ । जे भए पनि हाड, मासु, विवेक, बुद्धि, श्रव्यदृश्य, श्रवणशक्ति, चालढाल, कमजोर भएका बखतमा घर र आफन्तको भर छोडेर तीर्थाटन गर्नुभन्दा जीवनको पूर्वार्ध कालमा नै तीर्थाटनको काम तुर्न पाए सिंगो सक्कल र यो डेढ अक्कल ज्यानले सुख सयल पाउँथ्यो कि भन्ने एकलकाँटे धारणा मात्रै । सुन्नु सबको गर्नु मनको भन्छन् तै पनि मर्नु, काम तुर्नु र आँखा तर्नुभन्दा अगाडि विचार गर्नु है ।
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest








































