उत्तमकृष्ण मजगैयाँचल वीर हनुमान्… !
हनुमान् तपाईंका हाम्रा- मनभित्र त्यसै बलात् पसे भने यो समाजको, यो संसारको ‘अशोक बाटिका’ कै हाल हुन के बेर ! किनभने हाम्रो ‘वीर जगाउनका लागि अनगिन्ती स्वरहरू नित्य नै जताततै घन्किरहेकै छन् ‘चल वीर हनुमान्.... !’

उत्तमकृष्ण मजगैयाँ :
‘तर्छु क्षार समुद्र आज सहजै .. श्लोक भट्याउन थाल्दासाथ उसको शरीरमा कम्पन छुट्न थालिहाल्यो । श्लोक जति-जति लामिंदै गयो उसको कम्पन पनि उति उति बढ्दै गयो । एक क्षणपछि नै आफ्नो मुखबाट कुँ-कुँको आवाज निकाल्दै ऊ बुर्लुक्क उफ्रयो र यत्रतत्र कुद्न थाल्यो । उपस्थित समूहमध्ये धेरैले ‘लौ, वीर हनुमान् ! सीता टिपी ल्याऊ’, ‘चल वीर हनुमान् केरा घरी ल्याऊ’ भनेर नानाथरिका अनुरोध गर्न थाले । श्लोकद्वारा आव्हान गर्नासाथ हनुमानजी उसको शरीरभित्र पसेर अनुरोध बमोजिमका काम गर्न थाले ।
दर्शकमध्येकी एउटी सानी नानीलाई उचालेर ल्याई सीताको रूप दिइयो । केराको सिङ्गै घरी काटेर ल्याई दर्शकहरूको माझमा राखियो । र अर्को अचम्म, उसले तामाको एउटा भरी गाग्रो पनि दाँतैले टिपेर ल्यायो ! गाग्रो भूइँमा राख्नासाथ स्याँ-स्याँ गर्दै दुवै हातले टाउको थामेर ऊ थचक्क बस्यो । अनि तत्काल भूइँमा सोत्र्यान्न सुतेर आँखा चिम्ली लामोलामो सास फेर्न थाल्यो । रमिते दर्शकहरूले ठाने, हनुमानजी समुद्र फड्काइको थकाइ मार्दैछन्, द्रोणाचल पर्वत बोकेर ल्याइसकेपछि सुस्ताउँदैछन् । तर केही बेरपछि पो थाहा भयो, ऊ बेहोस भइसकेको रहेछ ।
केही दिनपछि फेरि थाहा भयो- उसका अगाडिका पूरै दाँत बेकम्मा भइसके छन् । अब आजभोलि ‘तर्छु क्षार समुद्र…’ ले पनि ऊभित्र हनुमान् पस्दैनन्, ऊभित्रको ‘वीर’ लाई जगाउन सकिँदैन । झन्डै यस्तै प्रकारको ‘वीर चलाइ’ भने समाजमा यत्रतत्र देख्न पाइन्छ । कसैको अलिकति प्रशंसा गरिदिनोस्, ऊभित्रको ‘वीर’ तत्काल जागिहाल्छ र आफ्नो क्षमताभन्दा बढी काम देखाउने प्रयासमा या त ऊ धेरैको मनोरञ्जनको लागि तमासे र हास्यास्पद बन्छ या निकै खतरनाक ! ‘आजको होटेलको बिल प्रकाशको । ठट्टा छ ? करोडपति बाबुको एकलो छोरो हो ऊ । फेरि मित्रताको सही अर्थ प्रकाशभन्दा बढी अरू कसले पो बुझेको होला र ? मित्रताको आदर्श-पाठ त प्रकाशबाटै सिक्नुपर्छ ।’ प्रकाशको ‘वीर’ चल्यो त्यसैले होटेलको बार पनि राती अबेरसम्म चल्यो ।
‘प्रमोद ! तँ छँदै मलाई त्यो वीरेले धम्की दिने ? तँ जस्तो साथी भएर पनि म ऊसँग झुक्नुपर्यो अब ?’ प्रमोदको ‘वीर’ चल्यो त्यसैले बीरे ढल्यो । यस्तै ‘वीर चलाइ’ का उदाहरण हुन् विभिन्न आतङ्कका घटनाहरू पनि । अन्यथा दस-बाह वर्षे बालकहरू आफ्नो घाँटीमा पोटेसियम साइनाइडको क्याप्सुल बाँधेर हिँड्ने थिएनन् । शरीरमा बम बोकेर हवाइजहाजबाट फाल हालिने थिएन । आफ्नो शरीरमा बाँधिएको विस्फोटक. पदार्थको स्वीच आफैले थिचेर बाबु त बाबु आफैलाई समेत उडाउने थिएन मान्छेले । नाक बचाउन, धाक जमाउन पनि मान्छेभित्रको ‘वीर’ सन्कन्छ । विभिन्न चाडबाड, सामाजिक संस्कार र भोज-पार्टी आदिमा प्रतिस्पर्धात्मक अन्धाधुन्ध खर्च यसका उदाहरण हुन् । भावुकता र संवेदनशीलताले पनि यस आँचलाई पूरापूर हम्कने गर्छ । ‘के यो ‘वीर’ माथि कुनै अङ्कुश छैन ?’- एउटा साथीले प्रश्न गर्यो ।
