सञ्जय साह मित्रनक्कली प्रतियोगिता
आफ्नो सामानलाई निकृष्टतम र अरुकोलाई निकृष्टतर भनेर कुकुर बिरालो झैँ फेरि जुध्न थाले । निर्णायकहरू रुमल्लिए । त्यस दिनदेखि त्यस बजारमा सक्कली सामान नै हरायो ।

“होइन, यो सामान सक्कली पो छ त ।”
नक्कली प्रतियोगितामा एउटा सामानवालले आफ्नोलाई एक नम्बरको नक्कली बताउन अर्को प्रतियोगीमाथि आरोप लगाउँदै सक्कली भनेको थियो ।
नभएको फतुर लाउँदा त धतुरो नसा झैँ लाग्ने रहेछ । ऊ पनि बम्क्यो- “कहीँ नभएको सक्कली सामान ल्याएर यो नक्कली मेलालाई बदनाम पार्ने अनि अरुको सोह्रै आना नक्कलीलाई सक्कली भनेर गाली गर्ने ?”
आयोजकले दुवैलाई आश्वस्त पार्दै भन्यो- “पेंडा खाएर आलुको धाक नलगाउनुस् कोही । पेंडाको त कुरै छाड्नुस् हामी आलु पनि नक्कली हो कि सक्कली हो भनी छुट्याउन सक्छौँ । जहाँ नक्कली प्रतियोगिता हुन्छ, त्यहाँ सक्कली त रुन्छ नै । यसरी रोएर एकले अर्कोलाई नाङ्गो नपार्नुस् । सर्वाङ्ग नाङ्गोले मात्र जित्ने हो ।”
अनि सक्कलीको बेइज्जत सुरु भयो । एकले अर्काको सामानलाई सक्कली भने । सक्कलीको आरोप लाग्दा कोही रुनसम्म रोए । आयोजक चाहिँ तमासे भएर आनन्दित भइरह्यो । प्रतियोगिता विजेतालाई ठूलो धनराशि थियो । ठूलो मान र पदक पनि थियो ।
प्रतियोगिताको अवधि तोकिएको थिएन । नक्कलीपछि खराब र खराबपछि निकृष्ट सामान साबित गर्न सहभागीहरू उद्यत भए । “निकृष्टम सामान कस्को ?” आयोजकले फेरि प्रश्न सोध्यो ।
सबैले हात उठाए ।
आफ्नो सामानलाई निकृष्टतम र अरुकोलाई निकृष्टतर भनेर कुकुर बिरालो झैँ फेरि जुध्न थाले । निर्णायकहरू रुमल्लिए । त्यस दिनदेखि त्यस बजारमा सक्कली सामान नै हरायो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































