चाेलेश्वर शर्मागुरुपूर्णिमा : एक चर्चा
रुहरू त्यसलाई फेरि, फेरि, फेरि अनन्तसम्म ठेल्न बाध्य छन् । गुरुहरू सिशिफसझैं अभिशप्त । यसैकारण पनि गुरुको महत्ता, गरिमा र शक्ति सकारेर, लाचारी देखेर सरकारले बिदा घोषित गरेको छ ।

चोलेश्वर शर्मा :
आज गुरुपूर्णिमा । म गुरुलाई नमस्कार गर्छु । गुरु त पहिले पनि थिए तर गुरुलाई आदर गर्न कार्यालय बन्द गर्नुपर्छ भन्ने भावना आज जति प्रबल भएर देखापरेको छ, त्यो अघि थिएन । सके पहिले गुरुलाई आजजति आदर सम्मान गरिंदैनथ्यो र ठगिन्थ्यो । गुरुलाई ठग्ने हाम्रा नसानसामा बगेको संस्कार हो । र यो ज्यादै पुरानो छ । पढ्दासम्म पढेर गुरुबाट बिदा पाई हिंड्ने बेला पर्याप्त विद्या र विद्याभन्दा लाभकारी/उपकारी गुरुपत्नीसमेत लिई भागे चन्द्र । हस्तिनापुरजस्तो गरिबभन्दा गरिब नागरिकले पनि कम्तीमा एक थान हात्ती पाल्ने वैभवशाली राज्यमा वर्षौं धनुर्विद्या अध्ययन गरेर द्रोणाचार्यलाई गुरुदक्षिणा दिएनन् एकलव्यले । आजका गुरुहरूलाई एकलव्यका सन्तानले ठगिरहेका छन् । द्रोणाचार्यले एकलव्यजस्ता कृतघ्न र उद्दण्ड छात्रको दाहिने हातको बूढीऔंलो नै काटेर लिए । भाग्यमानी रहेछन् एकलव्य, दाहिने हात एउटा मात्र रहेछ र बूढीऔंलो पनि एउटै, नत्र द्रोणाचार्यले सबै काटेर लिन्थे । मलाई थाहा भएसम्म गुरु द्रोणाचार्य शाकाहारी नै थिए । एकलव्यको त्यो बूढीऔंलो बूढा गुरुले के काममा प्रयोग गरे, कुन भाउमा बेचेर कसरी आफ्नो दक्षिणा असुल गरे, औंलो फेरि पलायो- पलाएन यसबारे महाभारत चुप छ ।
आज गुरुपूर्णिमा । म घरका झ्यालबाट टाढाटाढाका पहाडका तरेली र हावाले बढारेर छेउछाउ थुप्र्याएका बादलका टुक्राटाक्री नियाल्दै गुरुको महत्त्व विचार गर्दै छु । यही विचार गर्नाका लागि नै सरकारले सार्वजनिक बिदा घोषित गरेको छ । बिदा भैसकेपछि विचार त गर्नैपर्छ र बिदा गुरुपूर्णिमाको भए पनि विचार कुनै सुन्दरी, रूपवतीको पनि त गर्न सकिन्छ । कुनै रूपवती, सुन्दरीको विचार गर्दा जुन आनन्द आउँछ, त्यो गुरुका विचारमा आउन्न । आलुमूला पनि कालोबजारमा किनेर खाइसकेपछि गुरुवचन सम्झँदा तीव्र पीडा हुन्छ । फेरि, कार्यालय त विचार गरी काम गर्ने ठाउँ होइनन् पनि । विचार गर्नु परे कार्यालयबाट सरासर घर जानुपर्छ । नेपालमा कार्यालयका महत्त्वपूर्ण निर्णय कार्यालयबाहिर घर वा सडकमा नै हुन्छन् । म पनि यसबारे कट्टर छु । नियमित छु । जुन दिन कार्यालयमा गम्भीर विचार गर्नुपर्ने र महत्त्वपूर्ण निर्णय लिनुपर्ने हुन्छ, म सरासर घर जान्छु । घरमा छोराछोरी