डा. पशुपति नाथ तिमल्सेनाचम् प्लस चा = चम्चा (प्रकरण- १)
पैसासँगै पहिला नै भाँचिएर राखिएको चम्चाको चम् भाग पनि आयो अनि चा भाग पनि खोजेर हातमा लिएँ । चम्चाका दुबै भाग हातमा लिएर जोड्ने प्रयास पनि गरें, तर किन जोडिन्थ्यो र ? एकछिन त्यसै हातमा खेलाएर हेरिरहें ।

पशुपति नाथ तिमल्सेना :
‘चम्’को बारेमा गम्दै थिएँ तर कताबाट हो कुन्नि चाकडी (री)को ‘चा’ आएर रम्ले झम् पारेको बेलामा भ्रम पार्यो । चम्चाको बारेमा कति शास्त्रार्थ भए, कति ठेली लेखिए, कति खण्डकाव्य महाकाव्य रचिए तर कसैले पनि चित्त बुझ्दो पारामा यसको परिभाषा गर्न सकेको पाइएन । ‘चम् र चा’ को बारेमा जान्न इच्छुक मनुवा म शोचमग्न भएर भित्तातिर ट्वाल्ल हेरिरहेको थिएँ तर एकैछिनपछि एकाएक झल्याँस्स भएर पाठशालामा पढ्दा ताकाको पुरानो कुरा सम्झन पुगें । त्यस बेला अरु केही साथीहरूसँगै म पनि गाउँकै पाठशालामा पढ्थें । आफूलाई भाषा र व्याकरणका मर्मज्ञ नै ठान्ने अमर गुरुसँग हामीहरू अमरकोशका साथै पाणिनीय व्याकरण आदि पढ्थ्यौं । पाणिनि गुरुको अष्टाध्यायी हेर्दै नहेरी पढाउने भएकाले हाम्रा गुरुलाई पाणिनि नै भने पनि हुन्थ्यो । फेरि पाणिनिले डमरुको डम् डम् आवाजका चौध सूत्र निर्माण गरेका थिए । चौध सूत्र पढाइ सकेपछि हाम्रा गुरुले हातको चुट्किला मारेको आवाज आउँथ्यो । यो चुट्किला पन्ध्रौं सूत्र हो रे † यो पन्ध्रौं सूत्रको अर्थ थियो- पाठ सिद्धियो घर जाऊ, भोलि आउँदा पाठ कण्ठ गर आदि । त्यसैले गुरुलाई कतिपय भाषाशास्त्रीहरू नव पाणिनि या पाणिनि गुरुका डुप्लिकेट पनि भन्थ्ये । गुरुको पन्ध्रौं चुड्कीले सूत्रको साङ्केतिक अर्थ हामीले भन्दा पहिले चमेलीले बुझ्थी र भान्छातिर लाग्थी । चमेली हामीहरूजस्तै औपचारिक विद्यार्थी नभए पनि गुरुको भात भान्छा तयार गरेपछिको फुर्सदिलो समयमा व्याकरणको ज्ञान आर्जन गर्न भनी केही समय हाम्रै लहरमा बसेर पढ्थी । यसरी हाम्रै लहरमा बसेर पढ्दा सहज नमाने पनि गुरुको खासै आपत्ति थिएन, हामीहरूले आपत्ति गर्ने कुरै भएन ।
भोलिपल्टदेखि गुरुले विसर्ग सन्धि, अच् सन्धि हल् सन्धि आदि पढाउन थाल्नुभयो । गुरु हामीलाई ‘हलन्त्यम्’ भन्दै हल् सन्धि पढाउँनु हुन्थ्यो । हामी पनि गुरुसँगै हलन्त्यम् भन्थ्यम् र हल्लन्थ्यम् । हामी हल्ली हल्ली हल् सन्धि पढिरहेको सुनिरहनु भएका गुरुले ‘आजबाट सन्धिको पाठ सकियो’ भनेर आपूm चुप लाग्नुभयो । सन्धिको पढाइ राम्रो लागेछ कि क्या होे अरु सन्धि छैनन् गुरु भनेर एकजना साथीले सोध्यो । अरु पनि सन्धिहरू छन् भनेर उदाहरण दिंदै गुरुले प्रष्ट पार्नुभयो । साथीहरूमध्ये कसैले सुगौलीको सन्धि, कसैले सात सालको सन्धि, कसैले असमान सन्धिका बारेमा जिज्ञासा राखे तर उहाँले यी इतिहास र राजनैतिक क्षेत्रका सन्धि हुन् भनेर खासै महत्व दिनु भएन ।
