विनाेद खनालबाटुलीको बिहे
बिहेको रोटी, चिउरा, सब्जी, चटनी, बुनियाँ, पुलाउ अनि पार्टीको मासु र रक्सी कसले छोडोस्, सबैले सक्दो हसुरे । बेहुली अन्भाई सक्दा पनि हसुर्ने काम सकिएको थिएन ।

यसपालि भने ठुलाघरे बाले बाटुलीको बिहे गरेरै छाड्ने भए । हुन त बाटुलीको बिहे गर्ने उमेर त्यति बितिहालेको त होइन, भर्खर चालीस पुगेर एकचालीस मात्र लाग्दै थिइन् । तर ठुलाघरे बालाई छोरीको उमेर छिप्पिएला भन्नेभन्दा पनि आफू मरिजाइएला कि भन्ने पीर चैं बढी थियो ! बाटुलीको रुप पनि नराम्रो चैं होइन नि, उनी ‘ब्युटी’ थिइन् । बयान त के गरौं, तैपनि डेराडेरा आँखा, बाटुलो अनुहार भएकी बाटुलीले कोदालीपाते पहेंला दाँत देखाएर ङिच्च गर्दा जस्तै मैं हुँ भन्ने केटाहरू पनि लठ्ठ पर्थे । यस्ती ब्युटी बाटुलीलाई बिहे गर्ने केटो पनि ‘हेन्डसम’ नै हुनुपर्छ भन्ने कुरा त तपाईंहरूले सहजै अनुमान गरिसक्नु भो होला ।
ठुलाघरे बाले बल्लबल्ल गर्ने बाटुलीको बिहे धुमधामका साथ नै गर्ने परे । नगरुन् पनि किन ! गोडा धोएर पानी खाएर मुक्ति हुने र कन्यादान गरेर सम्पूणर् पाप मोचन गर्ने छोरी यिनै थिइन् । कान्छी छोरीले तेह्रै बर्षमा पोइ खोजेर चम्पट ठोकेपछि उनको विकल्पै थिएन । त्यसकारण धन जुटाएर मन फुकाएर बिहे गर्ने स्टीमेट बाँधे उनले । बजारमा गएर हजारथोक सौदा गरे । ठुलाबासँग धनको के कमी ! हाले पाँच पर्नेलाई दस । ठुलाबाले किनेका सौदाहरूको सूची बनाउनु नै हो भने चार नंबरे कपि भरिने नै हो तर त्यो झन्झट कसले गरोस्, अहिलेका केटाकेटीलाई दुईमा दुई जोडे कति हुन्छ भन्दा त क्याल्कुलेटर नै थिच्नु पर्छ । तर ठुलाबाले त्यत्रो बिहेको खर्च मुखार्जी नै फस्र्याए । उनले बिहेमा गरेका सौदाहरू यिनै थिए, सेललाई तेल, डाल्डा, बेसन, सुजी, घर पोत्ने माटो, पुरीलाई आँटो, अदुवाको सुठो, तेजपत्ताको मुठो, सम्धीलाई टोपी, सब्जीलाई कोपी, सिन्केधुप, खोर्सानीको धुलो, रङ्गिन कागज, तिल, टोम्यटो, पोट्याटो आदि आदि । सब्जीलाई जीरादेखि बरनीलाई पिरासम्मको व्यवस्था मिलाएका थिए ठुलाबाले ।
आखिर बिहेको दिन निश्चित नै थियो, असारमा कसार खान पाउँदा सबै रमाएकै थिए । दुलाहा कस्ता होलान् ? भन्ने खुल्दुली त सबैलाई छँदैथियो । आखिर जन्ती लिएर दुलाहा आइपुगे, दुलाहा त दुलै दुला भएका पो रहेछन् । आजभन्दा ५० बर्ष पहिले जब उनी सात बर्षका थिए रे, माइले भेटेर भाइसगैं झन्डै मरेका रे तर भाग्यमानी रहेछन् बरा, भाइ चैं मरेछन् उनी चैं बाँचेछन् र बाटुलीको पोइ हुन पाए । जोडिएका आँखीभुइँमुनि बल्ढ्याङ्ग्रा जत्रा आँखा, ठूलो हाब्रेमुखमाथि कैलाकैला जुँघा भएका बेहुलालाई देख्दा कति केटीहरूले राल नै काढेका थिए होलान् ! त्यसमा पनि आँखा झम्याकझिमिक गरेपछि त झन् के, केटीहरू भुतुक्कै !