कपाल मुसार्दै वा बगेका नाक पुछ्दै, तिनलाई र तिनकी आमालाई त्यो प्रायः पत्नी हुन्छे- समेत एकै किसिमले प्रेम गर्दै विचार गर्न सकिन्छ । तर आवश्यकता प्रबल भए छोराछोरी र पत्नीलाई अलग अलग किसिमले प्रेम गर्न पनि सकिन्छ । म प्रायः यस्तैमा विश्वास गर्छु । यस्ता बेला मलाई घरमा वरिपरिबाट हेर्ने चियाउने कोही हुँदैनन् । यस विषयमा कार्यालयहरू ज्यादै सङ्कीर्ण हुन्छन् । कार्यालयमा आफूछेउ एउटी रूपसी बस्न नपाउँदै हजारौं आँखा फैलन्छन् । सयौं ओठ तानिन्छन् । पचासौं घाँटी खसखसाउँछन् । बिसौं फाइल टेबुलबाट खस्छन् । घरमा केटाकेटी वा पत्नी नभए बिरालो मुसार्दै वा भैंसी दुहुँदै पनि विचार गर्न सकिन्छ । तर बिरालो वा भैंसी एक थान हुनैपर्छ । कुकुर वा नोकर्नी पालेर तपाईंले बिरालो वा पत्नी सुमसुम्याउन सक्नुहुन्न । यद्यपि कति सज्जनहरूले नोकर्नी पालेर पनि पत्नीझैं सुमसुम्याउँछन् । घरमा पत्नीसँग दाम्पत्यको कटुमधु स्वाद लिँदै विचार गर्न सकिन्छ, त्यो सुविधा कार्यालयमा एकदम असम्भव छ । त्यसैले म गुरुपूर्णिमाका दिन घरमै छु । विचारमग्न छु । पत्नी र छोराछोरीसँग मायाप्रेमका भावातिरेकमा हुँदाबाहेक विचारशील हुन्छु । विचार गुरुको गर्न थालेको हो, बिदा पनि त्यसैका लागि, तर पत्नीतिर एकोहोरियो । यी मोरी पत्नीहरू जहाँ पनि आउँछन् । म यिनलाई पन्छाउँछु र गुरुलाई नमस्कार गर्छु ।
शब्दोच्चारणपूर्वक जसले ज्ञान दिन्छ त्यो गुरु हुन्छ ।
सर्वप्रथम गुरु, जन्मदाता हुन्छन् । हो नि, जन्मदाता नभए हामी गुरु चाहिने नै हुँदैनथ्यौँ । जन्मदाताहरू छन् र नै संसार छ । वस्तुतः जन्मदाताले एक सहचारिणी मात्र पाउनुपर्छ, तिनले पाँचसात वर्षमा संसार सिर्जना गर्छन् । १९ जुलाई १९८७ ई. को पौने दुई करोडको नेपाल र पाँच अरबको संसार यिनै गुरुका गाथाकथा हुन् । परिवार नियोजनका कानखाने विज्ञापन अधिकांशतः यिनैका गुरुत्वका प्रमाण हुन् । जन्मदाता नभए जहाँ पनि जहिले पनि जन्म दिने अवस्था पर्दैनथ्यो र बाबु हुने गौरव पनि रहँदैनथ्यो । विवाह हराउँथ्यो र स्पष्टै छ विवाहका मिठा भोज हुँदैनथे । जन्तेबाख्रो शब्दकोशमा मात्र सीमित हुन्थ्यो । लमी पेशाले जीवन धान्नेहरूले अन्य कुनै पेशा समाउँथे । मुलुकी ऐनबाट जारीको महल हराउँथ्यो । नारीको माता हुने आकाङ्क्षा पनि रहन्नथ्यो । मातृत्वविहीन हुन्थे ती । सृष्टिमा अवरोध, विच्छिन्नता आउँथ्यो । न स्त्री हुन्थे, न पुरुष । अनर्थ हुन्थ्यो । कुन कुन अङ्ग विशेषका सञ्चालनबाट नारीजाति मातृत्वका महिमामय आसनमा पुग्छन्, जाँच्ने र