चाेलेश्वर शर्मासुँगुरको खोरमा बुद्धिजीवीको लघु-प्रवचन
सके तपाईंहरूबाट प्रेरणा पाएर नै मानवजीवनमा कारावास समय रसमय हुन्छ । यस धर्तीमा जन्म लिएपछि हिलो चिन्नु, भूसमा रमाउनु र हिलामा परमानन्द अनुभव गर्नु नै समस्त प्राणीको लक्ष्य हुनुपर्छ । तपाईंहरू वन्दनीय हुनुहुन्छ ।

चोलेश्वर शर्मा :
आदरणीय महानुभावहरू,
सर्वप्रथमतः म तपाईंहरूलाई हार्दिक अभिवादन गर्छु । तपाईंहरू खोरमा हुनुहुन्छ, यसका लागि मलाई सधैं दुःख छ । बनेल भनेर सुँगुरको मासु खाँदा पनि मलाई तपाईंहरूको दुःखले पीडित तुल्याएको छ । तर यसलाई स्वीकार्नैपर्छ । यो नियति हो । तपाईंहरूको नियति नै खोरमा थुनिनु तथा भूस र हिलामा रमाउनु हो र मेरो चाहिँ जन्मजन्मान्तर अरूहरूमाथि सहानुभूति प्रकट गर्नु हो । निश्चय नै, यसमा तपाईंहरू प्रसन्न हुनुहुन्छ । हुनैपर्छ । अरू उपाय छैन । मलाई लाग्छ, दुःखमा कोही मोटाउन्न । मोटाउने कुरामा तपाईंहरू शाश्वत उदाहरण हुनुहुन्छ । मैले दुब्लो सुँगुर देखेको छैन । देखेको भए पनि त्यो मेरो भ्रम हो । देखेजति कुरा सधैं सत्य पनि त हुँदैनन् ।
तपाईंहरू खोरमा थुनिनुभएकामा म घोर विरोध गर्छु । चिया र रक्सीघरका टेबुलमा पनि मैले तपाईंहरूका बन्धनको विरोध गरेको छु । तपाईंहरूका पीडाले म पग्लिएको छु । र त्यसले मलाई महाकाव्य पनि लेखाएको छ । पढ्नुभएकै होला । नपढ्नुभएको भए तापनि तपाईंहरूले त्यसको प्रशंसमीक्षा यथासमय प्रकाशित गर्नुहुने नै छ । अस्तु, खोरबाहिरको संसार झन् बिकम्मा छ र यस विषयमा साहित्य वा यसका नाममा त्यस्ता लाखौं करोडौं व्यक्तिद्वारा कागज रँगाइएका छन् जसका त्यस्ता बकम्फुस लेख्नुसिवाय अरू कुनै काम थिएनन् । ती पनि पढ्नुभएकै होला । तिनको निन्द्यमीक्षा लेख्नुहोला किनभने ती निन्दनीय छन् ।
जे होस्, तपाईंहरू खोरबाहिर यति आनन्दपूर्वक बाँच्न पाउनुहुने थिएन । खोरबाहिर मानवीयता मात्र होइन मानव नै हराएको छ र बिचरो मानिसले अलिकति भ्या दुव्र्यसनमा, अलिकति तस्करी र कालोबजारमा, अलिकति सर्टकर्ट संस्कृति बाँच्नामा, अलिकति व्यर्थका तडकभडकमा, अलिकति पाङ्ग्राका खुट्टा गाँसेर पशुभन्दा अगाडि हुनाको/पुग्नाको महत्त्वाकाङ्क्षामा आफूलाई खोज्दै छ ।
