सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भानुलाई निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

असार २९ मा मात्र होइन सदा सदाका लागि जुम्स्याइँ हटाउँदै कुवा खन्ने हातहरू सबल पार्न ऊर्जाका साथ पुनर्जन्म लिएर तिमी जहाँ भए पनि आऊ भानु । संसारका हरेक कुनाकाप्चाबाट आफ्नै देशमा कुवा खन्न चाहने आफ्ना जतिलाई लिएर जसरी भए पनि आऊ भानु ।

Nepal Telecom ad

ह्यारी – ८०

बिर्खे टोपी लगाएर रानीपोखरीको डिलमा मूर्ति बनेर ठिङ्ग उभिएर मात्र कहाँ हुन्छ र भानु ? अब तिम्रा रामायण बाँच्नेहरू लाखापाखा लागिसके । आऊ तिमी पनि अनुवादित तिम्रा रमायणहरू अङ्ग्रेजीमा पढ्न सिक । तिम्रा गया र भयाका ती भाषा अब बोर्डिङ स्कुलका जरिवानादेखि तर्सिएर असार २९ गते मात्र एकदिन ढुक्कसँग बोल्न पाउने भएका छन् ।

सुन्दै छु भानुजयन्तीमा तिमी दार्जिलिङ र सिक्किमतिर कतै कतै रम्छौ रे । हुन पनि हो, तिमीलाई विरक्त लाग्दो हो, उराठ लाग्दो हो, तिम्रा ती घाँसीहरू घाँस काट्न न्युजिल्यान्ड, भेडा चराउन अस्ट्रेलिया, भाँडा माझ्न अमेरिका अनि ज्याला लिन मलेसिया गएका सुनेपछि निकै कोक्किई कोक्किई रोयौ भन्ने मैले सुनेको छु । वधूशिक्षा पढेर सत्तो न सराप गर्नेहरू, प्रश्नोत्तर पढेर निरुत्तर रहनेहरू, अमरावती कान्तिपुरीका चपला अवलाहरू अनि भोलि भोलि भन्ने मूलासनका होली वाइन पियक्कडहरू तिमीलाई माल्यार्पण गर्न आउँछन् भनेर सालिकबाट फुत्त निस्केर कुन देशमा नेपालीहरू भौँतारिहेका छन् भनेर कुदिरहेको छौ भनेको सुनेको छु । होइन छौ कहाँ चाहिँ भानु ?

अद्वितीय वरदानका रूपमा पाएको प्राकृतिक लहराले वेष्ठित सुन्दर अक्षरका देवानागरी लिपियुक्त नेपाली भाषा आज संस्कृतसँगै नियात्रा गरिरहेछ विश्व यात्रामा । युरोप र अमेरिकामा झ्याँगिँदै आएको कला, गला र भलाको तिम्रो भाषा आज अन्य भाषाभाषीलाई समृद्ध बनाउँदै गएको छ तर पनि तिमी चाहिँ बिर्खे टोपीमै किन टङ्चिएर बसेका छौ भानु ? हो तिम्रो सात्त्विक मन कोसी, गण्डकी र कणर्ालीझैँ सलल बगिरहेको छ नेपालीको मन र मुटुमा । तर तिम्रो सुधोपनको फाइदा उठाएर नेपाली टोपी पहिरेर मयूरको प्वाँख पहिरिएका कागहरूले आफ्नो देश सत्ता, भत्ता र लतासँग साटिरहेछन् । अनि तिम्रो भाषा बोल्दा हियाएर पाखे गँवार ठान्दै उनीहरूकै भाषामा ठसठसी कनिरहेका छन् । यो बिर्खेको भाषा बोल्न नपर्दा गोर्खेको इज्जत रहन्छ भन्ने विदेशी मोहका जालमा विष वमन गरिरहेकाबाट के आश गर्छौ भानु ? आऊ, अब तिमी पनि बिर्खे टोपी फुकाल र देशभरका हर्क र बालेनका मनभित्र पसेर रामायण बाँची रामहरूको जयजयकार गर ।