जान्ने यिनै गुरुका काम हुन् । त्यो जिज्ञासा यिनमा पर्याप्त हुन्छ । त्यसको प्रमाण प्रत्येक बाबु हुने सम्भावनाको एघार- बाह्र नकाट्तैको किशोर आमा हुन रहराएकी किशोरीका खोजीमा रहन्छ । र तेह्र-चौधमा बाबु भइसक्छ । सृष्टिको यही गतिशीलताले अन्धै भए पनि धृतराष्ट्र बाबुहरू कुनै भूलचूक नगरी शय थाना छोरा जन्माउँछन् दुर्योधन, दुःशासन आदि । तत्स्तोइजस्ता सन्त, दार्शनिक साहित्यकारले पनि बिहेका पन्ध्र वर्षभित्र तेह्र सन्तान जन्माउँछन् । दुई सन्तान किन कम भए तल्स्तोइसँग सोध्नु छ । तर पनि सन्तान उत्पादनका दृष्टिले तल्स्तोइ अत्यन्त सफल देखिन्छन्- छोराछोरी होऊन् कि उपन्यास र कथाहरू । यिनै गुरुले व्यवस्था, धर्म र नीति अनि अव्यवस्था, अधर्म र भीड पनि जन्माउँछन् । यिनै तल्स्तोइहरू युद्ध पनि हुन् र शान्ति पनि । यी गुरु प्रातः स्मरणीय छन् । जन्मदाता गुरुलाई शतशः प्रणाम ।
अर्का गुरु ज्ञानदाता हुन् । यिनले ब्रह्म चिनाउँछन् । ब्रह्मज्ञानदाता । भगवान् थरीथरीका भएझैं ब्रह्म पनि संसारमा थरीथरी छन् । ब्रह्मज्ञानदाता गुरुहरूले संसारलाई नश्वर, मिथ्या भन्छन् र आफूचाहिँ सुरा, सुन र सुन्दरीमा लिप्त रहन्छन् । सुरा, सुन वा सुन्दरी जेसुकैमा लिप्त भए पनि गुरु साक्षात् परम ब्रह्म हुन्छ । आफ्ना गुरुले दुईचार पाथी सुरापान गर्दैमा, दशबिस किलो सुन र पाँचदश सुन्दरी सङ्ग्रह गर्दैमा यिनलाई नराम्रा आँखाले, अविश्वासले हेर्ने ब्रह्मज्ञानी होइनन् । हुनै सक्तैनन् । तिनको ध्यान, समाधि पुगेको छैन । अपूर्णता छ । यिनै ब्रहम चिनेका/चिनाउने गुरु र गुरुपत्नीहरूले संसारलाई ब्रह्म चिनाउँदै पाएसम्म आफूले ब्रह्मलूट गर्ने परम्परा चलाएका हुन् । मानिसभन्दा यिनका वस्त्र नै ब्रह्मज्ञानी लाग्छन् । शुद्ध, शुभ, आकर्षक । आवरण वस्त्र हेर, आवरण । पीत, श्वेत, वसन्ती । आफूले भलै नबुझून्, अरूलाई यिनले ब्रह्मज्ञान अवश्य दिन्छन् । यी गुरु कार चढ्छन्, सुन र सुन्दरी पाएसम्म सङ्ग्रह गर्छन् र शक्तिका लागि लुछाचुँडी पनि । यिनले जेजति चढे पनि, जेजति सङ्ग्रह गरे पनि, लुटे पनि मिथ्या नै हो । यिनलाई यही रूपमा हेर्ने नै ब्रह्मज्ञानी हुन् । यिनको आग्रह पनि यही हो । संसारले यिनलाई माया र मिथ्याको भ्रमजालबाट माथि उठेर हेरे मात्र चिन्न सक्तछ । आजका संसारमा यस्ता गुरुको आवश्यकता प्रशस्त छ । यी विशेष पूज्य छन् । यिनै ब्रह्मज्ञानी ब्रह्मकुमार र ब्रह्मकुमारीहरू, आचार्य रजनीश र उनका लकेटधारीहरू, महेश योगीहरू हरे कृष्णमार्गी मुरलीधारीहरू र रहलपहल ब्रह्मचारीहरू