खोरबाहिर मानिसले शान्तिकामना गरेकै छन् । शान्तिका लागि शस्त्रास्त्र थुपारेकै छन् र शान्तिका लागि बम पनि पड्काएकै छन् । तर मलाई विश्वास छ तपाईंहरूका खोर र तिनका हातामा आजसम्म बम पड्किएको छैन । तपाईंहरू शान्तिप्रिय, भूसप्रिय र हिलोप्रिय हुनुहुन्छ । जति शान्ति तपाईंहरूका खोरमा छ, त्यति कहीं छैन । महात्मा गान्धीले पनि त्यसै दिनदेखि आधा लिटर भटमासको तेल खाने कठबाँसको लौरो आफूसँग राखेथे जुन दिनदेखि उनलाई अहिंसाका महान् पुजारी भनियो । लौरोविनाका गान्धी तपाईंहरूले कहिल्यै सपनामा पनि देख्नुभएको छ ? लौरोविनाका मोहनदास देख्नुभयो । महात्मा होइन । तपाईंहरू त लौरो पनि राख्नुहुन्न । यसबाट अहिंसा र शान्तिप्रति तपाईंहरूको दृढ आस्था झल्किन्छ । सुँगुरहरू जति होइन, आधा मात्र पनि शान्तिप्रिय मानिसहरू भइदिए मलाई आज यति बेला यसरी व्यङ्ग्य लेखिरहनुपर्ने थिएन । सके मैले व्यङ्ग्यको विषय नै पाउँदिनथेँ । म धेरै स्तुति लेख्थेँ । निन्दा पनि लेख्थेँ अझै बढी । नभन्दै त्यो त मेरो रुचिकै विषय हो । वा लेख्थेँ साहित्य र संस्कृतिको परिचय दिने नमूना गीतहरू । तर संसार उस्तै छ । म व्यङ्ग्य लेख्तै छु । तपाईंहरू पढ्दै हुनुहुन्छ । मन लागे मलाई गाली गर्न पनि सक्नुहुन्छ । हालसम्म नेपालमा गाली गर्न सवारी चलाउनजस्तो अनुमतिपत्र (लाइसेन्स) लिइरहनु पनि पर्दैन । गाली कुदाउन गाडी कुदाउनजस्तो कच्ची वा पक्की सडक पनि चाहिँदैन । यति नभए, तपाईंहरू कसैलाई गाली गर्न पाउनुहुन्नथ्यो । गाली गर्दै हुनुहुन्छ र स्वतन्त्र नागरिक भएको अनुभव गर्दै हुनुहुन्छ । अन्यथा तपाईंहरूको जीवन झन् दुःखपूर्ण हुन्थ्यो ।
तपाईंहरूले मानिसका सोचको सारहीन भूसमा जुन प्रकार स्वाद/सार देख्नुभएको छ, यसैले तपाईंहरूलाई महान् बनाउँछ । मानिस हुनाको अहम् पालेर शरीरमा पारदर्शी वस्त्र टाँस्नु र पाश्चात्य टेबुल म्यानर्सले भूस खानुभन्दा तपाईंहरूजस्तै हिलासँग एकाकार भएर भूस खानु श्रेयस्कर छ, स्वस्थ्यकर छ । यसबाट हीनताबोध पनि हुँदैन । यसैले म पनि तपाईंहरूप्रति आकृष्ट छु । सोच्छु, विचार्छु, हिलो नरुचाउने समाजमा आजीवन हिलामा डुबेर बाँच्नुका नाममा हास्यास्पद हिले जीवन बोक्नुभन्दा हिलाको कदर गर्ने समाजमा प्रवेश गरूँ र बाँचूँ सानन्द, मरूँ परमानन्द ।
भूसमा तपाईंहरूको रुचिकै कारणले संसारलाई भूस-चिन्तनमा प्रेरणा प्राप्त भएको छ । चिन्तन र शोधका ठूलाठूला स्कूल र ठेली मूलतः भूस-चिन्तनकै परिणाम हुन् । तिनको निचोर पनि भूस नै हो । भूस-दर्शनका प्रणेता तपाईंहरू नै हुनुहुन्छ र भूस- साहित्यका जनक पनि । यथार्थमा भूस के हो ? त्यो वस्तु जसलाई हामी मानव प्राणीले भूस ठान्छौं, भूस नै हो ? वा अन्य कुनै पदार्थ हो ? सुँगुरहरूले कहिलेदेखि भूस खान थाले ? तिनले सृष्टिको प्रारम्भमै भूस खान्थे कि अरू केही ? मानिसले अन्न छोडेर शुद्ध भूस किन खान्न ? के तपाईंहरूले भूसको भिटामीन, प्रोटिन र अन्य