सञ्जय साह मित्रफगुआको संस्कृति र समाज
निथ्रुक्क रङमा भिजेर आफैँलाई चिन्न नसक्ने भएर मानिसहरूले होलीलाई रङ र अबिरको पर्व हो भनेर यस संस्कृतिमा नरमाउनेलाई पनि रमाऊँ रमाऊँ पारिदिन्छन् ।

समाज र संस्कृतिबिच अभेद्य सम्बन्ध छ । समाजको स्वरुपमा परिवर्तन आएसँगै सामाजिक संस्कृतिको स्वरुपमा विस्तारै परिवर्तन आउँछ । दर्शनशास्त्रीहरू कुन कुरामा सहमत छन् भने समाजको परिवर्तनको अन्तर्य त्यसको संस्कृतिमा देख्न सकिन्छ । अर्थात् कुनै पनि समाज कतिको परिवर्तन भएको छ भन्ने कुराको मापन त्यस समाजको संस्कृतिमा आएको परिवर्तनले देखाउँछ । यसै कारण समाज यदि परिवर्तनशील छ भने निसन्देह संस्कृति पनि परिवर्तनशील छ । यसले यो पनि स्पष्ट पार्दछ कि समाजले कति परिवर्तन गरेको छ ? समाजको संस्कृतिको अध्ययन गर्दा थाहा हुन्छ ।
समाजमा परिवर्तनका कारक तत्त्वहरू के के हुन् ? अन्य धेरै कुरा हुन सक्लान् तर मूलमा अधिकांशले भन्ने कुरा दुइटा छन्- शिक्षा र आर्थिक उन्नति । शिक्षालाई चेतनासित पनि जोड्न सकिन्छ र आर्थिक उपार्जनसित पनि संस्कृतिको सम्बन्ध हुन्छ । एक जना मानिस यदि जीवनभर शिक्षा र शिक्षित मानिसको सम्पर्कमा पुग्दैन भने उसले बुझेको र मान्ने संस्कृतिको स्वरुप उही रहन सक्छ तर यदि सोही मानिसको आर्थिक हैसियतमा अकल्पनीय परिवर्तन हुन्छ भने उसले मान्दै आएको संस्कृतिमा केही परिवर्तन गरेर मनाउन सुरु गर्दछ । यसकारण यो कुरा पनि सही हो कि समाजको अमूल्य सम्पत्ति र पहिचानको रुपमा रहेको संस्कृतिको परिवर्तन समाजसितै हुने गर्दछ । समाजको शैक्षिक र आर्थिक अवस्थामा परिवर्तन हुँदा सांस्कृतिक अवस्थामा स्वतः परिवर्तन हुन्छ । अतः समाज र संस्कृति तथा समाज र अर्थतन्त्र अनि अर्थतन्त्र र संस्कृति एकअर्काबिच अन्योन्याश्रित सम्बन्ध राख्ने सामाजिक तत्त्वहरू हुन् ।
संस्कृति समाजको पहिचान हो । नेपाली समाजलाई चिनाउने विशिष्ट संस्कृतिहरू अनेक छन् । कतिपय संस्कृतिको स्थानीय रुप फरक पनि छ । कतिपय संस्कृति नेपालको केही सीमित भूगोलमा मात्र मनाइन्छन् वा मानिन्छन् । यसैले नेपाललाई सांस्कृतिक विविधताको देश भनिएको हो । र, नेपालको विविध संस्कृतिमध्ये एक होली पर्व पनि हो । होली पर्वलाई विभिन्न समुदायले मान्ने गरिएको भए पनि मुख्य गरी हिन्दु समुदायले मान्ने गरेका छन् । यसलाई सनातन संस्कृति पनि मानिएको छ । कतिपयले यसलाई होलिका र रामभक्त प्रह्लादको धार्मिक मिथकसित पनि जोड्दछन् । होलिकादहनको खुसियालीमा होलिकादहनको भोलिपल्ट होली पर्व मनाइएको हो । तर हाम्रो समाजले भने होली त