हनुमान् त शक्तिका प्रतीक हुन् । शक्ति बुद्धिद्वारा डोर्याइनुपर्छ । तर बुद्धि पनि त परिस्थितिअनुसार क्रियाशील वा किंकर्तव्यविमूढ भएको पाइन्छ । अन्यथा ‘पावरवाला’ को हम्मेशी विरोध गर्न किन गाह्रो मान्छन् मान्छेहरू ? प्रत्येक मान्छेभित्र शक्ति अर्थात् हनुमान् छन् तर ठूला हनुमानको सामु साना हनुमानहरू किन चुप नै रहन्छन् ?’ अर्को साथीले क्षोभ प्रकट गर्यो ।
‘वीर’ जगाएर ध्वंश होइन उत्साह थपेर तथा यथार्थबोध गराएर व्यक्तिलाई अपेक्षित रचनात्मक कार्यतिर उन्मुख गराउन सकिँदैन ?’- अर्को साथीले पनि प्रश्न नै गर्यो ।
खै, के भन्नु ! अधिकांश मान्छेहरूको मनमा यो ‘वीर’ त सधैँ सक्रियनै रहेको पाइन्छ । रूप, धन, बल र पदको तुजुक, नेताको भिनाजु र मन्त्रीको सालोको तुजुक यिनको ‘वीर’ त झन् आठ पहर जागा रहन्छ । बाबु बाजेको इज्जत, माइती- मावलीको नाक, आफ्नो सामाजिक-पारिवारिक स्तर यी सबैले पनि मनको ‘वीर’ लाई कुनै घडी सुत्नै दिंदैनन् । कुनै पनि मूल्यमा आफ्नो श्रेष्ठता, सान र सुविधा सम्पन्नताको प्राप्तिका लागि यी ‘वीरहरू’ सैतान बनिरहेका घटनाहरू समाजमा यत्रतत्र देख्न पाइन्छन् ।
सत्तासीनहरूको ‘वीर’ त झनै भयङ्कर हुने गर्छ । भाट र चाटुकारले समेत यिनको ‘वीर’ लाई तीस वर्षसम्म लम्ब्याउन सक्छन् । सामूहिक लाशका कुवाँ, ग्यास च्याम्बर यी सबै ‘वीर चलाइ’ कै परिणाम त हुन् । दम्भ र अहं नै ‘वीर चलाइ’ को पर्याय हो । बाबरका सेनाको ‘वीर’ चलेर नै भारतमा मुगलवंशको स्थापना भयो भने तैमूरलङ्ग र नादिरशाहको कत्लेआम पनि यही ‘वीर’ कै सनकीपन होइन त ? विभिन्न युद्धका घटना र साम्राज्यवादी-हैकमवादी लिप्सा पनि हनुमन्ते खेल नै हुन् । इराकको घाउ, कुवेतको दर्द के यसैका उदाहरण होइनन् र ?
‘वीर चल्नु’ भनेको ‘जङ चल्नु’ हो । कुनै दिन कसैको यस्तै जङ चल्यो भने यो सुन्दर सृष्टि नै ध्वस्त हुन बेर छैन । जोसमा होस नराख्दा मान्छे आफू नरबाट वानर बनेको पत्तै पाउँदैन । थाहै छ, वानरले न त आफ्नो घर बनाउँछ न त अरूको घर नै बचाएर राख्छ । वीर रस (झोल) चढेको बेला चन्द्रसमशेरको हात्ती किन्ने दुस्साहस आउने कुरा बेग्लै हो तर केही व्यक्ति त नपिएरै पनि यो ‘वीर’ खतरनाक बनेको हुन्छ । आदर्शबाट अभिप्रेरित भएमा यही ‘वीर’ शहीद बन्छ, पूज्यनीय बन्छ । अन्यथा कोत, भण्डारखाल र १७ सालमा पनि ‘वीर’ जागेकै हो । त्यसको परिणति थाहा नै छ ।
खै, के भन्नु ? ‘कोभन्दा को कम ?’, ‘ऊ भन्दा तिमी के कम ?’ अथवा ‘तिमी छँदै ऊ अगाडि बढ्यो, खुट्टा तान बरु माटो खाओस्’- जस्ता वाक्य प्रयोग गरेर भए पनि, ‘त्यसलाई हुने तिमीलाई नहुने ?’ भनेर भए पनि ‘वीर’ जगाइदिए आपसमा जुधाई रमिता हेर्नेहरूको पनि यहाँ पटक्कै कमी छैन तर विवेकद्वारा नियन्त्रित नभएका हनुमान् तपाईंका हाम्रा- मनभित्र त्यसै बलात् पसे भने यो समाजको, यो संसारको ‘अशोक बाटिका’ कै हाल हुन के बेर ! किनभने हाम्रो ‘वीर जगाउनका लागि अनगिन्ती स्वरहरू नित्य नै जताततै घन्किरहेकै छन् ‘चल वीर हनुमान्…. !’
०००
(दृष्टिकोण, २०४९)
‘सुनको फूल पार्ने पोथी’ (२०५४)
Subscribe
Login
0 Comments
Oldest







