यसैक्रममा एकजना साथीले ‘गृहसन्धि भनेको कस्तो सन्धि हो नि गुरु ?’ भनेर सोधेको मात्र के थियो गुरु त उग्रचन्डी रूप धारण गरी दारा किट्दै हामीमाथि आइलाग्नु भयो । गुरुको त्यो उग्रचण्डी रूप र किट् किट्को दन्तशैलीले त हाम्रो होस् हवास नै उड्यो र हामीहरू त्यहाँबाट बेपत्तासँग भाग्यौं, पछि कयौं दिनसम्म टाउको उठाएर गुरुको मुख पनि हेर्न सकेनौं ।
मित्र पाठकहरूलाई लाग्यो होला पाणिनि गुरु, चमेली, सन्धिको पढाइ आदिजस्ता गन्थन मन्थनसँग यस लेखको के सम्बन्ध छ ? भनेर । तर म भन्छु कुराको चुरो यहीँ छ । धेरै वर्षको अन्तरालपछि हाम्रा पाणिनि गुरुसँग गृहसन्धि बारे जिज्ञासा गर्ने साथीसँग काठमाडौंको रत्नपार्कमा अचानक भेट भयो । लामो समयपछि भेट भएको हुनाले हामी त्यहींको एउटा होटलमा पस्यौं र चिया खाजाको अर्डर गरी पाठशालामा पढ्दा ताकाका पुराना गर्न थाल्यौं । कुरै कुराको सिलसिलामा उसले भन्यो ‘हाम्रा पाणिनि गुरुले दोस्रो गृहसन्धि गरेर बसाइँ सरेछन्’ । म त आश्चर्यमा परें । मर्मशास्त्र, अर्थशास्त्र र धर्मशास्त्रमा आचार्य गरेका मेरा आचार्यले यस्तो त नगर्नु पर्ने हो जस्तो त लाग्यो तैपनि म केही बोलिनँ । गृहसन्धिपछि चमेलीको चम् र पाणिनिको पा मिलेर चम्पा नयाँँ शब्द बनेको हुनुपर्दछ जस्तो लाग्यो । यो सन्धि भन्ने कुरा पनि अचम्मैको रहेछ, मनमनै कुरा खेलाउँदै आप्mनो बाटो लागें ।
मलाई यो पुरानो कुरा सम्भ“mदा आफूले लेख्न लागेको चम्चा महात्म्यका बारेमा दिव्यज्ञान नै प्राप्त भएजस्तो लाग्यो । अब भने मलाई पक्का भयो यो चम्चा मौलिक तत्सम या तद्भव या झर्रो नेपाली शब्द पनि होइन । यो त दुईवटा विपरीत तत्वहरू या भनौं दुई स्वार्थ समूह बिच हुने सम्झौताबाट देखिने सन्धिको रूप पो रहेछ । मैले यत्ति भनेर आफ्नो कुरालाई यहीं टुङ्ग्याएको भए पनि हुन्थ्यो तर मैले चम्चाका बारेमा केही कुरा भन्नै पर्ने भएको छ । त्यसैले मेरो कलम यहीं रोकिन पाउने अवस्था रहेन ।
