साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फगुआको संस्कृति र समाज

निथ्रुक्क रङमा भिजेर आफैँलाई चिन्न नसक्ने भएर मानिसहरूले होलीलाई रङ र अबिरको पर्व हो भनेर यस संस्कृतिमा नरमाउनेलाई पनि रमाऊँ रमाऊँ पारिदिन्छन् ।

Nepal Telecom ad

समाज र संस्कृतिबिच अभेद्य सम्बन्ध छ । समाजको स्वरुपमा परिवर्तन आएसँगै सामाजिक संस्कृतिको स्वरुपमा विस्तारै परिवर्तन आउँछ । दर्शनशास्त्रीहरू कुन कुरामा सहमत छन् भने समाजको परिवर्तनको अन्तर्य त्यसको संस्कृतिमा देख्न सकिन्छ । अर्थात् कुनै पनि समाज कतिको परिवर्तन भएको छ भन्ने कुराको मापन त्यस समाजको संस्कृतिमा आएको परिवर्तनले देखाउँछ । यसै कारण समाज यदि परिवर्तनशील छ भने निसन्देह संस्कृति पनि परिवर्तनशील छ । यसले यो पनि स्पष्ट पार्दछ कि समाजले कति परिवर्तन गरेको छ ? समाजको संस्कृतिको अध्ययन गर्दा थाहा हुन्छ ।

समाजमा परिवर्तनका कारक तत्त्वहरू के के हुन् ? अन्य धेरै कुरा हुन सक्लान् तर मूलमा अधिकांशले भन्ने कुरा दुइटा छन्- शिक्षा र आर्थिक उन्नति । शिक्षालाई चेतनासित पनि जोड्न सकिन्छ र आर्थिक उपार्जनसित पनि संस्कृतिको सम्बन्ध हुन्छ । एक जना मानिस यदि जीवनभर शिक्षा र शिक्षित मानिसको सम्पर्कमा पुग्दैन भने उसले बुझेको र मान्ने संस्कृतिको स्वरुप उही रहन सक्छ तर यदि सोही मानिसको आर्थिक हैसियतमा अकल्पनीय परिवर्तन हुन्छ भने उसले मान्दै आएको संस्कृतिमा केही परिवर्तन गरेर मनाउन सुरु गर्दछ । यसकारण यो कुरा पनि सही हो कि समाजको अमूल्य सम्पत्ति र पहिचानको रुपमा रहेको संस्कृतिको परिवर्तन समाजसितै हुने गर्दछ । समाजको शैक्षिक र आर्थिक अवस्थामा परिवर्तन हुँदा सांस्कृतिक अवस्थामा स्वतः परिवर्तन हुन्छ । अतः समाज र संस्कृति तथा समाज र अर्थतन्त्र अनि अर्थतन्त्र र संस्कृति एकअर्काबिच अन्योन्याश्रित सम्बन्ध राख्ने सामाजिक तत्त्वहरू हुन् ।

संस्कृति समाजको पहिचान हो । नेपाली समाजलाई चिनाउने विशिष्ट संस्कृतिहरू अनेक छन् । कतिपय संस्कृतिको स्थानीय रुप फरक पनि छ । कतिपय संस्कृति नेपालको केही सीमित भूगोलमा मात्र मनाइन्छन् वा मानिन्छन् । यसैले नेपाललाई सांस्कृतिक विविधताको देश भनिएको हो । र, नेपालको विविध संस्कृतिमध्ये एक होली पर्व पनि हो । होली पर्वलाई विभिन्न समुदायले मान्ने गरिएको भए पनि मुख्य गरी हिन्दु समुदायले मान्ने गरेका छन् । यसलाई सनातन संस्कृति पनि मानिएको छ । कतिपयले यसलाई होलिका र रामभक्त प्रह्लादको धार्मिक मिथकसित पनि जोड्दछन् । होलिकादहनको खुसियालीमा होलिकादहनको भोलिपल्ट होली पर्व मनाइएको हो । तर हाम्रो समाजले भने होली त श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको दिनदेखि नै मान्ने गरेको छ र समापन चाहिँ होलिकादहन गरी त्यसको भोलिपल्ट धूमधामसित मनाएर गर्ने गरेको छ । पहाडमा भने ठाउँअनुसार फरक तिथिदेखि होली मनाएको पाइन्छ । काठमाडौँ उपत्यकामा वसन्तपुरले चिर ठड्याएपछि होली सुरु भएको मानिन्छ । र, होलिकादहनसँगै होलीको समापन हुन्छ । होलिकादहन फागुन पूणर्िमाको दिन नै गर्ने चलन करिब सबैतिर रहेको छ ।