तागती तत्त्वको जानकारी मानिसलाई दिनुभएकाले नै उसले अन्नमा आधा भूस मिसाएर खान थालेको हो ? उसको अभिव्यक्तिमा भूस मिसिएको हो ? सोचमा भूस थिग्रिएको ? आजका भोजन र भाषा भूस घटाइदिने हो भने मानिसको स्वास्थ्य र अभिव्यक्तिमा के प्रभाव पर्ला ? अझै भूसशून्य हुँदा भोजन र भाषाको स्वाद कस्तो हुँदो हो ? गोठालेले ’भूसको आगो’ मा भूस प्रयोग गरेका छन् ? छैनन् भने भूस प्रयोग नगरी त्यस्तो नाउँ किन राखे ? गरेकै भए कति गरे ? जति भूस उनले प्रयोग गरे त्यसभन्दा कम भएको भए त्यो त्यति नै प्रभावशाली हुँदो हो, जति आज छ ? गम्भीर चिन्तनको विषय छ महोदय। आधा भूसयुक्त भोजनले मानिसले यति प्रगति गरिरहेको छ भने पूरा भूस खाँदा उसको उन्नति दोब्बर होओइन ? प्रश्न जटिल छ ।
भूसमा कुनै विशिष्ट तत्त्व छ अन्यथा तपाईंहरूजस्ता विष्णुका अवतारले ब्रेकफास्टमा लन्चमा, डिनरमा भूस हसुर्नुपर्ने बाध्यता थिएन । नेपालमा बनेका स्वास्थ्यवद्र्धक मकै स्न्याक्स, महाजन ग्रुप्सका कुनै फास्ट फुड अथवा शुद्ध नेपाली भोजनालयमा बेचिने दालभात नामका भोज्यपदार्थ मात्र पनि खान सक्नुहुन्थ्यो । त्यस स्थितिमा सामान्य नेपाली मानवप्राणीका पीडा थाहा पाउनुहुन्थ्यो र थाहा पाउनुहुन्थ्यो मानव भएर बाँच्नाको स्वाद । अभिशाप । दालभात खाएर बाँच्नु पनि कति कठिन छ नेपालमा । जोखिमपूर्ण रद्दीभन्दा रद्दी दालभात बिक्री गर्ने भोजनालय नाउँका नितान्त हास्यास्पद पसलले पनि स्वस्थ र स्वादिष्ट भोजनको ढोल ठटाउन चुक्तैनन् । भोजनको पात्र हजारपटक घुमाई हेर्दा कतैतिरबाट पनि त्यो दालभात वा भोज्यपदार्थझैं लाग्दैन । कुनै खाद्य प्रयोगशालामा जाँचविना नै तपाईं भन्न सक्नुहुन्छ । खाँदा तपाईंलाई अड्कल गर्न कठिन पर्दैन कति दिन वा महिना वा वर्षअघि त्यो सूचनामा भनिएजस्तो साजी वा ताजा हुँदो हो र त्यति बेल त्यो बेस्वादको कुन स्तरमा हुँदो हो ।
चिन्तन जारी छ महोदय खोर के हो ? मानिसले सर्वप्रथम खोर प्रयोग गयो ? मानिस सुँगुर खोरमा कमै रमाउँछ तापनि खोरमा थुनिएपछि मन गौरव/प्रतिष्ठा बढेको ठानिनाका पछाडि कुन रहस्य छ ? के यस गौरवको कारण खोर भत्ता मात्र हो ? मानव इतिहासका पातामा खोर र मानव स्वतन्त्रताको, राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रताको गहिरो सम्बन्ध देखापर्छ । त्यो कसरी हुन गयो ? बन्धन, खोर, कारागार र जेलका स्वादमा कति अन्तर छ ? के त्यो स्वादको अन्तर भिजिटेबुल, चिकेन, मसरुम र मसलाका विभिन्न सूपबेसका चाउचाउमा झैं छ जुन नेपालमा सञ्चारमाध्यमबाट अहोरात्र विज्ञापित भइरहन्छ ?