यस कोटिका गुरुहरू हुन् । पहेँला, वसन्ती वा सेता वस्त्र धारण गर्नु, धनका लागि लुछाचुँडी गर्नु र आचार्य रजनीशले जस्तै प्रतिदिन फेरेर कार चढ्नु, सुन्दरी सङ्ग्रह गर्नु र तिनकै सहयोगले ‘सम्भोगबाट समाधिसम्म’ पुग्ने महान् लक्ष्य लिनु यिनका ब्रह्मज्ञानका सामान्य पाठ हुन् । यिनका महिमा अपरम्पार छन् । यिनीहरूलाई नमस्कार ।
तेस्रा थरी गुरुहरू विद्यादाता हुन् । यिनलाई अङ्कदाता पनि भनिन्छ । निश्छल भावले प्रेमपूर्वक आफ्ना विद्यार्थीलाई उदार भएर अङ्कदान गर्नु यिनका सामान्य काम हुन् । यिनीहरूमध्ये केही भारतीय दूरदर्शनको धारावाहिक (टि.भी सिरियल) ‘चुनौती’ की मिसेज भट्टाचार्यजस्ता छन् । जो दशमा बाह्र, दशमा बाह्र । वास्तवमा यी भट्टाचार्यका गलती होइनन् । यी विद्यादाता गुरुहरूको विशेषता के छ भने समाजले यिनलाई जतिसुकै हियाए पनि समाजमा स्कूल, विद्यालय, क्याम्पस, विद्यापीठ नामका ज्यादै अस्वथ्यकर, अप्रीतिकर, कारागारजस्ता कोठामा पालिएका विद्यार्थी नामका एक प्रकारका समस्यामूलक जीवलाई मानिस बनाउने, सभ्य बनाउनेजस्ता एकदमै असम्भव, अविश्वसनीय, आश्चर्यजनक र अत्यन्त जोखिमका काममा लागिरहेका हुन्छन् । समाजमा यिनका सेवाको कुनै कदर नभए पनि देशका मानव जातका प्रत्येक सन्तानलाई सबल समर्थ नागरिक बनाउने जिम्मा यिनैको हो भनिन्छ- भाषणमा । गुरुहरूमा सबभन्दा टीठलाग्दा र निरीह यिनै हुन् । यिनको महत्त्व देशले उहिल्यै बुझिसकेको कुरो हालै प्रकाशमा आएको छ । र आगामी पचास वर्षभित्रै यिनका समस्याको समाधान गर्नुपर्ने कुरामा सरकारले जोड दिएको पनि बुझिएको छ । कोही स्वनामधन्य गुरुहरू ठूला ठूला शहरका सुपर मार्केटझैं शिक्षाका थोक व्यापार- केन्द्र सञ्चालन गरेर शिक्षालाई मझौला उद्योगका रूपमा विकसित गराई केही माथिल्ला स्तरमा उठेका छन् । उठाएका छन् आर्थिक स्थिति । यिनले शिक्षालाई कामधेनुझैं पाल्छन् । र अभिभावक दुहुन्छन् । सके यिनलाई हेरेर नै चाणक्यले विद्यालाई कामधेनु भने । मनासिब भने ।
अर्का गुरुहरू अभयदाताहरू हुन् । यिनले हामीलाई समाज, संसार र समय चिनेर त्यसैअनुसार कर्ममा होमिन निरन्तर प्रेरणा र संरक्षण दिइरहेका छन् । यिनका प्रतापले आजको समाज- मानव समुद्र बाहिरबाट शान्त देखिए पनि भित्र तीव्र प्रवाह बोकेर गतिशील छ, हुन्छ । यी अभयदाता गुरु नभए मानिस कुकर्मदेखि काम्थ्यो, दुराचारबाट दूर रहन्थ्यो र हत्याबाट हच्कन्थ्यो । र स्पष्ट छ, त्यस स्थितिमा समाज एकदम निष्क्रिय हुन्थ्यो । ज्यान मार्ने, लुट्ने, बलात्कार