स्वयंवरपछि बेहुलालाई गोडाधुने ठाउँमा लगियो र गोडाधुने कार्यको थालनी भयो । गोडा धोई सकेर ढोग्न खोज्दा बेहुलाले यसो खुट्टा चलाएछन्, नङ्ले जेठानको निधारको छाला प्वाक्कै उक्काएछ, दुई/तीन जनाले बोरामा हालेर उनलाई हस्पिटलतिर कुदाए । गोडा धुनेहरू होशियारपूर्वक गोडा धुँदैथिए तर बेहुलालाई चैं पीर अर्कै कुराको परेको थियो । गोडा धुँदा जुत्ता खोल्न लगाए, त्यही पनि नचिनेको ठाउँमा, मान्छेको कुँडुलाले केही देख्न दिने होइनन् । जिन्दगीमा पहिलोपल्ट लगाएको जुत्ता कसैले चोरी देला कि भन्ने पीरले बेहुलालाई दिसा आउन आँटेको थियो ।
जेनतेन गोडा धुने काम सकियो । जग्गेमा नै जुत्ता देख्दा बेहुलाको मुड सरकारी खर्चमा विदेश भ्रमणमा चान्स पाएका नेताको जस्तै भयो । जग्गेका कामहरू हुँदै गए, पुरेत बाले “पानी समात्नु पर्यो” भन,े बेहुलाले त बेहुलीलाई पो च्याप्प समाते । लोकन्तेहरू परपर हच्के, जन्ती र घरगाउँलेहरू लडीलडी हाँस्न थाले । एकजना जन्ती गएर छुट्ट्याउन खोजेको बेहुलाले मान्दै मानेनन्; “पुरेत बाले समात भनेर पो समातेको त उनले छोड नभनी कहाँ छोड्छु” भनेर अड्डी कसेपछि पुरेत बाले “छोडिदिउँ” भनेपछि मात्र स्थिति साम्य भयो ।
त्यसपछि बिहेका अन्य कार्यक्रमहरू सम्पन्न हुँदै गए । खानेहरू खाइरहेका थिए । बाँड्नेहरू बाँडिरहेका थिए, छुरीले काट्नु पर्ने जस्ता पुरी, पोट्याटोको तरकारी र टोम्याटोको चट्नी भएपछि त झन के ! बिहेमा दुनियाँले बुनियाँ खाए, डुलन्ते धुनियाँले त नुनियाँको पुलाउ र बुनियाँ भेटे भने जन्ती र घरगाउँलेले नभेट्ने कुरै भएन । कसैकहाँ आगै सल्किएन, चुल्है बलेन, कसैकहाँ भाँडै बसेन, बिहेमै टन्न । सित्तै पाउँदा अलकत्र मात्र कहाँ हो र ! मन्त्रीदेखि वार्ड सदस्यसम्म र सचिवदेखि पिउनसम्मले भेटे भने सिमेन्ट, रड, कर्कटपाता, तार, काठ सब खाएर विकासलाई नै अलपत्र पारिदिन्छन् । त्यस्तै बिहेको रोटी, चिउरा, सब्जी, चटनी, बुनियाँ, पुलाउ अनि पार्टीको मासु र रक्सी कसले छोडोस्, सबैले सक्दो हसुरे । बेहुली अन्भाई सक्दा पनि हसुर्ने काम सकिएको थिएन ।
भोलिपल्ट पनि ठुलाबाकामा यसो उबरपाबर भेटिन्छ कि भनेर गाउँलेहरू भेला हुँदैथिए, चुनाव जितेको भोजको पर्सिपल्टसम्म कार्यकर्ताहरू नेताकहाँ भेला भए जस्तै गरेर । अघिल्लो दिनको बिहेको बखान गर्दै खत्री साने आइपुग्यो, “हैन बाटुली नानीको बिहेले त उधुमै गरेछ नि ।”
“किन र के भो ?” ठुलाबाको छिटो मुख, सोधिहाले ।
“काँ कान्छी पंडितनीले साया बिगारेर चौपट” सब जना हाँस्न थाले । उताबाट ज्यामिरे जेठो पनि आएर टुक्रुक्क बस्यो र भन्यो, “हैन हिजोको बिहेले त गर्नु गर्यो, हाम्रा माथ्लाघरे बडिबा त पाइखाना पुग्नै भ्याएनछन्, बाटैमा उम्काएछन् । फलानालाई ओखती ख्वाएको, फलानालाई हस्पिटल कुदाएको कुरा बखान्दै टिम्बुरे साहिलो पनि संवाददाता जस्तै टुप्लुक्कै आइपुग्यो । ऊ बेलिबिस्तार लाउँदै थियो, अररो भएर भुसतिघ्रे जेठो पनि आयो, “किन अररो भइस ए जेठा ?” टिम्बुरेले पत्रकारले जसरी सोधिहाल्यो । “होइन साथी हो ! हिजोको पुलाउले त उलाउ चलाइ हाल्यो नि, हेर्नुहोस्न चार/पाँचवटा अन्डरपेन लगाएर हापिन लाइरछु तैपनि थामिदै थामिदैन, टुक्रुक्क बस्नै डरमर्दो छ ।” भुसतिघ्रेले पनि नेताले जस्तै जवाफ दियो ।
उता समीकी ममीले बमी गरेको र निसाकी आमाले दिशा गरेको खबर लिएर हाँसीमाया साँहिली पनि आइपुगी । खबरै खबरले गर्दा त्यो घर समाचारपत्रको अफिस जस्तै भयो । किन यस्तो भयो भनेर ठुलाबाले तुरुन्तै एउटा आयोग गठन गरिदिए । सत्ताको भत्ता खाएर काम गर्ने आयोगले भन्दा यो आयोगले तुरुन्त आफ्नो काम सुरु गर्यो । अनुसन्धानबाट के पत्ता लाग्यो भने डाक्टरले कमिसन खाएर दोगानेले बेसनमा देसान मिसाउन लगाएको रहेछ । लौ त यस्तै भयो बाटुली नानीको बिहे, अब लबर पाँडेको रत्यौलीमा भेट हौंला ! नमस्ते !!
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest








































