सञ्जय साह मित्रइन्डेपेन्स डे
रातसँगै मात चढ्दै जाँदा मैले भद्रताको जात त्यागेर अर्धबेहोसीमा कराएँ - सबैलाई छोडी तिमीसित मिलाई जोडी म पनि मनाउँछु इन्डेपेन्स डे । एक हुल हाँसोले होटेलै थर्कायो ।

निमन्त्रणा कार्डमा लेखिएको थियो- इन्डेपेन्स डे मनाउन होटल रोयल समाजमा साँझको सात बजे अथितिको रुपमा पाल्नुहुन अनुरोध छ ।
म आफूलाई कसैको गुलाम मान्दिनथेँ । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले किन इन्डेपेन्स डे मनाउनुपर्यो ? मनले मनलाई नै प्रश्न गर्यो ।
कडा मनको प्रश्नलाई कोमल मनले जवाफ फर्कायो – अनादिकालदेखि स्वतन्त्र रहनेले पनि इन्डेपेन्स डे मनाउनुपर्छ ।
दश जना मात्र थियौँ होटलमा । एक आयोजिका थिइन् एघारौँ । दश जना पुगेकै बेला भनिन् – “म जन्मिँदा नै स्वतन्त्र जन्मेकी थिएँ तर जन्मेपछि आफूलाई बन्धनमा पाएँ । मेरो बुबाको ठेगान नभएकोले म स्वतन्त्र थिएँ जन्मँदै । हिजो श्रीमान्लाई ठेकान लगाएँ, घरबाट भगाएँ । उनको भविष्यमा आगो लगाएँ । बालबच्चा उनको जिम्मा, आधा कमाइ खाने भएँ । अब म स्वतन्त्र भएँ । त्यसैले इन्डेपेन्स डे मनाउने सुरुआत गरें ।”
“अब भोक न भकारी र न चिन्ता न चौतारी छ मेरो जीवनमा । म संसारको सबैभन्दा स्वतन्त्र मानिस । म कसैलाई कुनै नाता भन्दिनँ, कुनै नातालाई केही गन्दिनँ । मान्छु आफ्नै मर्जी न कसैको अर्जी । आउनुहोस् केवल स्वतन्त्र बनौँ र दुनियाँलाई सबै बन्धनबाट मुक्त गरौँ । पर्सनल इन्डेपेन्स डे मनाऔँ ।”
दश पुरुषका बिच एक्लो महिलाको पुरुषार्थ सुनेर सबैले एकै स्वरमा भने – ह्याप्पी इन्डेपेन्स डे ।
सबैले गिलास उठाए, टक्र्याए अनि फेरि बोले – ह्याप्पी इन्डेपेन्स डे ।
मैले कहिल्यै पिएको थिइनँ । एक नयाँ इतिहासको स्वागत गर्न धोकें धोक्नुसम्म । रातसँगै मात चढ्दै जाँदा मैले भद्रताको जात त्यागेर अर्धबेहोसीमा कराएँ – सबैलाई छोडी तिमीसित मिलाई जोडी म पनि मनाउँछु इन्डेपेन्स डे ।
एक हुल हाँसोले होटेलै थर्कायो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