गर्ने, ठग्नेजस्ता कानूनी भाषाका उद्योग-कामसमेत खुल्दैनथे आजझैं । रोजगारका अवसर दुर्लभ हुन्थे । विद्यादाता गुरुलाई चाप बढ्थ्यो । यी अभयदाता नभए देशका नागरिकको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा हुँदैनथ्यो । देशको सीमा राणाकालमा झै साँगुरिन्थ्यो । यी गुरु र यिनका अभयमन्त्रविना नेपालीहरू अन्तर्राष्ट्रिय जेलमा थुनिने आँट गर्दैनथे । हामीले पनि रेडियोको एकघण्टे धार्मिक भनिने अनुष्ठानपछि विष्णुसहस्रनामझै यिनका नाम सुन्ने अवसर पाउन्नथ्यौं । यिनै अभयदाता नभए देश आजभन्दा आर्थिक दृष्टिले अझै पछाडि पर्थ्याे । प्रहरी र गुप्तचरका सेवा पनि यति निरापद हुँदैनथे, जति आज छन् । गुरुहरूमा अभयदाताको स्थान सर्वोपरि छ । यिनले मानवलाई निर्भय बाँच्ने बल दिन्छन् । वास्तवमा यो मानव मात्रको नैसर्गिक अधिकार पनि हो । यिनै गुरुका कृपाले नियमकानून, नैतिकता र सदाचार कागजका पातामा सुरक्षित रहेर भविष्यका अनुसन्धाताका लागि मात्र कामलायक वस्तु बन्छन् । र भोलिका हाम्रा सन्तानले आजका हाम्रा नियमकानून र नैतिकताका पङ्क्तिलाई नेपालका तीजका गीत भनेर सांस्कृतिक महत्त्वका पुरातात्त्विक वस्तुका सङ्ग्रहमा राखिएका हेर्नेछन् । धूलैधूलो ।
पाँचौ गुरु कन्यादाता हुन् । यिनका संशोधित संस्करण पत्नीदाता हुन् । नितान्त अहङ्कारी, दुर्व्यसनी र असहिष्णु मानव-प्राणीलाई पनि आफ्ना सन्तान कन्याहरू र माग भए कन्याकै मोलमा भए जगेडा नभए एक मात्र पत्नीसमेत सुम्पेर अर्काका घर सुन्दर बनाउने यी गुरुहरू सबभन्दा व्यावहारिक, सहृदय र मानवीय गुणले परिपूर्ण हुन्छन् । यिनैले संसार चल्छ । यी नभए प्रथम गुरु, जन्मदाताहरू नै जन्मिँदैनथे । यस कोटिका गुरु जसले कन्या वा पत्नीका साथमा आठदश तोला सुन, कार, टि.भी., फ्रीज, फर्निचर र डेढदुई लाख रुपैयाँ सामाजिक व्यवहार (सुधार) ऐनका मर्यादा भङ्ग नहुने गरी किस्ताबन्दी रूपमा दिन्छन् ती उत्तम कोटिका गुरु ठहरिन्छन् । यिनैले संसार र गृहस्थीजनका मर्म र संवेदना बुझेका छन् । यस्ताले कन्यादान गर्दा कन्या छोडेर अन्य सबै सामान लिन आग्रह गरे पनि मचाहिँ सधै स्वीकार गर्छु । यिनीहरूमध्ये कुनै कन्यादाताले अझै मुद्राको आविष्कार हुनुअघिको वस्तु-विनिमय प्रणाली (बार्टर सिस्टम) मा विश्वास गर्छन् । वस्तु-विनिमय प्रणालीलाई मुद्राको आविष्कार हुनुअघिको प्रणाली भन्ने ती महान् अर्थशास्त्री र तिनका उत्कृष्ट किताब सबैलाई एकैपटक आगामा होमिदिऊँ र अदालतमा मुद्दा ठोकिदिऊँ लाग्छ -झूटा विवरण दिएका आरोपमा । तर आगामा