एमपी पाण्डेगणतन्त्रको फसल
धमिरा कुकाठमा मात्रै लाग्छ अग्राखमा होइन....., उठ ! सतिसालहरू हो, जुरुक्क उठ फेरि परिवर्तनको दाबबाट फुत्केर संघीय राजधानीको भिडमा हराएकी क्रान्ति खोज्न...

एमपी पाण्डे :
अनि
भुत्ते भएको हो
ठुलासैनको उकालो छिचोलेर
राता गुराँसको रक्तिम आभा चुम्ने वर्षौं पुरानो सपना
जयगढ्मा साटेको माया
कैलाशखोला नटेक्दै वारपार भएपछि ।
दुख लाग्छ
यती कम्जोर कसरी भयो
रगतले पोतेको प्रियशीको सिउँदो जस्तो
सुनौलो भविष्यको नयाँ गोरेटो
र
रक्तरञ्जित सपना ।
सुक्न त
अझै सुकेको छैन
छापामारहरूका निधारमा बगिरहेको बुढिखोला
ओभाएको छैन
केरलको नंङ्गेली भन्दा पनि कुरुप
अन्धविश्वासका जरा काट्ने खुकुरीको दाउ
फुकेको छैन
आदिम माखेसाङ्ग्लोमा जकडिएको
जहाँनिया शासनलाई क्षतविक्षत पार्ने
गगनभेदी मुड्की
निभेको छैन
स्कुले जीवनलाई अधकल्टो छोडेर
परिवर्तनको बिगुल फुक्दै हिंडेका
बाल मिलसियाहरूले उचालेको मसाल ।
निभेको छ त केवल
विचारका पाटाहरूको झोरो
आस्थाको प्रदिप्त चिराग
राता टाउकाहरूको आदर्श खुइलिएपछि
स्वभाविकै पनि हो
कम्ब्याट खुइलिनु
हतियारमा खिया लाग्नु
भरोसा खुइलिएपछि
विश्वास खुइलिएपछि
अचेल
सुकिलो दरबारतिर कोठा खोज्दै हिंडिरहेको सुनिन्छ
उ बेला झण्डै छिनेका रक्ताम्य गर्दनहरू
मानौ
एक मिथक सपना जस्तो ।
सायद
रोग पुरानै हो
टुप्पी नाघेपछि,चुप्पी बिर्सने
फैलिइ त हाल्यो
सत्ता उन्मादको ब्याक्टेरिया
तर
यति कुरा, ख्याल राख्नुहोस् कमरेड
विषादको ब्लुजमा, फुल्दैन उन्नति
न त अन्यौलको ब्यूहमा
पराईको खेत जोतेर फसल लाग्दैन समृद्धिको
आफ्नै च्युट खन्नु पर्छ दुख, सुख
इतिहास साँछी छ, रोपेकै फल्छ
कुनदिन भविष्यले सराप्ने छ
बेचिएका पाखुरी, एवम मानव दलालहरूलाई ।
खोई ?
कतिन्जेल खेप्नु
बन्दबाकस भित्र खाँदिएको देश
सुखा रोटीको मलामी हिँडेको खाली सिउँदो
बुढ्यौलीमा बेसाहारा भएको बुढो घरको चुहिने छानो ।
आफ्नै माटो
आफ्नै बाटोमा खोज्नुपर्छ प्रगतिको पहिलो पाइला
बाँकी त सिकौंला नि देश दुनियाँबाट
आफूले नजानेको…..,
पैला त आफैसँग लडौं
आफ्नै आँगनको डिलबाट
सिंहनाद गरौं आत्मनिर्भरताको….. ।
ऐँजेरू लागेको हृदयबाट ऐँजेरू उखेल्दै
खिया लागेको दिमागमा पाइन थपेर ।
आऊ !
बन्द समाजका, खुला आँखाहरू
मंगलसेनमा हराएको जुनेलो खोजौं
रामारोशन अर्थात अछामहरूको जुनकीरी
सिङ्गो नेपाः सभ्यताले खडा गरिदिएको
आदर्शको अग्लो धरहराबाट
आमा भन्नुहुन्छ…..,
धमिरा कुकाठमा मात्रै लाग्छ
अग्राखमा होइन…..,
उठ ! सतिसालहरू हो, जुरुक्क उठ फेरि
परिवर्तनको दाबबाट फुत्केर
संघीय राजधानीको भिडमा हराएकी क्रान्ति खोज्न
टंकको छातिभित्रै हराएको देश
विमानस्थलबाट बाहिरिंदै गरेको
नौजवान आँखाबाट पग्लिदै, खस्दै गरेका हिमाल छेक्न
चुस्त दुरुस्त अघि बढौं
परिवर्तनका राँटाहरू सम्याउँदै
शान्ति समृद्धिको रोपाइँमा…..
भरे, आनन्दले टिपौंला
गणतन्त्रको फसल ।
तिमिल्सेनको फाँटबाट ॥
०००
बाजपा ३, अछाम
Subscribe
Login
0 Comments
Oldest






































