साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तालुको रौँ सँगै हराएको सुद्धी

घट्टवाला दाजु जाँतो बिग्रियो भन्दै रिसले निकै बेर मुर्मुरिए । सुद्दी हराएका खुइले काकाले पुतलीलाई एक बोरा कोदो दिएँ भनेर वर्ष भरीलाई तेल पेल्न राखेको तोरी दिएर पठाएछन् । सुद्दी नै हराएपछि कस्को के लाग्छ ?

Nepal Telecom ad

लाग्छ,तालुमा रौंको खेती हुन छोडेपछि, मान्छेको सुद्धी हराउने गर्दछ । तर केही मान्छेहरूले भने यस्तो तर्क गर्छन्, तालुखुइलेहरू बुद्धिमान र विवेकशील हुन्छन् । यिनीहरू निकै सोच विचार गरेर मात्र बोल्छन् । यस्तै यस्तै हावादारी गफ सुनेर हुर्किएको हाम्रो पुस्ताको मस्तिष्कमा समेत, यही कुराले घर गरेको छ । अनि सबैलाई लाग्ने गर्छ , हो न हो तालुखुइलेहरू निकै होसियार हुन्छन्, टाठा बाठा हुन्छन् । तर वास्तविकता भने निकै फरक हुने रहेछ, ठ्याम्मै उल्टो । जब मेरो तालु खुइलिन थाल्यो, बिस्तारै मेरो सुद्धी हराउँदै गयो । यसको भेउ मैले केही समय अघिदेखि पाएको भए पनि यस्तो गम्भीर विषयमा,फ्याट्टै कुरा उठाइ हाल्न पनि उचित लागेन । अन्यथा तालुखुइलेहरूको समुहले कोप्रे लौरी लिएर नखेद्लान भनेर कसरी विश्वास गर्नु !

तालुखुइले बुढाहरूको होस कत्तिको खुस्किने गरेको छ भन्ने कुरा राजनिति नामको “कुर्सी तान्ने खेल” हेर्दा झनै प्रष्ट देखिन्छ । नपत्याए चुनावताका विचार गरि हेर्नुस् त । प्रत्येक राजनीतिक दलहरूलाई निर्वाचन आयोगले एउटा चुनाव चिन्ह दिएको हुन्छ । जब चुनाव घोषणा हुन्छ, यिनले पहिले जस्तै आफ्नो दलको निर्वाचन चिन्हमा भोट माग्न छोडेर अर्कै दलको चुनाव चिन्हमा पो भोट माग्न थाले । सबैले प्रष्टै देखेको कुरा यही हो । तालुमा रौं छउन्जेल यिनले आफ्नै दलका लागि मात्र भोट माग्दै हिँड्थे । जित्नेले सरकार बनाउँथ्यो, अर्काथरी प्रतिपक्ष मानिन्थे । हाम्रो वर्तमान मान्यता अनुसार तन्नेरीहरूलाई राजनीतिमा अघि सारे ठूलो अनिष्ट हुनसक्ने भएकोले तालुखुइले बुढाहरू आफैं एकछत्र नेतृत्व लिदैं पार्टी हाँकिरहेका छन् । पार्टीलाई अनिष्टबाट जोगाउनका लागि, बुढेसकालमा पनि सकिनसकी पार्टीको वागडोर सम्हाल्दै आएका छन् ।

तर बुढाहरूको तालुमा रौंको खेती घट्दै गएसँगै यिनको सुद्दी पनि हराउँदै जान थाल्यो । फलस्वरूप यिनीहरूले के बोलेको हो ? के गरेको हो, जनता, कार्यकर्ताको त कुरै छोडौं यिनीहरूले स्वयंले बोलेको कुरा आफैं पनि बुझ्दैनन् । सरकार को हो, प्रतिपक्षी को हो, त्यो समेत छुट्याउन सक्ने अवस्था छैन । यसको मुख्य जड भनेको तालु रित्तिएर नै हो भन्ने मेरो ठहर छ । अनि त के चाहियो, मुलुकमा राजनीतिक अस्थिरता ह्वात्तै बढ्न थाल्यो ।