संस्कृत व्याकरणका पञ्चसन्धि पढ्दा त आत्तिएका हामीहरूको अवस्था देखेर निराश हुनुभएका हाम्रा पाणिनि गुरु खुइय सास तानेर ‘नियमबद्ध गरिएका व्याकरणका पाँचौटा सन्धि पढ्दा तिमीहरूको यो हालत छ भने खास नियमै नभएका समाजका राजनैतिक/ऐतिहासिक जीवनका कयौं सन्धि र विग्रह कसरी पढ्छौ हँ ?’ भन्दै गुरु ‘राजनैतिक सामाजिक सन्धि भनेको भिन्नाभिन्नै स्वार्थ समूह बिच केही लेनदेन गरी दुबै पक्षलाई फाइदा हुने गरी गरिने सम्झौता हो’ भन्नुहुन्थ्यो । अहिले नेपालमा जे जति सन्धि सम्झौताहरू भएका तिनमा नेपालपक्ष ठगिएको छ भन्दै सुगौलीको सन्धि, दिल्ली, कोशी, गण्डकी लगायतका सन्धि सम्झौताहरूप्रति गुरुको तीब्र असन्तुष्टि नै रहेको देखिन्थ्यो । सन्धि सम्झौतामा समानता खोज्ने हाम्रा पाणिनि गुरुको जीवनमा भएको गृहसन्धिमा पनि समानता भने देखिएन । यसले स्वयं गुरुलाई नै बसाइँ सर्नुपर्ने अवस्थामा पुर्याएछ । खैर यस्ता गृहसन्धिका यी कुरा छाडिदिऊँ, अहिले आफूलाई चासो परेका कुरातिर लागौं ।
मैले लेख्न लागेको कुरा चम्चाको बारेमा हो तर फेहरिस्त भएछ सन्धिको । तपाईंहरूलाई लाग्यो होला सन्धि गर्नेहरूले झैं यो लेखकले पनि पाठकप्रति अन्याय गर्न लाग्यो भनेर, अनि रीस पनि उठ्यो होला । तर तपाईं रिसाए पनि मलाई के फरक पर्छ र ? म कुर्सीमा बसेको भए पो कुर्सी जान्छ कि ? भन्ने डरले तपाईंको भर गर्नुपर्ने थियो र आज भोलिका मोडेल हाकिमले आफ्नो कुर्सी जोगाउन आउरे बाउरे धूपौरेहरूलाई हरियो पानको बीरोले आकर्षण गर्न परेजस्तै मैले पनि नोठको पत्ताले मुखमा बुजो कोचिदिनु पर्थ्याे । मुखमा बुजो कोचिएको बेलामा बोल्न मिल्दैन क्यारे † तर मलाई त्यो झन्झट उठाउनु पर्ने अवस्था छैन । फेरि यो युगौं युगसम्म चल्ने सन्धिजस्तो दीर्घकालीन असर पार्ने विषय पनि भएन । पढ्न मन लागे पढ्नुहोस् मन नलागे नपढ्नुहोस् । ‘चम्चा’ शीर्षक राखेर चम्पाको कथा लेखेर पाठकलाई छकाउने मनासय मेरो होइन । मैले लेख्न खोजेको कुरा ‘चम्चा’कै बारेमा हो ।
‘चम्चा’ यो अचम्मैको वस्तु रहेछ, आफूलाई के थाहा † घरमा फलामे थुर्मी र पित्तले आचमनीले काम चलाएको धेरै पुस्ता बितेका थिए । मेरो पनि यस्तै थुर्मी र आचमनीले जीवन बित्छ होला भन्ने लागेको थियो तर त्यसो हुन पाएन । चम्पा र चम्चा शब्द उस्तै उस्तै लागे पनि चम्पाको गृहसन्धिको कथा सुनेपछि मलाई चम् सुन्नासाथ घृणा जागेर आउँथ्यो तर अहिले यो ‘चम्चा’ शब्द मेरा लागि रहस्यमयी बनेको छ ।
जब म पढाइका लागि काठमाडौंमा गएँ त्यसपछि नै चम्चाको मूल्य र महŒव बुभ्mन थालें । एकदिन पाउरोटीमा घिउ दलेर खाने इच्छा जागृत भयो र चम्चा झिकेर ठेकीको घिउ कोट्याउन थालें, घिउ त कोट्टिएन तर चम्चा भने मज्जैले बटारियो । बटारिएको चम्चा सोझ्याएर फेरि पनि घिउ झिक्न खोजें घिउ आएन बरु चम्चा नै दुई टुक्रा भयो । म हेरेको हेरै