चिन्तन अटूट छ प्रभो ! हिलो जसमा तपाईंहरू आनन्दमग्न हुनुहुन्छ, यथार्थमा हिले हो वा अरू नै केही हो ? कुनै पनि कुरो आफ्नो मूल स्वरूपमा छैन, रहन्न भन्छन् तत्त्व-चिन्तकहरू वैज्ञानिकहरू । प्रत्येक पदार्थ आफ्नो मूल स्वरूपमा नरहनु प्रकृतिको नियम हो भने हिलो मात्र कसरी रहन्छ ? मानव प्राणीले जसरी हिलो छ्याप्छ, तपाईंहरूले त्यसरी किन छ्याप्नुहुन्न ? के तपाईंहरूले हात नभएर नछ्याप्नुभएको हो ? पुच्छरले छ्याप्न सक्नुहुन्न ? मानिसका हातका काम तपाईंहरूले पुच्छरले लिन सक्नुहुन्न ? के मानिसका हातले तपाईंहरूका पुच्छरले भन्दा बढी काम गर्छन् ? मलाई त त्यस्तो लाग्दैन । महात्माहरूले यस सुन्दर संसारलाई हिलो भन्छन् । तपाईंहरूको के राय छ ? तपाईंहरूले जुनसुकै प्रकारको पनि हिलो किन रुचाउनुहुन्छ ? यस्ता ऊहापोहमा तपाईंहरूले मानिसहरूलाई पार्नुभएको छ र मानिस अझै चिन्तनशील छ । जीवनभर हिलामा शरीर गाडेर देशका माटाको तपाईंहरूले जति माया गर्नुहुन्छ, त्यो उदाहरणीय छ । तर तपाईंहरूले आजसम्म देशको माटो/राष्ट्रप्रेमसम्बन्धमा कुनै वक्तव्य प्रसारित गर्नुभएको छैन, यो गम्भीर चिन्ताको विषय हो ।
आदरणीय महोदय, तपाईं सुँगुरहरूको स्वास्थ्य नराम्रो प्रायः देखिन्न । जुन सुँगुरहरू दुब्ला छन्, सके ती सुँगुरहरू नै होइनन् । ती दुब्लाएका हात्ती हुनन् । तपाईं सुँगुरहरू नियमित स्वास्थ्य परीक्षण गराउनुहुन्न । मलाई विश्वास छ, तपाईंहरूमा अनिद्राको रोग छैन र कसैले पनि काम्पोज खानुभएको छैन । तपाईंहरूलाई फोहोर पानीको समस्या छैन । नेपालमा कुनै पनि गाउँ, नगर वा महानगरका सभ्य नागरिकले खानेभन्दा कम गुणस्तरको पानी तपाईंहरूले खानुपरेको छैन । पानीका दृष्टिले नेपालका मानवप्राणी र तपाईंहरूको स्तर समान छ । तपाईंहरू हर्लिक्स पनि खानुहुन्न । दुई चम्चा हर्लिक्स फाँक्दैमा पाइलट बनियो भने तपाईंहरूलाई बोइङ जेट ७५७ दिनु वा अन्य कुनै ? हर्लिक्स नै नखाएपछि कुरै खतम । साबुनले नुहाउनुहुन्न । यस मामलामा आजको सभ्य समाज पनि पछि छैन जहाँ शरीर नुहाउनुभन्दा कोट र जुत्तामा ब्रस गर्नु नै महत्त्वपूणर् छ । तर तपाईंहरूका कोट र जुत्ता पनि छैनन् । चश्माविना नै संसार पढ्नुहुन्छ । अफिसबाट भाग्नुहुन्न । यो ठूलो गलती तपाईंहरूबाट भइरहेको छ । आखिर किन तपाईंहरू जागिर खानुहुन्न ? यहीं तपाईंहरू जीवनको साह्रै ठूलो सुखबाट वञ्चित हुनुहुन्छ किनभने तपाईंहरूले कुनै जागिर खानुभएको छैन । सके तपाईंहरूमा आवश्यक न्यूनतम र वाञ्छनीय योग्यता छैनन् । तपाईंहरूकै निम्ति मात्र मिल्ने किसिमको न्यूनतम र वान्छनीय योग्यता माग गरी विज्ञापन गर्न मिल्दैन ? मानिसहरूलाई हो भने कतिपय कार्यालयमा मिलाइन्छ यसरी । तपाईंहरूले हडताल पनि गर्नुहुन्न । तपाईंहरूलाई योजना, वेतन, वन, शिक्षा, स्वास्थ्यसम्बन्धी वा यस्तै अन्य कुनै पनि आयोगको गठन र विघटनले कुनै हर्ष छैन, कुनै बिस्मात छैन र नै त्यति मिठो सपना देख्नुहुन्छ, जति कुनै पनि नेपालीको भाग्यमा होओइन ।
