मीनप्रसाद लामिछानेहो, म व्यङ्ग्य लेख्छु
जब दुशासनहरूले द्रौपदीहरूलाई नाङगो बनाएको र, कृष्णहरूले त्यसमा मौन स्वीकृति जनाएको देख्छु असाध्यै पीडा हुन्छ अनि म व्यङ्ग्य लेख्छु

मीनप्रसाद लामिछाने :
देशमा परिवर्तन भयो
कसैका निवास फेरिए, लिवास फेरिए
वर्गीय सोच अनि साथी सँगाती त खास फेरिए
बाँकी जस्ताको त्यस्तै रह्यो
अहिले पनि खुट्टा फुटेका-
र, भारीको बोझले टाउकोमा टुटिलो उठेका
मानिसहरू जब देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।
नौ महिना गर्भमा बोकेर हिँड्दा पनि कुनै बोझ नमानेर,
आफ्ना खुसीहरूका गला निमोठ्दै उसैलाई सर्वश्व ठानेर,
हुर्काएको छोराले जब
आमालाई अस्पताल नलगेर
साली लिएर सिनेमा हिँडेको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।
राष्ट्रियता र प्रजातन्त्रका नारा दिएर,
गरिब सोझा जनताको मत लिएर,
सत्तारोहणकै लागि जब कोही दिल्ली दौडेको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।
आफ्ना कमसल उत्पादनहरू बेच्न
विज्ञापनका नाउँमा सोझा जनताको ध्यान खिच्न
जब दुशासनहरूले द्रौपदीहरूलाई नाङगो बनाएको
र, कृष्णहरूले त्यसमा मौन स्वीकृति जनाएको देख्छु
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।
सार्वभौमसत्ताको रक्षार्थ
कहिले प्रजातन्त्र र कहिले गणतन्त्रको थाँक्रो हालियो
कस्ता कस्तालाई काँधमा राखेर उचालियो
तर अहिले आफ्नै आँखाअगाडि,
जब थाँक्रोले काँक्रो खाएको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु
हो म व्यङ्ग्य लेख्छु ।
०००
हेटौँडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