भएँ तैपनि हरेस खाइन । औंलो वाङ्गो बनाएर घिउ झिकें र पाउरोटीमा दलेर खाएँ । मलाई त्यसबेला के पनि फुर्यो भने चम्चाको बाङ्गोजस्तो चेप्टो भागले बाङ्गो औंलाको काम पनि गर्दो रहेछ । चम्चाको प्रयोग ठीकसँग गर्न नसकेकोमा मलाई पछुतो पनि लाग्यो । मनमनै गुनें पनि चम्चाले बट्टा, सिसी, सिमाङ्गको मुखबाट भित्रको वस्तु झिक्न र झिकेको वस्तु मुखभित्र कोच्याउन सजिलो हुँदो रहेछ । पहिला त मलाई भाँचिएका चम्चाका टुक्रालाई फ्याँकिदिऊँ कि भनेर झोक पनि चलेको थियो तर फँ्याकिन । ठेकीको घिउ झिक्न नभए पनि बेसार झिक्न त काम लाग्छ । त्यसैले चम्चाको चम्तिरको भाग अर्थात् चेप्टो बाङ्गो भागमा लागेको घिउ चाटेर सिरानीतिर राखें र चा अर्थात् पछाडि पट्टिको समाउने बिंडलाई दाहिने खुट्टाको सिरान गराई दिएँ ।
चम्पाजस्तै चम्चा पनि सन्धि सम्झौताबाटै बनेको शब्द हो र यसको विशिष्ट किसिमको अर्थ छ भन्ने लाग्न थाल्यो अहिले मलाई । चम्चा र चम्पा बारे म के के सोच्दै थिएँ झलमल्लै उज्यालो भएको पत्तै भएनछ । झट्पट् उठेर बासी पानीले काशी गरेर एकाविहानै लागें लैनचउरतिर पावर खोज्न । पैतंीस छत्तीस सालको विद्यार्थी आन्दोलनका कारण दुई वर्षमा सिद्धिने पढाइ तीन वर्ष बढी नै लगाएर स्नातक गरेको प्रमाणपत्र बल्ल हातमा परेको थियो । यता शिक्षा तथा संस्कृति मन्त्रालयमा प्रौढ शिक्षा शाखा अन्तर्गत सुपरभाइजर पदको विज्ञापनमा निवेदन चढाएको थिएँ । त्यसैका लागि पावर चाहिएको थियो । आफ्नो गाम्का मान्छे त्यसबेला उपल्लो तहको पदमा आसीन थिए । उनको ढोकामा पुग्दासम्म मन फुरुङ्ग थियो तर फुरुङ्ग परेको मन एकै छिनमा भुरुङ्ग भयो । विज्ञापन खुल्नुभन्दा पहिला नै अर्कोले दिनमा तीन पटकसम्म साष्टाङ्ग चढाएर पद त बुकिङ् गरिसकेछ । यतिखेर मेरो जिउ नजानिंदो किसिमले चिलाउन थाल्यो । बाहिरैबाट अलि अलि कन्याएँ, डेरातिर फर्किएँ ।
एकधर्के श्रेणीमा स्नातक गरेको हुनाले ममा घमण्ड नै थियो, नाक पनि फुरेकै थियो । चरेस खाएर हरेस नखाएका उपत्यकेली आधुनिक हिप्पी मार्का पङ्क्स्जस्तै म पनि ठाँट्टिदै अन्तवार्ता दिनका लागि लागें केशर महलको प्राङ्गणतिर । तीन तल्लामाथिको सुदूर पश्चिमतिर लहरै कोठाहरूमा भित्र बाहिर व्यस्त जनाउने प्लेटहरूमा नाम र पदहरू हेर्दै बरन्डातिर निस्कें । डेढ दर्जनजति तीन धर्केहरू हल्ला गरिरहेका थिए । ठिक यसैबेला अन्तवार्तामा जानका लागि पियनले नाम बोलायो । स्वणर्बुद्ध किन्न नसके पनि यिनको शरणमा परे भलै हुन्छ भन्ने लागेर मनमनै ‘बुद्धं शरणं गच्छामी’ भन्दै अन्तर्वार्ता दिने कोठाभित्र छिरें ।
