साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रवादी र अर्गानिक बजार अनुगमन

आस्था र देशप्रेमको कात्रोमा बेरिएका जीवित तर लास प्राय चेतनाका मानव आकृतिलाइ मदारीले डमरुको तालमा नचाए जस्तै अनेक मदारीले नचाएर चटक देखाउँदै आफ्नै माल बेचिरहेका थिए ।

Nepal Telecom ad

शम्भु गजुरेल :

अभियानमा लागेको मान्छे परियो त्यसैले बजार अनुगमन गर्नु त दायित्व नै हो । एउटा दिनको पिल्पिले बिहान गोडामा चट्टी र मुखमा पट्टी लाएर टट्टीले रड्डी बनेकी गङ्गाको नङ्गा किनारैकिनार उत्तरापंथको यात्रातर्फ लागेँ म !

महिषासुरका पिडौंलाका हाड छल्दै कहिले उठ्दै कहिले ढल्दै किरातेश्वरको लिलाधाम पुग्दा घण्टी बजेको थियो तोरन सजेको थियो तल गङ्गेमा पिप बगेको थियो जब चडें सत्तलमा लाग्यो स्वर्ग यहि रहेछ । किनभने हिमाली आँगनमा नरिवल प्रसाद माग्दा रहेछन् देवले, तिलक बेच्दै रहेछन् पुजारी बा, नदी दुर्गन्धित भए पनि १०८ किलोको सुनको झलर टाँगेका रेछन् राजाले । आस्थाको बजार भरिभराउ थियो, आस्थाको आशा किन्नेको लामो लाइन थियो अनि ग्राहकको टाउकोमा परेवाले बिस्ट्याउदै थियो । भोलेको भजन गुञ्जिरहेको थियो तर म निस्कें अर्कै बजारतर्फ निरीक्षणको जागीरे झारा टार्न ।

सिल्ली बजारको पिपल ठुटो नाघेर टुकुचाको पश्चिम् किनारामाथि उक्लेर नियालेको मात्र के थिएँ- पानीपोखरी नजिकै एउटा दुम्किलोमा चम्किलो पाल टाँगेर झम्किलो दारी भएको गम्किलो केटो चन्द्र सूर्यको फेटो कसेर सिरानमुनि डेरीमिल्कको कन्तुर राखेर गर्मीमा पनि सिरकले मुख ढाकेर भित्तातर्फ मुख गरेर पदारिएको थियो तनक्क ! बाहिर तख्ता झुन्डिएको थियो खेतमा नटेके पनि खेतमा धान फलाओस् भाग्यले, मेरो माग पूरा नभएसम्म आमरण अनसन ! कुरोको चुरो बुझ्दा नेता बन्ने लहडमा अनेक तिकडम गर्ने चतुरलाल आफ्नै खेतमा तितेपाती उमारेर आक्कलझुक्कल आइचर गाडीमा माइक लगाएर क्रान्तिको भाषण गर्दागर्दै थाकेर चिनाउन खोज्दै रहेछन् आफूलाई र त तथास्तु भन्ने आशिर्वाद दिन आएछन् हस्तिनापुरका राजदूत हातमा फलरस लिएर, यो बजार रहरलाग्दो थियो ग्राहक यहाँ पनि थिए मनग्ये ।

हिँड्दाहिँड्दै पसिनाले ज्यान भिजेर पतलुन कापेमा अल्झिन खोजेपछि खुल्ला मञ्चमा बाँकी भएको मञ्चको पेटीमा बसेर लोलाएको मात्र के थिएँ स्वप्ननगरको राष्ट्रवादी बजारमा पुगेछु म, पुच्छार बजार पार गर्दै थिएँ- कान्लोमा सुरुङ खनेर भुरुङको रकेटले बिस्केट जात्राको दिन चाँदनीचोकको लालकिल्ला र नारायणधाराको आग्लो दरबार अनि पाताल देशको सेतो महलनुमा त्रिपुर भस्म पार्ने भासन बेचिदै थियो । राष्ट्रवादी बजारमा किन्नेको भिड थियो, व्यापार चम्केको थियो ।

अलि पर पारिवारिक शासकको मनमौजी भोजमा तन फौजी दानवले ताण्डव मच्चाएर खाण्डवप्रस्थ स्वाहा पारेको र सहानुभूतिका पाण्डवको नास र आक्रोशका कौरव बाँचेको मुनादी गर्ने मलसाप्रे व्यापारीको व्यापारले बजार ओगटेर ओरालो लागेपछि रामलाई नेपालमा जन्माउने अनि नक्सा लेख्ने प्रतिस्पर्धा पनि राम्रो चल्यो ।

ठिम्मुर्‍याएको नक्सामा झुण्ड्याएको कलात्मक चुच्चोयुक्त नक्साका चित्रकार र नक्साको व्यापार चरमचुलीमा पुगेको बेला महर्षि मनुका चेलाका फेला परेर चुलीबाट सूलीमा झारिए अनि सुविधा जनक पात्र उमारिए, लतारिए र थचारिए। नागरिकता नामको चिनो बेच्ने बजारमा उर्लेको भेल र दन्केको आगोमा बहु राष्ट्रवादी पसलहरू बग्रेल्ती खुले तर ग्राहकको खाँचो परेन कसैलाई ।

कल्पनाको अखण्डमा बितण्डाको भारती र आवेगको नेपाली ग्राहक रिझाएर आफ्नो स्वणर् महल तयार पार्न उद्दत शुम्भ निशुम्भका वंशजले तयार पारेको अखण्ड देशको धोत्रो राष्ट्रवादी बजारले गेरु बस्त्र र छेदुलाललाई एउटै बेदीमा बसेर आहुती दिन बाध्य पारेको मनमोहक दृश्य र महिषदानको अपूर्व प्रगतिशील नजारा बिर्सिन नहुने खालको देखिन्थ्यो !

आस्था र देशप्रेमको कात्रोमा बेरिएका जीवित तर लास प्राय चेतनाका मानव आकृतिलाइ मदारीले डमरुको तालमा नचाए जस्तै अनेक मदारीले नचाएर चटक देखाउँदै आफ्नै माल बेचिरहेका थिए, ठूलो आवाजले व्याण्डबाजा बज्यो, म झल्याँस्स बिउँझिएँ- टुडिखेलमा साँझको परेड चलेको रहेछ, हतार हतार हिँडें म बासस्थानतिर ।

बुडीको गन्थन र सन्तानको मन्थनपछि पेट पूजा गरेर सञ्जालको बजार नियाल्न थालें, त्रिशूलीमा बदाम फल्न छोडेको दशकौं भयो होला तर अनलाइनमा बिक्दै रहेछ, नुवाकोटमा भारतीय वणर्शंकर धानले स्थानीय बीउ उन्मुलन गरेको दुई दशक भएछ तर अनलाइनमा खुमल चार र पोख्रेली बिक्दै रहेछ ! उखु लगाएर सख्खर बनाउन छोडेको गुल्मीको सख्खर छ्यालब्याल रहेछ ! रासायनिक मलको अबैध आयातकर्ताले अर्गानिक उत्पादनको अनलाइन गोदाम बनाएर बेच्दै रहेछ अनि ग्राहकको भिड छिचोल्न मुस्किल देखेर निस्सासिंदै थिएँ समस्याको ख्याल गरेर होला बिजुली निभाइदिए मालिकले भुसुक्कै भएँ म ओछ्यानमा ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x