आज हामी नेपालीले सबै कुराको जगेर्ना गर्न थालेका छौं । हामीहरू तपाईंहरूका वातावरणको संरक्षण र जातीय संस्कृतिको जगेर्ना गर्न कृतसङ्कल्प छौं । तपाईंहरूलाई दुई खुट्टाका भरमा उभिन, शुद्ध भूस छोडेर आधा मात्र भूस र आधा ढुङ्गा मिसिएको अन्न खान, टेलीभिजनबाट आनन्द लिन र टेबुलकुर्सीमा निदाउन सक्ने गराउन प्रयासरत छौं । जसरी होस्, आज हामी तपाईं सुँगुरहरूको जातीय संस्कृतिको गरिमा, परिचय, आफ्नोपन अक्षुण्ण राख्तै सुँगुर सभ्यताको जगेर्ना गर्न दृढप्रतिज्ञ छौं । जगेर्ना नहुनु चिन्ताको विषय हो । प्रयास नगर्नु मूर्खता हो । दृढ नहुनु शिथिलता हो । यो एक चुनौतीपूणर् काम हो । हामीले त्यही गर्दै छौं । हामीलाई आशीर्वाद दिनुहोस् ।
मेरा विचारमा तपाईंहरूले आफ्नो यस अवस्थाबाट माथि उठेर मानिसका स्वभावमा बाँच्न मन पराउनु हुनेछैन । तपाईंहरू मानिस हुन पनि कठिन छ । आजसम्म कुनै पनि सुँगुर मानिस भएको जानिएको छैन, भगवान् भएको प्रमाणचाहिँ छ । मानिसहरू नै सुँगुर भएका उदाहरण प्रशस्त छन् । तपाईंहरू मानिस भए पनि बाँच्न कठिन छ । सासैपिच्छे नाटक, अभिनय गर्न सक्नुहुन्छ ? मानिस हुनु आफ्ना स्वास्थ्यप्रति अति सचेत आमाको दूध चुस्न पनि नपाउनु अस्पताल नाउँका सत्तलपाटीका चिसा कोठा पनि नसीब नहुनु, खुट्टाले टेकेर हिँड्दा अपमानित हुनु, नीरस पाठशालामा पढ्नु र पढिसकेपछि हाँसको चाल न बकुल्लाको चाल हुनु, जिन्दगानीभर तालु र पैतालाको पसिना एक गराएर पनि आधा भूस मिसिएको अन्न अङ्ग्रेजी उच्चारणका स्वादले खाएर मान्छे हुनाको अहम् पाल्नु, सुटटाई डटेर सधैं नाङ्गिनु यो मन पराउनु हुनेछैन, कदापि मन पराउनु हुनेछैन ।
तपाईंहरू साहै, सरल र निष्कपट हुनुहुन्छ । जर्ज अरवेल महोदयका गोठ (एनिमल फार्म) मा पालिएका नेपोलियन र स्नोबल जस्ता दुईचार टाठा र शिक्षित सुँगुरहरू मात्र तपाईंका समाजका समस्या हुन् । सुँगुरमा मान्छेका स्वभावका लक्षण देखिनु चिन्ताजनक कुरा हो । शिक्षितहरू त जुन समाजमा पनि समस्या हुन्छन् । ती सुँगुरका नाममा सुँगुर समाजका सरल, निष्पाप र निष्कपट स्वभावका कलङ्क हुन् । तिनलाई सुँगुरभन्दा मान्छे भन्नु नै उपयुक्त छ । तपाईंहरूले आँट्नुभयो भने सुँगुर संस्कृतिको जगेर्ना गर्दै मानवसमाजलाई सुँगुर सभ्यताको पाठ पढाएर स्वस्थ, सरल र निष्कपट हुन सिकाउन सक्नुहुन्छ । मानवसमाजलाई तपाईंहरूको निःस्वार्थ सेवाको खाँचो छ । तपाईंहरूले धर्मको क्षति भएका बेला संसारलाई उतार्नुभएको छ । फेरि एकपटक त्यो समय आएको छ । सम्पूणर् मानवजातिको उद्धार गर्नुपरेको छ ।
तपाईंहरू, तपाईंहरूझैं बन्धनमा बस्न रुचाउनुहुन्छ । बन्धनको मिठो स्वाद तपाईंहरूलाई नै थाहा छ । सके तपाईंहरूबाट प्रेरणा पाएर नै मानवजीवनमा कारावास समय रसमय हुन्छ । यस धर्तीमा जन्म लिएपछि हिलो चिन्नु, भूसमा रमाउनु र हिलामा परमानन्द अनुभव गर्नु नै समस्त प्राणीको लक्ष्य हुनुपर्छ । तपाईंहरू वन्दनीय हुनुहुन्छ ।
तपाईंहरूलाई परमपिता परमात्माले क श्रेणीको खोर, हाई क्लासको हिलो र पोखरेली मसिनो वा कालानमकको माटो मिसिएको भूस सदासर्वदा सुलभ गराऊन् । त्यसका लागि मानिसलाई झैं लाममा उभिन नपरोस्, यही प्रार्थना छ । तपाईंहरू यस्ता सुविधाका अधिकारी नै हुनुहुन्छ, महोदय ।
प्रवचनपछि चियापानको आयोजना थिएन ।
०००
पाल्पामा ०८० असार ४ गते विमोचित हास्यव्यङ्ग्य कृति
‘सगरमाथा एक पहाडको नाम होइन’ बाट
Subscribe
Login
0 Comments
Oldest







































