ठाकुरप्रसाद अधिकारीसम्यता र विकासे गफ
विकासले निम्त्याएको विभेद र विनासलाई नै हाम्रो विकसित सभ्यता हो भन्ठानेर हामी पात्लेको लिँड फुले झै फुलेका फुल्यै छौँ । यही सभ्यतालाई सिरानी हाल्न पाएर हामी रमाइरहेछौँ, चुड्की बजाइरहेछौँ ।

हिजोको हिजो मानिसले अनेकन विचारका गफ बखेडामा झिके । अनेक तपस्याको चटारो गरे । पिंजडाभित्र बसेर पनि सिद्धान्त लेखे । तर एउटा कुरा गर्न भुसुक्कै विर्सेछन् । कहाँ कसरी नास्सिएको छ गरिबको नाकको खाडल । धनीको नाकको पर्खाल । त्यो हो नि विकासको कुरा । जति सोचे पनि मेरो विचारमा बिर्को लागिरहेकै थियो तर कसरी कमिला छिर्यो ? कुन्नि किन कान बाहेक अरु केही कोट्याउन सकिनँ । कुरो न कन्थो कान कोट्याएर कामको माम पनि बन्दैन । न त गफले अरुको ढाड चिलाउन सक्छु । गिदीको लेतेले के के भन्छ, खै ? कसले गर्छ मेरो चर्चा ।
विकासको वारेमा अनेक खालका आशंका उपशंका उमिरहन्छन् । विकास त पागलको देन हो भन्छन् कोही । देख्नेको आँखा फुटे सुन्नेको सही चाहिंदैन । हो, देख्ने आँखाको मात्र वणर्न गरेर हुन्न । मेरो यस्तै सभ्यताको
कुरा कोट्याउने बानी छ । बूढो विकासको ‘ब’ र सभ्यताको ‘स’ मा के को आशा राखूँ ! विकास त आविष्कार हो, यसको के कुरा गर्नु । सभ्यता लिखे संगठनको एउटा हार हो । शहरमा बसे पनि गाउँलेको धाक शहरमा त प्रमाणपत्र पेश गर्नुपर्ने रहेछ । विकासको त चल्दोमिल्दो कुरा गरे पनि नपुग्दो रहेछ । विकास भनेको विहे भएको नौ महिनापछि बच्चा जन्माउने जस्तो कुरो होइन । सम्यताको खाडल खन्नेहरू पनि छन् । हुने खानेहरूले र हुँदा खानेहरूले विकासको परिभाषा फरक ढंगले गरेका छन् । विकास अलि फोहरी पनि हुने भएकोले धेरै मानिसले रुचाउँदैनन् पनि ।
कलेटी परेको ओठ र दाँत झरेर पनि आफै ङिच्च हाँस्ने विकार पनि एक प्रकारको विकास नै हो । मैले त विकासलाई भ्रष्टाचारको उजुरमा पनि चिनेको छु । अत्याचारमा उछिनेर पनि विकासलाई जानेको छु । बात लागे पनि लागोस् उसको स्वभाव । वास्तवमा म विकासको हुलिया खोजिरहेको छु । काग र कोइली छुट्याउन सक्नु नै विकास हो भन्थे तर होइन रहेछ । सारा विकासलाई धरापमा पारेर संकटमा चुल्याए पनि विकास आफ्नै गतिमा लुसुलुसु हिँडिरहेछ ।
श्रीमतीजीलाई भातको गाँस मुखमा पुर्याउने कर्मलाई नै विकास भनिदैछ यहाँ । हुन त विकासको बढाबढ सभ्यताले पड्काएको हो । शिकारीको आवाज विकास भएर जंगलको मृत मृग पनि लठ्ठ बनेकोछ । सभ्यताकै विकास भएर होला आफ्नी श्रीमतीलाई छोराको आमा भनेर सम्बोधन गर्दै टाढाको नाता जोड्न थालेका छौ । विकासको धूँवा सम्यताले निलेको हुन्छ । अब सभ्यताले त्यो भूमिका निवाह गर्न सक्छ सक्दैन । तपाइँ जे जस्तो प्रश्न गर्नुस् । आजको विकासले न महाकालीको भेल रोक्न सक्यो न त कोशीमा नयाँ बाँध बाँध्न सक्यो ।