अन्तर्वार्ता कक्षमा प्रवेश गरेपछि दस औंले, धनुष्टङ्कारे लगायतका औपचारिक शिष्टाचारका प्रक्रिया पूरा गरी तोकिएको ठाउँमा बसें, अन्तर्वार्ता सुरु भयो । अन्तर्वार्ता लिनेहरूमध्ये कसैले गाउँको नाम, कसैले बाबुको नाम र पेसा, कसैले रा.पं.स.को नाम आदि सोधे मैले सबै प्रश्नको उत्तर दिएँ । खास अन्तर्वार्ता त अब सुरु हुनलाग्यो भनेर दरो मन गरी तयार भएँ, तर उताबाट आवाज आयो ‘अन्तर्वार्ता सकियो भाइ गए हुन्छ’ भनेर । म बाहिर निस्किएँ, निस्कने बेलामा नाकमा ह्वास्स ह्विस्कीको गन्ध आयो, ढोकातिर कमिलाले मासुका साना साना टुक्रा घिसार्दै गरेको पनि देखें ।
मनमा अनेकौं प्रकारका कुराहरू खेलाउँदै डेरातिर फर्किएँ । अधिकृत तहको अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको स्तर सम्झँदा दिमागमा एकैचोटी घृणा र आक्रोश जागेर आए पनि मनलाई सान्त्वना दिने काम गरेँ । आ जेसुकै होस्, सोधेका प्रश्नहरूको उत्तर सयमा सय प्रतिशत् नै मिलाएको छु, त्यसमाथि एकधर्के सर्टिफिकेट पनि छ, अनि यी रोयल र गान्धी डिभिजनधारीहरूलाई सजिलै लतारिहाल्छु नि भन्ने सोचेर ढुक्क भएँ । तीन दिनपछि रिजल्ट भयो । रिजल्ट त तीनधर्के या रोयल डिभिजनवालाले पो हात पारेछ । भनसुन् र चाकडीको यत्रो चमत्कार † एकछिन् त झनक्क रीस उठ्यो, मन पनि खिन्न भयो तर के गर्ने देशको चाला यस्तै छ भनेर आफैलाई सम्झाएँ, जति सम्झाए पनि मन मान्दैन । मनमा यस्तै किसिमका अनेकौं कुराहरू खेलाउँदै थिएँ अचानक झलक्क सम्झिएँ पहिला घिउ झिक्दा भाँचिएको चम्चा, अनि सम्झिएँ केकेमनुक्च्योको ‘अन्तर वार्ता या अन्तर्वार्ता’ भन्ने घोत्ल्याइँ र मोहनराज शर्माको ‘मिस्टर इन्टरभ्यू स्पेसलिस्ट झप्पू सिं डब्बल एम्. ए’ भन्ने लेखौट । यी दुई लेखहरूको सम्झनाले मात्र पनि अन्तर्वार्तामा असफल भएर कुँडिएको मेरो मनलाई सान्त्वना दिलाएँ ।
अन्तर्वार्ता बिग्रिएको एक दुई दिन खासै जाँगर चलेन । कोठामा त्यसै बसिरहेर पनि त काम चल्दैन, उता एम्.ए.को पढाइ कीर्तिपुरमा चालु नै थियो । क्याम्पस जान बसलाई तिर्ने खुद्रा पैसाका लागि डसनामुनि हात घुसारें र पैसा तानें । पैसासँगै पहिला नै भाँचिएर राखिएको चम्चाको चम् भाग पनि आयो अनि चा भाग पनि खोजेर हातमा लिएँ । चम्चाका दुबै भाग हातमा लिएर जोड्ने प्रयास पनि गरें, तर किन जोडिन्थ्यो र ? एकछिन त्यसै हातमा खेलाएर हेरिरहें ।
क्रमशः
०००
पोखरा
Subscribe
Login
0 Comments
Oldest








































