साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निन्दक मित्र चाहियो

निन्दक मित्रको आवश्यकता छ मलाई । मेरो निन्दाको नालीबेली केलाउन बुती भएका कोही मित्र छन् भने मेरो निम्न ईमेलमा झट्टै सम्पर्क गर्ने सविनय अनुनय गर्दछु । त्यस्ता निन्दक मित्र पाएको खण्डमा ढुङ्गा खोज्दा देवतै भेटेको ठान्नेछु ।

Nepal Telecom ad

अर्काको भएभरको दोष बखान्नेलाई निन्दक भनिन्छ । कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम गर्छ निन्दकले । निन्दकहरू प्रत्येक गाउँ-घरमै झरीका च्याऊजस्तै पाइन्छन् । “कसैलाई के को धन्दा के को धन्दा; घर-ज्वाइँलाई खानुकै धन्दा” भनेजस्तो निन्दक स्वाभावा व्यक्तिलाई निन्दा गर्ऩ स्याउँ-स्याउँती भइराखेको हुन्छ । कथङ्कल एक दिन कसैको निन्दा गर्न पाएऩ भने विचरा निन्दक महोदयलाई रातभरि निँद्रै लाग्दैन । अर्काको बानी-बेहोराको अनावश्यक चर्चा गर्नु, अर्काको अनावश्यक खोजीनिधि गर्नु, चियोचर्चा गर्नु आदिजस्ता बानीहरू निन्दकको पहिलो खुराक हुन् । आफ्नो आङमा भैंसी हिँड़ेको नदेख्ने तर अर्काको आङमा जुम्रा हिँड़ेको टाढ़ैबाट देख्ने स्वाभाव हुन्छ निन्दकको । यो एकजना अब्बल निन्दकमा हुने गुण हो ।

अर्काको निन्दा गर्ने बानी कहिल्यै बिसेक नहुने रोग हो । यो गाड़े घाउजस्तै हुन्छ । अवचेतन मनमा एकपल्ट निन्दाको एक थोपा पनि रस पस्यो भने उक्त मनभित्र निन्दा गर्ने प्रवृत्ति गुहूमा सप्रिएको मूलाजस्तै झाँङिएर जान्छ । संसारका कुनै डाक्टर, धामी-झाँक्री, योगी-साधु, फेदाङ्बा-वैद्य, बड़े-बड़े वैज्ञानिक आदिले बिसेक पार्न सक्तैन । यसैकारण ता निन्दकहरूले अर्काको निन्दा गर्ने ठाउँ र दाउ खोजिरहेका हुन्छन् । आफूमात्रै ठिक अरू सबै बेठिक ठान्छन् यी निन्दकहरू । अर्काको निन्दा गर्न हरहमेशा आतुरिरहने निन्दकहरूका मुख जहिले पनि स्याउँ-स्याउँ चिलाइरहेको हुन्छ ।

आफ्ना दौंतरीहरू वा समकालिन साथीहरूले उन्नति र प्रगति गरेर कहाँ-कहाँ पुगिसके तर यी निन्दकहरू आफू भने भत्केको गाड़ी ग्यारेजमा थन्केजस्तै गाउँ-घरमै थन्केर बसेका दृश्य सुठीसाह्रै टिठलाग्दो देखिन्छ । आफ्नै सहकर्मीहरू आफूभन्दा माथिल्लो तहमा पुगेका देख्ता अवचेतन मनभित्रको सुसुप्त तिरस्कारले आफैलाई कोपर्नुसम्म कोपर्छ, चिथोर्नुसम्म चिथोर्छ यी निन्दक पार्टीहरूलाई । सोही तिरष्कारलाई अवचेतन मनभित्रबाट फुत्तै बाहिर निकाली मिल्काउऩुलाई नै निन्दक आफ्ने आँतका सहकर्मीको बद्ख्वाइँ गर्न जुर्मुरिन्छ । यसले निन्दकलाई सामान्य सञ्चो भए पनि निन्दाको हाउगुजीले हजारौंपल्ट मरेर पनि बाँच्ने प्रयास गरिरहेको देखिन्छ । जीवनमा आफूले ठ्याम्मै केही गर्न नसक्ने हुतिहारा निन्दतकले नै अरूको निन्दा गरेर आफ्नो बहुमूल्य समय खेरो फालिरहेको हुन्छ । यसै र निन्दकहरूले अहर्निश एउटा पराजित जिन्दगी बिताइरहेका हुन्छन् ।