वर्षदिनअघि पहिराएको दुर्गन्धित माला फेर्ने दिन असार २९ का दिन फेरि नौटङ्की गर्न आउने बोक्रेहरूलाई बलिको बोको झैँ पर्साउन आऊ, सिसा फोरेर तिनका वर्षदिनमा एकपटक मात्र सम्झने तिनका घिरौँला जत्रा नाकका डाँडी भाँचिदेऊ अनि गाउँ गाउँमा कुटो र कोदालीसाग फेरि मितेरी साइनो गाँस । तिमीले भन्यौ, तिम्रो २१० बर्से जन्मोत्सवमा भएका फूलसमेत निमोठेर देखावटी माल्यार्पण गर्लान् नि फेरि भन्यौ तर भानु …? सोमरसको चुस्की लिएर धुवाँको सर्कोसँगै बजेट हजम गर्न तिम्रा नाममा चढाइएका ती खादालाई कात्रो सम्झेर क्वाँक्वाँ रोएको सुन्ने यी मेरा कान टट्याइसके तर पनि मैले केही गर्न सकिनँ भानु । तीन दशकभन्दा बढी भइसक्यो भानु मैले तिमीले सिकाएका भाषामा सकेको सेवा गरेको । ललीपप चुस्दै मेरा बासँग रानीपोखरीको डिलमा बसी तिमीलाई हेर्दा खसेका दुई थोपा आँसु हृदयमा थापेको यतिका वर्षसम्म पनि भानु तिमीलाई कतै देख्तिनँ ।

अब पनि कति फिरन्ते बन्छौ भानु, तिमीले कसैलाई पनि केही नभनी चुपचाप सबै भाषाभाषीलाई सम्पर्क गरी श्रद्धा गरेकै हो, खोइ कसैलाई जरिवाना गराएनौ त रामायण पढेनौ भनेर र नेपाली बोलेनौ भनेर । खै, आफ्नै कम्मर पटुकीले कसेका हौ आफ्नै शिरमा बिर्खे टोपी पहिरेका हौ, आफ्नै माटोमा कुवा खनाएका हौ । तर पनि भानु अब युगान्तरण भइसकेको छ । त्यसैले आऊ तिमी तिम्रा बिर्खे टोपी मैलिएको भए पनि पटुका च्यातिएको भए पनि दौराका तुनाहरू चुँडिएका भए पनि देश सिलाउन आऊ, देश एकीकरण गर्न आऊ, हिजो जस्तै तिमी आए सबै एक भएर यो देशलाई बिर्खे टोपीले ढाकेर, दौरा र सुरुवालले लाज ढाकेर यहाँकै माटामा घाँसीहरू घाँस काटी कुवा खन्न सक्ने अवस्था सिर्जना गर्थे कि ?

भानु, ठिक छ, चित्त नदुखाऊ, भलै अङ्ग्रेजीमै पढुन् तिम्रा ती रामायण तर त्यहाँ तिम्रो मन बाँचोस्, त्यहाँ सीता हाँसुन् अनि साराका सारा राम बनुन् तर पनि कसैको हनुमान नबनुन् । भानु, बिन्ती छ आऊ, जात, धर्म, भाषा, पहिरन, वेशभूषा आफ्नै मान्छौँ तर तिम्रो बिर्खे टोपीको सम्मान गर्छौँ जसले आफ्नै मातापिता नै खुसी हुने हो, जसले आफ्नै पुर्खाको सम्मान हुने हो र कालान्तरसम्म आफ्नै इज्जत रहने हो । तिमीले सुनको जलहरी मागेका छैनौ, तिमी बोक्राले ढाकिन खोजेका होइनौ, आफ्नै आमाको भाकामा गुनगुनाउँदै हिमाली बिर्खे टोपीमा सजिन्छौ र एउटै मालामा उन्छौ ।

त्यसैले भानु आऊ, निर्धक्क भएर आऊ । असार २९ मा मात्र होइन सदा सदाका लागि जुम्स्याइँ हटाउँदै कुवा खन्ने हातहरू सबल पार्न ऊर्जाका साथ पुनर्जन्म लिएर तिमी जहाँ भए पनि आऊ भानु । संसारका हरेक कुनाकाप्चाबाट आफ्नै देशमा कुवा खन्न चाहने आफ्ना जतिलाई लिएर जसरी भए पनि आऊ भानु । तिमीलाई सबैको तर्फबाट हार्दिक निमन्त्रणा !!

कार्यक्रम 
मिति : २०८० असार २९ गते
स्थान : नेपालभूमि, पृथ्वीलोक
समय : सदासदाका लागि

दर्शनाभिलाषी
सम्पूर्ण सक्कली नेपाली

प्रार्थी
ह्यारी – ८०

०००
जोरपाटी, गोकर्णेश्वर नगरपालिका- ५, काठमाडौँ

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x