तराई मधेशमा होलिकादहन फागुन शुक्ल पक्ष पूर्णिमा समाप्त हुन थालेको समयमा गरिन्छ । यदि आइतवार, मंगलवार र विहीवार परेको छ भने तिथि कटाउन सकिन्छ होलिकादहनको लागि र होली खेल्नका लागि पनि । यस वर्ष सोमवार र मंगलवार दुई दिन पूर्णिमा रहेको क्यालेन्डरहरूले देखाउँदा मंगलवार होलिकादहन नहुने भएकोले होलिकादहन सोमवार नै गर्ने तर होली भने बुधवार हुने भएको छ । यसरी सर्वसाधारणले भने सोमवारदेखि बुधवारसम्म होली खेल्न पाउने भएका छन् । पहाडमा होली खेलेको दिन शिक्षित समुदायले मधेशमा पनि होली खेल्दछन् । अनि आफ्नो पालो परेको दिन त स्वतः होली खेल्नु स्वाभाविक हो । होलिकादहनसँगै होली मनाउन सुरु हुन्छ र होलिकादहन भएको ठाउँमा बाँकी रहेको खरानी धुलो उडाएपछि होली समाप्त हुन्छ ।

होलिकादहनसँग सम्बन्धित भएर यस पर्वलाई होली भनिएको हो । वास्तवमा यो फगुआ हो । होली भएको भए होलिकादहनको दिन मात्र मनाइन्थ्यो । यसको प्रमाणको रुपमा शुभारम्भको समयलाई लिन सकिन्छ । श्रीपञ्चमीको दिन जब किसानहरूले गर्नुपर्ने सांस्कृतिक काम पूरा गर्दछन् तब त्यसपछि डम्फको तालमा जुन गीत गाउन थाल्दछन् त्यसलाई पहिलेदेखि नै फगुआ भनिँदै आएको छ । अर्थात् माघ समाप्त हुन दश दिन बाँकी रहँदा नै औपचारिक रुपमा फगुआको गीत गाउन सुरु हुन्छ र फागुन शुक्ल पूर्णिमाको कम्तीमा भोलिपल्टसम्म गाइन्छ । फगुआको दिन आइतवार, मंगलवार वा विहीवार पर्न गएमा भोलिपल्ट नै होली मनाउने गरिन्छ, यस वर्षजस्तै । अझ कतिपय गाउँमा थप एक दिन होली मनाउने चलन रहेको छ । जबसम्म होलिकादहनको धुलो उडाइँदैन तबसम्म गाउँमा चैत आएको मानिन्न र गाउँमा होली खेलिन्छ नै ।

फागुनमा गाइने विशेष लोकगीत पनि फगुआ हो । फगुआको गीतलाई फाग पनि भनिन्छ । मधेशी जनजीवनको लागि दुई पर्वमध्ये एक फगुआ हो । पहिलो ठूलो पर्व छठ र दोस्रो ठूलो पर्व फगुआमध्ये छठमा बन्धनै बन्धन हुन्छ भने फगुआमा अनन्त स्वतन्त्रता हुन्छ । फगुआलाई हास-परिहास, जिस्क्याइ तथा व्यंग्य प्रहारको पर्वको रुपमा पनि लिइन्छ । एउटा उखान छ – फागुनमे बुढवा भी देओर होखलई । यसको भाव के हो भने फागुन महिनाभर बूढो मानिस पनि देवर हुन्छन् । मतलब यो कि एकले अर्कालाई जिस्क्याउन नाताको बन्धन फागुन महिनामा हुँदैन ।

