रेहित सैजुलोकसेवाले नपत्याएको मान्छे
एकदिन जसरी पनि लोकसेवाले पत्याउनेछ । नपत्याई कुनै सुखै छैन किनकि म देशको लागि हूँ र देश मेरो हो । कमसेकम म चाहिँ खाडी मुलुकतिर खस्ने मनस्थितिमा छैन । लाेकसेवाले नपत्याए बरू गाउँ पस्ने हाे र गाैसेवामै बस्ने हाे, जे त हाेला ... ।

रेहित सैजु :
शीर्षक पढेरै था’पाउनु भो होला, यो मान्छे के गर्दै छ भनेर । के गर्नु र हजुर ! उही त हो, लोकसेवाको तयारी गर्दै छु । आफ्नै इच्छाले चाहेको लोकसेवाको परीक्षा दिँदा असफलताको चाङले आङ थिचेको कुरा भनिसाध्य छैन । नपस्नु पसियो, पसेपछि फसियो । आफैलाई गाली गर्न मन लाग्छ ‘ठिक्क पर्यो मङ्गले आफ्नै ढङ्गले ।’ न साथ न हौसला । घरकाले गाली गर्दै पढ्न छोड भन्ने, बाहिरकाले खुच्चिङको ताली बजाइदिने । हाम्रो बानी कस्तो क्या, अर्काको राम्रो त सहनै नसक्ने । लोकसेवा पढ्नु मेरो लागि आधा पानीले भरिएको ड्रमभित्र भ्यागुता छिरेको जस्तै भयो । हाय ! जिन्दगी ।
डाक्टर बन्ने उद्देश्यले विज्ञान विषय रोजेको हूँ । डाक्टर बन्न लगेजभरि पैसाको बन्देज गर्नुपर्ने रहेछ । विचरा ! भैली खेलेर भरेको थैलीले घरबाट सहर पुग्न समेत खर्च पुगेन । जेनतेन +२ चाहिँ गरियो जबरजस्ती । स्नातक तहतिर रुमलिदै छु । डाक्टर बन्ने सपना तुहिएर कुहिएको देख्दा मन छिया छिया भएको कुरा कुन भित्तामा लगेर ठोक्काऊँ । कास उमेरको जवानी नआएर पैसाको जवानी आइदिएको भए अहिले मेरो जिन्दगी असफलताको कहानीको साटो सफलताको खानी हुन्थ्यो होला ।
सर्पमा विख र मान्छेमा इख हुनुपर्छ भन्छन् । चिकित्सा क्षेत्रतर्फ प्रवेश गर्ने टिकट नपाए पनि, दुई विकल्प थिए मसँग, लोकसेवा कि गौसेवा । लोकसेवा रोज्नुनै मेरो भुल भएको हो कि जस्तो लग्छ । गाउँमा जन्मिएर हुर्किएको मान्छेले गोबर सोहर्न अल्छी गरेपछि बल्छीमा नपरेर केमा पर्छ त ? हैन त हजुर…! म किसानको छोरो हूँ । मलाई हलोको फेद राम्रो थाहा छैन । आफ्नो वंशावली, पुर्ख्यौली, साँध सीमाना थाहा छैन तर विश्वको भूगोल, इतिहास, धर्म, संस्कृति पुराण, वेद कण्ठस्थ छ । आफू जन्मिएको मिति बिर्सन सकूँला तर विभिन्न संघ संस्थाको स्थापना मिति, विभिन्न घटना, पर्व घटेको मिति, समसामयिक घटनाक्रम मनमा अमिट छाप बनेर बसेको छ । र पनि म अझै असफल छु । मैले एउटा भनाइ सुनेको थिएँ, ‘अठार पुराण चार वेद, सबैभन्दा ठूलो हलोको फेद ।’ बरू यतै लागेको भए अहिले यसरी आत्तिनु त पर्दैनथ्यो होला ..।