जनतालाई प्रगतिको इन्द्रजालमा हालेर सेवामा ज्याला माग्ने नेताको कार्यकुशलता नै विकास हो ? कोही विकासको अभिनय गरेर गोजी भर्छन् । हाम्रो विकास नम्र स्वभावको छ कि, अमर्यादित छ कि, अव्यवहारिक छ कि, बाग्मतीमा बगिरहेको दुषित पानी जस्तो छ कि ? विकासको बारेमा झट्ट हेरेर म भन्नै सक्दिन । विकासको भित्री हाड देखेको छु । बकुल्लो झै धेरै झोक्राउने पनि देखेको छु । हाँसको चाल झैं हिँड्ने, खरायौ झैं दौडिने, मुसा झैं धान चोरी खाने पनि भोगेको छु । प्रकार- प्रकारका विकास मैले मेरै आँखाले देखेको छु ।
काम नगरि हात बाँधेर बस्नेले पनि विकास खोजिरहेछौं । कतै अरुको कुरा काटेर पनि विकासमा कमाई हुँदोरहेछ । हुन त विकास चराको चुच्चो जस्तो छोटो हुन सजिलो छैन । मान्छेको लुच्याईं, टपरटुइँया र जालझेलबाटै विकासवादको विकास भएको हो । चराले घरकाज र राजकाज कुनै काज गर्दैन भन्ने हामीलाई पूरापुर थाहा छ । विकास गफाडीहरूको महागफ हो, उनीहरू नै विकासमा रजाईं गरिरहेका छन् । कसैले कसैलाई पछाडिबाट ठेलिदिनु पर्ने विकास गफाडीहरूको महागफ नभएर के हुन्छ त ? पहिला विकास भन्थे, अहिले निकास नभएको सभ्यता भएको छ ।
विकासले हाम्रो बोलीको लवजलाई दिनानुदिन परिवर्तित गर्दै लगेको छ । एक समयको पाइखाना ट्वाइलेटमा परिवर्तन भयो । त्यही ट्वाइलेटलाई आज रेस्ट रुम भन्न थालियो । टपरीको साटो पित्ले थाल स्टीलको डिसमा
बदलियो । भुजाको साटो चाउचाउ । रोटीको साटो पाउरोटी दुनोट । ओड्ने सिरक हराउँदै गयो र आइलागेको छ ब्ल्याङ्केट ।
विकासको बारेमा दिनहुँ मनमा बहस हुन्छ । साँच्चै भन्ने हो भने विकास झुपडीतिर पनि हुनुपर्ने हो । टपरीमा खानेको पनि हुनुपर्ने हो । तर किन हो ठुल्ठूला पदमा बस्नेहरूलाइ, आँखै तिरमिराउने गगनचुम्बी घर हुनेहरूतिरै मात्र किन फकिन्छ विकास ? राजधानी र राजधानी जस्तै दुई चार शहरमा मात्रै किन दौडिन्छ विकास ? लाटा लटमुखा, निरिह र निम्छराहरू चाहिँ तिमीले जे भन्यो हो हो भन्दै थप्पडी बजाउने करिया र भोटका भरिया मात्र हुन् ? मेरो मनको वहस घण्टाघरमा घुमिरहने सुइ जस्तो घुमिरहन्छ ।
पाडो खानेले बाच्छो पनि खान्छ, आमा खानेले बाउ पनि खान्छ भन्थे हाम्रा पूर्वज । भनिन्छ उहिलेका कुरा खुइलिए । यो विकासशील युग हो, न्यूयोर्कको मेसेज न्यूरोडमा आउन केहि सेकेण्ड पनि लाग्दैन । यतिलाई मात्र विकासको परिचयाक हो भने पाडो-बाच्छो, आमा-बाउ सबै खायसक्यो । हामी टुहुरा भैसक्यौँ । आजकलको विकासले आकाशमा मैदान बनाउने योजना पारित गर्छ । समुन्द्र पुर्ने योजना अगाडि सार्छ । हावा कुरा हैन हावालाई परिचालन