यो संसारमा निन्दकको शिकारमा निन्दित नहुने व्यक्ति विरलाकोटि पाइएलान् । सृष्टिको आरम्भदेखि नै हाम्रा देवी-देवताकै पालादेखि लिएर राजा-रङ्क आदि सबै-सबै निन्दित भएका इतिहास साक्षी छ । सत्यको पक्ष लिई असत्य मास्ने विभिषणलाई हामी आदर्श पुरूष मान्छौं तर तिनका समाजका सन्तान-दर-सन्तानले विभिषणजस्ता सत्यावादी पुरूषको बदख्वाइँ गरेनन् होलान् ? निन्दादेखि कोही पनि अमर छैनन्, हुँदैनन् पनि ।

निन्दकहरूको कामै ता अर्काको निन्दा गर्नु हो । अरू ता जाने पो गरोस् । काग करायो भन्दैमा पिना घरभित्रै गुम्साएर राख्नु भएन । कुकुर भुक्दैमा हात्ती पलेँटा कसेर बस्ने कहाँ हो र ? अचेलका हात्तीहरूले कस्ता-कस्ता फारसै थर्काउने पटेका गर्जनलाई नटेरी पटेकावालहरूकै अन्नबाली हाकाहाकी स्वाहा पारिदिन्छन् भने नाथे कुकुरको भुकाइलाई सूँढ़को रौं जति पनि नमान्नुपर्ने । यसकारण तपाईको निन्दा मात्रै गरिरहने निन्दकलाई तपाईले पनि कुकरकै जेरक्स ढुक्कैले ठान्दा पनि कुनै टुटा पर्दैन बरू नाफै हुन्छ । यति हो तपाईको निन्दा गर्नेको निन्दकको कुकुरजस्तो पूच्छर मात्र हुँदैन । पूच्छर छैन ता के भयो ? एकजना निन्दकले तपाईको ढुक्कैले निन्दा गर्छ भने तपाईले तिनको पूच्छर भएको नै कल्पना गरिदिनोस् न ! के पो बिग्रिन्छ र कल्पना गर्दा ? तर निन्दकसित सेखी गर्न उल्टो उनको बदख्वाइँ चाहिँ ठ्याम्मै नगर्नुहोला । लाखेस ! कुकुरले क्र्याप्पै भन्दैमा तपाईले पनि साटो फेर्न कुकुरलाई नै क्र्याप्पै पार्नुभयो भने ता नारायण गुहू र गोबरमा फरक नै कहाँ रह्यो र ?

कुनै निन्दकले तपाईको निन्दा गर्छ भने फ्री स्टाइलले निन्दा गर्न दिनोस् । अर्काको निन्दा गर्दा-गर्दा झुराझुरी भइसकेका दुइ सय ग्राम गिदीका मालिकबाट प्रवचनको आशा कसरी कुन आशा लिएर गर्नु ? अर्काको निन्दा गर्नु बाहेक एकजना अरू केही जानेकै हुँदैन । तिनको मनको भूगोललाई निन्दाकै जलवायुले प्रभावित पारेको हुन्छ । तपाईले गरेका उन्नति र प्रगति देखेर डाह-ईर्ष्या-आह्रिसले निन्दक दोब्रिएर, थिचिएर, नेप्टो-च्याप्टो, ङालाक्-ङिलिक् भएको देख्नुभएको छ के ?