म आफै अचम्मित छु लोकसेवाले मलाई नपत्याएको देख्दा । यस्तो खाइलाग्दो, योग्यता पुगेको, उमेरको हद पनि ननाघेको नौजवान युवालाई बारम्बार फेल गराइरहेको देखेर । बरू कुनै कन्याको हात माग्न गएको भए यसरी अँध्यारो मुख लाउन पर्ने थिएन होला ..! लिखित पास गर्यो, अन्तरवार्ता कट्दैन, अन्तरवार्ता कटायो वैकल्पिकमा निस्किन्छ । बल्लबल्ल मुस्किलले पाएको जागिर कसले छोड्ला र वैकल्पिकको पालो आउला । पालो कुर्दाकुर्दै यमराजको ढोका खुल्न लागिसक्यो तर मेरो हकमा लोकसेवाको ढोका नखुल्ने भयो ।
निजामति कर्मचारी बनेर देशको अनवरत सेवा गरी सन्तुष्टिको मेवा फैलाउने मनभित्र आफैले बनाएका दुइचारओटा लड्डु खानै नपाई सडेर जाने भए । अनेक दल, अनेक आयोग, विविध संगठन, महिला, जनजाति, दलित, पिछडिएका वर्ग,अपाङ्ग, आरक्षण कोटाले लोकसेवा गृहमा प्रवेश गर्ने टिकट नै असहज बनाइदियो । जो दलको निकटमा छ, उसैले टिकट पाउने । विचरा ! मजस्ता दलबाट विकटमा रहेकाले ‘आकाशको फल आँखा तरी मर’ भने बराबर भयो । कत्ाँकता भन्सुनको मनसुन गराइदिएपछि नाम निस्किन्छ रे भन्ने पनि सुनेको हूँ । कठै ! मेरो घरमा सुनको नाममा लसुन बाहेक अरु केही छैन, कताबाट भन्सुन ल्याएर दिने हो ?
बजारमा पशुपति दाइको एउटा गीत चर्चित छ,
“आ होइ, काम पाइएन डिग्री पास गरेर
भैंसी पाल्छु गाउँतिरै झरेर
चिन्ता छैन क्यै…”
किन चिन्ता नहुनु ? चिन्ताले हरबखत लखेटेर चितामाथि चढाउन लागिसक्यो । कता कता गौसेवामा लागेर कृषिमा क्रान्ति गरिदिउँ कि जस्तो पनि लाग्छ । जनताको निकटमा रहेको स्थानीय सरकारले सहुलियत मूल्यमा कृषिमा आधुनिकीकरण गर्न आधुनिक उपकरण यन्त्र वितरण गर्दै आएको पनि छ । कृषि सडक भन्दै खेतबारीमा सडक पनि पुर्याइदिएको छ । तर विडम्बना ! स्थानीय सरकारले स्थानीय जनशक्ति समुचित परिचालन गर्नै सकिरहेको छैन । खेतबारीमा प्रयोग हुनुपर्ने उपकरण एउटा बन्द कोठाभित्र खिया लागेको अवस्थामा थन्किनु परेको छ । गाउँघर पुरै शून्य छ । घरहरू अस्तित्वविहीन बनेका छन् । माग, आवश्यकता र पहुँचबीच प्रभावकारी समन्वय हुन नसक्दा स्थानीय सरकारको कृषि क्रान्ति भद्रगोल अवस्थामा छ । यस्तो डामाडोल स्थिति देख्दादेख्दै कृषिमा उज्यालो भविष्य देख्नु मेरो लागि ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भनेजस्तै हो ।
यसो त सबै कुरालाई नकारात्मक भावले हेर्नु पनि हुन्न तर यथार्थ यही हो । वास्तविकता हामीमाझ छरपष्ट छ । अहिलेका युवाले कृषिमा भविष्य नै देख्दैनन् । देशमै पनि देख्दैनन् । एउटा सर्भे गरेर युवालाई एकैठाउँ राखी ‘अबको गन्तव्य कहाँ ?’ भनेर प्रश्न गर्यो भने नब्बे प्रतिशत युवाको जवाफ विदेश नै आउँछ । झन् सरकारले बाहिरी देशमा काम गर्न जाने सजिलो बाटो बनाइदिएको छ । बाहिरी मुलुककाहरू पनि आफ्नो देशमा जनशक्ति भित्रिँदा खुसी नहुने कुरै छैन । देशका मन्त्रीहरूलाई युवा बाहिरिएकोमा कुनै चिन्ता नै छैन । भाषणमा देशभक्ति छाँट्नु, आश्वासनका राहत बाँड्नु बाहेक सायद अरु केही जानेको छैन । मान्छे जेसुकै कारणले प्रताडित होस् तर भोट नमरोस् भन्ने सिद्धान्तमा छन् हाम्रा जनप्रतिनिधिहरू । तिनलाई रेमिट्यान्स चाहिएको छ । कृषिप्रधान देश रेमिट्यान्सले धानेको छ । विश्वले ‘असफल राष्ट्र’ भनेर घोषणा गर्दा पनि नसुने झैं गर्छ । थुइक्क नियति, यस्ता पाजीहरूलाई देशको काजी भनेर बस्नु परेको छ ।
हुन त कमजोरी हामीभित्र पनि छ्यापछ्याप्ती छ । सधैं अरूलाई आरोप प्रत्यारोप लगाएर हिलो छ्याप्न पनि हुन्न । देशमा अवसर बटुल्न नसक्ने, गाई भैसी देख्दा गन्हायो भन्दै दुई कोश टाढा भाग्ने फेरि विदेशमा गोबर सोहोर्न पनि मन पराउने, घरमा कहिल्यै जुठो भाँडा नमाझ्ने तर विदेशमा जुठो भाँडाको डङ्गुर माझ्न मन पराउने, चर्पी सफा गर्न मन पराउने प्रवृत्तिले खुब गाँजेको छ । त्यसो त काम कामै हो । मात्र अवस्था फरक उता गर्यो दाम यता गर्यो बदनाम । यस्तै संस्कारको लस्करमा दौडिरहेका छौँ हामी ।
लोकसेवा विश्वासिलो ठाउँ हो । जिन्दगी सहज बनाउन उभ्याउने दरिलो खम्बा पनि हो । तर लोकसेवामा प्रवेश गर्ने बाटो किन यति साँघुरो बनाइँदै छ । आरक्षण कोटा खारेज गरेर खुल्ला प्रतिस्पर्धा गरे कति काइदा हुने थियो । जबसम्म यो व्यवस्था रहिरहन्छ तबसम्म मजस्ताले सत्रचोटि जाँच दिए पनि उत्तीणर् हुनेवाला छैन । यदि धैर्यताको ग्यास्ट्रिक बिग्रियो भने पश्चात्तापको डढेलोमा पस्दै साउदी कतार जानु सिवाय अरू केही उपाय नहोला ।
जे जे भए पनि लोकसेवालाई सारथी बनाउने मेरो अठोट हो । घरबाट या बाहिरबाट जति नै गाली, अपमानका प्रहार आए पनि ऐया ! नभनी निरन्तर यसमै लागिपर्नेछु । लोकसेवा, मजस्ताहरूले नै मेवा फलाउने ठाउँ हो । यो कसैको पेवा ठाउँ होइन । देशलाई सेवा गर्न, सेवाग्राहीसँग समन्वय गर्न लोकसेवा मेरो लागि चुनौति र अवसर पनि हो । मेरो योग्यता, सर्टिफिकेट हरेक क्षेत्रको प्रवेश आधार हो । एकदिन जसरी पनि लोकसेवाले पत्याउनेछ । नपत्याई कुनै सुखै छैन किनकि म देशको लागि हूँ र देश मेरो हो । कमसेकम म चाहिँ खाडी मुलुकतिर खस्ने मनस्थितिमा छैन । लाेकसेवाले नपत्याए बरू गाउँ पस्ने हाे र गाैसेवामै बस्ने हाे, जे त हाेला … ।
०००
दोरम्बा- ५, रामेछाप, हाल- भक्तपुर
सम्पर्क नं. ९८६२५८१६०२
सम्पादक- कल्पतरू द्वैमासिक
Subscribe
Login
0 Comments
Oldest









