यिनको सुद्दी हराएको सुइँको पाएर केही ठिटाहरू राजनीतिको मैदानमा देखा परे । गत चुनावमा यिनले भने आफ्नै दलका लागि मात्र भोट माग्दै हिँडे । वर्तमान समयमा यसरी आफ्नै पार्टीका लागि भोट माग्नु भनेको आश्चर्यजनक घटना हुन पुगेको छ । मलाई लाग्न थालेको छ, यिनीहरूको नौटङ्की पनि तालु न खुइलिँदा सम्म न हो । जब यिनका पनि तालुमा रौं खेती हुन छोड्छ, भन्या थ्यो भन्नु होला, यिनको पारा पनि उहि हो । “खुर्पाको छन्द बिँडले थाहा पाइन्छ” भन्छन् । बिँड त देखिइसकेकै छ !

जब मैले तालुमा रौंको उत्पादन घटेपछि सुद्दी हराउदै जाने कुराको वृस्तित ज्ञान पाएँ, प्रमाण सहित पेश गर्ने विचारमा थिएँ । तर यतिविघ्न गम्भीर विषय ह्वात्तै बजारमा ल्याउनु हुन्न भन्ने मान्यता अनुसार मेरो आफ्नै तालु खुइलिए पछि मात्र ब्यापक रुपमा आवाज उठाउने कुरा, आफ्नै मनलाई सम्झाउदै भनें, “पख् केही समय !” अचेल जब मेरो पनि तालु खुइलिएर म तालु खुइले बनें, एकाएक सुद्दी हराउन लाग्यो, बल्ल यहाँहरूले यो लेख पढ्न पाउनु भयो ।

सधैँ जस्तै त्यसदिन पनि चिया गफका लागि हामीहरू सन्तमानको चिया पसलमा जम्मा भयौं, उही थोत्रा थाङ्ना राजनीति, सामाजिक, साहित्यिक, गीत सङ्गीतका विषयमा चर्चा गर्न थाल्यौं । वातावरण निकै तातिएपछि मैले प्वाक्कै भने- “अचेल त मान्छेहरूलाई लाज घिन केही लाग्दैन, हर्कमानले त्यत्रो रकम खर्चिएर त्यो जाबो पुरस्कार किन हात थापेको होला ? पुरस्कार भनेपछि मान्छे किन हुरुक्क हुन्छन् हँ ?”

जब हर्कमानको र मेरो आँखा जुध्यो, म छाँगाबाट खसे जस्तै भएँ । धत्तेरी ! ऊ त मेरो आडैमा रहेछ । थुइक्क मेरो सुद्दी ! हर्कमान पनि त्यहीँ छ भन्ने कुरा मैले पत्तै पाइनँ । तालु खुइलेपछि होस हराएको यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ ?

जबसम्म मेरो तालुमा कालो, नरम र आकर्षक रौंले ढाकेको थियो, यस्तो कुरामा म निकै सचेत थिएँ । केही बोल्नु पर्‍यो भने चारैतिर दृष्टि लगाउँथें । बोल्न हुने कुरा र नहुने कुराको छानबिन गर्न सक्थें । जब मेरो तालुमा रौंको खेती हुन छाड्यो । मेरो सुद्दी हराउँदै गयो । सुद्दी हराएपछि कतिखेर के बोल्ने, कस्तो ठाउँमा बोल्ने, सबैकुरा ख्याल गर्न नसकिने रहेछ । यो दुर्घटना मेरो पहिलो र अन्तिम पटकको दुर्घटना थिएन । यस्तो घटनाबाट म पटक पटक साथीभाइको नजरबाट गिरेको छु । छोरा बुहारीले समेत प्याच्च भनिदिन्छन्, “सुद्दी हराएको बुढो ।”