श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको दिनदेखि नै मान्ने गरेको छ र समापन चाहिँ होलिकादहन गरी त्यसको भोलिपल्ट धूमधामसित मनाएर गर्ने गरेको छ । पहाडमा भने ठाउँअनुसार फरक तिथिदेखि होली मनाएको पाइन्छ । काठमाडौँ उपत्यकामा वसन्तपुरले चिर ठड्याएपछि होली सुरु भएको मानिन्छ । र, होलिकादहनसँगै होलीको समापन हुन्छ । होलिकादहन फागुन पूणर्िमाको दिन नै गर्ने चलन करिब सबैतिर रहेको छ ।
तराई मधेशमा होलिकादहन फागुन शुक्ल पक्ष पूर्णिमा समाप्त हुन थालेको समयमा गरिन्छ । यदि आइतवार, मंगलवार र विहीवार परेको छ भने तिथि कटाउन सकिन्छ होलिकादहनको लागि र होली खेल्नका लागि पनि । यस वर्ष सोमवार र मंगलवार दुई दिन पूर्णिमा रहेको क्यालेन्डरहरूले देखाउँदा मंगलवार होलिकादहन नहुने भएकोले होलिकादहन सोमवार नै गर्ने तर होली भने बुधवार हुने भएको छ । यसरी सर्वसाधारणले भने सोमवारदेखि बुधवारसम्म होली खेल्न पाउने भएका छन् । पहाडमा होली खेलेको दिन शिक्षित समुदायले मधेशमा पनि होली खेल्दछन् । अनि आफ्नो पालो परेको दिन त स्वतः होली खेल्नु स्वाभाविक हो । होलिकादहनसँगै होली मनाउन सुरु हुन्छ र होलिकादहन भएको ठाउँमा बाँकी रहेको खरानी धुलो उडाएपछि होली समाप्त हुन्छ ।
होलिकादहनसँग सम्बन्धित भएर यस पर्वलाई होली भनिएको हो । वास्तवमा यो फगुआ हो । होली भएको भए होलिकादहनको दिन मात्र मनाइन्थ्यो । यसको प्रमाणको रुपमा शुभारम्भको समयलाई लिन सकिन्छ । श्रीपञ्चमीको दिन जब किसानहरूले गर्नुपर्ने सांस्कृतिक काम पूरा गर्दछन् तब त्यसपछि डम्फको तालमा जुन गीत गाउन थाल्दछन् त्यसलाई पहिलेदेखि नै फगुआ भनिँदै आएको छ । अर्थात् माघ समाप्त हुन दश दिन बाँकी रहँदा नै औपचारिक रुपमा फगुआको गीत गाउन सुरु हुन्छ र फागुन शुक्ल पूर्णिमाको कम्तीमा भोलिपल्टसम्म गाइन्छ । फगुआको दिन आइतवार, मंगलवार वा विहीवार पर्न गएमा भोलिपल्ट नै होली मनाउने गरिन्छ, यस वर्षजस्तै । अझ कतिपय गाउँमा थप एक दिन होली मनाउने चलन रहेको छ । जबसम्म होलिकादहनको धुलो उडाइँदैन तबसम्म गाउँमा चैत आएको मानिन्न र गाउँमा होली खेलिन्छ नै ।
फागुनमा गाइने विशेष लोकगीत पनि फगुआ हो । फगुआको गीतलाई फाग पनि भनिन्छ । मधेशी जनजीवनको लागि दुई पर्वमध्ये एक फगुआ हो । पहिलो ठूलो पर्व छठ र दोस्रो ठूलो पर्व फगुआमध्ये छठमा बन्धनै बन्धन हुन्छ भने फगुआमा अनन्त स्वतन्त्रता हुन्छ । फगुआलाई हास-परिहास, जिस्क्याइ तथा व्यंग्य प्रहारको पर्वको रुपमा पनि लिइन्छ । एउटा उखान छ – फागुनमे बुढवा भी देओर होखलई । यसको भाव के हो भने फागुन महिनाभर बूढो मानिस पनि देवर हुन्छन् । मतलब यो कि एकले अर्कालाई जिस्क्याउन नाताको बन्धन फागुन महिनामा हुँदैन ।