यस पर्वलाई आत्मीयता तथा सौहाद्र्रता र समन्वयको पर्व पनि समाजले परम्परादेखि मान्दै आएको छ । कुनै कारणले वर्षभरि एकापसमा बोलचाल नभएका मानिसहरू पनि यस दिन एक अर्कालाई रङ र अबिर लगाउँछन् । त्यसपछि एकअर्कालाई अङ्कमाल गर्छन् । शब्दले शुभकामना आदानप्रदान गर्दछन् । एकले अर्कोलाई अलिकति बदाम, अलिकति छोहरा, किसमिस, सुपारी थमाउँछन् । यसलाई होलीको सगुन भनिन्छ । यसै गरी एक अर्काकहाँ गएर खाना खाने गरिन्छ । यस दिन हरेकको घरमा साकाहार तथा मांसाहार दुवै क्षेत्रका उत्तम भोजनको अनेक व्यञ्जन तयार पारिएका हुन्छन् र अलिकति भए पनि स्वेच्छाले खानुपर्ने हुन्छ । यसरी कैयौँ घरपरिवारमा फगुआको दिन एकले खानुपर्ने र आफूकहाँ पनि कैयौँ मानिसलाई खुवाउनुपर्ने हुन्छ । फगुआलाई भोज्यपदार्थको दृष्टिकोणले उत्कर्ष मानिन्छ र पेयपदार्थको दृष्टिले पनि उत्कर्ष मानिन्छ ।

यस दिन अलिकति लट्ठिनु पर्दछ भनिन्छ । यसकारण जो कहिल्यै कुनै नसा लिँदैनन्, तिनीहरूले पनि अलिकति कुस्मा पिउनुपर्दछ । दूधमा विभिन्न जडीबुटी हालेर बनाइने कुस्मालाई शुद्ध साकाहारी नसालु पदार्थ मानिन्छ र यस दिन देउतालाई समेत चढाउने गरिन्छ । होलीको दिन पेय पदार्थको खोलो नै बगाइन्छ भन्दा पनि हुन्छ । हार्ड वा सफ्ट ड्रिंक्स मात्र होइन, दुवै नलिनेले बजारमा आजभोलि जे जे बन्द डिब्बामा पिउनलाई प्रचलनमा आएका छन्, सबै पिउँछन् । घरमा खाना खान आउनेलाई हुनेखानेले सम्बन्धितको रुचिलाई ख्याल गरेर पिउन दिने आम प्रवृत्ति रहेको छ । यसरी यो पिउने र पिलाउने दृष्टिकोणले पनि उत्कर्षको उत्सव हो ।

सक्नेले नयाँ कुर्ता, धोती वा सुरुवाल तथा रुचि नहुने वा नसक्नेले कम्तीमा नयाँ गञ्जी लाएर त्यसमा नै होलीको रङ्ग लगाउँछन् । दिउँसोतिर एकले अर्कालाई रङ्ग छ्याप्दै मुखमा अबिर दल्दै युवाहरूको समूह गाउँमा डुल्दछन् । प्रौढहरू डम्फु बजाएर झुम्दै फगुआ गीत गाउँछन् । अबिर लुटाउँछन् र जीवनको आनन्द उत्सवमा डुबुल्की लगाउँछन् । दिनभर निथ्रुक्क रङमा भिजेर आफैँलाई चिन्न नसक्ने भएर मानिसहरूले होलीलाई रङ र अबिरको पर्व हो भनेर यस संस्कृतिमा नरमाउनेलाई पनि रमाऊँ रमाऊँ पारिदिन्छन् । सक्नेको लागि होली खर्चको असिम पर्व हो भने नसक्नेको लागि पनि एउटा सीमामा रहेर परम सुखानुभूति गर्ने अवसर हो । समग्रमा होली सामाजिक पर्व हो र संस्कृतिको समुच्च्य पनि हो । यसलाई मिलेर मनाऔँ, स्वास्थ्यप्रति सचेत रहेर ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x