तपाईको निन्दक तपाईको खाँटी प्रेरणा हो । आफू काम गर्ने कार्यालय वा गाउँ-घरमा कुनै निन्दक मित्र भइदिएनन् भने तपाईको उन्नति र प्रगतिमा लु साँच्चै ‘एम्बार्गो’ लाग्छ । तपाईले गरेका उन्नति र प्रगति तपाईको अहर्निश परिश्रम । यसकारण आफूलाई जहिले पनि बाघजस्तै ठान्नुपर्छ अनि माननीयनिन्दक मित्रलाई बिरालो । बाघ बसेको ठाउँमा बिरालोको महत्त्व होला र ? तपाईका सहकर्मी र कुनै पनि गाउँले निन्दक छन् भने तिनलाई नबिझाउनुहोस् । यसबारे हेनतेन नभनेर धम्मपदको निम्न अंश यहाँ राख्न चाहन्छु –

“पोराणमेतं अतुल ! नेतं अज्ज तना मिव ।

निन्दन्ति तुण्हीमासिनं निन्दन्ति बहुभाषिनं ।

मितभाविणनम्चि निन्दन्ति नरिथ लोके अनिन्दितो ।। २२७।।”

अर्थात् (हे अतुल ! यो पुरानो कुरो हो, आजको होइन । चुपो लागि बस्नेको पनि निन्दा हुन्छ, धेर बोल्नेको पनि निन्दा हुन्छ, कम्ति बोल्नेको पनि निन्दा हुन्छ, संसारमा यस्तो कोही छैन जसको निन्दा हुँदैन ।)

अर्को,

“न चाहु न च भविस्सिति न चेतरहि विजति ।

एकन्तं निन्दितो पोसो एकन्तं वा पखांसितो ।। २२८।।”

अर्थात् (यस्ता व्यक्ति जसको प्रशंसै-प्रशंसा मात्र वा निन्दै-निन्दा न भएको छ न हुनेछ।)

यसकारण तपाई कुनै पनि निन्दकद्वारा निन्दित हुनुहुन्छ भने डराउने र सुर्ताउने काम छैन । निन्दक मित्रलाई तपाईको शत्रु वा विरोधी ता ठान्नै भएन । कवीर दासले भनेकै छन् –

“निंदक निपरे राखिए, आँगन कुटी छवाय ।

बिन पानी साबुन बिना, निर्मल करे सुभाव ।।”

अर्थात्, (निन्दकलाई हेलचेक्र्याइँ नगरी घरकै आँगनमा बस्ने ठाउँ दिनोस् । यसले ने नाफा हुन्छ भने तिनले तपाईको जति निन्दा गर्छन् तपाईले आफूलाई उति नै सुधार्ने मौका पाउनुहुन्छ ।)

हाम्रा राजनैतिक नेताहरूको भाषामा निन्दाकै मात्रा धेर पाइन्छ । निन्दामाथि नै यी नेताहरूलाई शोधकार्य गर्न दिए हाम्रा नेताहरू सबैले यतिञ्जेल महाविद्यावारिधि उपाधि हासिल गरिसक्ने थिए । तर अफशोस् ! हाम्रा विश्वविद्यालयतिर निन्दामाथि शोधकार्य गर्ने प्रावधान भने छैन ।