उहिले हाम्रो छिमेकमा एकजना गफाडी बुढा थिए, टाउको पछाडि दायाँ कान नेर एक भुल्को र बायाँ कान नजिक अर्को भुल्को मात्र रौं बाँकी भएका खुइले काका । उनी महिलाहरूलाई जिस्क्याउन खप्पिस थिए । कसैसँग नबोल्ने महिलाहरू पनि खुइले काकासँग भने फिटिक्कै लाज सरम नमानी बोल्थे । सबैले उनलाई भन्थे, “खुइले काकाको त कन्या राशि रहेछ क्यारे ।” खुइले काका गाउँका महिलाहरूसँग मात्र होइन, बेलाउते भट्टीकी पुतलीसँग पनि त्यत्तिकै जिस्किने गर्थे । गाउँमा हाँसखेल गर्ने र रौसिला र रमाइला काका आफ्नो घरमा भने कुकुरले पुच्छर लुकाए झैं हिंड्थे । काकी चोथाले, मुखाले र हट्टाकट्टा समेत थिइन् । काकालाई डाँकोले टिप्ने । गाउँबाट जब घरको आँगनमा आइपुग्थे, काका रुझेको बिरालो जस्तै लुरुक्क पर्थे । ठूलो स्वरमा बोल्न त परै जाओस् कसैले काउकुती लगाए पनि यिनको ओठबाट हाँसो फुत्किन्न थियो ।

मान्छे सोझा छन्, उनी गफ मात्र गर्ने हुन भन्दाभन्दै, पछि पछि त पुतलीको भट्टीमा बासै बस्न लागे । बल्ल खुइले काकाको वास्तविक नियत सबैले बुझे । जब उनी पुतलीको भट्टीका नियमित ग्राहक बने पुतलीले पनि आफ्नो हिसाब माग्न थाली ।

खुइले काकालाई पर्नु फसाद पर्‍यो । नगद दिएर चित्त बुझाउँ, गोजीमा सुको छैन । त्यसैले उनले काकी भान्सामा व्यस्त भएको मौका पारेर, पुतलीलाई साँझ एक बोरा कोदो दिने विचार गरेर घरमै बोलाए । काकाले माथ्लो तलामा कोदो राखेको भकारी मुनि मोटो फलामे गलले छेडेर एक बोरा कोदो कसैले सुइँको पनि नपाउने गरि दिएर पठाए । भोलिपल्ट काकीले तोरी सुकाउन खोज्दा भकारीमा तोरी गायब ! तोरी कसरी हरायो ? घरमा निकै खैलाबैला मच्चियो । काका चुपचाप बसे, काकीले दशी प्रमाण फेला पार्न सकिनन् । जेहोस् त्यस पालीको तोरी काण्डमा काकीको मार खानबाट खुइले काका सजिलै उम्किए ।

उता भोलिपल्टै कोदो पिस्न घट्ट गएकी पुतलीलाई, तोरीले जाँतो जाम गरेपछि घट्टवालाले हप्काउनुसम्म हप्कायो । “तोरी र कोदो छुट्याउन नसक्ने जाबीले भट्टी कसरी चलाउँछेस् हे पुतली !” घट्टवाला दाजु जाँतो बिग्रियो भन्दै रिसले निकै बेर मुर्मुरिए । सुद्दी हराएका खुइले काकाले पुतलीलाई एक बोरा कोदो दिएँ भनेर वर्ष भरीलाई तेल पेल्न राखेको तोरी दिएर पठाएछन् । सुद्दी नै हराएपछि कस्को के लाग्छ ?

बिचरा खुइले काका भने खुइलिएको तालु छाम्दै भन्दै थिए “कति कारोबार गरियो, कोदोको भकारी भनेर तोरीको भकारीमुनि कुनै पटक पनि छेडेको थिइन । यस पटक मेरो सुद्दी कसरी हरायो ?”

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x