गरेर बिजुली किाल्ने कुरा गर्छ । तर हामी भने बोक्सी भने मान्छे मारिरहेछौँ । छाउपडीमा थुनेर अनाहकै आमाहरूको प्राण लिइरहेका छौँ । हाम्रा त डाक्टरहरू नै अस्पतालमा बिरामीलाई ‘प्रभु’को नाम जप्न भन्दछन् ।
विकासको छद्मभेषी आँखाले सभ्यतालाई कसरी गिजोली रहेछ । विकास बाङ्गो टिङ्गो रोटे पिङ जस्तो घुम्ने भैहाल्यो । विकासले लगाएको चस्मा चल्र्यामचुर्लुम भएर पनि बलियो हुन्छ रे । विकासको कलमले उसको चाला र चेलालाई दिक्क लगाइसक्यो । विकासलाई हातेमालो गरेर हामी नपुगेको विश्व विचरण गरिसक्यो । विकास भनेको विनास नै हो वा होइन थाहा भएन । खै जमाना नै के के भैसक्यो । सभ्यताको घण्टी ठोकेर साहिँलाले माइलालाई सिध्याई सकेको छ ।
माथ्लाघरको ठूलेलाई विकास भनेको दुहुने गाई बनेको देखेको छु । कुकुर मारेर गधा पोस्नु नै विकास हो भन्ने कुरा स्थपित भएको छ । प्रत्येक विकासे मान्छे यसैको पछि लाग्छ । विकासेहरू लावालस्कर लागेर आनन्दको भ्रम छर्ने गछनर्् । यहाँ सङ्गीतको अर्थ नजाने पनि विकासका नाममा सर्पलाई बाँसुरीले लठ्ठ पारे झै यहाँ घुसखोरीलाई संरक्षण गरिन्छ । ठगी धन्धामा मुन्टो जोतेर लागेकाहरूकै उधुम विकास भइरहेको छ । लुच्चाहरू कहाँँ फुच्चा छन् र आजकल ? उनीहरूका चुच्चातिरै विकास सवार भएको छ । पुलिसले चोर समाउन नसके पनि चोरले पुलिसलाई चिनिरहनु विकासको उपल्लो सिँढी हो । उनीहरू उग्र विकास देखेर म बकुम्मफुसे मान्छे खिस्स हाँसेर पचाई दिन्छु ।
हामी कति थेत्तरा भइसकेछौँ विकासले हामीलाई लुटेको लुट्यै छ, हामी मख्ख परेर हेरेकाहेर्यै छौँ । विकासले निम्त्याएको विभेद र विनासलाई नै हाम्रो विकसित सभ्यता हो भन्ठानेर हामी पात्लेको लिँड फुले झै फुलेका फुल्यै छौँ । यही सभ्यतालाई सिरानी हाल्न पाएर हामी रमाइरहेछौँ, चुड्की बजाइरहेछौँ । अरु त कुरै छाडौँ विकासले ल्याएको विषादिका मन्द थोपा पिउन पाएर आफू र आफ्ना सन्ततिलाई असमयमै मृत्युको मुखतिर धकेलिरहे पनि हामी बिघ्नै खुसी छौँ । अनि यो सबै व्यवस्थापन गर्न कुर्सीमा विराजमान हाम्रा ‘भाग्य विधाताहरू’को जयजयकार गरिरहेछौँ ।
०००
फित्कौली अनलाइन मिडियाद्वारा हालै प्रकाशित
व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बेसारे घुर्की’बाट
Subscribe
Login
0 Comments
Oldest








