होमिएपछि तारिख धाउन सकोइनन्, भैगो, आगामा होमेर मात्र सन्तोष गरूँ । यिनै गुरुहरूले तराजुमा एकातिर कन्या र अर्कातिर एकडेढ हजारका नोट तौलिरहेछन् । घरमा हामीले मुलुकी ऐन झुन्ड्याउँछौँ, रामायण पाठ गर्छौं र मुलुकी ऐन दिवस पनि मनाउँछौँ क्यार । जे होस्, यी कन्यादाता गुरु महोदयहरूको मिजास बुझिनसक्नु छ । कहिलेकहीं घरमा, बजार/मार्केटमा कन्याहरू पर्याप्त उपलब्ध नहुँदा पाँचजनासम्मले पनि बराबर बाँडेर लिने गरी एउटै कन्या सुम्पन्छन् । द्रौपदी । ससुराहरूलाई प्रणाम ।
अन्तिम गुरु ज्येष्ठ भ्राता (दाजु) हुन् । यिनका विषयमा म ठगिएको छु । यस्ता गुरु पुज्ने सौभाग्य मलाई मेरा प्रथम गुरुले प्रदान गरेनन् । तापनि जसले ज्येष्ठ भ्राताका अधीन विद्या, बुद्धि र व्यवहार-लाभ गर्ने मौका पाएका छन् तिनका गालाका पाटाका हातका सक्कल बमोजिमका नक्कल छाप र जगल्ट्याइएका केशराशि हेर्दा लाग्छ यी गुरु जन्मदाताभन्दा बढी सहृदय, उदार र मर्मज्ञ हुन्छन् र यी पनि जन्मदाताबराबर आदरयोग्य छन् । यी भीम र अर्जुनका युधिष्ठिर । भरत र लक्ष्मणका राम । विभीषण र कुम्भकणर्का रावणहरू ।
यी गुरुबाहेक मैले सातौ गुरु प्रधानमन्त्रीज्यूलाई मान्छु । उहाँले जुन तर्क गुरुपूर्णिमाका बिदाका औचित्यमा प्रस्तुत गर्नुभएको छ, ती महनीय छन् । यद्यपि गुरुपूर्णिमाका बिदाले युवा पुस्ता सुधार्ने अठोट गर्ने प्रधानमन्त्रीज्यूको बालुवा पेलेर तेल निकाल्ने साहसलाई म धन्य भन्छु । राष्ट्रमा कुकुर बिरालाजस्ता जीव त छन् भने गुरु नामको जीव पनि हुनैपर्छ- यसमा कुनै विवाद छैन । गुरु वर्षभर उपहासको पात्र रहे पनि गुरुपूर्णिमाका बिदाले गुरुप्रतिका अनादर, अनास्थाका भाव मेटिन्छन् । पाप पखालिन्छन् । वर्षभरका पाप वाग्मतीका एक स्नानले वा पशुपतिका एक दर्शनले पखालिएझैँ ।
प्रधानमन्त्रीज्यूले नचाहनुभएको भए गुरुपूर्णिमाको मात्र होइन, गुरुकै पनि महत्ता/गरिमा नहुन सक्दथ्यो । बिदा भयो गुरुपूर्णिमा । आज म चाहेर पनि कार्यालय जान सक्तिनँ । जानी नजानी अङ्ग्रेजी भकभकाउन सक्तिनँ । अरुलाई गुहारेर बाँधिएको गाँठामा नेकटाईको माला जतनसाथ कीलामा झुन्डिएको छ । आज यो प्रदर्शित हुँदैन । आज कार्यालयका ढोका खुल्दैनन् । साहेबहरूलाई नमस्कार गर्नुपर्दैन । साहेबहरू पनि आउन्नन् । घण्टी बज्दैनन् । गुरुपूर्णिमा । कार्यालयमा हलुका किसिमले काम, विचार र नमस्कार गर्नु जुन स्वाद हुन्छ त्यो घरमा कहाँ ? घरमा गुरुपूर्णिमामा पनि उही पुरानै बिरालो वा पति वा पत्नी सुमसुम्याउनु, पति वा पत्नीसँग ती पनि बराबर फेरेर होइन पुरानै- जिस्किनु र हल्का विचार वा मनोरञ्जन गर्नु मात्र सम्भव छ । टाई बाँधे पनि बिरालो वा पत्नीका अघि मात्र । रिसाए पनि तिनकै अगाडि ।