खासै कुरो गर्नु हो भने, हाम्रा नेताहरू विपक्षी नेता साथीहरूको निन्दा गर्न जति सिपालु छन्, उनै विपक्षी नेता साथीहरूको निन्दा सुन्न उति नै हरूक्कै छन् । यसैले ता हाम्रा नेताहरूले लाटा-सिधा-निमुखा जनता-जनार्दनका सुख-सुविधाप्रति ध्यान नदिएका हुन् । विकासप्रति कुनै चासो नदेखाएका हुन् । जनता-जनार्दनहरू नेताको निन्दा गर्न वाध्य भएका छन् । कारण, आश्वासन दिए अनुसार हाम्रा नेताहरूले जनता-जनार्दनलाई सुखै-सुख उपलब्ध र गाउँ-घरमा व्यापक विकास गरिदिएका हुँदा हुन् ता जनता-जनार्दनले नेताहरूको निन्दा गर्ने प्रश्नै आउने थिएन । यी जनता-जनार्दनले नेताहरूको सदैव निन्दा गरून् भनेरै हाम्रा नेताहरूले जनता-जनार्दन र विकासपट्टि घ्यान नदिएका हुन् । किनभने हाम्रा नेताहरू जनता-जनार्दनको निन्दा सुन्दा-सुन्दा थेत्तर भइसकेका छन् ।

तर म पो अभागी रहेछु । मेरो ता भाग्य नै खोटो । मेरो भाग्यमा निन्दक मित्र कहिल्यै जुरेन । मेरा सबै मित्रहरू मेरा प्रशंसकहरू मात्रै छन् । हामी मिलेर एउटा छुट्टै “पप्रप” (परस्पर प्रशंसा परिषद्) नामक संस्था गठन गर्दा पनि हुन्छ । तर मलाई ता प्रशंसक मित्र भन्दा पनि निन्दक मित्रकै सख्त खाँचो छ । मलाई फोस्रो प्रशंसा होइन कटु निन्दा नै जरूरी छ । किनभने कसैको फोस्रो प्रशंसा मान्छेलाई बगरको ढुङ्गाजस्तै बनाउँदोरहेछ । मेरा प्रशंसक मित्रहरूको फोस्रो प्रशंसाले म गजक्क र मसक्क हुनुबाहेक अऱ केही गर्न सकेको छैन । कसैको फोस्रो प्रशंसाले आफूले गर्नुपर्ने उन्नति र प्रगतिमा गतिलो वाधा पुऱ्याउँदोरहेछ भन्ने कुरो मैले छ्याङ्ङै बुझिसकेको छु । प्रशंसाले मान्छेलाई धृतराष्ट्र नै बनाउँछ । म पनि धृतराष्ट्र जतिकै भइसकेको छु । प्रशंसक मित्रहरूको खैराते प्रशंसामा गजक्क र मसक्क भएर अनि पात्तिएर, फुर्के भएर ग्यास बेलुनजस्तै माथि माथि मात्रै विचरण गर्ने भइसकेको छु । अहिले बुझ्दा मलाई ता प्रशंसक मित्रभन्दा पनि एकजना सशक्त, खप्पीस निन्दक मित्रकोको सख्त आवश्यकता परेको छ । कारण प्रशंसक मित्र खास अनि खाँटी शत्रु हुन् भने निन्दक मित्र चाहिँ खास मित्र….उन्नति र प्रगति गर्न हुटहुटी लाउने सञ्जीवनी बुटी ।

जीवनमा उन्नति र प्रगति गर्नु हो भने, अनिवार्य रूपले निन्दक मित्र चाहिन्छै-चाहिन्छ । मेरो खोट देखाउने, मेरो बद्ख्वाइँ गर्ने, मेरा भूल-त्रुटीहरूको हिसाब-किताब राख्ने निन्दक मित्र झट्टै चाहिएको छ मलाई ।

निन्दक मित्रको आवश्यकता छ मलाई । मेरो निन्दाको नालीबेली केलाउन बुती भएका कोही मित्र छन् भने मेरो निम्न ईमेलमा झट्टै सम्पर्क गर्ने सविनय अनुनय गर्दछु । त्यस्ता निन्दक मित्र पाएको खण्डमा ढुङ्गा खोज्दा देवतै भेटेको ठान्नेछु ।

पुछारमा, फेरि पनि के सूचित गर्न चाहन्छु भने मलाई झट्टै एकजना जण्डा निन्दक मित्र चाहियो, झट्टैभन्दा झट्टै चाहियो ।

०००

सिलगढ़ी, (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x