गायत्री परिरोशनीढाल्ने अनि ढलाउने खेल
ढल्ने अनि ढलाउने खेलमा हामीले यो सम्झने गरौँ है एक- पटक हामी सबै ढल्नैपर्छ आ-आफ्नो मृत्युसंस्कार अनुसार कोही चितामा जल्नैपर्छ । कोही माटोमुनि गल्नैपर्छ । जय होस्- ढल्ने अनि ढलाउने खेल ।

नेपाली माटोमा, नेपाली मन मस्तिष्कमा
निकै फस्टायो यो खेल ।
वा क्या कमालको छ यो खेल
मर्द हौँ हामी, वीर गोर्खाली हाैँ हामी
त्यसैले त, शहिदका सपना मात्र होइन
सालिक समेत ढाल्यौँ
इमान्दारिता र नैतिकता ढाल्यौँ
सदाचारलाई पचाइयो
न्यायको अन्त्येष्टि गर्दै
अन्यायलाई बचाइयो ।
त्यति मात्र कहाँ हो र ?
जनमतलाई किन कदर गर्नू ?
आस्था र विश्वास सबै सजिलै ढालिन्छ ।
संविधान भन्ने कुरो रक्षा गर्ने होइन,
जाडोमा आगो ताप्नकै लागि भए पनि
सबै एकजुट भएर बालिन्छ ।
किनकि यो पनि
ढाल्ने अनि ढलाउने खेलको उत्कृष्ट नियम हो ।
हाम्रो प्रगति यही ढाल्ने अनि
ढलाउने खेलमा व्यापक बिस्तार भएको छ ।
आफ्नो टाउकोमा चोट लाएपछि
अरुका टाउका त हुन् भन्दै
बेल सरी फोरिएको छ ।
मान्यवरहरूको महान् मस्तिष्कमा
काम केही नगरी,
सत्ता, शक्ति अनि धन कमाउने
अत्याधुनिक जुक्तिले भरिएको छ ।
खेल नै उत्कृष्ट छ ,
ढाल्न अनि ढलाउन किन डराउनु ?
त्यसैले त ढलाउने काममा नै प्रतिष्पर्धा भएकै छ ।
सडकमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे मात्र होइन
जेब्राक्रसमा बेतवासका खुट्टा भएका
दुईखुट्टेसमेतलाई झ्याप्पै ढालिन्छ ।
आकाशमा उड्ने चिल, बाज, परेवा मात्र होइन,
निकै ठूला पखेटा भएका,
बोइङ्हरूलाई समेत भएभरको मुढे बल लगाई
अनकन्टार खोँचमा झ्याप्पै फालिन्छ ।
कोही थाकिदैँन यो खेल खेल्दा
कोही डराइदैन यो खेल हेर्दा
सबैले जित्ने महान् खेल भनेकै
ढाल्ने अनि ढलाउने खेल हो ।
त्यसैले त महामानवका महान् मस्तिष्कमा
सत्ता ढल्दा, सरकार ढल्दा,
संविधानलाई कारागारमा राखी
अन्यायलाई सिंहदरबार छिराउँदा
ताली पिट्छन्, सिठी बजाउँछन् ।
त्यो भन्दा मज्जा त झन्
देशलाई ढलाउँदा,
अविकासलाई फलाउँदा
इमान्दारितालाई गलाउँदा,
सत्यलाई जलाउँदा मान्नुपर्ने होइन र ?
किन भुसुक्कै बिर्सेका हुन् ?
अलौकिक महामानव हौं,
हामी सबै नेपालीहरू
देशमा रमिता चल्दा
हामीले ताली पिट्दै रमिते बन्छौँ ।
सिद्धान्त र वादको अस्तित्व ढलाउँदा
गर्वले खुशीयाली मनाउँछौँ ।
स्थायी सरकारको शाब्दिक जालो थापेर
छेपारे सरकारको समृद्धि ल्याउँछौ ।
अनि गछौँ भाषणमा सगरमाथा भन्दा ठूला विकास ।
ढल्ने अनि ढलाउने खेलमा
हामीले यो सम्झने गरौँ है
एक- पटक हामी सबै ढल्नैपर्छ
आ-आफ्नो मृत्युसंस्कार अनुसार
कोही चितामा जल्नैपर्छ ।
कोही माटोमुनि गल्नैपर्छ ।
जय होस्- ढल्ने अनि ढलाउने खेल ।
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