यस पर्वलाई आत्मीयता तथा सौहाद्र्रता र समन्वयको पर्व पनि समाजले परम्परादेखि मान्दै आएको छ । कुनै कारणले वर्षभरि एकापसमा बोलचाल नभएका मानिसहरू पनि यस दिन एक अर्कालाई रङ र अबिर लगाउँछन् । त्यसपछि एकअर्कालाई अङ्कमाल गर्छन् । शब्दले शुभकामना आदानप्रदान गर्दछन् । एकले अर्कोलाई अलिकति बदाम, अलिकति छोहरा, किसमिस, सुपारी थमाउँछन् । यसलाई होलीको सगुन भनिन्छ । यसै गरी एक अर्काकहाँ गएर खाना खाने गरिन्छ । यस दिन हरेकको घरमा साकाहार तथा मांसाहार दुवै क्षेत्रका उत्तम भोजनको अनेक व्यञ्जन तयार पारिएका हुन्छन् र अलिकति भए पनि स्वेच्छाले खानुपर्ने हुन्छ । यसरी कैयौँ घरपरिवारमा फगुआको दिन एकले खानुपर्ने र आफूकहाँ पनि कैयौँ मानिसलाई खुवाउनुपर्ने हुन्छ । फगुआलाई भोज्यपदार्थको दृष्टिकोणले उत्कर्ष मानिन्छ र पेयपदार्थको दृष्टिले पनि उत्कर्ष मानिन्छ ।
यस दिन अलिकति लट्ठिनु पर्दछ भनिन्छ । यसकारण जो कहिल्यै कुनै नसा लिँदैनन्, तिनीहरूले पनि अलिकति कुस्मा पिउनुपर्दछ । दूधमा विभिन्न जडीबुटी हालेर बनाइने कुस्मालाई शुद्ध साकाहारी नसालु पदार्थ मानिन्छ र यस दिन देउतालाई समेत चढाउने गरिन्छ । होलीको दिन पेय पदार्थको खोलो नै बगाइन्छ भन्दा पनि हुन्छ । हार्ड वा सफ्ट ड्रिंक्स मात्र होइन, दुवै नलिनेले बजारमा आजभोलि जे जे बन्द डिब्बामा पिउनलाई प्रचलनमा आएका छन्, सबै पिउँछन् । घरमा खाना खान आउनेलाई हुनेखानेले सम्बन्धितको रुचिलाई ख्याल गरेर पिउन दिने आम प्रवृत्ति रहेको छ । यसरी यो पिउने र पिलाउने दृष्टिकोणले पनि उत्कर्षको उत्सव हो ।
सक्नेले नयाँ कुर्ता, धोती वा सुरुवाल तथा रुचि नहुने वा नसक्नेले कम्तीमा नयाँ गञ्जी लाएर त्यसमा नै होलीको रङ्ग लगाउँछन् । दिउँसोतिर एकले अर्कालाई रङ्ग छ्याप्दै मुखमा अबिर दल्दै युवाहरूको समूह गाउँमा डुल्दछन् । प्रौढहरू डम्फु बजाएर झुम्दै फगुआ गीत गाउँछन् । अबिर लुटाउँछन् र जीवनको आनन्द उत्सवमा डुबुल्की लगाउँछन् । दिनभर निथ्रुक्क रङमा भिजेर आफैँलाई चिन्न नसक्ने भएर मानिसहरूले होलीलाई रङ र अबिरको पर्व हो भनेर यस संस्कृतिमा नरमाउनेलाई पनि रमाऊँ रमाऊँ पारिदिन्छन् । सक्नेको लागि होली खर्चको असिम पर्व हो भने नसक्नेको लागि पनि एउटा सीमामा रहेर परम सुखानुभूति गर्ने अवसर हो । समग्रमा होली सामाजिक पर्व हो र संस्कृतिको समुच्च्य पनि हो । यसलाई मिलेर मनाऔँ, स्वास्थ्यप्रति सचेत रहेर ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