आज समाजमा आदर्शको, नैतिकताको, कर्तव्यको मर्यादाको, चरित्रको मानवताको आवश्यकता देखिएको छ । र सरकारी बिदा भएको छ । गुरुपूर्णिमा । गुरुका शिक्षा लत्याएर जति छलकपट गरियो-गरियो, गुरुका आदर्श वचन बङ्ग्याएर जति बेईमानी गरियो-गरियो, नचिनेझै गरी गुरुहरूलाई जति मुन्ट्याइयो-मुन्ट्याइयो, जति ठगियो-ठगियो जति अपमानित गरियो-गरियो, जति दुर्वाच्य बोलियो-बोलियो, बस । अब आइन्दा बन्द । फेरि नैतिकताको, अनुशासनको, सदाचारको र कर्तव्यको पाठ पढाउने अभिभारा गुरुका काँधमा आएको छ । गुरुको काँध पनि साह्रै भाग्यमानी छ, नमरेसम्म केही न केही आइरहन्छ । बिगार्ने कामजति सधै अरूकै जिम्मामा पर्छ, अरूकै भाग्यमा पर्छ र सपार्नेचाहिँ गुरुको काँधमा । सिशिफस गुरुहरू नेपालको पाताल पुगेको मर्यादाको, ईमानको, सदाचारको कर्तव्यको, अनुशासनको ढुङ्गालाई ठेलेर सगरमाथाका चुचुरामा पुर्याउन बाध्य छन् । तर परिस्थिति, नेपालमा त्यो ढुङ्गो गुडेर फेरि पाताल पुग्न बाध्य छ । गुरुहरू त्यसलाई फेरि, फेरि, फेरि अनन्तसम्म ठेल्न बाध्य छन् । गुरुहरू सिशिफसझैं अभिशप्त । यसैकारण पनि गुरुको महत्ता, गरिमा र शक्ति सकारेर, लाचारी देखेर सरकारले बिदा घोषित गरेको छ । गुरुहरू थाक्नु हुँदैन । गुरुहरू भोकाउनु हुँदैन । गुरुहरू तिर्खाउनु हुँदैन । गुरुहरूले विरोध जनाउनु हुँदैन । त्यसकै लागि गुरुपूर्णिमा बिदा गरिएको छ । अभिशप्त गुरुहरू ठाडो शिरले हिंड । ज्ञान देओ । सुमार्ग देखाओ । गुरुपूर्णिमा तिम्रै सम्मानका लागि । गुरुपूर्णिमा तिम्रा शोकसन्तप्त आत्माका लागि । गुरुहरू आज गदगदम् । गुरुहरू भोलि गदगदम् ।
त्यसैले जसरी होस् गुरु सम्झ । अरू केही नसम्झ । एक दिन बेईमानी पनि नसम्झ । आज एक दिन त्यसै नबस । गुरु सम्झेर बस । म पनि घरमा छु । बिरालो सुमसुम्याउँदा थाकेर पत्नी सुमसुम्याउँछु । पत्नी सुमसुम्याउँदा थाकेर बिरालो सुमसुम्याउँछु । विचार गुरुको गर्छु । पत्नी सुमसुम्याउँछु । विचार गरिरहेको छु गुरुको । पत्नीको । गार्हस्थ्य जीवनको । गुरुपूर्णिमा हो । सरकारले बिदा घोषित गरेको छ । आज गुरुहरू गदगदम् ।
०००
गत ०८० असार ४ गते पाल्पामा विमोचित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह
‘सगरमाथा एक पहाडको नाम होइन’ बाट ।
Subscribe
Login
0 Comments
Oldest







































